काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ ।
उक्त कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस सहयोगबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतीबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
माट्रिका आइ सेन्टरले विगतदेखि देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतीबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । सेन्टरको अनुभव र विशेषज्ञतासँग आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धता जोडिँदा समुदायमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरे । उनले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामीण क्षेत्रका सयौं विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
आईएमई लाइफ इन्स्योरेन्सले ‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।