प्रदिक्षा शर्मा र सागर केसीलाई सीईओको जिम्मेवारी, अन्तर्राष्ट्रिय विस्तारलाई तीव्रता दिने
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी उत्पादन तथा निर्यात कम्पनी मनराम ग्रुपले आफ्ना विभिन्न व्यावसायिक इकाइहरूमा नयाँ नेतृत्व नियुक्त गरेको छ । कम्पनीका अनुसार यस कदमले नवप्रवर्तन, अन्तर्राष्ट्रिय विस्तार र दिगो विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ । प्रदिक्षा शर्मालाई मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ भने सागर केसीलाई मनराम फार्म प्रालिको सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यी रणनीतिक नियुक्तिले कम्पनीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सन् २००३ मा स्थापना भएको मनराम ग्रुपले आफ्नो यात्रा परम्परागत नेपाली उत्पादन( जस्तै छुर्पी र हस्तकलाका सामग्री-संयुक्त राज्य अमेरिकामा निर्यात गर्दै सुरु गरेको थियो । समयसँगै कम्पनीले कृषि, डेरी, पेट उत्पादन, खाद्य सेवा तथा उत्पादन क्षेत्रलगायत विविध क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ । हाल ग्रुपमा ४५० भन्दा बढी कर्मचारी कार्यरत छन् । गुणस्तर, नैतिक व्यावसायिक अभ्यास र नवप्रवर्तनप्रतिको प्रतिबद्धताका साथ कम्पनीले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै विशेषगरी महिला सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ । ग्रुपका अध्यक्ष सुमन श्रेष्ठले भने, ‘यी नेतृत्व परिवर्तनहरूले हाम्रो दीर्घकालीन रणनीतिलाई अझ मजबुत बनाउनेछन्। नयाँ नेतृत्वले नवप्रवर्तन, कार्यक्षमता र अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’ व्यावसायिक गतिविधिसँगै कम्पनी सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको छ । मनराम फाउन्डेसनमार्फत शिक्षा क्षेत्रमा पुस्तकालय स्थापना र छात्रवृत्ति कार्यक्रम सञ्चालन जस्ता पहलहरू अघि बढाइएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर विस्तार र विविध उत्पादन पोर्टफोलियोमार्फत मनराम ग्रुपले नेपालको निर्यात क्षेत्र सुदृढ बनाउँदै व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एशोसिएशनकोतर्फबाट सागर ढकालको उम्मेदवारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो । एसोसिएसनको केही समयअघि बसेको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई केन्द्रीय सदस्य बनाउन आफूहरूले उल्लेखनीय भूमिका खेल्ने समेत जानकारी दिएको छ । नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप स्टक बस ब्रोकर एसोसिएसको तर्फबाट आफूले महासङ्घको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको अध्यक्ष ढकालले जानकारी दिए । 'अहिले पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध छन् भने पुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ,' उनले भने, 'यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ । समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासङ्घको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।' करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजीबजारको साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् । आफू महासङ्घको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने समेत उनले जानकारी दिए । 'अहिले पुँजीबजारका साथै नेपालका उद्योग व्यवसायमा धेरै समस्या छन्,' उनले भने, 'सरकारले ती समस्या समाधान गर्न आलटाल गर्दै आएको छ । जेन्जी आन्दोलनपछि दुईतिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि मैले महासङ्घको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।'
एनआरएनए उपाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा
काठमाडौं । जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका समाजसेवी तथा व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । खड्काले सन् २०२५–२०२७ कार्यकालका लागि उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्यलाई मजबुत बनाउने लक्ष्यसहित नेतृत्वमा आउन चाहेको बताएका छन् । जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ताका रूपमा चिनिने खड्का डेढ दशकभन्दा बढी समयदेखि एनआरएनए अभियानसँग आबद्ध रहँदै आएका छन् । विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा अग्रसर भूमिका निर्वाह गर्दै आएका उनले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार एनआरएनए विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम हो । त्यसैले संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको धारणा छ । जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान तथा विपद् राहत सहयोगलगायत गतिविधिमा खड्काको सक्रिय सहभागिता रहँदै आएको छ । साथै नेपाली समुदायबीच सहकार्य र समन्वय बढाउने, नयाँ पुस्तालाई सामाजिक अभियानमा जोड्ने तथा नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने कार्यमा पनि उनी सक्रिय छन् । खड्का जापानमा सफल व्यवसायीका रूपमा समेत परिचित छन् । व्यवसायिक गतिविधिमार्फत नेपालीहरूका लागि रोजगारी तथा अवसर सिर्जना गर्ने प्रयास गर्दै आएका उनी जापानस्थित नेपाली व्यवसायी संघ जापानका वरिष्ठ उपाध्यक्षलगायत विभिन्न संघसंस्थासँग आबद्ध छन् । एनआरएनए अभियानमा उनको लामो अनुभव रहेको छ । यसअघि उनी सन् २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, सन् २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा सन् २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका छन् । उम्मेदवार खड्काले विदेशमा रहेका नेपालीहरूले भोग्ने कानुनी तथा प्रशासनिक समस्याको समाधान, प्रवासी नेपालीहरूको सीप, अनुभव र पूँजी नेपालमा लगानी गर्न प्रोत्साहन, दोस्रो पुस्ताका युवालाई एनआरएनए अभियानमा जोड्ने तथा संस्थाभित्र देखिने विभाजन अन्त्य गरी पारदर्शी र एकताबद्ध संगठन निर्माण गर्ने एजेन्डा अघि सारेका छन् । एनआरएनएको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुँदैछ, जहाँबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ ।