जीली इएक्स फाइभको विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो

काठमाडौं । जीली अटो ग्रुपले आफ्नो पूर्णत विद्युतीय एसयूभी जीली इएक्स फाइभको २ लाख १० हजार युनिट बिक्री गरेको छ । यो उपलब्धिले जीली इएक्स फाइभ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ । चीनमा जीली इएक्स फाइभले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध  छ । जीली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरि १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हासिल गरेको छ । यस  उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ । २ लाख १० हजारभन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जीलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।  आगामी वर्षहरूमा जीली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ । जीली इएक्स फाइभले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा यूरो एनक्याप र एनक्याप दुवैबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ । जीलीको अत्याधुनिक जीईए प्लेटफर्म मा आधारित इएक्स फाइभको अधिक मजबुत शरीर संरचना र क्लोभरलिफ ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्करमा पनि उच्च सुरक्षा प्रदान गर्छ । हरेक मोडेलमा ७ वटा एयरब्याग, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, ब्लाइन्ड स्पट डिटेन्सन र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन् । यो मोडेलले सन् २०२५ को प्रतिष्ठित रेड डट डिजाइन अवार्ड पाएको छ । नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जीली इएक्स फाइभले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । जीली इएक्स फाइभको आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

हुन्डाईको ‘अपग्रेड टु द पर्फेक्ट ईभी’ अभियान : पुरानो गाडी साटेर नयाँ क्रेटा ईभी घर लैजाने अवसर

काठमाडौं । हुन्डाई नेपालले 'अपग्रेड टु द पर्फेक्ट ईभी' नामक नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई क्रेटा ईभी घर लैजान सक्ने अवसर पाउनेछन् । यो अफर कात्तिक २१ गते शुक्रबारदेखि नेपालभर रहेका सबै हुन्डाई शोरूमहरूमा लागू भएको कम्पनीले जनाएको छ । हुन्डाई क्रेटा ईभीमा कम्पनीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दमदार प्रदर्शनको संयोजन गरिएको छ, जसले विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न चाहनेका लागि उत्कृष्ट विकल्प प्रस्तुत गर्छ । प्रत्येक खरिदसँगै ६ वर्षको निस्शुल्क सर्भिस र ३ वर्षको वारन्टी उपलब्ध हुनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ । अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ७५ हजार रुपैयाँको विशेष छुट र २५ हजार रुपैयाँको लोयल्टी बोनस प्राप्त गर्न सक्नेछन् । साथै, यस अफरमा १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स पनि समावेश गरिएको छ, जसले नयाँ क्रेटा ईभी खरिदलाई अझ सुविधाजनक बनाउँछ । हुन्डाई क्रेटा ईभीले एकपटक चार्जमा ३९० किलोमिटरको ड्राइभिङ रेञ्ज र २०० एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा पनि सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ सुनिश्चित गर्छ । कम्पनीका अनुसार यो सीमित अवधिको अफरले विद्युतीय गाडीमा स्विच गर्ने योजना बनाइरहेका उपभोक्ताका लागि उत्कृष्ट अवसर प्रदान गर्नेछ ।

सिप्रदीको व्यापार २४ अर्ब बढी, तीन आर्थिक वर्षमा औसत ६८ प्रतिशत लाभांश

काठमाडौं । गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब बढीको सञ्चालन आम्दानी अर्थात् व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरणका अनुसार सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।  जुन सन् २०२४ को तुलनामा ३० प्रतिशत बढी हो । यस कम्पनीले सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।  विगत पाँच वर्षको तुलनामा कम्पनीको व्यापार केही घटेको देखिए पनि गत वर्षको तुलनामा भने उल्लेख्य रुपमा बढेको हो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा मार्जिन पनि बढेको छ । गत वर्ष २.२ प्रतिशतमात्रै रहेको नाफा मार्जिन सन् २०२५ मा २.७ प्रतिशत पुगेको हो । सन् २०२१ मा भने कम्पनीको नाफा मार्जिन ८.१ प्रतिशत थियो ।  देशकै सबैभन्दा ठूलो गाडी बिक्रेता कम्पनीको रुपमा परिचय बनाएको सिप्रदी नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो । नेपाली अटो बजारमा सिप्रदीको ठूलो बजार हिस्सा छ ।  कम्पनीको चालु पूँजी व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदा तरलता स्थिति सुदृढ भएको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ ।  नेपालको कमर्सियल भइकलको बजार ६० प्रतिशत बढीको हिस्सा राखेको सिप्रदीले देशभर आफ्नो सञ्जाल फैलाएको छ । कम्पनीले कमर्सियल भेइकलसँगै अन्य सवारीसाधन बिक्रीका साथै ब्याट्री, स्पेयर पाट्र्स, लुब्रिकेन्ट जस्ता गैर-वाहन वस्तुहरू पनि बिक्री गर्दै आएको छ ।  कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ ।  दीर्घकालीन ऋणका लागि एल डबल बीप्लस र अल्पकालीनका लागि एफोर प्लस रेटिङ पाएको छ ।  कम्पनीले सन् २०२५ मा कारोबार करिब ३० प्रतिशत बढाउँदा कमर्सियल भेइकल तर्फ भने ६९ प्रतिशतको वृद्धि गरेको छ । बैंकको ब्याजदर घट्दा र ऋण कम हुँदै जाँदा वित्तीय खर्च घटेको विज्ञप्तिमा उल्लेख छ ।  सिप्रदीको मुख्य लगानीकर्ता सिद्धार्थ राणा हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । यसअघि विकासन्युजसँग कुरा गर्दै सीईओ श्रेष्ठले सिप्रदीलाई ५० अर्बको कम्पनी बनाउने लक्ष्य रहेको बताएका थिए । सम्बन्धित सामग्री : अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’