योजना आयोगका नवनियुक्त उपाध्यक्ष भट्टले गरे पदबहाली
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले बुधबार (आज) पदबहाली गरेका छन् । सचिव तथा आयोगको टोलीले उनलाई कार्यालयमा स्वागत गरेको थियो । मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पौडेल गभर्नरमा नियुक्त भएका थिए । भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काबिल अर्थशास्त्रीका रूपमा परिचित छन् ।
पुरानो गाडी एक्सचेन्ज गर्नुहोस्, टाटा नयाँ गाडी र आइपीएल यात्रा जित्नुहोस्
काठमाडौं । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना सार्वजनिक गरेको छ । चैत्र २७ देखि चैत्र ३० सम्म सञ्चालन हुने यस क्याम्प अन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटा कार खरिद गर्न सक्नेछन् । यससँगै लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि प्रदान गरिनेछ । कम्पनीका अनुसार ग्राहकहरूलाई आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ र होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधा पनि दिइनेछ । टाटा मोटर्सले नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारीसाधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ । इच्छुक ग्राहकहरूले योजना सम्बन्धी विस्तृत जानकारी नेपालभर रहेका टाटा सोरुमहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।
हङकङमा रहेका देउवा दम्पतीलाई प्रहरीले कसरी ल्याउँछ नेपाल ?
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र उनकी पत्नी राणाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । हाल देउवा दम्पती देशबाहिर छन् । उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । अहिले सिंगापुरबाट हङकङमा रहेको बुझिएको छ । जेनजी आन्दोलनमा बुढानीकलण्ठस्थित घरमा आगजनी हुँदा ठूलो परिमाणमा पैसा भेटिएको भिडियोहरू बाहिरिएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अहिले त्यही पैसा र सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ । अदालतले पक्राउ पूर्जी जारी गरे पनि उनीहरू हङकङमा रहेकोले सहजै पक्राउ गर्न सकिने अवस्था प्रहरीलाई छैन । नेपाल प्रहरीको उच्च स्रोतका अनुसार अब प्रहरी म्याद तामेली निर्देशिका, २०७५ अनुसार प्रक्रिया अगाडि बढाउँछ । निर्देशिकका दफा १३ अनुसार पक्राउ पूर्जी जारी भएको व्यक्ति सात दिनभित्र फेला नपरेमा सम्बन्धित प्रहरी कार्यालय वा कर्मचारीले निजको खोजी गर्दै रही त्यस्तो व्यक्ति रहे बसेको घर ठेगानामा गई निजको नाउँमा जारी भएको पैंतीस दिने पक्राउ पूर्जीको एकप्रति निजको एकाघरको अठार वर्ष उमेर पुगेको व्यक्तिलाई बुझाई तामेल गर्नु पर्ने व्यवस्था छ । सोही दफाको उपदफा २ मा पक्राउ पूर्जी जारी भएको व्यक्तिको एकाघरको व्यक्ति फेला नपरेमा वा निजले त्यस्तो पक्राउ पूर्जी बुझी नलिएमा एकप्रति पक्राउ पूर्जी निजको घर दैलोमा टाँस गरी तामेल गर्नु पर्ने व्यवस्था छ भने दफा १६ को उपदफा ३ मा पक्राउ पूर्जी तामेल गर्दा स्थानीय तहको सम्बन्धित वडा समितिका सदस्य उपलब्ध भए निज र निज उपलब्ध नभए कम्तीमा दुई जना स्थानीय व्यक्ति रोहवरमा राखी सहिछाप गराउनु पर्ने व्यवस्था छ । पक्राउ पूर्जी बुझाएकोमा स्थानीय तहको सम्बन्धित कार्यालयले त्यस्तो पक्राउ पूर्जी प्राप्त भएपछि सम्बन्धित व्यक्तिलाई त्यसको जानकारी गराई आफ्नो सूचना पाटीमा समेत टाँस गर्नु पर्नेछ व्यवस्था पनि छ । तामेल गरेको पक्राउ पूर्जीको एक प्रति र स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सूचना पाटीमा टाँस गर्ने गरी पक्राउ पूर्जी बुझाएको भर्पाई मिसिल सामेल राख्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । तर, पक्राउ पुजी जारी भएका व्यक्ति देश बाहिर रहेको अवस्थामा प्रहरी प्रधान कार्यालय मार्फत इन्टरपोलमा ‘रेड नोटिस’ जारी गरिन्छ । यदि नेपालसँग सुपुर्दगी सन्धि भएको देशमा सो व्यक्ति भएमा उक्त देशको कानुन बमोजिम पक्राउ गरी नेपाललाई बुझाउन अनुरोध गरिन्छ । अब देउवा दम्पतीको हकमा पनि यही लागू हुनेछ । सन्धि नभएको देशमा भए पनि आपसी कानुनी सहायता मार्फत अभियुक्तलाई फिर्ता ल्याउन पत्राचार गरिने व्यवस्था छ । यदि अभियुक्तले भिसा सम्बन्धी कसुर गरेको छ वा निजको पासपोर्ट अवैध छ भने सम्बन्धित देशले सोही आधारमा डिपोर्ट (निष्कासन) गरेर पनि नेपाल पठाउन सक्छ । आवश्यक परेमा नेपाली प्रहरीको विशेष टोली सम्बन्धित देशमा पठाएर पनि अभियुक्तलाई नेपाल ल्याइने व्यवस्था छ । अब देउवा दम्पती आफै अदालत हाजिर हुन्छ वा सरकारले कसरी ल्याउँछ भन्ने विषय भने हेर्न बाँकी छ ।
स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील छ : मन्त्री साह
