नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

काठमाडौं । नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सि–कारको शुभारम्भ गरेका छन् । सि–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिधा एकै स्थानमा उपलब्ध भएको सि कारका सँस्थापक रोशन घिमिरेले बताए । शुभारम्भका अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धि एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए । कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको विवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् । कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ (१५) भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् । कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । 'ग्राहकहरु अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रुपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ', घिमिरेले भने । साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन । कम्पनीले ग्राहकहरुलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ । ४ रोपनी क्षेत्रमा फैलिएको सि कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।

अब २० लाख ९६ हजारमा सानो क्युट ईभी पाइने, स्टाइलिश र ३ सय किमि रेन्ज दिने

काठमाडौं । सानो, कम्प्याक्ट र परिवारमैत्री इलेक्ट्रिक गाडी खोजिरहेका उपभोक्ताका लागि खुसीको खबर छ । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले आफ्नो चर्चित मोडल केई ई–क्युट ०२ ईभी को मूल्य दुई लाख रुपैयाँले घटाएको घोषणा गरेका छन् । कम्पनीका अनुसार अब यो ईभी २० लाख ९६ हजार रुपैयाँमा उपलब्ध हुनेछ, जुन अघिल्लो मूल्य २२ लाख ९६ हजार रुपैयाँ भन्दा कम हो । ३०० किलोमिटरको सिंगल चार्ज रेन्ज दिने यो सवारीमा ४० किलोवाट मोटर र २८।०८ किलोवाट आवर ब्याट्री जडान गरिएको छ । सुरक्षा सुविधामा ड्युअल एयरब्याग, एबीएस, एचएसी, आइसोफिक्स, स्टिल केज फ्रेम जस्ता 'सेफ्टी फर्स्ट' फिचर छन् । त्यस्तै, ३६० डिग्री भ्यु क्यामेरा, पुस स्टार्ट बटन, १०.२५ इन्चको टचस्क्रिन, चार ड्राइभिङ मोड, अटोमेटिक हेडल्याम्प, अटो रिमोट विन्डो कन्ट्रोल, ड्राइभर आर्मरेष्ट जस्ता सुविधा पनि यसमा समावेश छन् । नेपालको बजारमा उपलब्ध विभिन्न ईभी विकल्पहरूमध्ये मूल्य र डिजाइनका हिसाबले केई ई–क्युट ०२ अब सस्तो र स्टाइलिश परिवारिक गाडीको रुपमा लोकप्रिय हुन सक्ने अनुमान गरिएको छ ।

रसुवाको बाढीले सवारीसाधन आपूर्तिमा ठूलो अवरोध सिर्जना : नाइमा

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवागढी नाकामा हालै आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध ल्याएको भन्दै चिन्ता व्यक्त गरेको छ । चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था झन् गम्भीर बन्दै गएको नाइमाको भनाइ छ । एक विज्ञप्तिमार्फत बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले रसुवागढी नाकामा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताएकी छन् । उनका अनुसार नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन यही नाका हुँदै आयात हुने गर्छन् । तर पुल बगाएपछि उत्तरी नाकाबाट सवारी भित्र्याउने प्रक्रिया पूर्ण रूपमा रोकिएको छ । 'चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'यसले न केवल आयातकर्तालाई आर्थिक धक्का पुर्‍याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।' नाइमाले रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने माग गरेको छ । संगठनले तात्कालिक अवस्थालाई व्यवस्थापन गर्न आवश्यक समन्वय, सुझाव वा सहयोग गर्न आफू सधैं तत्पर रहेको जानकारी समेत दिएको छ ।