गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित
गण्डकी । गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेशसभाले बहुमतले पारित गरेको छ। प्रदेशसभाको आजको बैठकमा विधेयकलाई पारित गरियोस् भन्ने प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गरेको प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो । यसअघि २०८२ कात्तिक २४ गते प्रदेशसभामा प्रस्तुत भएको विधेयक माथि दफाबार छलफल गरिएको थियो । विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्यहरू गोविन्दबहादुर नेपाली, महेश भट्टराई, सुशीला सिंखडालगायतले भाग लिएका थिए । गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयानुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यायिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ । विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले यस कदमलाई विश्वविद्यालय सुधार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए । गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक केन्द्र बनाउने दिशामा पारित संशोधनले कानुनी आधार थप सबल बनाएको उल्लेख गर्दै उनले उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । विधेयकले विश्वविद्यालयको संरचना र पदाधिकारी योग्यता र नियुक्ति प्रक्रियामा विभिन्न संशोधन गरेको छ ।
भ्रामक र मिथ्या सूचना नियन्त्रणका लागि सरकारले सुरु गर्यो उच्चस्तरीय गृहकार्य
काठमाडौं । सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियमनका लागि ‘गृहकार्य’ थालेको छ । गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो । शुक्रबार मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनधिकृत प्रयोग र रोकथामबारे धारणा राखेका थिए । बैठकले त्यस्ता भ्रामक सूचना नियमनका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । बैठकमा सहभागीले सामाजिक सञ्जाल र अन्य ‘डिजिटल’ माध्यमबाट विभिन्न प्रकारका भ्रामक र हानिकारक सूचना तीव्र रूपमा फैलिने गरेको बताएका थिए । त्यस्ता सूचनाले व्यक्तिगत प्रतिष्ठा, संस्थागत छवि, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने देखिएकाले नियमन आवश्यक भएको उनीहरूको भनाइ थियो । भ्रामक सूचनाबाट आमनागरिकलाई प्रभावित हुन नदिन ‘डिजिटल साक्षरता’ अभियानसमेत सञ्चालन गर्नुपर्ने सरोकार भएकाहरूको जोड थियो । बैठकमा गृहसचिव रामेश्वर दङ्गाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख भूपेन्द्र भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल टेलिकमका प्रतिनिधिलगायत सहभागी थिए ।
मतदाता नामावली दर्तामा भीड लागेपछि म्याद थप गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले दर्ता म्याद थप्न निर्देशन गरेकी छन् । प्रधानमन्त्रीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै चापको व्यवस्थापनका लागि दर्ता अवधि थप्न निर्देशन दिएकी हुन् । आयुक्त भण्डारीले आयोग यस विषयमा सकारात्मक रहेको बताउँदै पाँच दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराएकी हुन् । राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नाम दर्ता गराउन मिल्ने व्यवस्था लागू भएपछि हिजोदेखि अनलाइन सिस्टममा अत्यधिक चाप परेको छ । प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्या र सेवा सुस्तताको विषयमा पनि चासो व्यक्त गरेकी छन् । सम्बन्धित प्राविधिक टोलीले समस्या समाधानको काम तीव्र रूपमा अघि बढाइरहेको आयुक्त भण्डारीले बताएका छन् ।
सन्तोष परियारले छाडे रास्वपा, जनार्दन शर्मासहित मिलेर नयाँ दल खोल्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वप्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई लिखित राजीनामा बुझाउँदै पार्टी छोडेको जानकारी दिएका हुन् । परियारले जनार्दन शर्मा र सुदन किराती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूसँग सहकार्य गर्ने तयारी गरेको बुझिएको छ । माओवादी केन्द्रको विघटनपछि शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए । नेकपा माओवादी विद्रोही टिम र विवेकशील पार्टीकी रञ्जु दर्शनासहितको नयाँ दल बनाउनेगरी छलफल चलिरहेको प्रगतिशील अभियानका एक नेताले जानकारी दिए । शर्मा र परियारको टिममा मानुषी यमी भट्टराई पनि जोडिनसक्ने ती नेताले जानकारी दिए । हालका दिनमा रास्वपाभित्र पनि असन्तुष्टि बढ्दै गइरहेको छ । यसै क्रममा पूर्वमन्त्री सुमना श्रेष्ठ लगायतका नेताहरू पहिल्यै पार्टीबाट बाहिरिसकेका छन् । गणेश कार्की, निशा डाँगीलगायतका नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको बुझिएको छ ।
नेशनल लाइफको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १.८१ प्रतिशतले बढेको छ । पहिलो तीन महिनामा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५१ करोड १ लाख रुपैयाँ थियो । क्रम्पनीको अन्य इक्विटीमा ३७ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ४२ करोड १४ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २४.७२ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.३९ प्रतिशतले बढेको छ । त्यस्तै असोज मसान्तसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क १३.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयर पुँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १०.३० रुपैयाँ, पीई रेसियो ५६.११ गुणा र प्रतिशेयर नेटवर्थ १३१.५४ रुपैयाँ रहेको छ ।
आगामी निर्वाचनमा भाग लिन चाहने दललाई दर्ताका लागि निर्वाचन आयोगको आह्वान
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रवार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ । निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार दर्ताका लागि दलले संवैधानिक र कानूनी आधारहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ । उनले निर्वाचन प्रयोजनको लागि आयोगमा दल दर्ता गर्न यसअघि नै आयोगमा दर्ता भएको हुनुपर्ने, विगतका वर्षहरूका लेखापरीक्षणहरू आयोगमा बुझाएको, केन्द्रीय समितिको बहुमतले निर्णय गरेको, विधान तथा नियमावली अद्यावधिक गरेको, संविधान र निर्वाचन ऐनअनुसार लोकतान्त्रिक चरित्र पूरा गरेको तथा विधानमा तोकिए अनुसार महाधिवेशन सम्पन्न भएको हुनुपर्ने बताए । १९ जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो । जेनजी विद्रोहपछि गठित नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरी अगामी २१ फागुनमा निर्वाचन गर्दैछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको बताए । उनले परिपत्रकौ डेटाका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरेसँगै सेवाग्राहीको चाप बढेपछि उत्पन्न भएका प्राविधिक समस्या समाधान इन्जिनियरहरू परिचालन गरेको बताए । सबै नागरिकको मताधिकार सुनिश्चित गर्ने उद्देश्यले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य जारी रहेको उनको भनाइ छ ।
‘परान’ मा थपिँदै एकपछि अर्को कर्पोरेट शो
काठमाडौं : नेपाली कथानक चलचित्र ‘परान’ ले हलहलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ । रिलिज भएको पहिलो तीन दिनपछि मात्र गति समातेको थियो । चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ। उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए ।
एलआईसी नेपालको नाफा १० करोड ८३ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ३७.४७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.९६ प्रतिशतले बढेको छ । त्यस्तै समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.११ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको महाविपत्ति कोषमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिलो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ९९ करोड १६ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको अन्य इक्युटीमा ३० करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ थियो । ५ अर्ब ५० करोड शेयर पुँजी भएको कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ थियो अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १०.६४ प्रतिशतले बढेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ७.८८ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ रहेको छ ।