आजको मौसम: यी क्षेत्रमा वर्षा पर्ने, यी क्षेत्रमा गर्मी हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ । देशको पहाडी भू-भागमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपात तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विज्ञान मन्त्रालयको स्थापनासँगै नेपाल प्रविधि नवप्रवर्तन केन्द्रको भूमिका र सक्रियता बढ्दै

काठमाडौं । नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उच्च प्राथमिकता दिँदै सरकारले पहिलो पटक विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेसँगै देशमा डिजिटल रूपान्तरण र प्रविधिमैत्री विकासले नयाँ गति लिने विश्वास गरिएको छ ।  यस नीतिगत परिवर्तनलाई व्यवहारमा उतार्न शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण देखिएको परिवेशमा, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा स्थापित नेपाल प्रविधि नवप्रवर्तन केन्द्रले युवाहरूका नवीन सोचलाई व्यावहारिक रूप दिन महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।  विगतमा सरकार तथा सरोकारवालाहरूको पर्याप्त ध्यान नपुग्दा राष्ट्रिय स्तरमा पहिचान बनाउन विभिन्न कठिनाइहरू झेलेको यस केन्द्रले माननीय महावीर पुनको नेतृत्वदायी अभियानबाट थप ऊर्जा प्राप्त गर्दै विशेषगरी ग्रामीण क्षेत्रमा नवप्रवर्तनको पहुँच विस्तार गर्न उल्लेखनीय भूमिका खेलिरहेको छ । नेपाल सरकार र दक्षिण कोरिया सरकार कोइकाको संयुक्त सहयोगमा स्थापित यो अत्याधुनिक केन्द्रले सुरुवाती चरणदेखि नै कृषि, वैकल्पिक ऊर्जा र स्वास्थ्यजस्ता ग्रामीण जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा अनुसन्धान गर्दै आएको छ ।  केन्द्रका निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठको परिकल्पना र नेतृत्वमा सञ्चालित यस संस्थाले दीर्घकालीन सैद्धान्तिक अनुसन्धानभन्दा बाहिर निस्केर व्यवसायीकरण, स्टार्टअप प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ । केन्द्रले स्टार्टअप र इन्क्युबेसन कार्यक्रममार्फत युवा तथा महिलाहरूलाई बीउ पूँजी, परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै उद्यमशीलताको विकासमा समेत टेवा पु¥याइरहेको छ । हाल एनटीआइसीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सहकार्यमा ठूला र दूरगामी परियोजनाहरू अघि बढाइरहेको छ ।  जसअन्तर्गत, इसिमोडसँगको सहकार्यमा जलवायु-स्मार्ट कृषिका लागि हरित मलसम्बन्धी अनुसन्धान, एसिया–प्रशान्त क्षेत्रीय नवप्रवर्तन उत्कृष्टता केन्द्रमार्फत वन डढेलो रोकथाम, र दक्षिण कोरियाको योन्सेई विश्वविद्यालयसँग ग्रह स्वास्थ्य सम्बन्धी अनुसन्धान भइरहेका छन् । त्यस्तै, अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी र थाइल्याण्डको केएमआइसीएलसँग मिलेर इन-सिटु एनआईआर प्रविधिमार्फत २४ सै घण्टा फोहोर पानी निगरानी गर्ने प्रणालीको विकास र डाइअक्सिन प्रदूषण मापन गर्ने सेन्सर निर्माणको काम भइरहेको छ । विगतमा ग्रामीण क्षेत्रका लागि उपयोगी म्यानुअल राइस ट्रान्सप्लान्टर, वनस्पतिमा आधारित सौन्दर्य प्रसाधन, समुदायस्तरको शीतभण्डार, दूध प्रशोधनका लागि स्प्रे ड्राइङ प्रविधि, प्लास्टिक फोहोरबाट वैकल्पिक इन्धन र अण्डा इन्क्युबेटर जस्ता दर्जनौं प्रविधिको सफल विकास र व्यावसायीकरण गरिसकेको यस केन्द्रले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ‘हार्वर्ड हेल्थ ह्याकाथन’ समेत सफलतापूर्वक आयोजना गरिसकेको छ ।  हालसम्म मुख्यतः विदेशी दातृ सहयोगमा निर्भर रहँदै संघर्ष गरिरहेको यस केन्द्रले अब सरकारले विज्ञान र प्रविधिलाई दिएको उच्च महत्वका कारण राष्ट्रिय स्तरमा उचित स्थान पाउने र नेपाली युवाहरूले अझ बढी अवसर पाउनेमा निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठ विश्वस्त छन् ।  नयाँ मन्त्रालयको आगमनसँगै यस्ता नवप्रवर्तन केन्द्रहरूको भूमिका अझ सुदृढ बन्ने र धुलिखेलको यो अभ्यासले राष्ट्रिय विकासलाई नयाँ मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

जलविद्युत मात्र होइन, अब इप्पान ग्रीन हाइड्रोजन र सोलारमा पनि केन्द्रित हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेको छ ।  पदभार ग्रहण गरेपछि अध्यक्ष मोहनकुमार डाँगीले आफ्नो कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्य ः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा सार्वजनिक गरे ।  उनले ‘इप्पान भिजन २०२९’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण, व्यापार र आन्तरिक खपतमा पनि सहभागी गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष डाँगीले विद्युत् विधेयक र वन विधेयक लगायतका कानुनहरूमा रहेका जटिलता हटाउन सरकार र संसदीय समितिहरूसँग सक्रिय संवाद गर्ने बताए । संस्थालाई प्राविधिक रूपमा बलियो बनाउन नेपाल सरकारका पूर्व सचिवहरूको संयोजकत्वमा ७ देखि ९ सदस्यीय प्राविधिक विज्ञ सल्लाहकार समिति गठन गरिने उनको कार्ययोजनामा उल्लेख छ । संस्थागत सुधारको पाटोमा इप्पानलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने घोषणा गरिएको छ । आगामी अधिवेशनदेखि सदस्यहरूले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइने र प्रत्येक सदस्यलाई आफ्नो डाटा हेर्न युजर नेम र पासवर्ड प्रदान गरिने अध्यक्ष डाँगीले जानकारी दिए । इप्पानको आफ्नै अत्याधुनिक भवन निर्माणका लागि कोष संकलन गरिने र जग्गा दान गर्ने दाताहरूको सम्मानमा हल तथा कोठाहरूको नामाकरण गरिने योजना अघि सारिएको छ ।  साथै अबको प्राथमिकता केवल जलविद्युत्मा मात्र नभई सौर्य ऊर्जा, ग्रीन हाइड्रोजन, ब्याट्री स्टोरेज र बायोग्यासमा पनि केन्द्रित हुने उनले बताए । सम्बोधनका क्रममा अध्यक्ष डाँगीले निर्वाचनका क्रममा देखिएका वैचारिक भिन्नताहरू समाप्त भएको घोषणा गर्दै अबको कार्यकालमा सम्पूर्ण ऊर्जा उद्यमीहरू एकताबद्ध भएर अगाडि बढ्ने बताए ।  उनले संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्शेर जबरालगायत सम्पूर्ण अग्रजहरूको योगदानको कदर गर्दै उनीहरूलाई अभिनन्दन गर्ने कार्यक्रमसमेत सार्वजनिक गरे । नयाँ नेतृत्व र १७ बुँदे महत्त्वाकांक्षी कार्ययोजनाले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई थप सशक्त बनाउने र लगानीकर्ताहरूको मनोबल उच्च राख्ने विश्वास डाँगीको छ । निवर्तमान अध्यक्ष गणेश कार्कीलाई मुख्य सल्लाहकारको जिम्मेवारी दिइएको छ । इप्पानको नयाँ कार्यसमितिले लियो शपथ, डाँगीले सम्हाले नयाँ नेतृत्व