किया नेपालले ल्यायो नयाँ के३ सेल्टोस, ९५ लाखसम्म पर्ने

काठमाडौं । किया नेपालले ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहमार्फत नयाँ एसयूभी सार्वजनिक गरेको हो ।

तेस्रो पुस्ताको सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । कियाको नयाँ ‘के३ प्लेटफर्म’मा आधारित यो एसयूभीमा बलियो बडी संरचना, फराकिलो क्याबिन र परिष्कृत ड्राइभिङ अनुभव उपलब्ध हुने बताइएको छ ।

भारतस्थित कियाको अत्याधुनिक प्लान्टमा उत्पादन हुने यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ ।

सुरक्षातर्फ ‘लेभल–२ एडिएएस’, २१ वटा स्ट्यान्डर्ड सेफ्टी फिचर, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता सुविधाहरू समावेश गरिएको छ । यसले ८१ मध्ये ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङसमेत हासिल गरेको कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्च सुरक्षा दिने बताइन् । उनले यसले एसयूभी सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।

कम्पनीले नयाँ सेल्टोसलाई अघिल्लो पुस्ताको मोडलसँगै बिक्री गर्ने योजना बनाएको छ । जसले ग्राहकलाई मूल्य र सुविधाका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ ।

यस गाडीको मूल्य एसटीके ओ (एचटीके पेट्रोल) का लागि ६८ लाख ९० हजार रुपैयाँ, एसटीके ओ आइभीटीका लागि ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स ए आइभीटीका लागि ८५ लाख ९० हजार रुपैयाँ र एक्स–लाइन ए डीसीटीका लागि ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यो एसयूभी देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Share News