मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर कात्तिक २९ गते राति ९ः०० बजेसम्म ५० हजार २१७ पुरूष, ३० हजार २३५ महिला र चार अन्यगरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन् । योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको सङ्ख्या दुई लाख ८१ हजार १२९ पुगेको छ । आयोगले शनिबार पनि नामावली दर्ता जारी राखेको छ ।
एक वर्षपछि खुल्यो मुर्कची–रौता–जाँते ग्रामीण सडक
उदयपुर । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाइघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका–५ जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता–भुटारखण्ड अवरुद्ध भएको थियो । गत वर्षको वर्षाले ग्रामीण सडक भत्काउनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरोध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेको छ । उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते–भुटार–मुर्कुची–गाइघाटमा बससमेत सञ्चालन हुन थालेको मुर्कुचीका यातायात व्यवसायी कुमार मगरले बताए । लिम्चुङबुङ गाउँपालिका–५ का वडाध्यक्ष केसर राईका अनुसार रौतामाई गाउँपालिकासँग समन्वय गरेर सडक सञ्चालनको पहल गरेपछि अवरोध हटेको हो । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार रौता–भुटार खण्डको रसुवा खोलामा अस्थायी पुल निर्माण गरिएको छ । बाँकी स्थानका अवरुद्ध सडक खुलाइएपछि यातायात सञ्चालन भएको हो । रासस
राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैन : डा.प्रकाशचन्द्र लोहनी
काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् । लोहनीले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताएका हुन् । उनले निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगे पनि लगानी आकर्षित नहुनु चिन्ताको विषय भएको बताए । उनले बैंकको इन्ट्रेस्ट रेट वान डिजिटमै आइसके पनि अझै बढी भइरहेको गुनासो आउने गरेको बताए । नेपालको अर्थतन्त्रको मोडल रेमिट्यान्समै आधारित रहे पनि त्यसलाई प्रयोग गर्न नसकिएको उनले बताए । नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौती रहेको उनको भनाइ छ। उनले भने, ‘नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ। तर भएका पैसा पनि खर्च हुँदैन। पैसा छैन भने कटौती गरिरहेका छौँ । हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भए पनि हामीले त्यसलाई युज गर्न सकेनौँ। एक्सपोर्टमा लगाएनौँ। अहिलेको यो स्थितिमा आइपुग्यौँ। नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने यो चुनौती छ । कस्तो लिक्विडिटी ट्रयापमा परेको हो नेपाल ? जति ब्याज घटाए पनि मान्छे नआउने ? त्यो वातावरण बनाइदिने राजनीतिले हो। राजनीतिक तह कमजोर भएपछि अर्थतन्त्रले मात्रै काम गर्दैन।’ पूर्वअर्थमन्त्री डा. लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै सङ्कटको घडी भएको जिकिर गरे। राष्ट्र बैंकमा अहिलेसम्म नेपालीहरूको धेरै विश्वास रहेको र राष्ट्र बैंक धेरै राजनीतिकरण नभएको संस्था भएको उनले बताए।
गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा
गण्डकी । गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ । यही कात्तिक २४ गते बसेको प्रदेशसभा बैठकमा प्रस्तुत भएको उक्त विधेयकमा दुई जना प्रदेशसभा सदस्यबाट संशोधनको सूचना प्राप्त भएको थियो । शुक्रबारको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित उक्त विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले जानकारी दिए। विषयगत समितिमा दफावार छलफपछि पुनः प्रदेशसभामा बैठकमा छलफल भएपछि विधेयक पारितको प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ । लागुऔषधसम्बन्धी संघीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी गाँजाखेतीसम्बन्धी कानुन बनाउने तयारीमा प्रदेश सरकार छ । प्रदेशसभामा प्रस्तुत भएको भइसकेको उक्त विधेयकमा गाँजाखेती र व्यवसायका लागि कडा प्रावधान राखिएको छ। प्रदेश सरकारले गाँजाखेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको रु पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ । गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ । अनुमतिबिना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेलजस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था विधेयकमा गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली ‘गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ ।
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए । शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भएको छलफलमा उनले नेपालमा व्यापार, लगानी, औद्योगिक ‘पार्क’ निर्माणलगायत सबैतिर प्रगति भएको र केही आयोजनामा केही विलम्ब हुनु अस्वभाविक नभएको बताए । ‘बिआरआई परियोजनामा प्रगति भएको छ । ती सबै प्रशासनिक प्रक्रियामा छन्, तिनको सफल कार्यान्वयनका निम्ति स्थायी सरकार अपरिहार्य छ । आगामी चुनावपछि बन्ने सरकारबाट ती परियोजना द्रुतगतिमा कार्यान्वयन हुनसक्छन्,’ राजदूत छनले भने, ‘हामी अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वयमा काम गरिरहेका छौँ, तर यो सरकारको ‘म्यान्डेट’ आमनिर्वाचन गराउनुभएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिहेका छौँ ।’ चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने जानकारी दिँदै चिनियाँ राजदूतले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए । ‘नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्याउने परियोजनामा काम भइरहेको छ, हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ,’ पञ्चवर्षीय योजनाका विशेषताबारे जानकारी दिँदै राजदूत छनले भने । ती योजना चीन र नेपालका निम्ति वरदान सावित हुने उहाँको कथन छ । नेपालको राजनीति स्थायित्व, विकास र समृद्ध नै चीनको चाहना भएको दोहोर्‍याउँदै उनले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिरहेको बताए । रणनीतिक योजना तथा भरपर्दो विकास साझेदारको अभावमा नेपालको विकास सुस्त गतिमा भएको विश्लेषण सुनाउँदै उनले नेपालको विकासमा सघाउन चिनियाँ पञ्चवर्षीय योजनामा नेपालको विकासका परियोजना पनि समाहित गरिएका जानकारी दिए । अन्य छिमेकीलाई पनि सघाने परियोजना १५औँ पञ्चवर्षीय योजनामा समेटिएका उनले बताए । ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य भूभाग हुन् भन्ने मान्यतालाई नेपालका सबै सरकारले स्वीकार गरेर एक चीन सिद्धान्तप्रति अटल ऐक्यबद्धता जनाएर तदनुरूप व्यवहार गरेकामा आभार व्यक्त गर्दै चिनियाँ राजदूतले चीन र नेपालबीचको मैत्री सधैँ सुमधुर रहेको बताए । चीन–नेपाल सम्बन्धलाई प्रभावित पार्ने विषयप्रति जेनजी अगुवाहरूको पनि विमति नरहेको आफूले पाएको उनले बताए । एक प्रश्नको जवाफमा राजदूत छनले चीन र नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएको, दुवै देशले संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेका, विधिमा आधारित विश्व व्यवस्थालाई मानेका बताए । राजदूत छनले, ‘आधुनिक चीनको निर्माणअघि जेनजी आन्दोलन चीनमा पनि भएको यसलाई विश्वका विभिन्न देशमा कुन पृष्ठभूमिमा भएका थिए त्यसको विवेचना गर्नुपर्छ, नेपालमा पनि राष्ट्रलाई केन्द्रमा राखेर गरिएको, सुशासन प्रवद्र्धनलगायत उनीहरूमा मुद्दा सकारात्मक परिवर्तनका निम्ति भएको मेरो बुझाइ छ ।’ राजदूत छनका अनुसार पन्ध्रौँ पञ्चवर्षीय योजनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई सुदृढ गर्ने, जनताको हितलाई प्राथमिकता दिइएको, उच्चस्तरीय विकास हासिल गर्दै योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय २० हजार अमेरिकी डलर कायम गर्ने विकास र सुरक्षालाई समान रूपमा सुनिश्चित गर्ने, खुलापन नीतिलाई अझ विस्तार गर्ने, सहकार्यका नयाँ अवसरहरू खोल्ने, बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक समर्थन गर्ने, चिनियाँ विशेषतासहितको सामाजिक सुशासन सुदृढीकरण तथा राष्ट्रिय एकीकरणमा जोड दिएको छ । रासस
प्रचण्ड–माधवको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल (अन्तरवार्ता)
काठमाडौं । यतिबेला कम्युनिष्ट पार्टीका नेताहरु एकता र टुटफुटको अभियानमा व्यस्त छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् त कोही नेकपा एमालेमा सामाहित भएका छन् । कोही भने नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गरेको निर्णय लतारेर आफ्नै अभियान सञ्चालनमा लागेका छन् । माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरु आफ्नै अभियानमा लागेका छन् । पुराना राजनीतिक दल र नेतृत्वसँग एकता गर्ने पक्षमा उनीहरु देखिँदैनन् । यसै मध्येका एक नेता हुन् भुसाल । भुसाल पार्टीले गरेको निर्णय बहिष्कार गर्दै आफ्नै अभियान चलाउन थालेका छन् । उनकाअनुसार जेनजी पुस्ताको