निर्माण व्यवसायीले भेटे पूर्वाधार विकासमन्त्री लम्साललाई

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनका साथै बिटुमिन लगायतका निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरूले मूल्य समायोजनको माग गरेका छन् । 

निर्माण सामग्रीको भाउ बढेका कारण विकास आयोजनाहरू प्रत्यक्ष प्रभावित भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको टोलीले सरकारको ध्यानाकर्षण गराएको हो । 

महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त (मुकेश), पूर्वअध्यक्षहरू रवि सिंह, रमेश शर्मालगायतको टोलीले सिंहदरबार पुगेर पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई भेटेर उक्त आग्रह गरेको हो । 

भेटका क्रममा महासंघको टोलीले मूल्य समायोजनमा भइरहेको ढिलाइका कारण समग्र निर्माण उद्योग नै गम्भीर संकटमा परेको जानकारी गराएको छ ।

व्यवसायीहरूले मूल्य समायोजन गरी राहत दिनुपर्ने माग राख्नुका साथै अन्य महत्त्वपूर्ण बुँदाहरूमा पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

ठेक्काको म्याद थप गरिनुपर्ने, रुग्ण आयोजनाहरूको उचित व्यवस्थापन हुनुपर्ने, र सरकारबाट जारी निर्देशनालयका कारण सिर्जित समस्याहरूको तत्काल समाधान खोजिनुपर्ने लगायत मागहरु राखेका थिए ।

महासंघका अनुसार भेटका क्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले व्यवसायीहरूले भोगिरहेका यी समस्याहरू समाधानका लागि सरकारको तर्फबाट आवश्यक पहल भइरहेको जवाफ दिएका छन् ।

Share News