फिचर लोडेड भिक्टोरियस नेपालमा सार्वजनिक, मूल्य ५१ लाख रुपैयाँ

‍काठमाडौं । नेपाली बजारमा सुजुकीको भिक्टोरियस सार्वजनिक भएको छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको भिक्टोरियस सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भिक्टोरियस आधुनिक डिजाइन, नयाँ प्रविधि र उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर विकास गरिएको हो । यसमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जसमा माइल्ड–हाइब्रिड र स्ट्रङ हाइब्रिड विकल्प उपलब्ध छन् । यसबाहेक कम्पनीले सीएनजी भेरियन्ट पनि उपलब्ध गराएको छ । गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । सुरक्षाको हिसाबले भिक्टोरियसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर समावेश छन् । कम्पनीका अनुसार गाडीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । फिचरका रूपमा भिक्टोरियसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट र कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । साथै एडीएएस प्रविधि पनि उच्च भेरियन्टमा उपलब्ध गराइएको छ । यसमा एलईडी हेडलाइट र टेललाइट, आकर्षक फ्रन्ट ग्रिल र मस्कुलर एसयूभी लुक दिइएको छ । भित्री भागमा प्रिमियम फिनिस र फराकिलो क्याबिन रहेको कम्पनीले जनाएको छ । शक्तिशाली प्रदर्शन र अत्याधुनिक प्रविधिका कारण यस एसयूभीले प्रतिष्ठित भारतीय उत्कृष्ट कार अवार्ड– २०२५’ अवार्ड जित्न सफल भएको छ । सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै कम्पनीले लिमिटेड समयका लागि लञ्चिङ अफर पनि सार्वजनिक गरेको छ, जसअनुसार पहिलो ५० बुकिङका लागि अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहितको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।

डोङफेङ ईभी किन्न अब दाङमै सुविधा, एमएडब्लु वृद्धिको नयाँ शोरूम

काठमाडौं । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा अत्याधुनिक डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ । राप्ती अटोमार्ट प्रालिसँगको साझेदारीमा सञ्चालनमा आएको यो शोरूमलाई पश्चिम नेपालमा विद्युतीय यातायात विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । उद्घाटन कार्यक्रममा एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए भने डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा एमएडब्लु समूहका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तसहित स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी, सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले डोङफेङको बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी ‘नामी भिगो’को औपचारिक अनावरण पनि गरेका छन् । क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ किलोवाट क्षमताको मोटर र ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणाली रहेको छ । नामी भिगोमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट र लेभल–२ एडास प्रविधिजस्ता उन्नत सुरक्षा तथा सुविधा समावेश गरिएको छ । साथै, अल्ट्रा–फास्ट चार्जिङ सुविधामार्फत १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ । यस अवसरमा दाङमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरिएको छ । क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो तथा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जरसहितको डुअल–चार्जिङ समाधान, निःशुल्क अटो प्लस बीमा तथा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन सुविधा प्रदान गरिनेछ । प्रिमियम इलेक्ट्रिक एसयुभी खोज्ने ग्राहकका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । दाङमा सञ्चालनमा आएको यो नयाँ शोरूमले डोङफेङ र सेरेस ब्रान्डका सवारी साधनका लागि बिक्री, सेवा तथा स्पेयर पार्ट्सको पूर्ण सुविधा उपलब्ध गराउनेछ । एमएडब्लु वृद्धिले दाङ तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव लिन र सीमित अवधिका विशेष अफरको लाभ उठाउन आग्रह गरेको छ ।  