आन्दोलनका मागहरु पूरा गर्नुको विकल्प छैन । तर पुरानो राजनीतिक दलको नेतृत्व अझै आलटाल र धोका दिने पक्षमा छ । यसै सन्दर्भमा रहेर गरेको कुराकानीको सम्पादित अंश यस्तो छ । टुट–फुट र विभाजनको राजनीति जेनजी आन्दोलनपछि देखिएको छ, तपाइँले निर्माण गरेको नयाँ शक्तिबाट आम जनताले के आशा गर्ने ? पहिलो कुरा, यो शक्ति बन्ने, बनाउने भन्नेकुरा बनाउनुपर्ने, बन्नुपर्नेछ कि छैन ? बन्ने हो भने त्यो नयाँ शक्ति कस्तो हो ? भन्नेकुरा हो । खासगरी राष्ट्रिय राजनीतिमा हेर्नुहुन्छ भने अहिले काँग्रेस, एमाले, माओवादी, हाम्रो पार्टी, अरु पार्टीहरु सबै भुइँमा आएको बेला हो । कुनै न सानो छ, न ठूलो छ । न कोही शक्तिशाली छ । न हामी कहाँ कोही शक्तिशाली नेता छ । हामी सबै भुइँमा छौँ अहिले । त्यसको अर्थ के हो भने अहिले सबैले प्रारम्भबाटै शुरु गर्ने हो । काँग्रेस पनि अब हिजोकै जस्तो अगाडि जान सक्दैन । कम्युनिष्टहरु पनि हिजोकै जस्तो अगाडी जान सक्दैनन् । किन यो अवस्था आयो ? भन्दा हिजो इतिहासमा हामीले गर्यौं राज्यसत्ता चलाउने मामिलामा हामीले जे गर्यौं, यो कुराले यो मुलुकलाई धेरै ठूलो संकटतर्फ धकेल्दै थियो । अस्ती त यो अभिव्यक्त मात्रै भयो । अस्तीको जेन–जी मुभमेण्टपछि २४ गते भएको विध्वंश पछाडि यो त अभिव्यक्ति मात्रै हो । यो कुरा धेरै वर्षदेखि झुन्डिँदै थियो । यो कुरा हामीले धेरै अगाडिदेखि भन्दै आएका थियौं । मैले भन्दै आएको थिए । कम्तिमा गएको १/२ वर्षदेखि म के भन्दै छु भने अब सत्ता जसरी भ्रष्टाचारमा लिप्त हुँदैछ । यसले जनतामा असन्तुष्टि पैदा गर्छ । र त्यो असन्तुष्टिलाई दबाउनका लागि सत्ताले दमनमा उत्रिन्छ । यो जति दमनकारी हुँदै जान्छ । सडक त्यति अराजक हुँदै जान्छ । र कुनै ठाउँमा गएर हामी क्र्यास हुनसक्छौँ । हामी बर्बाद हुनसक्छौं भन्ने कुरा मैले धेरै अगाडिदेखि भन्दै आएको थिए । कति वटा घर जल्छन्, कसका घर जल्छन् ? मलाई थाहा नभएको त्यति मात्रै हो । तर एउटा विध्वंश नजिकै आउँदैछ भन्नेकुरा मैले पटक पटक भन्दै आएको हुँ–एक । यसले गर्दा हामीले अहिलको राजनीतिले, अहिलेको राजनीतिक पार्टीहरुले यो समस्यालाई समाधान गर्न सकेनन् । यो कुरा पुष्टि भयो । अस्ती जेन–जी मुभमेण्ट पछाडि यो कुरा पुष्टि भएको छ । यसले गर्दा सबैको राजनीति अब नयाँ हिसावले शुरु हुने हो । नयाँ रुपमा नै शुरु हुने हो । त्यस भित्र हाम्रो ठाउँ भनेको वाम आन्दोलनलाई पुनर्गठन गर्ने हो । वृहत्तर हिसावले भन्नुहुन्छ भने हामीले बाम आन्दोलनलाई पुनर्गठन गर्न चाहेका हौ । किन पुनर्गठन गर्न चाहेका हौ ? भन्दा हिजोदेखि लामो समयसम्म जुन नेताहरुले नेतृत्व गरे । तिनका प्रयोगहरु असफल भए, तिनका विचारहरु, तिनका नीतिहरु, उनीहरुले दुनियाँलाई दिएका वाचाहरु, तिनले खाएका कसमहरु हरेक असफल भए । यसले गर्दा अब नयाँ एजेण्डाका साथ जानुपर्छ । नयाँ एजेण्डा भनेको यो समाजभन्दा बाहिरको एजेण्डा होइन । अहिले किन यस्तो भयो भन्नुहुन्छ भने हाम्रोमा समाजमा एजेण्डा स्थापित भएन । किनभने सत्ताका लागि भ्रष्टाचार एजेण्डा हो । बद्मासी एजेण्डा हो । आफना कर्तुतहरु एजेण्डा हो । अरु पार्टीहरु जो बाहिर बसिराखेका थिए, तिनीहरुको पनि सत्तामा जानुमात्रै एजेण्डा भइदियो । जसले गर्दा जनताको एजेण्डा उठाउने शक्ति भईदिएन । र त्यो जेन–जीहरुले, उनीहरुको मुखबाट, नयाँ किशोरकिशोरीहरुको मुखबाट, नयाँ युवाहरुको मुखबाट बोल्नुपर्ने अवस्था आयो । ती एजेण्डाहरु, बहुत थोरै एजेण्डा उठाए उनीहरुले । खासगरी सुशासनको एजेण्डा उठाए । मूलभुत रुपमा सुशासनको एजेण्डा उठाए । के हो एजेण्डा भन्दा सुशासनको एजेण्डा हो उनीहरुको । अर्को एजेण्डा के हो ? भन्दा देशलाई यो ठाउँमा पुर्‍याउनका लागि जसले जिम्मेवारी लिनुपर्ने हो । उनले इमिडेट्ली आजै त्यो ठाउँ छोडुन् । त्यो भनेको राजनीतिक पार्टीका नेताहरुले यो ठाउँ छोडुन् भन्ने उनीहरुको माग थियो । यसमध्ये हामी यी दुई वटै कि यो पुरानो नेतृत्व जसका एजेण्डाहरु असफल भए, जसका विचारहरु असफल भए । जसका प्रयोगहरु असफल भए । तिनीहरुले तत्काल राजीनामा गरुन् । हामीले कुरा प्रयत्न गर्‍यौँ । अहिले एकता प्रक्रिया जो हाम्रो शुरु भएको छ । यो प्रक्रियामा हामीले धेरै प्रयत्न गर्‍याै । तर लिडरहरु छोड्न तयार भएनन् । उनीहरुले आलटाल गरे, ६ महिनामा छोड्छौँ भने । पहिला त महाधिवेशनमा छोड्छौँ भने । त्यसपछि ६ महिना भन्दैछन् । यो सबै आलटाल गर्नेकुरा हो । किनभने यस्तो कुरा उनीहरुले