नेपाल माइक्रो इन्स्योरेन्समा नेतृत्व परिवर्तन, नयाँ अध्यक्ष लुइँटेल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ । कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार संस्थापक समूहका अध्यक्ष आशिष श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिएको छ । श्रेष्ठले गत चैत १५ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

त्यसैगरी संस्थापक समूहका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण तथा स्वतन्त्र सञ्चालक बद्री सिग्देलको राजीनामा पनि स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

रिक्त पदपूर्तिका लागि कम्पनीले नयाँ सञ्चालकहरू नियुक्त गरेको छ । संस्थापक समूहका तर्फबाट सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि नारदकुमार लुइँटेललाई सञ्चालक नियुक्त गर्दै कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी समेत दिइएको छ । उनको नियुक्ति आगामी साधारणसभाबाट अनुमोदन नभएसम्म कायम रहनेछ।

त्यसैगरी बिजवर्ल्ड एड्भाइजरी प्रालिका प्रतिनिधि अशोकप्रसाद साह र सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि दीपककुमार मिश्र लाई पनि सञ्चालक पदमा नियुक्त गरिएको छ । यसैगरी स्वतन्त्र सञ्चालकका रूपमा दामोदर सत्याल लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी सबै नियुक्तिहरू आगामी साधारणसभा सम्पन्न नभएसम्मका लागि अन्तरिम रूपमा गरिएको हो । कम्पनीमा भएको यो नेतृत्व परिवर्तनलाई आगामी रणनीति, संस्थागत सुशासन तथा व्यवसाय विस्तारसँग जोडेर हेरिएको छ ।

Share News