अनुमति लिएर पनि आपूर्ति नगर्ने आपूर्तिकर्तामाथि कारबाही गर्न मन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि आपूर्ति, वितरण तथा नियमन प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत अवलोकनका क्रममा मन्त्री मेहताले हाल बजारमा देखिएको औषधि अभाव तत्काल समाधान गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन् । उनले अनुमति प्राप्त गरे पनि नियमित आपूर्ति नगर्ने आपूर्तिकर्तामाथि कडा नियमन गर्न समेत जोड दिइन् । साथै, औषधि आपूर्ति तथा वितरणका लागि निवेदन दिएका तर अनुमति प्राप्त गर्न बाँकी रहेका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया छिटो अघि बढाउन उनले निर्देशन दिएकी छन् । मन्त्री मेहताले विभागको नियामक क्षमता अभिवृद्धि गर्न आवश्यक सबै कदम चाल्ने तयारी गर्न पनि आग्रह गरिन् । त्यस्तै, औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज र गुणस्तरीय बनाउन आपूर्ति अनुमति प्रक्रिया प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन तथा जनशक्तिको विवरण तत्काल पेश गर्न निर्देशन दिइएको छ । त्यसैगरी, नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध औषधिहरूको गुणस्तर परीक्षणलाई थप कडाइका साथ अघि बढाउन आवश्यक व्यवस्था गर्न पनि मन्त्रालयले जोड दिएको छ ।
‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’
काठमाडौं । दाङको तुलसीपुरलाई क्षयरोग मुक्त बनाउनका लागि ‘एआई एक्सरे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए । तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी बिरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वडामा ‘एआई एक्सरे’बाट बिरामी खोजिएको उनको भनाइ छ । विभिन्न शिविरमा उक्त मेसिन प्रयोग गरेर सङ्क्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकलाई क्षयरोग पहिचान गराउन सहज भएको छ । ‘पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो । अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ,’ उनले भने । एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको सङ्क्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार एआई एक्सरेमा सङ्क्रमण देखिएमा त्यसको पुष्टिका लागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ । यो सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको छ । ‘हामीले पहिले एआई एक्सरे मेसिनबाट हेर्छौं, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौ । यसरी हामीले सङ्क्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ,’ शाखा प्रमुख न्यौपानेले भने । सङ्क्रमितलाई ‘डटस्’ अर्थात् प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएको छ । यसरी छ महिनासम्म प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने गरिएको शाखा प्रमुख न्यौपानेले बताए । तुलसीपुर उप-महानगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत यसरी क्षयरोग सङ्क्रमितको पहिचान गरि उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ । आर्थिक वर्ष २०८१/८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो । तुलसीपुर उप-महानगरपालिकाले ९७ प्रतिशत सङ्क्रमितलाई उपचार गरिसकेको प्रमुख न्यौपानेले बताए । चालु आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३५५ जना सङ्क्रमित पहिचान गरिएको छ । १५ वर्ष मुनीका ३४ जना र १५ वर्ष माथिका ३२१ जनामा क्षयरोग सङ्क्रमण भएको पुष्टि भएको छ । प्रत्येक एक लाखमा २२७ जनामा क्षयरोग सङ्क्रमण देखिएको उनको भनाइ छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, चार स्थानमा टीबी माइक्रोस्कपी लागु गरिएको छ ।
काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो १ करोड ७० लाख बढीका उपकरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)लाई प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरेकी हुन् । महानगरले उपलब्ध गराएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचारका लागि रकम जम्मा गर्न सकिने सुविधासहितका १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन छन् भने रिपोर्ट, परीक्षण तथा उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर पनि प्रदान गरिएको छ ।