फोहोर पानी सिधै नदीमा मिसाउने उद्योगमाथि कडा कारबाही हुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्ड विपरीत फोहोर पानी प्रशोधन नगरी सिधै नदी तथा खोलामा विसर्जन गरेर प्रदूषण फैलाएको पाइएमा कडा भन्दा कडा कारबाही गरिने चेतावनी दिएकी छन् ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा सिर्सिया नदी कोरिडोरका उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी नदीमा मिसाइएको विषयमा व्यापक गुनासो, उजुरी आएपिछ चेतावनी दिएकाे हाे ।

प्रचलित औद्योगिक तथा वातावरणीय कानुनअनुसार उद्योग दर्ता वा क्षमता वृद्धि गर्दा तथा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्दा अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

त्यसैगरी, स्वीकृत वातावरणीय व्यवस्थापन योजना अन्तर्गत प्रदूषण न्यूनीकरणका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न र नेपाल सरकारले निर्धारण गरेको ‘इफ्लुएन्ट स्ट्यान्डर्ड’ अनुसार मात्र फोहोर पानी प्रशोधन गरी विसर्जन गर्न उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइसकेको छ ।

मन्त्री यादवले नदी तथा खोला प्रदूषण गर्ने कार्य आधारभूत मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको भन्दै वातावरणीय मापदण्ड उल्लंघन गर्नेहरूलाई कुनै पनि हालतमा छुट नदिइने स्पष्ट पारेकी छन् ।

मन्त्रालयले सम्पूर्ण उद्योग प्रतिष्ठानहरूलाई प्रचलित औद्योगिक तथा वातावरणीय कानुन र मापदण्डको पूर्ण पालना गरी मात्र उद्योग सञ्चालन गर्न अनुरोध गरेको छ ।

यदि औद्योगिक तथा वातावरणीय मापदण्डहरूको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम उद्योग विभाग र अन्य सम्बन्धित निकायहरूबाट कडा भन्दा कडा कारबाही प्रक्रिया अघि बढाइनेछ ।

Share News