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले बुधबार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले बीमा कार्यक्रममार्फत जनसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासा सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए । ‘सेवाग्राही र सेवा प्रदायकका तर्फबाट बीमा कार्यक्रममा सम्बन्धमा गुनासो आइरहेका छन्, यसलाई समाधान गरेर अघि बढ्नुपर्छ,’ उनले भने । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वारबाट कार्यान्वयन गर्ने, संस्थागत सुधार, प्रविधिको अधिकतम प्रयोग र समयमै दाबी फरफारक गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्नेतर्फ आफूहरू लागेको बताए । एक दशकमा देशको करिब एकतिहाई जनसङ्ख्यामा बीमा कार्यक्रम पुगेको छ । बीमा प्रिमियम तिर्ने करिब ९३ प्रतिशतले सेवा लिएको बोर्डले जनाएको छ । प्रतिपरिवार पाँच जना सदस्यका लागि प्रतिवर्ष ३ हजार ५०० योगदान रकममा आधारमा १ लाखसम्मको उपचार सुविधा उपलब्ध छ ।
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले बुधबार उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउने, कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार, पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।
नेशनल लाइफले अभिकर्ताहरुलाई दियो एकदिने तालिम
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ता समूहलाई एक दिने तालिम प्रदान गरेको छ । कम्पनीले मासिक योजना 'मन्थन २०८२' अन्तर्गत बीमाशुल्क संकलनमा उत्कृष्ट प्रदर्शन गर्ने १६० जना अभिकर्तालाई महेन्द्रनगर, शुक्लाफाँटास्थित होटल ओपेरामा तालिम दिएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमद द्वारा बीमा क्षेत्रमा चर्चित एमडिआरटी लक्ष्य पूरा गर्ने उपाय सम्बन्धी विभिन्न उदाहरणसहित सञ्चालन गरिएको थियो । सहायक महाप्रवन्धक विवेक शर्माले कार्यक्रमको उद्घाटन पानस प्रज्वलन गर्दै गरेका थिए । कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागी अभिकर्तालाई स्वागत गरे भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ता पेशागत उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए । कार्यक्रममा विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सहायक महाप्रवन्धक शर्माले मायाको चिनो प्रदान गरेका थिए । सहभागी अभिकर्ताले चर्चित प्रशिक्षकबाट तालिम लिन पाउँदा खुसी व्यक्त गरेका थिए भने सम्मानित अभिकर्ताले आफ्नो मेहनतको कदर भएकोमा खुशी व्यक्त गरेका थिए ।
सञ्चारमन्त्री र विश्व बैंकका निर्देशकबीच भेटवार्ता, डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टलाई तीव्रता दिइने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिस्लेनबीच बुधबार भेटवार्ता सम्पन्न भएको छ। आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको डिजिटल रूपान्तरण र आपसी सहयोगका विविध पक्षमा गहन छलफल भएको छ । भेटका क्रममा निर्देशक सिस्लेनले मन्त्री डा। तिमिल्सिनालाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्व बैंकको सहयोगमा कार्यान्वयन हुन लागेको ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट’ मा सरकारको प्राथमिकता र योजनाबारे चासो व्यक्त गरे । उनले यो परियोजनाले सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै नेपालको डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिको पहुँच विस्तार, डेटा व्यवस्थापन, मिडिया साक्षरता र शासकीय सुधारका क्षेत्रमा सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको जानकारी समेत उनले गराए । सो अवसरमा मन्त्री डा. तिमिल्सिनाले विश्व बैंकले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै ‘नेपालः डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट को कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकताका साथ तीव्रता दिने बताए । नयाँ सरकार गठन भएपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी कामहरू सुरु भइसकेको उल्लेख गर्दै उनले विगतका कमजोरीहरू सुधार्दै योजनामा देखिएका समस्या समाधान गर्न सरकार दृढ रहेको स्पष्ट पारे । भेटवार्तामा सूचना प्रविधि महाशाखा प्रमुख आदेश खड्का, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विश्व बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
हङकङमा रहेका देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र उनकी पत्नी राणाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो । हाल देउवा दम्पती देशबाहिर छन् । उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । अहिले सिंगापुरबाट हङकङमा रहेको बुझिएको छ । जेनजी आन्दोलनमा बुढानीकलण्ठस्थित घरमा आगजनी हुँदा ठूलो परिमाणमा पैसा भेटिएको भिडियोहरू बाहिरिएका थिए । सरकारले अहिले त्यही पैसा र सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ ।