गोल्याण ग्रुपले जेनजी सहिदका सन्तानलाई ४ लाख ८० हजारको शैक्षिकवृत्ति दिने

काठमाडौं । गोल्याण गुप्रले जेनजी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य बीमाको लागि गरेको प्रतिवद्धता पूरा गरेको छ । पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति सम्झौता सम्पन्न गरेको ग्रुपले दोस्रो चरणमा बिहीबार थप २२ सहिदका ४३ आमा–बुवालाई वार्षिक १० लाखसम्मको स्वास्थ्य बीमा प्रदान गर्ने सम्झौता गरेको छ । २०८२ भदौ २३ र  २४ को जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । गोल्याण ग्रुपले असोज २४ गते प्रेस विज्ञप्तिमार्फत सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो । सोही अनुसार पहिलो चरणमा २०८२ बाटै लागू हुने गरी बालबालिकालाई शैक्षिकवृत्ति कार्यक्रम प्रदान गरेको गोल्याण ग्रुपले जनाएको छ ।  शैक्षिकवृत्तिमा २२ सहिदका ३१ बालबालिका आवद्ध छन् । उनीहरुलाई प्रतिविद्यार्थी मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँको शैक्षिकवृत्ति प्रदान गरिएको छ । शैक्षिकवृत्ति सम्झौतापछि बालबालिकाहरु काठमाडौंको यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल,  ललितपुरको डि। ए। भि। सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वल्र्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेण्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा अध्ययन गरिरहेका छन् ।  शैक्षिकवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्क लगायत सम्पूर्ण शुल्कहरू समावेश गरिएको गोल्याण ग्रुपले जनाएको छ । शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारको लागि स्वास्थ्य बीमा प्रदान गरिएको हो । यस अन्तर्गत सहिदका बुवाआमालाई वार्षिक एकमुष्ट १० लाख बराबरको आजीवन स्वास्थ्य बीमा प्रदान गरिएको छ । बिहीबार स्वास्थ्य बीमा कार्यक्रममा सम्झौता सम्पन्न भएपछि गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले सहिदहरुको सम्मानमा उनीहरुको परिवारका सदस्यको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिएको बताए । ‘उहाँहरुको बलिदानले मुलुकमा नयाँ प्रणालीको सुरुवात भएको छ, देशले परिवर्तन पाएको छ,’ उनले भने, ‘सदिहहरुको बलिदानको कुनै मूल्य हुँदैन, हामीले केबल सहिदहरुले आफ्नो परिवार र सन्तानको लागि देख्नुभएको सपना पूरा गर्ने जिम्मेवार लिएका हौं ।’ सहिदका सन्तानहरुको शिक्षा र बुवा–आमाको स्वास्थ्यमा गरिएको प्रतिवद्धता दीर्घकालीन भएको उल्लेख गर्दै उनले सबै मिलेर सहिदको सपना पूरा गर्नुपर्ने बताए । शैक्षिक सहयोग आवश्यक नपर्ने सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत उनीहरुको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने उनको भनाइ छ । द्धिपक्षीय सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स तथा कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले ‘एक परिवार, एक जिम्मेवारी’ लिने उद्देश्यले सहिद परिवारमा समर्पित शिक्षा र स्वास्थ्य कार्यक्रममा सहयोग गरेको बताइन् । ‘राम्रो शिक्षाले एउटा बालक आफूमात्र सक्षम हुँदैन उसले आफ्नो परिवार, समाज र समग्र देशलाई समेत योगदान दिनसक्छ,’ उनले भनिन्, ‘अनि छोराको मृत्युपछि सहारा गुमाएका सहिदका बुवा–आमालाई स्वास्थ्य बीमाले जीवनभर स्वास्थ्यको बोझ घटाउँछ, त्यसैले हामीले शिक्षा र स्वास्थ्यका दायित्व बहन गरेका हौं ।’ बीमा सम्झौता कार्यक्रममा जेनजी सहिद परिवार कल्याणकारी समाज अध्यक्षसमेत रहेका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले गोल्याण गु्रुपले सहिदको सम्मानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । ‘हाम्रा छोराहरुले सुशासनको लागि सहादत प्राप्त गरे, गोल्याणले त्यसको योगदानको सम्मान ग¥यो,’ उनले भने, ‘यो सहयोगलाई स्वर्गवासी सहिदहरुको आत्माले पक्कै पनि धन्यवाद भनिरहेको होला ।’ जेनजी सहिद परिवार कल्याणकारी समाज कोषाध्यक्ष तथा सहिद श्रीयम चौलागाईका बुवा गणेशप्रसाद चौलागाइँले दुःखको बेला गर्ने गरिएका सहयोगका प्रतिवद्धता अलपत्र परिरहेका बेला गोल्याण ग्रुपले इमान्दारीपूर्वक पूरा गरेको बताए । ‘वास्तवमा सरकारले समेत शिक्षा र स्वास्थ्यमा यति ठूलो गर्न सकेको छैन, तर गोल्याण ग्रुपले विनास्वार्थ सहयोग गरेको छ,’ उनले भने, ‘अब जेनजी आन्दोलनको जगमा बनेको सरकारले गोल्याण ग्रुपबाट प्राप्त सहयोगलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।’ सहिद गौरव जोशीका मामा जगदीश भट्टले परिवारजन गुमाउँदा पीडामा परेका सहिद परिवारको शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण जिम्मेवारी लिएर गोल्याण ग्रुपले अभिभावकत्व प्रदान गरेको बताए । ‘यस सहयोगले गोल्याण ग्रुप र सहिद परिवारबीच सहकार्यको सुरुवातमात्र भएको छैन, गोल्याणले एउटा जिम्मेवार अभिभावकको दायित्व निर्वाह गरेको छ,’ उनले भने । शैक्षिकवृत्ति र स्वास्थ्य बीमा कार्यक्रममा सहिद मिलन रायको परिवारमात्र समेटिएको छैन । उनका बालबच्चा र बुवाआमा नभएकोले कार्यक्रममको मापदण्डअनुसार नसमेटिएको ग्रुपले जनाएको छ । सहिद घोषणा नभए पनि परिवारसँग प्रतिवद्धता गरिसकिएकोले आन्दोलनको क्रममा ज्यान गुमाएका २ व्यक्तिका १ जनालाई शैक्षिकवृत्ति र १ जनालाई स्वास्थ्य बीमा प्रदान गरिएको गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख गैह्रेले जानकारी दिइन् ।    

‘नेपाली सर्भेयर विस्थापित हुने खतरा छ’

