नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखराको लेकसाइडस्थित डालिया होटेलबीच ग्राहक तथा कर्मचारीलाई सहुलियत दिने उद्देश्यले सम्झौता भएको छ । बैशाख २४ गते सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीहरूले डालिया होटेलद्वारा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा होटलका तर्फबाट बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि र युवा जनशक्तिमार्फत गुणस्तरीय सेवा दिँदै बैंक प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको जनाएको छ । यसैबीच, नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ स्थित कोटबारी होटेल प्रा.लि. बीच पनि छुट सम्बन्धी सम्झौता भएको छ । भदौ ११ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका कर्मचारी, उनका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले कोटबारी होटेलका विभिन्न सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतामा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र होटलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।
सेती प्रादेशिक अस्पताल र युवा अपांग संगठनलाई मुक्तिनाथ विकास बैंकको २० थान ह्विलचेयर सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवामा पहुँच सहज बनाउन र समावेशीतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न संस्थालाई ह्विलचेयर सहयोग गरेको छ । दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै बैंकले कुल २० थान ह्विलचेयर हस्तान्तरण गरेको हो। बैंकले कैलालीको धनगढी–०१ स्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्विलचेयर उपलब्ध गराएको हो । उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने आकस्मिक बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न ठूलो मद्दत पुग्ने बैंकले अपेक्षा लिएको छ । यसैगरी, बैंकले काठमाडौंको गोकर्णेश्वरस्थित युवा अपांग संगठन नेपाललाई पनि १० थान ह्विलचेयर सहयोग गरेको छ । उक्त सहयोगबाट अपांगता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा सहजता हुनुका साथै उनीहरूको सम्मानपूर्ण र समावेशी जीवनयापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बैंकको छ। बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
गंगालाल हृदय केन्द्रमा कामना सेवा बैंकको निःशूल्क भोजन सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवाहरूलाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिनाइ भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि आवश्यक पौष्टिक भोजनको अभावलाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो । उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो । भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकप्रति धन्यवाद व्यक्त गरे । त्यसैगरी, गरिब तथा विपन्न बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताए । आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आएको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित भइरहेका छन् । कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। बैंकले आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै समाजप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।