हिजोदेखि पटक पटक भनेर दुनियाँलाई ठगेका छन्, ढाँटेका छन् । र आफ्नै पार्टीभित्र पनि ढाँटेका छन् । झुट बोलेका छन् । भोली एउटा परिस्थिति देखाउँछन् उनीहरुले । त्यहाँ अलरेडी गुटहरु छँदैछन् । गुटहरु कस्ता छन् भने जस्तासुकै अपराध गरेपनि तिनीहरुको बहुमत जुटाउने गरी उनीहरुको गुट बनेका छन् । र भोली के भन्छन् भने अहिले हाम्रो बेला भएको छैन । बहुमतले हामी फेरी निर्वाचित भएर आयौं भनेपछि लोकतन्त्रमा निर्वाचित भएपछि त सबैले मान्नुपर्‍यो भनेर तर्क गरेर आउँछन् । यसो भएको हुनाले हामीले यो पुनर्गठन शुरु गराैँ भनेर प्रयत्न गर्यौं । इमिडेट तपाईहरुले राजीनामा गुर्नस् तपाईहरुले तपाईहरुको आफ्नो जिम्मेवारी लिनुपर्छ । त्यसपछाडि हामीले हाम्रा राजनीतिक अभ्यासमा तपाईहरुसँग हामीसँगै बस्दाखेरी के कमीहरु भए । यो पार्टीहरुको तर्फबाट के के कमी भन्नेकुरा हामीले स्वेत पत्र जारी गर्छौं । दुनियाँलाई बताउँछौ । त्यस पछाडि अब हामी कसरी जानुपर्छ ? भन्ने कुरामा हामीले ध्यान दिन्छाँै । त्यस पछाडि हामीले भ्रष्टाचार कसरी निर्मुल गर्न सकिन्छ ? हामीले त २०४६/०४७ साल पछिका सबै भ्रष्टहरुलाई कारबाही गर्ने र तिनको भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति राष्ट्रियकरण समेत गर्ने काम गर्दै हामीले हाम्रो आन्दोलनलाई पुनर्गठन गरेर जान्छाँै भनेर हामीले भनेका छौँ । यस अर्थमा आजको पनि हाम्रो एजेण्डा भनेको कम्युनिष्ट आन्दोलनको पुनर्गठन हो । त्यो पुनर्गठन भनेको नाराहरुको पुनर्गठन हो । जनता र पार्टीको सम्बन्धको पुनर्गठन हो । जनताका लागि उठाइने विचारहरुको हिसावले जुन कुराहरु गरेका छौँ । त्यसमा पुनर्गठन हो । जस्तो कार्यशैलीहरु हामीले अपनाएका छौं राजनीति गर्ने । राजनीति गरेका मान्छेहरु धनी हुँदै जाने । राजनीति भनेको धन्दा बन्दै गयो । यो धन्दा बनेको राजनीतिको पुनर्गठन गर्न चाहन्छौँ । हामी यसमार्फत हामीले अगाडि बढ्न खोजेका छौँ । जेनजी आन्दोलनको जे जिष्ट थियो, त्यसलाई तपाईंहरुले सम्बोधन गर्नुहुन्छ, नयाँ पार्टी त्यसैको अभियानका लागि हो भनेर कसरी विश्वास दिलाउन चाहनुहुन्छ ? अभियानमा हामीले हिजो के गरेका थियौँ भनेर हेर्ने हो । हामीले अहिले पुनर्गठन भनेर जुन प्रयत्न गरेका छौं । हामीले दुनियाँ समक्ष भनेका छौ–आजका विचारहरु जुन हामीले एकीकृत ढंगले संघर्ष गरेर, बहस गरेर, तमाम बहस गरेर यस्ता सयौं छलफल, गोष्ठी, लेख, प्रवचन । यी विषयहरुमा भाग लिएर हामीले आज कम्युनिष्ट आन्दोलनको जुन भाष्य बनेको छ नि नेपाल कस्तो मुलुक हो ? वर्गहरु कस्ता छन् ? अब जाने हामी समाजवादतिर हो । हामीले दलाल पुँजीवादलाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतिर जान्छौँ भनेर हामीले स्थापित गर्‍यौँ । यो वैचारिक संघर्षद्वारा नै हामीले यो स्थापित गर्यौं । अहिले भन्नुहुन्छ भने नेकपा एमाले पनि यही कुरा भनेर हिँड्दैछ, अहिले बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि त्यही लेख्नुभएको छ । विप्लवजी, अरु सबै कम्युनिष्टहरुले यही विचारहरु लिएर गएका छन् । यस अर्थमा हामीले नयाँ युगको नयाँ विचार हामीले शुरु गरेका हाैँ । यस अर्थमा यसको कार्यान्वयन, यसको कार्यान्वयनका लागि संगठन, यसका नीतिहरु, सिद्धान्तहरु पनि हामीले नै बनाउँछौं । किनभने हामीले यो नयाँ कार्यदिशाको समाजवाद के हो, कसरी समाजवादी कार्यदिशाको अब समय आयो, युग आयो ? भन्नेकुरा हामीले नै भनेको हुनाले यसको कार्यान्वयनको दिशा, त्यो भनेको फेरि मुलुकलाई समृद्ध बनाउँदै, समृद्ध बनाउँदै भनेको आज हेर्नुहुन्छ भने युवा पलायन । यो युवा पलायन किन भयो ? भन्दा हाम्रो उत्पादन भएन । उत्पादन किन भएन ? हामीले कृषिमा ध्यान दिएनौं । कृषिको संरक्षण गरेनौं । राज्यले गर्नुपर्ने उद्योगको संरक्षण गरेन । उसले शिक्षा, स्वास्थ्यमा उपयुक्त नीतिहरु लिएन । र लगानी गरेन । उसले भ्रष्टाचार रोकेन । यी कारणहरुले गर्दा आज मुलुक संकटमा छ । यिनीहरुको कार्यान्वयन गर्दै हामी अगाडि जान्छौ भनेर हामीले हिजो पनि भनिराखेको, हिजो पनि पार्टीमा लडिराखेको र आज पनि यही कुरा भनिराखेको हुनाले यसका हामी अधिकारी हौं । अब वैकल्पिक बाम आन्दोलन भनेर तपाईले जे घोषणा गर्नुभएको छ, यो चाहीँ कस्तो खालको आन्दोलन हुन्छ त, धुव्रिकृत हुनुपर्ने तपाईहरु विभाजित हुनुभयो ? पहिलो कुरा त आज देशले जुन समस्या भोगिराखेको छ । त्यो भनेको जनताले भोगेको समस्या हो । जो सुकै पनि मान्छे, यदि देश बिग्रयो भने, देशको अर्थतन्त्र बिग्रियो भने, देशको राजनीति बिग्रियो भने, देशको सामाजिक सम्बन्धहरु बिग्रियो भने कुनै पनि मुलुक, त्यसको नागरिक, हरेक व्यक्ति असुरक्षित रहन्छ । यो बाम आन्दोलनमा लागेका जो सुकै पनि, तिनको आँखा अगाडि जे बिग्रँदैछ । उनीहरु आफैले जो कुरासँग ठक्कर खाँदैछन्, दिनदिनै उनीहरुले ठक्कर खाँदैछन् । त्यसबाट उनीहरुले यो कुरा बुझ्नेछन् । हामीले जे भन्दैछौ कि यो बाटो होइन । जस्तो अहिलेको बाटो के हो ? अहिले जुन नेपाली कम्युनिष्ट पार्टी बन्यो । यो एकता प्रक्रियामा हामी किन गएनौँ ? भन्ने पनि मानिसहरुले हामीलाई प्रश्न गरिरहेका छन् । तपाईजस्तो बुद्धिजीवि नेताले त्यहीँभित्र संघर्ष गर्न सक्नुहुन्थ्यो, किन फुट्नुभयो भन्ने प्रश्न छ नि ? हामीले पहिलो कुरा त के भनेका थियौँ भने अहिले पहिला माओवादीले आफ्नो पुनरावलोकन गरोस् । माओवादी किन हिजोदेखि, झन अस्तीदेखि ओरालो लाग्दै गयो ? यसको मूल्यांकन गरोस । हामी नेकपा एकीकृत समाजवादीका साथीहरु, हामी किन यो कसमबाट, यो वाचाबाट, यो कबुलबाट हामी पछि हट्यौँ ? किन हामीले रुपान्तरण र पुनर्गठन गर्नेछौँ । नेकपा एमाले भन्दा राम्रो पार्टी बनाउँछौ भनेर किन कसम खाएका थियौं ? र त्यो कसम किन पूरा गर्न सकेनौं ? भन्नेकुरा हामीले मूल्यांकन नगरीकन हामीले टेक्नीकल्ली एकता गर्यौं भने त्यो एकताले हामीलाई ठाउँमा लैजाँदैन । जस्तो कि अहिलेको एकता हेर्नुहुन्छ भने त्यो राजनीतिक एकता होइन । त्यसको डकुमेण्टले हेर्नुहुन्छ भने त्यसले आजको जुन चुनौतिहरु छन । ती चुनौतिहरुको बारेमा पनि कुरा गर्दैन । के गर्ने हो अवको कार्यभार भन्ने कुरा पनि गर्दैन । यस अर्थमा त्यो एक हिसावले भन्नुहुन्छ भने अराजनीतिक एकता हो । त्यसका कारणले अराजनीतिक रुपले ठूलो पार्टी देखाउनका लागि एकता गरेको हुनाले सांगठानिक रुपले पनि त्यसको जति माथि गयो । त्यति भारी भड्कम बन्दै छ कि त्यो आफ्नै भारीले थिचिएर बर्बाद हुनेछ । मैले त बेलाबेलामा भनेको छु–त्यो यस्तो कुम्भ मेला २ हजार, २५ सय मानिसहरुको यस्तो सेन्ट्रल कमिटी बनाइँदैछ, जो कुम्भ मेला हो । सेन्ट्रल कमिटी होइन । त्यहाँ एउटाले चिच्याउँछ–ल फलानो शंकर महाराज आएर त्यका बाउन्सरहरु १० जना अगाडि पछाडि गर्दछन् । मान्छे भागाभाग गर्दछन । किचिएर मर्दछन । यस्तो संगठनको जुन तरिकाबाट उहाँहरु जानुभएको छ । न यहाँ विचार कुरा हुन्छ, न सिद्धान्तको कुरा हुन्छ । यो आफै संकटग्रस्तहरुको एकता भएको हुनाले यसले संकटमात्रै थुपार्दछ । जति थुप्रिनेछन्, तिनीहरुले आ आफना गुनासाहरु, आ आफ्ना अलगअलग उद्देश्य लिएर आउनेछन् । कसको कमन एजेण्डा छ ? प्रचण्डजीले जसरी सोच्नुहुन्छ राजनीति रुपमा । कुन एजेण्डा हो ? माधव नेपालीजीले त्यसरी नै सोच्नुहुन्छ । माधवजीले जुन राजनीतिक एजेण्डा सोच्नुभएको छ । सोचेर आउनुभएको छ । कुन राजनीतिक एजेण्डा झलनाथ खनालले सोच्नुहुन्छ ? झलनाथ खनाल वा माधव नेपालले जसरी सोच्नुभएको छ । हाम्रा वामदेवजीलाई उभ्याईदिने भयो भने उहाँले अस्ती नै त्यहाँ फाडिसक्नु भयो । यसरी यो समस्याहरुका मान्छेहरु, समस्याग्रस्त मान्छेहरुको भीड लगाएर अनि त्यहाँ के हो बौद्धिक बहस हुन्छ ? के को विचारको बहस हुन्छ ? त्यहाँ कुनै विचारको बहस हुनेवाला छैन । अहिले जेन–जी संकटपछि जति दबाउन खोजिएको थियो नि । त्यहाँ पार्टी पार्टीभित्र जसरी कार्यकर्ताको मत दबाउन खोजिएको थियो । त्यो सडकबाट विष्फोट भएपछि अहिले फेरि तानाबाना बुनेर उहाँहरु सत्तामै रहिरहन चाहनु हुन्छ । पुनर्जीवित हुन चाहनु हुन्छ । र गुमेको हिजोको जसरी सत्ता चलाउनुभएको थियो, सत्ता दोहनमा पार्टीहरु जसरी लिप्त बनाउनु भएको थियो । त्यसैगरी उहाँहरुले सत्ता चलाउन चाहनुहुन्छ । यस अर्थमा यो कुरा गलत छ । यसले समाधान दिँदैन । त्यसो भए तपाईले पुनर्गठित वाम आन्दोलनलाई निष्कर्षमा पुर्याउनुहुन्छ भन्ने आधार के के हुन् त ? पहिलो कुरा त हामीले सही एजेण्डा उठाएका छौँ । यो मुलुक, हाम्रो विकासको अवस्था, जनताको अवस्था । यत्रा युवाहरु बेरोजगार भएर बाहिर हिँडिरहनुपरेको अवस्था । यहीँभित्र पनि सिमान्त श्रमजीविहरु, जसले श्रम गरेर बाँच्नुपर्दछ । तिनीहरुको जीवनको अवस्था । कहीँ श्रमजीवीहरुले महिनावारी तलव नपाउने ठूलो समस्या, कृषि गरेर पनि कहिल्यै खाना नपाउनेहरुको जनसंख्या, उद्योगीहरु विचारा उद्योग खोलेर लगानी गरेर जो साँच्चिकै उद्योगी छ । त्यसको टन्टा, त्यसमा कर प्रणालीले थोपरेको समस्या, भन्सारले थोपरेका समस्या, सरकार, घुस राजनीतिक पार्टीका युवाहरु, युवा बाउन्सरहरु, तिनले दिने धम्की, यो सारा गरेर पनि उद्योगबाट राम्ररी नाफा गर्न नसक्ने उद्योगीहरु, मुलुकका बुद्धिजीविहरु, जसले मुलुक राम्रो देख्न चाहन्छन्, सप्रेको देख्न चाहन्छन् । विभिन्न हिसावले उनीहरुले पढेका छन् । पढेजस्तो भईराखेको छैन । कसरी समाज बन्छ भन्ने कुरा उनीहरुले पढेका छन, जानेका छन् । त्यो लागू भएको छैन । त्यो लागू हुन नदिका लागि नेताहरुले यो सबै बद्मासी गरिरहेका छन् । यसले गर्दाखेरी आज नैतिक धरातलमा उभिएको राजनीति मुलुकको धेरै ठूलो खाँचो हो । आम रुपमा अझ यो कम्युनिष्ट आन्दोलनभित्र त अझ यो ठूलो खाँचो हो । जुन कुरा हामीले निरन्तर उठाउँदै आएका छाैँ । यो एउटा आधार हो । दोस्रो कुरा अब हामीले आगामी दिनमा राजनीतिमा यसलाई खास गरेर धन्दा बनाएर राज्य दोहनको संयन्त्र बनाएर भनेका छौँ हामीले पटक पटक । राजनीति भनेको राज्य दोहन गर्ने हो । कमाउने पनि राज्य दोहन गरेर हो भनेर जसरी बनेका छन् पार्टीहरु । यी पार्टीहरुमा हामीले व्यापक लोकतन्त्रको अहिले जस्तो अभ्यास भएको छ नि नेताको वीरता भएर जुन पार्टीहरु बनेका छन् नि । यसलाई हामी भत्काउन चाहन्छौ । र अब कार्यकर्ता पंक्तिभित्र सदस्यहरुका बीच प्रत्यक्ष लोकतन्त्रको अभ्यास हुने, हिजोको जस्तो अभ्यास होइन । अब नेताले भन्यो, त्यो लागू भयो । माथिल्ला कमिटीले भन्यो, त्यो लागू भयो भन्ने होइन । यदि माथिल्लो कमिटीले गरेको निर्णय माथिल्लो कमिटीका नेताहरुले भनेको कुरासँग कार्यकर्ताहरुको, सदस्यहरुको विचारहरु टकराउँछन् भने बहुमत तलका सदस्यले समेत त्यसमा भोट हाल्ने, निर्णयमा सहभागी हुने खालको प्रणालीको जस्तो कि उदाहरणको लागि पालिका कमिटीले आफ्ना सबै निर्णयहरु आफैले गर्नेछ । माथिबाट त्यहाँको उम्मेदवारीदेखि लिएर त्यहाँको कमिटीमा को राख्ने, को नराख्ने, कमिटीहरु विघटन गर्ने, यस्ता कुनैपनि अधिकारहरु माथिल्ला कमिटीलाई हुने छैन । उनीहरु आफ्नो कमिटी चलाउनका लागि स्वतन्त्र हुनेछन्, स्वायत्त हुनेछन् । स्वायत्त रुपले स्वतन्त्र हुनेछन् । र त्यही कमिटीले पनि पालिका स्तरको कुनै नीतिगत निर्णय गर्नुपर्यो भने त्यो पालिका कमिटीमा मानौ १५ जना छन् भने ती १५ जनाले निर्णय गर्न पाउँदैनन् । त्यो विषयमा सबैलाई यो विषयमा के गर्ने भनेर त्यो पालिका भित्रका सबै सदस्यहरुसँग सोध्ने छन् । भोटिङ हुनेछ । त्यसरी मात्रै निर्णय हुनेछ । त्यसले गर्दा पालिका स्तरको निर्णय गरेर फुली लगाएर हिँडेको ठूलो मान्छे, अझ जिल्ला कमिटीमा पुग्यो, प्रदेश कमिटीमा पुग्यो । केन्द्रिय कमिटीमा पुगेपछि त त्यो भयंकर ठूलो जर्नेल नै भयो । अब अध्यक्ष, पदाधिकारी भयो भने तिनीहरु त कमाण्डर नै भए । अब यो खालको अधिनायकवादी शैलीबाट अवको हाम्रो संगठन चल्नेछैन । हामी हाम्रो संगठनलाई लोकतान्त्रिक बनाउँछौँ । एउटा आधार यो हो । दोस्रो कुरा जुन डेलिभरी भन्ने कुरा छ नि । हो यस्तो पार्टीले मात्रै डेलिभरी दिन सक्छ । त्यो कुनैपनि कमिटीले त्यो गाउँका, त्यो पालिका भित्रको शिक्षा, स्वास्थ्य, रोजगारी, त्यहाँको प्रदुषणदेखि लिएर यी तमाम समस्याहरु त्यहाँको महिला, दलित माथिको विभेद, पीछडिएका परिवारहरु यिनीहरुका प्रति जिम्मेवार हुने । मानाैँ हाम्रो पार्टीको त्यहाँ कमिटी छ भने त्यहाँको पालिकामा जितेका छौ भने यी समस्याको उत्तर दिने जिम्मा त्यहाँको पार्टीको हुन्छ । कमिटीको हुन्छ । यसरी डेलिभरीको कुरा तल जनताको सुखदुख, समस्याको कामहरु हेर्ने, त्यस्तो कामहरु पनि गर्नसक्ने नेतृत्व गर्नसक्ने कमिटी, त्यस्तो लोकतान्त्रिक कमिटी हुनेछ । त्यस्तो डेलिभरी दिने, परिणाम दिने कमिटी बनाउनेछौँ । अहिलेसम्म त्यसरी पार्टी कमिटीहरु बनेका छैनन् । हामी त्यतातर्फ जाँदैछौँ । यो कुरा हामीले अहिले मात्रै उठाएका होइनौँ । धेरै अगाडिदेखि हामीले उठाउँदै आएका कुरा हुन् । त्यसलाई हामी अब लागू गर्न जान्छौँ । तपाईंले संगठन निर्माण गर्नै सक्नुहुन्न भन्ने आरोप पनि छ नि ? हो अहिलको एक जना शक्तिशाली, अहिले यो नेपाली कम्युनिष्ट पार्टीको शक्तिशाली कमरेडले हिजो एउटा इन्टरभ्यूमा भनेको मैले पनि सुनेँ । अरुले पनि फाटट्फुट्ट भनेका छन् । मलाई त्यस्तो प्रश्न गर्ने गरेका छन् । अहिले मुलुकमा मूलभुत रुपमा भन्ने हो भने २ खालका संगठन छन् । एउटा राजनीतिक संगठन छन । यी बहुत कम छन । ती साना छन्, ती शक्तिहिन छन् । अरु सबै पार्टीका सबै कमिटीजसो यी कारोबारी कमिटीहरु हुन् । कारोबारी