नेपाल बीमा प्राधिकरणले ‘बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८२’ मार्फत विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म वैदेशिक लगानी गर्न पाउने व्यवस्था गरेपछि स्वदेशी सर्भेयरहरूले विरोध जनाएका छन । यसले नेपाली सर्भेयर विस्थापित हुने भन्दै उनीहरूले पुनर्विचारको माग गरेका छन् । यसै सन्दर्भ र सर्भेयर व्यवसायका चुनौतीबारे बीमा सर्भेयर संघका अध्यक्ष ऋषि कोइरालासँग विकासन्युजका लागि बबिता तामाङले  कुराकानी गरेकी छन् ।  बीमा सर्भेयर संस्थामा विदेशी लगानीको सीमा ८० प्रतिशत पुर्याउने प्राधिकरणको नयाँ व्यवस्थाले नेपाली सर्भेयर वा संस्थाहरूमा कस्तो प्रभाव पार्ला ? प्राधिकरणले हालै जारी गरेको सर्भेयरसम्बन्धी निर्देशिकाका धेरै बुँदामा हाम्रो असहमति छ । विशेषगरी विदेशी सर्भेयरलाई नेपालमा लाइसेन्स प्रदान गर्ने तथा कम्पनी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । त्यति मात्र होइन, नेपालमा दर्ता भएका विदेशी सर्भेयर संस्थालाई ८० प्रतिशतसम्म लगानी गर्न दिने प्रावधानसमेत राखिएको छ, जुन विश्वमै विरलै पाइने व्यवस्था जस्तो लागेको छ । हामी नेपाली सर्भेयरलाई प्रवर्द्धन गर्दै उनीहरूसँग सहकार्य गर्नु उपयुक्त मान्छौं । विदेशी सर्भेयरसँग आवश्यक सहकार्य गरेर अघि बढ्नुलाई पनि सकारात्मक रूपमा लिन सकिन्छ । तर विदेशी सर्भेयरलाई लाइसेन्स दिएर संस्था खोल्न लगाउने र ८० प्रतिशतसम्म लगानी गर्न दिने व्यवस्था भने नेपाली सर्भेयरलाई विस्थापित गर्ने प्रयासजस्तो देखिएको छ । यसप्रति हाम्रो गम्भीर आपत्ति छ । नेपालमा पछिल्लो समय बीमा बजार विस्तार हुँदै गएको छ । बीमा कम्पनीहरूले नागरिकलाई बीमाप्रति सचेत र आकर्षित बनाउन विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा नियामक निकायले पनि त्यसलाई थप प्रोत्साहन गर्ने नीति लिनु आवश्यक हुन्छ । हिजोको तुलनामा आज नेपाली सर्भेयरहरू धेरै सक्षम बन्दै गएका छन् । विगतमा सीमित ज्ञान र अनुभवका आधारमा काम गरेका सर्भेयरहरूले अहिले आफ्नो दक्षता र विज्ञता प्रमाणित गर्न सक्ने अवस्थामा पुगेका छन् । यस्तो बेला नेपाली सर्भेयरलाई थप तालिम, क्षमता अभिवृद्धि र प्रवद्र्धन गर्नुपर्नेमा स्पष्ट मापदण्डबिनै विदेशी सर्भेयरलाई कहीँ काम गरेको आधारमा ८० प्रतिशत लगानी गर्न दिनु उचित होइन । यदि विदेशी सर्भेयरले नेपालमा बढी प्राथामिकता पाउने हो भने यहाँ वर्षौं काम गरेका सर्भेयरको रोजीरोटी खोसिन सक्छ । समस्या त्यहाँ छ । अहिलको निर्देशिकाले हामीलाई दुखित तुल्याएको छ । सर्भेयरसम्बन्धी निर्देशिकाका कुन-कुन बुँदामा असहमति हाे ? निर्देशिकामा सर्भेयर फीको बारमा स्पष्ट खुलाइएको छैन । हामीले वर्षौंदेखि उठाउँदै आएको विषय भनेको सर्भेयरले काम गरिसकेपछि त्यहीअनुसारको पारिश्रमिक पाउनुपर्छ भन्ने हो । २०औं वर्ष भइसक्यो, सर्भेयर फी बढ्न सकेको छैन । निर्देशिकाले सर्भेयरको पारिश्रमिक सर्भेयरले प्रतिवेदन बुझाएको ३५ दिनभित्र निजको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ । तर हामीले महिनौंसम्म पारिश्रमिक पाउँदैनौं । पारिश्रमिक पाउन वर्षौं लाग्छ।  