‘यो व्यक्तिगत नभई एकताको जित हो, संवादबाटै सबल नाडा बनाउँछौं’ {अन्तर्वार्ता}

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ कार्यसमिति सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा निर्विरोध निर्वाचित भएको छ । यद्यपि उप्रेती नाडाको इतिहासमा निकै चर्चा र विवादका बीच नेतृत्वमा पुगेका हुन् । एकातिर अदालतमा मुद्दा र जिल्ला प्रशासन कार्यालयमा उजुरी छ भने अर्कोतिर संस्थाभित्रकै असन्तुष्ट पक्षले  बहिष्कार गरेको छ ।  यस्तो अवस्थामा उप्रेती नाडाको बागडोर समाल्न पुगेका हुन् । उनी विशेषगरी स्पेयर पार्ट्सको आयात व्यवसायमा संलग्न छन् । उनी पीएलओ समूहसँग पनि आबद्ध छन् । लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटो क्षेत्रको उत्थानमा सक्रिय उप्रेती कुशल संगठित मानिन्छन् । यसअघि नाडाको कोषाध्यक्ष र महासचिव पद सम्हालिसकेका उप्रेतीले लुब्रिकेन्ट र वातावरण समितिको सदस्य रहेर समेत काम गरिसकेका छन् ।  नाडाको नेतृत्वमा पुग्दै गर्दा उप्रेतीले अब यी विवाद र विकासलाई कसरी सँगै लैजान्छन्, नाडाको भविष्य कस्तो होला,  नाडा अब कसरी अगाडि बढ्छ त यी समग्र विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले उप्रेतीसँग विकास बहस गरेका छन् । विवाद र मुद्दा-मामिलाका बीच निर्विरोध चयन हुनुभएको छ, यो जितलाई कसरी हेर्नुभएको छ ? मैले यसलाई अत्यन्तै सकारात्मक रूपमा लिएको छु । निर्विरोध हुनुको अर्थ नै सबै पक्षबीच सहमति जुट्नु र सबैले एउटै उम्मेदवारमाथि साझा विश्वास कायम गर्नु हो । अहिलेको अवस्थामा दुवै पक्षलाई मिलाएर लैजान सक्ने र सबैलाई समेट्न सक्ने पात्रका रूपमा मलाई साथीहरूले विश्वास गर्नुभएको हो । यो मेरो व्यक्तिगत जितभन्दा पनि नाडाभित्रको एकताको जित हो ।  के यो चयनले सबै सदस्यको पूर्ण विश्वासलाई प्रतिनिधित्व गर्छ ? पक्कै पनि, निर्विरोध चयन हुनु भनेकै विश्वासको बलियो आधार खडा हुनु हो । साथीहरूले मेरो विगतको कार्यक्षमता (महासचिवका रूपमा) हेरेर नै आगामी कार्यकालमा सहज ढंगले संस्थालाई अघि बढाउन सक्छ भन्ने भरोसा गर्नुभएको हो । सबै पक्षलाई समेट्ने मेरो प्रतिबद्धतामा कसैले शंका नगरेकै कारण यो परिणाम सम्भव भएको हो ।  अदालत र प्रशासनमा विचाराधीन मुद्दाहरूलाई कसरी सुल्झाउनुहुन्छ नि ? कुनै पनि असन्तुष्टिलाई समाधान गर्ने उत्तम उपाय भनेको छलफल नै हो ।  मुद्दा–मामिलामा जानु भनेको केही साथीहरूको व्यक्तिगत असन्तुष्टि हुन सक्छ । तर संस्थाको वृहत्तर हितका लागि संवादको ढोका सधैं खुला छ । म अहिले पनि भन्छु, हामी संवादबाटै निकास निकाल्छौं । पदभन्दा बाहिर बसेर पनि संस्थालाई सहयोग गर्न सकिन्छ । हामीले परिकल्पना गरेको सबल नाडा बनाउन म सबै साथीहरूलाई गोलबद्ध गराउने प्रयासमा छु । केही समयपछि तपाईंले सुखद परिणाम देख्नुहुनेछ । अब हामीले परिकल्पना गरेको नाडा यस्तो थियो भन्ने बनाएर देखाउँछौं । बहिष्कार र निर्वाचन प्रक्रियामाथि उठेका प्रश्नलाई कसरी लिनुभएको छ ? बहिष्कारको कुरा मैले बाहिर सुनेको मात्र हो । व्यवहारमा त्यस्तो महसुस भएको छैन । हामीले राष्ट्रिय दैनिकहरूमा सूचना प्रकाशित गरेर पारदर्शी रूपमा चुनावी प्रक्रिया पुरा गरेका हौं । साधारण सभामा १ हजार ७ सयभन्दा बढी सदस्यहरूको उत्साहजनक उपस्थिति थियो । सबैको सहमतिमा प्रक्रिया अघि बढेकाले यसमा कुनै कानुनी वा नैतिक त्रुटि छैन । कसैले हल्ला फैलाउँदैमा संस्थाको गरिमा र विधिमा असर पर्दैन ।  नाडालाई महासंघ बनाउने प्रक्रियामा प्रशासनको अवरोधबारे के सोच्दै हुनुहुन्छ ? प्रशासनले नै मिल्दैन भनेको अवस्था होइन । यो एउटा कानुनी प्रक्रिया हो । नेपालका अन्य ठूला संस्थाहरू महासंघमा जान सक्छन् भने नाडालाई रोक्ने कुनै कारण छैन । हाम्रो साधारण सभाले यसलाई अनुमोदन गरिसकेको छ । अब हामी कानुनका विशेषज्ञहरूसँग परामर्श गरेर आवश्यक प्रावधानहरू पुरा गर्दै नाडालाई महासंघको स्वरूपमा लैजानेछौं । यो हाम्रो प्राथमिकतामा छ ।  हेभीवेट बाहिरिएको र तपाईं साना व्यवसायी भएको आलोचनामा कत्तिको सत्यता छ ? यो भ्रम मात्र हो । म आफै एक गाडी आयातकर्ता हुँ । मेरो दुईपाङ्ग्रेमा इम्पेरर ब्रान्ड छ भने चारपाङ्ग्रेमा जिम्नीलगायतका छन् । साथै मेरो दुईवटा उद्योग पनि सञ्चालित छन् । तर मुख्य कुरा के हो भने नाडाको विधानले ठूलो वा सानो व्यवसायी भनेर विभेद गर्दैन । नाडा सबै अटो व्यवसायीको साझा थलो हो । यहाँ व्यक्तिको कदभन्दा संस्थाप्रतिको समर्पण महत्त्वपूर्ण हुन्छ । अध्यक्षको कुर्सीमा पुगेपछि तपाईंको काम गर्ने शैलीमा के परिवर्तन आउँछ ? संस्था व्यक्तिले होइन, विधि र पद्धतिले चल्नुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ । अध्यक्ष एक्लैले निर्णय गर्ने होइन; कार्यसमितिमा व्यापक छलफल गर्ने, मिडिया र सरोकारवालाका सुझावहरू सुन्ने र सामूहिक निर्णय गर्ने संस्कार म बसाल्नेछु । अटोमोबाइल क्षेत्रमा अहिले धेरै चुनौतीहरू छन् । ती चुनौतीलाई चिर्दै व्यवसायमैत्री वातावरण बनाउनु मेरो मुख्य दायित्व हुनेछ ।  अन्त्यमा नाडा र नाइमाबीचको सम्बन्ध अब कस्तो हुनेछ ? नाडा र नाइमालाई प्रतिस्पर्धीका रूपमा हेर्नु नै गलत हो । नाडाको ५० वर्ष लामो गौरवशाली इतिहास छ । हामी सबैलाई समेटेर हिँड्ने अभिभावक संस्था हौं । हाम्रो मूल मर्म भनेकै अटोमोबाइल क्षेत्रको साझा हित हो । त्यसैले कसैसँग प्रतिष्पर्धा होइन, बरु सबैको भावनालाई समेटेर एउटै लक्ष्यका साथ हामी अगाडि बढ्नेछौं । हामी कसैसँग प्रतिस्पर्धी हाम्रो कसैसँग होइन, यो नाडा हो ।  यसले अटोमोबाइल क्षेत्रका सबैको भावनालाई समेटेर हिँड्छ यस संस्थामा एक अर्कामा प्रतिस्पर्धा होइन । सबैले एउटै मूल मर्म बनाएर हिँड्नुपर्छ । यसकारण हामी सबैलाई मिलाएर जानेमा कुनै शंका छैन ।  सम्बन्धित सामग्री: नाडामा असन्तुष्ट पक्ष अदालत जाने तयारी, कार्यसमिति निर्विरोध गराएर नाटक गरेको आरोप अन्यौलमा नाडा निर्वाचन, विधान उल्लंघन र अदालतको चक्करमा नयाँ नेतृत्व नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने नाडालाई महासंघ बनाउने प्रस्ताव पारित, कागजात कुर्दै सीडीओ कार्यालय निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन