राष्ट्र बैंकको 'काइते' काम, आरोपितलाई नै छानबिनको जिम्मा

सेयरधनीहरूकाे गम्भीर आपत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबारमा चलखेल (इनसाइडर ट्रेडिङ) भएको आरोपबारे छानबिन गर्न निर्देशन दिएको छ । तर, अनुसन्धानको जिम्मेवारी आरोपित सञ्चालक समितिलाई नै दिइएपछि यो विषय विवादमा परेको छ ।

लघुवित्तका केही सेयरधनीहरूले संस्थाका सञ्चालकहरूले गलत सूचना सार्वजनिक गरेर सेयर मूल्यमा चलखेल गरेको भन्दै राष्ट्र बैंकमा उजुरी दिएका थिए । तर, राष्ट्र बैंकले आफैं अनुसन्धान नगरी संस्थाकै सञ्चालक समितिलाई छानबिन गर्न निर्देशन दिएपछि पीडित पक्षले नियामकको भूमिकामाथि प्रश्न उठाएका छन् ।

साविक मिर्मिरे लघुवित्तका सञ्चालक सञ्जय श्रेष्ठसहितका सेयरधनीहरूले साविक सगरमाथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा हाल आकाशभैरव सेक्युरिटिज (ब्रोकर नं. ८१) का अध्यक्ष मनबहादुर राई, हाल नेरूडे मिर्मिरेका अध्यक्ष राजकुमार राई, टिकाराम निरौला, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)का प्रबन्ध निर्देशक राजकुमार तिमिल्सिना तथा नेरूडे मिर्मिरेका पूर्वअध्यक्ष सन्तोष फुयाललगायतले इनसाइडर ट्रेडिङ गरेको आरोप लगाउँदै राष्ट्र बैंकमा उजुरी दिएका थिए ।

उजुरीपछि राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले संस्थालाई पत्र पठाउँदै सञ्चालक समितिका सदस्यविरुद्ध चार पृष्ठको उजुरी प्राप्त भएको भन्दै आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकका उपनिर्देशक रामेश्वर पोखरेलद्वारा हस्ताक्षरित पत्रमा उजुरीमाथि अनुसन्धान गरी प्रतिवेदन पेश गर्न भनिएको छ । राष्ट्र बैंकले वैशाख २९ गते संस्थालाई पत्र पठाएर सञ्चालक समितिबाटै अनुसन्धान गरी विवरण पेश गर्न निर्देशन दिएको हो ।

यस विषयमा पीडित सेयरधनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

‘राष्ट्र बैंक आफैंले अनुसन्धान गर्नुपर्ने विषयमा आरोपित पक्षलाई नै छानबिन गर्न जिम्मा दिनु शंकास्पद छ,’ एक पीडित सेयरधनीले भने, ‘जसको बारेमा अनुसन्धान गर्नुपर्ने हो, उसैलाई छानबिन गर्न भन्नु नियामक निकायको भूमिकामाथि नै प्रश्न उठाउने विषय हो ।’

null

उनका अनुसार इनसाइडर ट्रेडिङजस्तो गम्भीर विषयमा राष्ट्र बैंकले तत्काल स्वतन्त्र अनुसन्धान अघि बढाउनुपर्ने थियो । ‘यदि राष्ट्र बैंक आफैंले अनुसन्धान गर्न नसक्ने हो भने सम्बन्धित अन्य निकायलाई पत्राचार गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर आरोपित व्यक्तिलाई नै अनुसन्धान गर्न लगाउनु मिलेमतो जस्तो देखिन्छ ।’

राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले सञ्चालक भानु दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ । स्रोतका अनुसार समितिमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवकुमार पौडेल र कम्पनी सचिव राजेश श्रेष्ठ सदस्य रहेका छन् ।

पीडित पक्षले समिति निष्पक्ष नहुने आशंका व्यक्त गरेका छन् । ‘छानबिन समितिका सदस्यहरू अध्यक्ष राजकुमार राई र सन्तोष फुयालनिकट मानिन्छन्,’ एक सेयरधनीले भने, ‘त्यस्तो अवस्थामा अनुसन्धान निष्पक्ष हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

यस्तै, नेपाल धितोपत्र बोर्डले पनि नेरूडे मिर्मिरे लघुवित्तविरुद्ध परेको गुनासोबारे स्पष्टीकरण माग गरेको छ । बोर्डको कानुन विभागले संस्थालाई पत्र पठाउँदै सेयरधनीको नामबाट प्राप्त गुनासोमाथि छानबिन गरी आवश्यक जानकारी र सम्बन्धित कागजात पेश गर्न निर्देशन दिएको हो ।

सहायक निर्देशक अशोककुमार विष्टद्वारा हस्ताक्षरित पत्रमा गुनासोसँग सम्बन्धित विषयमा के-कस्तो प्रक्रिया अघि बढाइएको हो भन्ने विवरण सात दिनभित्र बोर्डमा बुझाउन भनिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले इनसाइडर ट्रेडिङको विषय संस्थागत सुशासनसँग जोडिएको भन्दै यसमा राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड दुवैको चासो रहने बताए -

‘इन्साइडर ट्रेडिङको विषय संस्थागत सुशासनको हिसाबले राष्ट्र बैंकको पनि कन्सर्न रहन्छ । तर, यो विषय बढी रूपमा सेबोनको दायराभित्र पर्छ,’ उनले भने।

उनका अनुसार यदि कुनै संस्थाले सुशासन विपरीत कार्य गरेको पाइएमा त्यो राष्ट्र बैंकको कारबाहीको विषय बन्न सक्छ ।

सम्बन्धित सामग्री : 

नेरूडे मिर्मिरे लघुवित्तकाे सेयरमा इन्साइडर ट्रेडिङ

नेरुडे मिर्मिरेलाई राष्ट्र बैंकको अर्काे निर्देशन- साढे ८१ करोड कर्जा नोक्सानी व्यवस्थामै राख्नू

नेरुडे मिर्मिरे लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्ने तयारी

Share News