काठमाडौं । चितवनको नारायणगढबाट एक किशोरलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षीय गोलु कुमार, अर्का १८ वर्षीय गोलु कुमार, १८ वर्षीय बिक्की कुमार तथा १८ वर्षीय मोहम्मद साहिद रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सोमबार करिब ६ः३० बजे चितवन जिल्लाको नारायणगढ निवासी १६ वर्षीय रिसब गुप्तालाई ५–६ जनाको समूहले जबरजस्ती भारतीय नम्बर प्लेटको सवारी साधनमा राखी एक किशोरलाई अपहरण गरेको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार अपहरणपछि उनलाई काठमाडौं ल्याई बसपार्कस्थित एक होटलमा बन्धक बनाएर उनीहरूले परिवारसँग रकम माग गरिएको थियो ।
प्रहरीले घटनाबारे सूचना प्राप्त हुनासाथ खोजतलास तथा अनुसन्धान कार्य अघि बढाएको थियो ।
काठमाडौंको बसपार्कस्थित होटल फेमिलीबाट अपहरणमा परेका किशोर रिसब गुप्ताको सकुशल उद्धार गरिएको खड्काले बताए ।