निजी क्षेत्रलाई विकासको रणनीतिक साझेदार बनाउन सम्मेलनको आह्वान

काठमाडौं । समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता विषयक क्षेत्रीय सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) र हेल्भेटास नेपालद्वारा संयुक्त रूपमा ‘व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनमा नेपालसहित यस क्षेत्रका विभिन्न देशहरूबाट करिब १५० जना नीति निर्माता, व्यवसायी, विकासकर्मी, वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद् र उद्यमीहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा सीप विकास, उद्यमशीलता प्रवर्धन र दिगो आर्थिक विकासमा निजी क्षेत्रको उत्कृष्ट अभ्यास र व्यावसायिक मूल्यसँगै सकारात्मक सामाजिक प्रभाव सिर्जना गरी थप उत्थानशील र समावेशी अर्थतन्त्र निर्माण गर्ने विषयमा छलफल भएको सीएनआईले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले लगानी, नवप्रवर्तन र निजी क्षेत्रद्वारा नेतृत्व गरिएको आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

देशको विकास यात्रामा व्यवसाय क्षेत्रको अझ सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र इन्जिन बन्न सक्दैन ।’

राज्यको वित्तीय स्रोत र कार्यगत लचकताको सीमा हुने भएकाले समावेशी वृद्धिको मार्ग गतिशील निजी क्षेत्रमार्फत नै निर्माण हुनुपर्नेमा उनको जोड थियो । 

पूर्वअर्थमन्त्री रामेश्वर खनालले उत्पादकत्व, लगानी र रोजगारी सिर्जनामा निजी क्षेत्रको केन्द्रीय भूमिका रहने उल्लेख गरे ।

नेपालले आफ्ना आर्थिक महत्वाकांक्षाहरू पूरा गर्ने हो भने सरकारले नियन्त्रकभन्दा सहजीकरणकर्ताको भूमिका निर्वाह गरी व्यवसायहरूले विश्वासका साथ लगानी गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले रोजगारीका चुनौती समाधान र आर्थिक प्रतिस्पर्धात्मकता सुदृढ गर्न सरकार, व्यवसाय, श्रमिक, विकास साझेदार र समुदायबीचको विश्वास र साझा जिम्मेवारीमा आधारित नयाँ विकास सम्झौता आवश्यक रहेको स्पष्ट पारे।

क्षेत्रीय दृष्टिकोण प्रस्तुत गर्दै हेल्भेटासका एसिया महादेशीय संयोजक डा। जुएर्ग मर्जले निजी क्षेत्रको संलग्नता केवल अतिरिक्त स्रोत परिचालन मात्र नभई साझा मूल्य सिर्जना गर्ने संरचित साझेदारी भएको र विकास सहकार्य अब परम्परागत अनुदानबाट सह(वित्तीयकरण र मिश्रित वित्तीय व्यवस्थातर्फ रूपान्तरण भइरहेको बताए ।

स्विस विकास तथा सहयोग नियोग (एसडीसी) का उपप्रमुख माथियास मायरले दिगो विकासका लागि निजी क्षेत्र अपरिहार्य रहेको बताउँदै सार्थक साझेदारी भनेको लागत, जोखिम र जिम्मेवारी बाँडफाँड गरिने साझेदारी भएको उल्लेख गरे ।

सम्मेलनमा नेपाल, म्यानमार, बंगलादेश तथा भियतनामका प्रतिनिधिहरूले विषयगत सत्रमार्फत आफ्ना अनुभव, चुनौती र अवसरहरूबारे छलफल गरेका थिए । 

त्यसैगरी, हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले प्रभावकारी निजी क्षेत्र संलग्नता कारोबारको विषय मात्र नभएर समयसँगै विश्वास निर्माण गर्ने र बजार प्रणालीलाई अझ समावेशी बनाउने सम्बन्धको विषय भएको धारणा राखे ।

बागमती प्रदेश उद्योग परिसंघ (सीबीपीआई) सँगको सहकार्यमा बागमती प्रदेशभरिका प्राविधिक प्रशिक्षार्थीहरूका लागि सीप प्रतियोगिताको समेत आयोजना गरिएको थियो । 

Share News