‘विकास नायक २०८२’ को खोजी
विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ । विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ । हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं । जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो । तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं । विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला
४२ प्रतिशत लाभांश बाँड्ने एनआरएन इन्फ्रान्स्ट्रक्चरको घोषणा
काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँ रहेको छ । जस अनुसार कम्पनीले कर प्रयोजनका लागि २ करोड ७० लाख ३९ हजार ४१६.५३ रुपैयाँ बराबरको नगद लाभांश र ५१ करोड ३७ लाख ४८ हजार ९१४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । साथै सोही बैठकले आगामी पुस ४ गते काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे तेह्रौं वार्षिक साधारणसभा पनि डाकेको छ ।
आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधवार (आज) ५० अर्ब निक्षेप तान्दैछ । दशैं–तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशतका दरले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
हायात रिजेन्सीले सबै कर्मचारीलाई हटायो, तत्काल सञ्चालनमा नआउने
काठमाडौं । हायात रिजेन्सीले सबै कर्मचारीलाई हटाएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएकाे आगजनी तथा तोडफोडले होटललाई ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउने अवस्था नभएकोले कर्मचारीलाई विदा गरेको हाेटलकाे भनाइ छ । होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशाधन विभागलाई पत्र लेख्दै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएका छन् । होटलमा १ सय ३३ मजदुर रहेको होटलले जनाएको छ । पत्रमा जेनजी आन्दोलनमा होटलमा आगजनी हुँदा एक जना पर्यटकले चार तला माथिबाट हाम फालेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पनि जानकारी दिएको छ । कोभिड-१९ को असरबाट सुधार हुँदै गएको होटल जेनजी आन्दोलनले फेरि ठूलो आर्थिक समस्या सिर्जना गरेको र पर्यटकको पनि सामान लुटपाट हुँदा अन्तर्राष्ट्रिय स्तरमै होटलको ब्राण्डमा नकारात्मक धक्का लागेको बताएको छ । पत्रमा अहिले होटल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको उल्लेख छ । होटलको पुर्ननिर्माणका लागि करोडौं रकम आवश्यक हुने उल्लेख छ ।
फोनपेको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने र स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८२/८३ का लागि एनबिएसएम एसोसिएटस चार्ट्ड एकाउन्टेन्सलाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको छ ।
गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्दै, विजेताले नगद पुरस्कार पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा 'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ गरिमा रोड रेस २०८२ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी मंसिर ६ गते शनिबारका दिन काठमाडौंमा आयोजना हुनेछ । गत वर्षदेखि सुरु गरिएको गरिमा रोड रेसको यो दोस्रो संस्करण हो । यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा नयाँ थपिएको भेट्रान (महिला र पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीको हुनेछ । भेट्रान विधा यस वर्ष पहिलो पटक समावेश गरिएको हो, जसमा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका धावकहरू सहभागी हुन सक्नेछन् । प्रतियोगितामा करिब १ हजार धावकको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ । खुला विधामा विजेताले जनही ५० हजार रुपैयाँ, दोस्रोले ३५ हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ, चौथोले १५ हजार रुपैयाँ र पाँचौं स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १४ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौं स्थान हासिल गर्नेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने खुला समूहको दौड बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवनसम्म पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किएर सम्पन्न हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड पनि सोही स्थानबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ । प्रतियोगिता व्यवस्थित सञ्चालनका लागि गरिमा विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगिताको लागि कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ९०१–५९७०१७९० मा सम्पर्क गर्न सकिनेछ । गत वर्ष आयोजित गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० भन्दा बढी धावक सहभागी भएका थिए । यस वर्ष पनि सहभागी संख्या झनै उल्लेख्य हुने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।
बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणाली पूर्ण रूपमा स्वचालनमा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रणालीले बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउनेछ भने नियमन तथा निरीक्षण कार्यलाई अझ दक्ष र पारदर्शी बनाउन सहयोग पुर्याउनेछ । एपीआई एकीकरण अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीसम्बन्धी एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । प्रणालीमार्फत प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरू स्वतः प्रमाणीकरण हुनेछन् । सही विवरण भएको अनुरोध मात्र स्वीकृत हुने र त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत स्वचालित रूपमा बीमकलाई फिर्ता पठाउनेछ । यस एकीकरणका लागि नबिल बैंकले विशेष ‘मिडलवेयर’ प्रणाली विकास गरेको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणहरूलाई बैंकको कोर बैंकिङ प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा प्रदान गर्छ । यो सहकार्य नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको बताइएको छ । यसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन, उपनिर्देशक रविन्द्र श्रेष्ठ, तथा नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायतको उपस्थिति रहेको थियो ।