काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा स्नातक तहका छैठौं र आठौं सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यासका साथै बीमालेख विकासका चरण र स्वीकृति प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन र अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको बताए । उनले अध्ययनको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्रोत परिचालनमा सहयोग गर्न प्राधिकरण तयार रहेको उल्लेख गरे ।
उनका अनुसार नेपालमा बीमाङ्कीहरूको माग बढ्दै गएको छ र प्रत्येक बीमा कम्पनीमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएकाले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो सम्भावना रहेको छ ।
प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदृढीकरणका लागि बीमाङ्की तथा विश्लेषकहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा यसको कार्यान्वयनबारे प्रस्तुति दिएकी थिइन् भने सहायक निर्देशक सुधा काफ्लेले बीमालेख विकासका चरण तथा नियामकीय प्रक्रियाबारे जानकारी गराएकी थिइन् ।
अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका, बीमालेख विकासमा योगदान तथा रोजगारी अवसरबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल, कार्यक्रम संयोजक केशव राज फुलारा तथा सम्बन्धित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।