घटना घटिसकेपछि सेटल नहुञ्जेलसम्म हामीले सर्भेयर फी पाउँदैनौँ । सेटल हुन समय लाग्छ । बीमित र बीमकको भुक्तानी सेटल भइसकेपछि मात्रै हामीले पारिश्रामिक पाउँछौं । प्राधिकरणले बीमा सर्भेयर गर्न चाहने व्यक्ति वा संस्थालाई सर्भेयरको लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । तर बजारमा नयाँ सर्भेयर पाइरहेका छैनन् । किनभने उनीहरूले तालिम लिएका छन् तर परीक्षा दिन पाइरहेका छैनन् । सर्भेयर पेशालाई जोगाउने दायित्व उनीहरूको पनि हो । एउटा पुस्ता गइसकेपछि अर्को पुस्ता आउनुपर्‍यो भन्ने हाम्रो धारणा हो । प्राधिकरणले सर्भेयर पेशा गर्न लाइसेन्स लिनेदेखि तालिम, परीक्षा लिनुपर्ने व्यवस्था निर्देशिकामार्फत गरेका छ । नियमालीले बीमाा सर्भेयर भई काम गर्न ३६ घण्टाको आधारभूत तालिम लिनुपर्ने भनिएको छ । त्यस्तै, नवीकरण गर्दा पनि १५ घण्टाको तालिम लिनुपर्ने व्यवस्था छ । तर निर्देशिकामा तालिम कोसँग कसरी लिने भन्ने स्पष्ट खुलाइएको छैन । यो विषयमा सर्भेयर संघले प्राधिकरणसँग वार्ता गरेर त्यसलाई चाँडै समाधान निकाल्छौं । निर्देशिकामा सर्भेयरले पालना गर्नुपर्ने काम, कर्तव्य र दायित्वबारे विभिन्न व्यवस्था गरिएको छ । ती विषयमा हामी सचेत छौं र आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध पनि छौं । तर सर्भेयर कार्य प्राविधिक प्रकृतिको क्षेत्र भएकाले मूल्यांकनका क्रममा दायित्व निर्धारणमा केही फरक पर्न सक्छ । यस्तो प्राविधिक विषयलाई आधार बनाएर सिधै जेल सजायसम्मको व्यवस्था गर्नु उपयुक्त हुँदैन भन्ने हाम्रो माग हो । हामीले कुनै फौजदारी अपराध वा कसैको हत्या गरेका होइनौं । कामको क्रममा कमजोरी वा त्रुटि भए दण्डित हुनु स्वाभाविक हो र साँच्चिकै दोषी ठहरिए कारबाही हुनुपर्छ भन्नेमा हामी सहमत छौं । तर काम गरेको आधारमै जेल जानुपर्ने मानसिकता राखियो भने भविष्यमा यस्तो क्षेत्रमा काम गर्न मानिस नै नबस्ने अवस्था सिर्जना हुन सक्छ । नेपालमा विदेशी सर्भेयरहरूको उपस्थिति कति छ, कुन-कुन क्षेत्रमा बढी छ ? हालसम्म नेपालमा विदेशी सर्भेयरको उपस्थिति धेरै देखिएको छैन । पुनर्बीमा वा बाहिरबाट विशेषज्ञता आवश्यक परेको अवस्थामा मात्रै विदेशी सर्भेयर नेपाल आउने गरेका छन् । विशेषगरी ठूलो भूकम्प, बाढी जस्ता विपद्का समयमा नेपाली सर्भेयरको क्षमता र संख्या अपुग हुँदा विदेशी सर्भेयरको सहभागिता बढी देखिने गरेको छ । नेपालमा अहिले कति विदेशी सर्भेयर कार्यरत छन् भन्ने यकिन तथ्यांक भने हामीसँग छैन । तर मैले देखेसम्म केही विदेशी सर्भेयर संयुक्त लगानी (जोइन्ट भेञ्चर) मार्फत काम गरिरहेका छन् । विशेषगरी बाह्य लगानी वा अन्तर्राष्ट्रिय फन्डिङ भएका ठूला परियोजना तथा विदेशमै बीमा गरिएका परियोजनासँग सम्बन्धित काममा विदेशी सर्भेयर नेपाल आउने गरेका हुन् । नेपालमा विदेशी सर्भेयर आवश्यक छ ?  नेपालमा पर्याप्त सर्भेयर छन् । सबैले एकदमै प्रष्ट रूपमा काम गरिरहेका छन् । हामीले कयौं विपत्तिहरू खेपिसकेका छौं, अनुभव पनि भइसकेको छ । धेरै सर्भेयरले ठूला प्रोजेक्टहरू ह्यान्डल गरिसक्नुभएको छ । नेपाली सर्भेयरले विदेशमा समेत गएर काम गरिरहेको अवस्थामा विदेशी सर्भेयर आवश्यक छ जस्तो मलाई लाग्दैन । तर, उहाँहरू आउनै हुँदैन भन्ने होइन । उहाँहरूबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । तर, यहाँका सर्भेयरलाई विस्थापित नै गरेर विदेशी सर्भेयर आउनुपर्छ भन्ने मान्यता होइन । उहाँहरूको सीप, ज्ञान, क्षमता ट्रान्सपर गर्नुपर्छ भन्ने भनाइ हो । कतिपय अवस्थामा विदेशी सर्भेयर आउनुपर्ने हुन सक्छ । तर विदेशी सर्भेयरलाई नै बढी प्राथमिकता दिन थालियो भने भोलि हामीलाई अप्ठ्यारो पर्दैन भन्न सकिन्न । विदेशी सर्भेयरलाई बढी विश्वास गर्ने प्रवृत्ति किन देखिन्छ ? नेपाली सर्भेयरहरूमाथि विश्वास नभएको होइन, छ । अहिले पनि बजारमा धेरै नेपाली सर्भेयरले काम गरिरहनुभएको छ । नेपाली सर्भेयरहरूमाथि गरेको विश्वासले नै आज उहाँहरू टिकिरहनुभएको छ । तैपनि नेपाली सर्भेयरभन्दा विदेशी सर्भेयरलाई बढी विश्वास गर्ने प्रवृत्ति नभएको होइन । हामीलाई अझ बढी विश्वास हुनपर्ने हो किनभने हामी यहीँको स्थानीय भएकाले धेरै कुरा थाहा हुन्छ । यहाँको कन्सट्रक्सन, भौगोलिक अवस्था, वातावाराण, सामाजिक अवस्थालाई हामीले नजिकैबाट नियालिरहेका हुन्छौं । विदेशी र स्थानीय सर्भेयरबीच असमान व्यवहार वा विभेद छ ? पारिश्रमिको विभेद छ । हामीले एउटै बनाउन खोजिरहेका छौं । तर विदेशी सर्भेयरको छुट्टै हुन्छ । उनीहरुको छुट्टै रिइन्स्योरेन्स र बीमा कम्पनीहरूले तोकिदिएको मापदण्डमा काम गर्नुहुन्छ । हामी पनि बाहिर गयौं भने त्योअनुसारको पेमेन्ट हुन्छ । कुरा पेमेन्टको मात्रै नभएर विदेशी सर्भेयर यहाँ छिरेर नेपाली सर्भेयर विस्थापित हुन्छ कि भन्ने हाम्रो चिन्ता हो । उहाँहरू एउटा कामले आउनुभयो, काम सकाएर जानुभयो, भने ठीक छ । तर, हामीलाई नै विस्थापित हुनेगरी आयो भने फरक हुन जान्छ । सर्भेयर क्षेत्रमा देखिएका मुख्य समस्या वा चुनौतीहरू के-के छन् ? नेपालमा हाल ५ सय देखि एक हजारको हाराहारीमा सक्रिय सर्भेयर छन् । लाइसेन्स लिने सर्भेयर भने धेरै छन् । सबै सर्भेयरले काम पाइरहेका छैनन् । त्यसलाई कसरी समाधान गर्ने भन्ने मुख्य चुनौती छ । हुन त निर्देशिकाले सर्भे गर्न पाउने सीमा तोकिदिएको छ । निर्देशिकाअनुसार कुनै व्यक्तिगत सर्भेयरले बढीमा ५ वटा र संस्थागत सर्भेयरले बढीमा १० वटासम्म काम गर्न पाउने भन्ने व्यवस्था छ । तर यो व्यवस्थाअनुसार चलेको छैन । यहाँ कसैको काम भ्याइनभ्याई कोही खाली हात बसेको अवस्था छ । हामीले सबैले काम पाउनुपर्यो भनिरहेका छौं । सर्भेयरको लाइसेन्स दिएर मात्रै हुँदैन, काम पनि दिनुपर्छ भन्नेमा लागिरेहका छौं । अहिले सर्भेयरको लाइसेन्स नवीकरण गर्नलाई पनि तालिम लिनुपर्ने भनेर आएको छ । तर यसको मोडल तयार भएको छैन, कसरी जाने भनेर यो हाम्रो लागि चुनौती नै छ । पहिले लाइसेन्स लिइसकेपछि जुनसुकै क्षेत्रको क्षति मूल्यांकन गर्न पाउने व्यवस्था थियो । अहिले प्राधिकरणले कामको आधामा पोर्टफिलियो छनोट गरी एउटै मात्र क्षेत्रमा काम गर्न निर्देशन दिएको छ । यो व्यवस्थाले पुराना सर्भेयरलाई समस्या भएको छ । पुरानो सर्भेयर जसले सबै क्षेत्रमा काम गर्दै आइरहेको छ अहिले आएर एउटा मात्रै क्षेत्रमा जाउ भन्नुभन्दा त्यसलाई व्यवस्थित बनाउनुपर्छ । यो व्यवस्था नयाँ सर्भेयरलाई ठीक छ । अर्को चुनौती सर्भेयर काम गर्न पनि ठेकेदारी पेशाजस्तो भएको छ । हामी व्यवसायिक र मापदण्डअनुसार सर्भेयर बन्छौं । तर मान्छेहरूले ब्यागग्राउण्डमा बसेर ठेक्का जस्तो लिएर काम गरिरहेका छन् । उदाहरणको रूपमा १० प्रतिशत सर्भेयरलाई सेयर दिएर ९० प्रतिशत अरू नै कम्पनीको मान्छेले काम गरिरहेका छन्, ती सर्भेयर होइनन् । यसले थप चुनौती थपिएको छ । सर्भेयर क्षेत्र सुधारका लागि के-कस्ता नीतिगत सुधार आवश्यक छन् ? सम्पूर्ण सर्भेयरहरूको हकहितको लागि भनेर स्थापना भएको संस्था सर्भेयर संघले यो क्षेत्रको सुधारको लागि पहल गरिरहेका छौं । संस्थामा नयाँ छु ।  नेतृत्व लिएको १ महिना मात्रै भयो । हामीले सदस्यहरूलाई तालिमको व्यवस्था गर्ने योजना बनाएका छौं । सर्भेयरलाई तालिमप्राप्त बनाएर बजारमा ल्याउने हाम्रो योजना छ । ​​​​एकैचोटी हुँदैन, अब थालनी गछौं । त्यस्तै, सबै सर्भेयरलाई काम पाउनेगरी सम्बन्धित निकायसँग समन्वय गछौं । सर्भेयर शुल्कलाई कसरी बढाउन सकिन्छ त्यो विषयमा पनि हाम्रो ध्यान छ । हामी त्यसमै लागिरहेका छौं । समन्वय गर्ने भनेको बीमा प्राधिकरण त्यसपछि बीमक संघ, बीमा कम्पनीहरू र ग्राहकहरूसँग हो । हाम्रो छलफल हुने नै छ । उहाँहरूको सहयोगबिना हामी अगाडि बढ्न सक्दैनौं ।

सिद्धार्थ प्रिमियरको बीमा कोष ११.१५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ३६ लाख ४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आवको ९ महिनामा कम्पनीको खुद नाफा ९१.१५ प्रतिशत कम हो ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ३० करोड ६ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ४ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  यस्तै, चालु आवको चैत मसान्तमा कम्पनीले १ अर्ब २७ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले ९२ करोड ९५ लाख ६५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा कम्पनीले २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरी १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ कुद खर्च गरेको थियो ।  २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको चैत मसान्तसम्म निर्जीवन बीमा कोष ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै ३३ करोड २७ लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड १८ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १.९१ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २५०.०६ रुपैयाँ कायम छ ।