काठमाडौं । जलविद्युत् क्षेत्रलाई पुरुषको वर्चस्व रहेको क्षेत्रका रूपमा हेरिने गरिए पनि पछिल्ला वर्षहरूमा महिला उद्यमीहरूको सहभागिता र नेतृत्व बढ्दै गएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नेतृत्वमा विभिन्न पदका लागि ऊर्जा उद्यमी महिलाहरुले उम्मेदवारी दिएका छन् ।
इप्पानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा उपाध्यक्षदेखि सचिव र सदस्यसम्मका पदमा महिला उद्यमीहरूको उल्लेख्य उपस्थिति देखिएको हो । जलविद्युत् आयोजना विकास, बैंकिङ, वित्तीय व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका यी महिला उद्यमीहरूले ऊर्जा क्षेत्रको विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् ।
सुसन कर्माचार्य (राजभण्डारी)
सुसन कर्माचार्य (राजभण्डारी) नेपालको जलविद्युत् निर्माणमा अग्रणी महिला उद्यमीको रूपमा चिनिन्छिन् । ललितपुरको बंगलामुखीमा जन्मेकी सुसन नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यकी भतिजी हुन् । उनीसँग जलविद्युत, वित्त, पूर्वाधार, र सामाजिक क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ ।
उनी कास्कीको २४ मेगावाटको मादी खोला जलविद्युत लिमिटेडको कार्यकारी अध्यक्ष तथा गोरखामा निर्माणाधीन २०३ मेगावाटको माथिल्लो बुढीगण्डकी जलविद्युत आयोजनाको प्रवद्र्धक संस्था कैलाश इनर्जी प्रालिकी अध्यक्ष हुन् ।
यसका साथै उनले बागलुङ र लमजुङका विभिन्न मध्यम तथा साना जलविद्युत आयोजनाहरूको नेतृत्व गरिरहेकी छन् । उनले विगतमा इस्टर्न हाइड्रो (५ मेगावाट) र याम्बालीङ हाइड्रो (७.२७ मेगावाट) आयोजनाहरू समयमै सम्पन्न गराएर आफ्नो व्यवस्थापकीय क्षमतालाई अब्बल बनाएकी छन् ।
उनी मनी प्लान्ट इन्भेष्टमेन्ट कम्पनीकी अध्यक्ष समेत हुन् । साथै, ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेडको सञ्चालकका रूपमा ४.०२ मेगावाटको मध्य दराम खोला–ए आयोजना विकासमा समेत संलग्न छिन् । व्यावसायिक क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि उनको सक्रिय भूमिका रहेको छ । उनी नमुना अस्पताल तथा ललिगुराँस बाटिका स्कुलको सञ्चालक समिति सदस्य रहनुका साथै ओजश्वी सप्लायर्स र ओजश्वी कन्स्ट्रक्सन प्रालिकी संस्थापक हुन् ।
सुसन हाल इप्पानको वर्तमान कार्यसमितिकी सदस्य हुन् । जलविद्युत् क्षेत्रहरूमा लामो अनुभव हासिल गरेकी सुसनले ऊर्जा क्षेत्रको दिगो विकास र निजी क्षेत्रको सशक्त भूमिकालाई प्राथमिकतामा राख्न आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहेको बताएकी छन् ।
चुनावी मैदानमा उत्रिएकी सुसनले निजी ऊर्जा क्षेत्रका साझा मुद्दालाई संस्थागत रूपमा सम्बोधन गर्दै लगानीमैत्री वातावरण निर्माण, आयोजना विकासमा देखिएका अवरोध समाधान तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
निर्विरोध बनिन कविता पोखरेल
