काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न ५ वटा नयाँ फिडर थप गरेको छ ।
१६ वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै ५ वटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।
‘विगतमा १६ वटा फिडरबाट गाउँ र सहरसम्म विद्युत् आपूर्ति हुँदै आएको अहिले ५ वटा नयाँ फिडर थप गरी गाउँ र सहरको फिडर छुट्याएका छौँ,’ उनले भने, ‘छुट्टा छुट्टै फिडर भएकाले गाउँ र सहर दुवै ठाउँमा विद्युत् वितरण र भोल्टेजमा सुधार आएको छ ।’
वितरण लाइनको मसिनो तारलाई पनि व्यवस्थापन गर्दै फिडर थप गरेपछि अहिले बाँके जिल्लामा भोल्टेज कम भएको गुनासो आउन छाडेको छ । फिडरसँगै आवश्यक ठाउँमा नयाँ ट्रान्सफर्मरसमेत थप गरिएको मिश्रले बताए । विद्युतको बढ्दो मागलाई व्यवस्थापन गर्नका लागि पनि पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ ।
बाँके जिल्लामा विद्युत् सेवा सुधार र चुहावट नियन्त्रणका लागि नेपालगन्ज वितरण केन्द्रले मिटर अनुगमन, हुकिङ गर्ने वा मिटरमा गडबडी गर्ने ग्राहकमाथि सार्वजनिक बिदाको दिनसमेत स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको छ ।
सेवा सुधार, चुहावट नियन्त्रण अभियानले पछिल्ला महिनाहरूमा बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेका कारण गर्मीयाममा समेत आपूर्ति अवरुद्ध नहुने केन्द्र प्रमुख मिश्रको दाबी छ ।
नेपालगन्ज वितरण केन्द्र नोलाइट शाखामार्फत महत्त्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाई केबुल विस्तारको काम भइरहेको छ । मर्मत शाखाले पनि नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन आवश्यक सतर्कता अपनाएको कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको उनको भनाइ छ ।