संगठनहरु हुन । २ खालको संगठन छन् । म सधैभरी राजनीतिक संगठनमा लागे । आजसम्म म राजनीतिक संगठनमा । राजनीतिक संगठन भनेको के हो ? मुद्दाका वरिपरी मानिसहरुलाई गोलबन्द गर्नु, विचारका वरिपरी मान्छेहरुलाई गोलबन्ध गर्नु, जनताका समस्या वरिपरी जनतालाई गोलबन्द गर्नु । यो राजनीतिक संगठन हो । अर्को पदका लागि मान्छेहरुलाई जम्मा गर्नु, हरेकलाई पद बाँड्नु, हरेकलाई टिकट बाँड्नु, कसैलाई उपभोक्ता समिति दिनु, कसैलाई खानी खोलातिर २०, ४० जना युवाहरुलाई लगाई दिनु । अरु अलि राजनीतिक भनिएको पढेलेखेको मान्छे छ भने त्यसलाई राजनीतिक नियुक्ती दिनु । कसैलाई मन्त्री बनाइदिन्छु भनेर भन्नु, कसैलाई राजदुत बनाइदिन्छु भनेर भन्नु । यहाँको कर्मचारीतन्त्रसँग मिल्नु, अरु मन्त्रीसँग मिल्नु, न्यायपालिकालाई घुस खुवाउनु, पुलिस प्रशासनसँग घुस खुवाउनु । यो पनि एउटा संगठन हो । त्यो कारोबारी संगठन हुन् । यो कुरा स्वीकार गर्छु कि म घनश्याम भुसाल आजसम्म कारोबारी संगठनमा छैन । म त्यो जान्दिन, म त्यो गर्दिन । किन जान्दिन भने म त्यो गर्दिन । जहाँसम्म राजनीतिक संगठन हो । आजसम्म घनश्याम भुसाल राजनीतिक संगठन गरेर आएको छ । अब त्यो आगामी दिनमा तपाईले गर्ने संगठन निर्माण र त्यसको परिणामले पनि जवाफ दिनेछ, अब नेत्रविक्रम चन्द, जनार्दन शर्मा, सुदन किराँतीहरुसँग तपाईहरु मिल्न सक्नुभएन, मिल्न सक्दैनन् उनीहरु भन्छन् नि ? एउटा कुरा कसैले यिनीहरु मिलुन्, हामी मिलोस् भनेर चाहन्छन् अथवा नमिलेर राम्रो भयो भन्ने चाहन्छन् । त्यसको दुई वटा एंगल हुन्छ । जहाँसम्म हामी मिल्छौ कि मिल्दैनौ भन्नेछ । हामी सामान्यतया अस्ती एउटा स्टेटमेन्ट, एउटा संयुक्त वक्तव्य हामीले जारी गरेका छौँ । र कम्युनिष्टहरु, समाजवादीहरु, प्रगतिशील, देशभक्तहरुसँग समेत मिलेर सँगै काम गर्ने र त्यो मोर्चाबन्दीमा साथ निरन्तर हामी एकतातर्फ जानेगरी काम गर्छौं । एउटा कुरा के क्लियर छ भने हामी जुन अस्ती छलफल गरेर संयुक्त वक्तव्य जारी गरेका छौँ । त्यो वक्तव्यको भावनाअनुसार हामी अगाडि बढ्नका लागि संकल्पवद्ध छौँ । त्यसको परिणाम केही दिन भित्र देखिनेछौँ । आगामी दिनमा हामी कार्यक्रमका आधारमा हामी एकता गर्नेछौँ । एकता भनेको त्यो सहकार्य हुन्छ, त्यो मोर्चा हुन्छ । र एकीकरण हुन्छ । यो प्रक्रियाबाट हामी अगाडि बढ्नका लागि हामी तयार भईसकेका छौँ । र यसका परिणामहरु आगामी दिनमा तपाईंहरुले देख्नुहुनेछ । एमालेले घर फर्क अभियान चलाएको छ, तपाईंहरु पनि घर फर्कने आशंका अझै गरिन्छ, एमाले अध्यक्ष केपी ओलीले त वृद्धहरु नेपाली कम्युनिष्ट पार्टीमा गए, युवाहरु एमालेमा आउँछन् भनिरहनु भएको छ, यसलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ? यो नेकपा एमालेका फर्कने वा घर फर्किने भन्ने जुन कुरा छ । अब के का लागि फर्किने भन्नुहुन्छ । कमरेड ओलीले नेकपा एमालेलाई कब्जा गरेर हिजोको त्यत्रो जीवन्त पार्टीलाई आज व्यक्तिगत आफ्नो नियन्त्रण भित्रको एउटा कम्पनी जुन बनाउनुभएको छ । यसले गर्दा यो एउटा कम्पनी मात्रै बनेको छैन । त्यसले कमरेड ओलीको लिडरसिपको कारणले यत्रो विध्वंश आयो । त्यसको जिम्मा उहाँले लिनुपर्छ । यस भन्दा अगाडिदेखि नै उहाँले संसद विघटन, फेरि अर्को संसद विघटन, पार्टी विभाजनदेखि लिएर जे गर्दै हुनुहुन्छ । र निरन्तर दक्षिणपन्थी एजेण्डा उठाइराख्नुभएको छ । घोर दक्षिणपन्थी, यो कम्युनिष्ट आन्दोलनको सबै भन्दा दक्षिणपन्थी, व्यक्तिवादी, अहंकारवादी यो खालको उहाँको दिशा छ । नेकपा एमालेको दिशा भनेको त्यो दिशा हो । आज कमरेड ओलीको नेतृत्वमा यस्तो बेलामा पनि र आज पनि फेरि ओलीजीको त्यहाँ रहिकन ओलीको कब्जाको एमाले भित्र कोही पनि मान्छे राजनीतिक रुपले जान्छ भन्ने कुरा आफैँले भन्ने कुरा त भयो । तर सोसाईटीले मान्दैन । यो इन्कार गरी नै सकेको छ । त्यहाँ कुनै विचारले जान्छ भन्ने कुरा सोसाईटीले इन्कार गरिसकेको छ । म फेरी पनि क्याटोगरीकल्ली भन्दैछु–ओलीजी रहुन्जेल त्यो पार्टीमा जो जान्छ, त्यो विचारको कारणले जान्छु, विचार मिलेर जान्छु । राजनीति मिलेर जान्छु, सिद्धान्त मिलेर जान्छु भनेर भन्छ भने उसले यात बुझेकै छैन, या दुनियाँलाई ढाँटदैछ भन्ने लाग्छ मलाई । एमालेमा अवसर छ रामकुमारी झाँक्री जानुभयो, अरु पनि जान्छन् भनिन्छ नि ? मैले कुनै व्यक्तिको बारेमा केही भन्नुछैन । महिला, पुरुष, जान्ने, नजान्ने । त्यो सबैकुरा गौण हो । अहिले नेकपा एमाले भित्र ओली हो, ओली मात्रै हो । त्यसोगर्दा त्यहाँ अर्को स्वतन्त्र व्यक्तित्वको रुपमा कसैले विकास गर्छ भन्नेकुरा त्यो सम्भव नै छैन । कसैले विकास गरेको छ त्यहाँ स्वतन्त्र रुपमा ? ओलीजीकै पछाडि लागेका मान्छेहरु, ओलीजीकै पछाडि लागेका मान्छेहरु ओलीजीकै टिमका मान्छेहरु कसैले म स्वतन्त्र रुपले स्वच्छु भन्छ भनेर प्रश्तुत गर्नसक्छ ? भन्न सक्छ ? वा उसैले दावी गर्न सक्छ कि म ओलीजी भन्दा भिन्न रुपले सोच्छु भनेर कसैले भन्न पनि सक्दैन भने त्यहाँ भित्र कसैले स्वतन्त्र रुपमा नेता, नेतृत्व गर्छु भन्ने कुरा बेकारको कुरा हो । एमाले भित्रको असन्तुष्ट पक्षहरुसँग तपाईको छलफल हुन्छ ? आम रुपमा मैले भन्छु–नेकपा एमाले त्यो मेरो पनि पार्टी हो । त्यसको लिडरसिपलाई छोड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु । अरु पार्टीहरु पनि मेरै पार्टी हो । वैचारिक रुपले, सैद्धान्तिक रुपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन् । तर त्यहाँभित्रको साथीहरुको कुरा गर्दाखेरी ती तमाम हामी आफैँले बनाएको पार्टी भएको हुनाले त्यहाँभित्र उनीहरुसँग कुरा नहुने भन्ने प्रश्नै भएन । सबैसँग कुरा हुन्छ । सबै मुर्छाएकाहरुसँग कुरा हुन्छ । सबै उकुसमुकुस भएकाहरुसँग कुरा हुन्छ । एमाले विभाजित हुन्छ भनेर पनि कतिपयले चर्चा गर्दछन् नि ? विभाजित हुनुहुँदैन भन्छु मैले चाहीँ । सामान्यतया आज त्यहाँको साथीहरु त्यसरी विभाजित हुने कुरा गलत हुनेछ । त्यहाँको गलत कुरालाई उहाँहरुले हटाउनु पर्छ । तर अब के देखिँदैछ भन्दा आउने महाधिवेशनमा या त कमरेड ओलीले सबैलाई लखेटीदिनु हुन्छ । अहिले पनि बाँकि बचेर यो पार्टी बचाउनु पर्यो भन्दै छन् । उनीहरुलाई उहाँले निकालि दिनुहुन्छ । या त नेकपा एमालेको इतिहासको सम्पूर्ण यसले इतिहासमा बनाएको मूल्य, यसले सृजना गरेका केही सिद्धान्त, विचार, नैतिकता केही छन् भने तिनीहरु संगठित हुनेछन् । र कमरेड ओलीलाई विदाई गर्नेछन् । यसले गर्दा नेकपा एमाले फुट्ने, नफुटने कुराको प्रसंगनै होइन । अहिले त त्यो पार्टीमा शुद्धिकरणको, पुनर्गठनको, सुधारको आवश्यक्ता छ भन्ने लाग्छ मलाई । तपाईको पार्टीले निर्वाचनमा भाग लिन्छ कि लिँदैन ? हामीसँग अलरेडी पार्टी छँदैछ । आउने चुनावमा हामीले राम्ररी एजेण्डासहित फेस गर्छौँ । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौँ । हामी विप्लवजीहरुसहित चुनावमा जान्छाैँ । आगामी फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन ? चुनावका लागि ओलीजी मात्रै वाधक हो । अरु कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो । तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन । भवितव्य तात्कालीक प्राविधिक कारणले सर्‍यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारीको हिसावले भन्नुहुन्छ, अरु राजनीतिक वातवरणको हिसावले भन्नु हुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिन । ओलीजीले अहिले जुन टयाउटयाउ गर्नुभएको छ । उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनुहुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरुले लतार्नेछन् ।
म्यारिज ब्यूरो चलाएको आरोपमा चार चिनियाँ पक्राउ
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ । उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।
सञ्चारमन्त्री खरेल भन्छन् : निर्वाचनको वातावरण बनिसकेको छ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे । मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे । विदेशमा रहेका नेपालीको नेपाल बनोस्, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे । उनले भने, ‘तपाईंहरूमा देश बनोस् भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिने छैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।’ सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरूप निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे छलफल गरिने विश्वास दिलाए । उनले आगाडि थपे, ‘निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । शासकीयस्वरूप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु ।’ मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेन्जीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ । साथै जेन्जीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ । दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।