कविता पोखरेल हिमशिला हाइड्रोपावर कम्पनी लिमिटेड र सिर्जनशील ऊर्जा कम्पनी प्रालिकी अध्यक्षका रूपमा सक्रिय छिन् भने लिबर्टी इनर्जी र आशा लघुवित्त वित्तीय संस्थाको निर्देशकका रूपमा कार्यरत छिन् । पोखरेलले इप्पानभित्र ‘वुमन इन इनर्जी’ नेपाल अभियानको नेतृत्व गर्दै ऊर्जा क्षेत्रमा महिलाहरूको सहभागिता र लैंगिक समानताका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी छन् ।
इप्पानको नयाँ कार्यकालका लागि उपमहासचिव पदकी उम्मेदवारी दिएकी पोखरेल निर्विरोध निर्वाचित भइसकेकी छन् । उनले नेपालको समृद्धिको मुख्य आधार ऊर्जा क्षेत्र भएको बताउँदै यसको विकासका लागि नीतिगत स्पष्टता र पीपीए (विद्युत खरिद सम्झौता) खुलाउनु आफ्नो मुख्य एजेन्डा रहेको बताएकी छन् ।
बैंकिङ क्षेत्रको अनुभव ऊर्जा उद्यममा लामो समय बैंकिङ क्षेत्रमा बिताएकी पोखरेलसँग स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २० वर्ष काम गरेको अनुभव छ ।
हाल उनी हिमचुली स्पार्क कम्पनीको अध्यक्षका रूपमा सक्रिय छिन् भने लिबर्टी इनर्जी र एस.एस. हाइड्रोमा पनि आबद्ध छिन् । बैंकिङ क्षेत्रको लामो अनुभवपछि उनी विगत ६ वर्षदेखि ऊर्जा क्षेत्रमा सक्रिय रूपमा लागेकी हुन् ।
‘सरकारले ३० हजार मेगावाटको लक्ष्य राखेको छ । तर, पीपीए नै नभई यो लक्ष्य पुरा हुन सक्दैन,’ उनले भनिन् । पीपीए खुलाउन पहल गर्ने, ऊर्जा क्षेत्रलाई समावेशी बनाउने र निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन नीतिगत पैरवी गर्ने उनका प्रमुख योजनाहरू हुन् । आयोजनाहरूको नेतृत्व र सक्रियता पोखरेलको नेतृत्व र लगानीमा हाल विभिन्न आयोजनाहरू अगाडि बढिरहेका छन् ।
सिद्धि खोला आयोजना भर्खरै सञ्चालनमा आएको छ भने ४.५ मेगावाटको वत्सले खोला आयोजना निर्माणाधीन अवस्थामा छ । ऊर्जा क्षेत्रमा महिलाहरूको सहभागिता कम भइरहेको अवस्थामा उनी एक सफल उद्यमी र नेतृत्वकर्ताका रूपमा स्थापित छिन् । इप्पानमा यो उनको तेस्रो कार्यकाल हो । यसअघि कार्यसमिति सदस्य र सचिवको रूपमा काम गरिसकेकी उनले संस्थालाई अझै उचाइमा पुर्याउने संकल्प गरेकी छन् ।
सचिव बनिन् तीन उद्यमी
ईप्पानको नयाँ नेतृत्वका लागि तीन जना महिला उद्यमी सचिवमा निर्विरोध निर्वाचित भएकी छन् । सुमन जोशी, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल सचिव पदमा निर्विरोध भएकी हुन् ।
सुमन जोशी बैंकिङ र प्रोजेक्ट फाइनान्सिङ (आयोजना वित्तीय व्यवस्थापन) पृष्ठभूमिकी नेतृत्वकर्ता रुपमा चिनिन्छन् । व्यवस्थापन विषयमा एमबीए उपाधि गरेकी जोशी हाल ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशकका रुपमा काम गरिरहेकी छन् । यसैगरी, हिडी खोला, धौला खोला तथा स्यानबान खोला जलविद्युत आयोजनाहरूको कुशल वित्तीय तथा प्रबन्धकीय नेतृत्व सम्हालिरहेकी छन् ।
जोशीले नेपालको राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् । पर्यटन र कृषिसँगै ऊर्जा क्षेत्र नेपालको विकासको ब्याकबोन भएको उल्लेख गर्दै उनले यस क्षेत्रको प्रवद्र्धनका लागि नीतिगत पैरवी नै आफ्नो मुख्य भूमिका हुने बताइन् ।
काठमाडौं विश्वविद्यालयबाट एम.बी.ए. र त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य गरेकी जोशीले आफ्नो व्यावसायिक यात्रा बैंकिङ क्षेत्रबाट सुरु गरेकी थिइन् । तत्कालीन सनराइज बैंक र एनएमबी बैंकमा काम गरेको अनुभव बटुलेकी उनी अहिले उर्जा क्षेत्रमा सक्रिय छिन् ।
