विकासन्युज

सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

काठमाडौं । दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह (सामसुङ) ले आगामी ५ वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्यसाथ आएको हो ।  सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी-चिप निर्माताहरू मध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ ।  दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो ।  ५ वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा (प्योङटेक प्लान्ट ५) निर्माण गर्ने योजना समावेश रहेको छ,’ सामसुङले एक विज्ञप्तिमा जनाएको छ।   पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ। कम्पनीले बिस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, ‘सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ।’  सामसुङ इलेक्ट्रोनिक्सल एआई-ईन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ। एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्याङ्कनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ।  दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो । अमेरिकी राष्ट्रपति ली जे म्युङले ‘एआई युगको सुरुवात’ गर्ने र देशलाई संयुक्त राज्य अमेरिका र चीनपछि विश्वको शीर्ष तीन एआई शक्तिमध्ये एक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनपीएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बन्यो एलओडी क्लब

काठमाडौं । एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो । आइतबार एक कार्यक्रम गरी क्लबका कार्यकारी निर्देशक रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरे ।  कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार खेल भइरहेको समयमा क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने छन् । क्लबले क्रिकेट रंगशालामा क्याबिन म्युजिक प्ले गर्ने छन् ।  ‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नु क्लबले जिम्मेवारी पाएको छ,’ उनले भने । 

नेपाल टेलिकमको नाफा १.३२ अर्ब रुपैयाँ, आम्दानी ८.६७ अर्ब

काठमाडौं । नेपाल दूसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी)को चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको पहिलो त्रैमसामा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीका अनुसार चालु आवको ३ महिनामा वित्त आम्दानी ६० करोड ५ लाख रुपैयाँ, अन्य आम्दानी १९ करोड १० लाख रुपैयाँ र कुल आम्दानी ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ७७ लाख रुपैयाँ वित्त आम्दानी, २० करोड ६३ लाख रुपैयाँ अन्य आम्दानी र १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ कर्मचारी खर्च, १ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ सञ्चालन तथा मेन्टेनेन्स खर्च, ८ करोड ५५ लाख रुपैयाँ प्रमोसनल खर्च, ३५ करोड ४४ लाख रुपैयाँ कार्यालय सञ्चालन खर्च, १ अर्ब १७ लाख रुपैयाँ शुल्क तथा नवीकरणमा खर्च भएको जनाएको छ ।  १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेर २९.४५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको असोजमा कम्पनीको प्रतिसेयर आम्दानी ३८.६६ रुपैयाँ थियो । 

एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको र पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । दैलेखको पटांगीनी, दुल्लूमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित जन सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई “निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।  महासचिव पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई “राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र”का रूपमा चित्रण गरे ।  उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्र विरुद्धको गम्भीर अपराध हो । हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ ।’ उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपील गरे ।  कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य यामलाल कँडेलले मुलुकलाई दिगो स्थिरता दिन आउँदो निर्वाचनमा एमाले एक्लै बहुमतसहित अगाडि आउनुपर्ने धारणा राखे ।  कँडेलले भने, ‘जनताको रोजाइमा पहिलो पार्टी एमाले नै हो । अब नेता-कार्यकर्ता सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ ।’ एमाले दैलेख जिल्ला कमिटीका अध्यक्ष सूर्यबहादुर शाहीले जेनजी आन्दोलनपछि बनेको सरकारले असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गरे मात्र मुलुकले मार्गनिर्देशन पाउने दाबी गरे । उनका अनुसार एमाले र जनता एक भएर अघि बढे मात्र देश संकट मुक्त बन्न सक्छ ।  शाहीले कार्यकर्तालाई संगठन सुदृढीकरण र जनतासँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन सबैलाई सक्रिय हुन अपिल गरे । 

निजी क्षेत्रमाथि लुटपाट, तोडफोड र आगजनी गर्ने कारबाही गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न र सो घटनाको विषयमा जाहेरी लिन नेपाल प्रहरीसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूको टोलीले आइतबार नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई भेट गरि सो आग्रह गरेको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वको सो टोलीले घटनामा संलग्नहरूमाथी कारबाही नगर्ने हो समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै यस विषयमा महानिरीक्षक कार्कीको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष ढकालले आन्दोलन पछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको बताए ।  ‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपि पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उद्योगी व्यवसायीहरूको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ,’ उनले भने ।  उनले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहरिन सक्ने जोखिम कायम रहने धारणा राखे । निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीको लागि पहिलो सर्त सुरक्षा भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए ।  ‘आन्दोलन पछि व्यवसायीहरूले प्रमाणसहित जाहेरी दिए पनि नलिएको अवस्था छ । काठमाडौं बाहिरका जिल्लाहरूबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीहरूबाट आइरहेको छ । यसले व्यवसायीहरूमा एक प्रकारको निराशा छाएको छ । तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु,’ उनले भने ।  यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने गरे पनि यो पटक निजी क्षेत्रमाथि योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए । उनले शान्ति सुरक्षा विना स्थायित्व कायम नहुने र स्थायित्व बिना आर्थिक गतिविधि चलायमान नहुने हुनाले शान्ति सुरक्षाको प्रत्याभूति अत्यन्तै आवश्यक रहेकोमा जोड दिए ।  प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शान्ति-सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध भएर लागेको बताए ।  आन्दोलनका क्रममा गलत घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो-कसैलाई पनि प्रमाणका आधारमा कानूनी कारबाही दायरामा ल्याइने धारणा राखे ।  ‘निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो । यो क्षेत्रको संरक्षण विना अर्थतन्त्र चलायमान हुन सक्दैन । नेपाल प्रहरी निजी क्षेत्र, आम नागरिकको सुरक्षाको लागि सधैं संवेदनशील छ । यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने ।  प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्ति माथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइने र यसका लागि सबै जिल्ला स्थित प्रहरी कार्यालयहरूलाई निर्देशन दिइएको जानकारी दिए । महासंघका उपाध्यक्षहरू सुर कृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्य लगायतको सहभागिता थियो ।

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै, ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य

काठमाडौं । नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि  कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।  त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच  प्रतिस्पर्धा हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका  कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् ।  सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।  एनपीएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट २ दिन अगाडि नै बिक्री भइसकेको छ । उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार रुपैयाँ र प्रिमियरतर्फ २ हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ । एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

राष्ट्र बैंकको सम्पत्ति २६.२३ खर्ब रुपैयाँ पुग्यो, सरकारलाई ४२ अर्ब रुपैयाँ दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९.२३ प्रतिशतले वृद्धि भएको हाे । केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

बजारको तह र वस्तुको मापदण्ड निर्धारणका वाणिज्य विभागले माग्यो सुझाव

काठमाडौं । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ । नागरिक तथा उपभोक्तासमेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ । वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता, पारदर्शिता र नियमनको आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियम समेतलाई मध्यनजर गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा भएको विभागले स्पष्ट पारेको छ ।  मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्य समेतलाई विचार गरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ ।