यस्तो छ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको १०० दिनको प्रगति विवरण
काठमाडौं । कैलालीको धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । जसमा सबैभन्दा पहिलो प्रमुख उपलब्धी विश्वविद्यालयको उपकुलपति र रजिष्टार नियुक्तिलाई राखिएको छ । यस विश्वविद्यालयको उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रार डा. खेमराज जोशीलाई नियुक्त गरी विश्वविद्यालयको प्रशासनिक संरचना व्यवस्थित बनाउने काम अघि बढाइएको जनाएको छ । यस्तै, पूर्वाधार तथा प्राविधिक विकासतर्फ विश्वविद्यालयको आधिकारिक वेबसाइट निर्माण गरिएको, परिसर सरसफाइ तथा व्यवस्थापन, केन्द्रीय प्रशासनिक भवन र आवास व्यवस्थापनमा सुधार गरिएको उल्लेख छ भने शैक्षिक कार्यक्रम सञ्चालन अन्तर्गत पाठ्यक्रम निर्माण कार्य तीव्र बनाइएको छ । एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीटी, बी फार्मेसी, बीपीएच र बी अप्टोमेट्री लगायत कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । आगामी शैक्षिक सत्रदेखि एमबीबीएस ५० सिट, नर्सिङ ३०, बीएससी एमएलटी २० सिट र बी अप्टोमेट्री २० सिट सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ–एप्रेजल फारम समेत पेश गरिएको छ । यस्तै, नीतिगत तथा संस्थागत विकासअन्तर्गत शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली लगायत विभिन्न मस्यौदा तयार पारिएको छ । खरिद, अनुसन्धान केन्द्र, विषय समिति तथा संगठन संरचनासम्बन्धी नियमावली निर्माण प्रक्रियामा रहेका छन् । मानव संसाधन व्यवस्थापनतर्फ ७७ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि विज्ञापन प्रकाशित गरिएको छ भने करार शिक्षक छनोट कार्यविधि पनि तयार गरिएको उल्लेख छ । वित्तीय व्यवस्थापनतर्फ चालु आर्थिक वर्षका लागि ४९ करोड १३ लाख बजेट विनियोजन भएको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोडको प्रस्तावित बजेट तयार गरिएको छ । साथै विभिन्न स्रोतबाट आय सुनिश्चित गर्ने पहल भइरहेको विश्वविद्यालयले जनाएको छ ।
अब अस्पतालमा पनि आइतबार बिदा हुने
काठमाडौं । अब अस्पतालमा पनि आइतबार बिदा हुने भएको छ । सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार पनि ओपीडी सञ्चालन गर्न निर्देशन दिँदा चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदा मन्त्रालय यो कदमबाट पछाडि हटेको हो । सरकारले सार्वजनिक संस्थाहरूमा आइतबार पनि बिदा दिन दिएको आग्रहलाई लत्याउँदै मन्त्रालयले अस्पताल आइतबार पनि सञ्चालन गर्न भनेको थियो । यो विषयमा नेपाल चिकित्सक संघ लगायत १४ वटा चिकित्सक संघ संगठनहरूले आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको भोलिपल्ट मन्त्रालयले एक विज्ञप्ति निकाल्दै शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा’ को नीति अनुरूप आइतबारका पूर्व–निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैं झैं २४ सै घण्टा सुचारु रहने जानकारी गराइन्छ ।’ बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।
अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
काठमाडौं । अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् । ढाका, मस्को, कोलोम्बो, टोकियो, ओटावा तथा सोलमा रहेको नेपाली राजदूतावास तथा चीनको ग्वान्जोओस्थित महावाणिज्य दूतावासमा उक्त दिवस मनाइएको ती दूतावासले बिहीबार जारी गरेका बेग्लाबेग्लै विज्ञप्तिमा जनाइएको छ । ती कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको आरोग्य दिवसम्बन्धी भिडियो सन्देश प्रस्तुत गरिएको थियो । टोकियोस्थित नेपाली दूतावासमा नेपाली उत्पादन शिलाजित च्यूरीको तेल, जैविक चिया, ‘हिमालयन वाथ साल्ट’ र ‘सिङङिङ वाउल’ को प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा साथै नेपालका पर्यटकीय क्षेत्र र पदमार्गसम्बन्धी प्रचारात्मक सामग्री जापानी अथितिहरुलाई निःप्रदान गरिएको थियो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ । सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् । रासस