‘मैले बैंकिङ छोडेर हाइड्रो क्षेत्र रोजें, किनकि यो देशको समृद्धिसँग जोडिएको क्षेत्र हो,’ उनले भनिन् ।
जोशीका अनुसार हाल उनी आबद्ध संस्थामार्फत कुल ९० मेगावाटका विभिन्न आयोजनाहरू अगाडि बढिरहेका छन् । जसमध्ये ६.८२ मेगावाटको इदी खोला आयोजना हाल सञ्चालन मा आइसकेको छ । यसबाहेक धौलागिरी–३ लगायतका अन्य तीनवटा आयोजनाहरू कुनै निर्माणको चरणमा छन् भने कुनै पीपीए (विद्युत खरिद सम्झौता) को प्रक्रियामा रहेका छन् ।
‘विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई पनि समान रूपमा सहभागी गराइनुपर्छ,’ उनले भनिन्, ‘निजी क्षेत्रलाई पनि इक्वल फुटिङ मा पहुँच दिनु हाम्रो मुख्य एजेन्डा हो । ’
आफू इप्पानको नेतृत्वमा पुगेर निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित र नीतिगत समस्या समाधानका लागि निरन्तर लड्ने प्रतिबद्धता समेत उनको छ ।
यस्तै, युनियन हाइड्रोपावर लिमिटेडकी अध्यक्ष तथा परिवर्तन नेपालकी अध्यक्ष हुन् अभिज्ञा मल्ल । उनले जलविद्युत कम्पनीहरूको वित्तीय व्यवस्थापन, पब्लिक लिस्टिङ (सेयर निष्कासन) र सुशासनमा ठूलो योगदान दिएकी छन् ।
मल्लले दुधकोशी नेपाल हाइड्रो, युनियन मेवा र पुवाखोला–१ जस्ता ठूला आयोजनाहरूको नेतृत्व गरिरहेकी छन् । यसैगरी, नेपालको ऊर्जा पूर्वाधारमा महत्वपूर्ण मानिएको एमसिए–नेपालको वैकल्पिक बोर्ड निर्देशक र नेपालका लागि आर्मेनिया गणतन्त्रको कार्यकारी सचिवका रूपमा समेत भूमिका निर्वाह गरिरहेकी छन् ।
ईशा श्रेष्ठ पनि पूर्वाधार र ऊर्जा क्षेत्रमा एक दशकभन्दा बढीको नेतृत्व र अनुभव भएकी ऊर्जा उद्यमी महिला हुन् । उनी हाल टुण्डी पावर कम्पनी प्रालिकी डेपुटी जनरलम्यानेजरका रुपमा काम गरिरहेकी छन् । उनले ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको नेतृत्व गरेकी छन् ।
उनी निलगिरी खोला हाइड्रोपावर कम्पनी (जस अन्तर्गत १०० मेगावाटका आयोजनाहरू छन् ) को बोर्ड निर्देशकका साथै नेपाल चेम्बर अफ कमर्सको पूर्वऊर्जा कार्यसमिति सदस्य समेत हुन् ।
उनी विगत ३ वर्षदेखि इप्पानको कार्यसमिति सदस्यमा आवद्ध छन् । यस्तै, नेपाल चेम्बर अफ कमर्स ऊर्जा समितिमा ३ वर्षको कार्यकाल बिताएकी उनले सामाजिक संस्था जेसीआई र लायन्स क्लब जस्ता प्रतिष्ठित संस्थाहरूमा आबद्ध रहेर पनि काम गरिरहेकी छन् । निलगिरी र टुँडिखेल जस्ता महत्त्वपूर्ण जलविद्युत आयोजनाहरूसँग जोडिएकी श्रेष्ठले ऊर्जा क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व र व्यवसायिक दक्षतालाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।
थपिँदै नयाँ उद्यमी
इप्पानको कार्यसमितिका लागि प्रतिमा ज्ञवाली, ईन्दिरा पन्त, ज्योती गैरे, संगिता धमला र सिर्जना खड्का प्रतिस्पर्धामा छन् । महिला सदस्यका लागि गैरे, ज्ञवाली, धमला र खड्काबीच प्रतिस्पर्धा हुँदैछ । तीन जना महिला सदस्यका लागि चार जना प्रतिस्पर्धामा छन् । पन्त भने खुला सदस्यको प्रतिस्पर्धामा छिन् ।