विकासन्युज

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल, १३ जनाको टोली चीन प्रस्थान

काठमाडौं । मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर २ वटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती जनप्रतिनिधि र अधिकारीहरूसँग छलफलका लागि गत शुक्रबार गएको बताए ।  कोरला नाका हुँदै गएको टोलीमा लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका उपाध्यक्ष छिरिङल्होमो गुरुङसहितका १३ जनप्रतिनिधि सहभागी छन् । यो भ्रमण जनप्रतिनिधिको व्यक्तिगत खर्चमा भएको पनि अध्यक्ष गुरुङले बताए । ‘नेपाल र चीन सरकारका अधिकारीहरूसँग समन्वय गरेर कोरला नाका हुँदै मानसरोवर पुग्ने धार्मिक पर्यटकीय मार्गको सम्भाव्यता अध्ययनका लागि आएका हौँ,’ उनले भने, ‘हाम्रो पहलले सार्थकता पाएमा गण्डकी प्रदेश र नेपालको पर्यटन, सांस्कृतिक सम्बन्ध र आर्थिक समृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौँ ।’ कोरला नाका हुँदै कैलाश मानसरोवर, ल्हासा तिब्बत घुम्न जाने र चीनका बौद्ध धर्मावलम्बीहरूलाई कोरला नाका भएर लुम्बिनीमा ल्याउन यो छोटो मार्ग हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार कोरला नाकादेखि कैलाश मानसरोवर ३ सय किलोमिटर र ल्हासा १ हजार किलोमिटर दूरीमा रहेको छ । कैलाश मानसरोवरको दर्शनका लागि कोरला नाकाबाट निकै छोटो, कम खर्चिलो र सहज हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । हाल भारतीय र नेपाली पर्यटकहरू हुम्ला हुँदै मानसरोवर दर्शनका लागि जाने गरेका छन् ।  अहिले भारतीय मार्ग हुँदै जाँदा एउटै धार्मिक पर्यटकले प्रतिव्यक्ति २ लाख रुपैयाँ भन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा कोरला नाकाबाट सहज आवतजावत भएमा निकै कम खर्चमा कैलाश तथा मानसरोवरको भ्रमण गर्न सकिने बताइएको छ । विसं २०८० कात्तिक २७ गतेदेखि मुस्ताङवासीका लागि सामान किनमेल गर्न खुला भएको कोरला नाकामा गत वर्ष अध्यागमन कार्यालय स्थापना भएको थियो भने यस वर्षदेखि तातोपानी र रसुवाको नाका बन्द भएपछि चीन र नेपालको निकासी, पैठारी यही नाकाबाट हुन थालेको छ । पोखरा र काठमाडौंबाट हवाईमार्ग र सडक सञ्जालबाट सहजै कोरला नाका हुँदै सवारी साधनको प्रयोग गरी मानसरोवरसम्म जान सकिन्छ । चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा बर्सेनि हजारौं नेपाली पर्यटकले भ्रमण गर्ने गरेका छन् ।  मुस्ताङको बाटो हुँदै कैलाश मानसरोवर जान काठमाडौंबाट २५ मिनेटमा पोखरा र पोखराबाट २५ मिनेटको उडान र ४ सय किलोमिटरको यात्रापछि पोखराबाट म्याग्दी बेनी हुँदै मुस्ताङको कोरला नाका पुग्न सकिन्छ । हवाई मार्ग हुँदै मुस्ताङको जोमसोम पुगेकाहरू ९६ किलोमिटरको दूरी पार गरेपछि लोमान्थाङ हुँदै करिब साढे ४ घण्टामा कोरला पुग्न सकिन्छ । नेचुङ-लिजी भन्सारबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोम्वासेनमा पुगिन्छ भने त्यहाँबाट ३ सय किलोमिटरको यात्रापछि छ घण्टामा कैलाश तथा मानसरोवरमा पुगिने अध्यक्ष गुरुङले बताए। तिब्बती क्षेत्रको सडक सञ्जाल र सवारी साधनसमेत आधुनिक भएकाले यात्रा निकै सहज रहेको उनको भनाइ छ । हिन्दू धर्ममा शिवको बासस्थान भनिने कैलाश समुद्र सतहबाट ६ हजार ६०३ मिटर उचाइमा रहेको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य र मानसरोवरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।  कोरला नाकास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कार्यालयबाट पहिलोपटक भिसा लगाएर १३ जना जनप्रतिनिधिको टोली कोरला नाका हुँदै १ साताका लागि चीन गएका बताए । नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि १५० दिनको ‘अन अराइभल भिसा’ निःशुल्क उपलब्ध गराउनेछ । सरकारले उपल्लो मुस्ताङ प्रवेश गर्ने विदेशी नागरिकका लागि ५ सय डलर प्रवेश शुल्क तोकेकाले चुनौतीका रूपमा रहेको छ । 

विदेशमा ‘केयर अर्थतन्त्र’ पेसा नै बनिसक्यो, नेपालमा पनि नीति बनाएर समेट्नु पर्‍यो

काठमाडौं । घरायसी तथा सेवामूलक अर्थतन्त्रको महत्वलाई औपचारिक रूपमै उजागर गर्नुपर्ने विज्ञहरूले धारणा राखेका छन् । नेपाल मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्रिर्यामा उनीहरूले सेवामूलक अर्थतन्त्र फैलिँदै गएकाले विकसित देशहरू झैँ महिला र पुरुषको समान सहभागिताले मात्र यो सम्भव हुने तर्क राखेका हुन । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले नेपालमा अहिलेको अवस्थामा सेवामूलक र घरायसी काममा महिलाहरू नै धेरै खटिने बताए । महिला र पुरुष दुवैले घरायसी तथा सेवामूलक काममा उत्तिकै ध्यान दिनुपर्ने खाँचो रहेको उनको भनाइ छ । ‘विदेशमा ‘केयर अर्थतन्त्र’ एउटा पेसा नै बनिसकेको छ, हाम्रोमा पनि पेसागत रुपमा अघि बढ्ने अवस्था आउँदै छ । काठमाडौं वा विदेश बस्ने छोराछोरीका बाबुआमालाई यहाँ हेरचाह गर्न कर्मचारी भइसक्यो, राज्यले पनि यसलाई नीति बनाएर समेट्नु पर्‍याे,’ उनले भने । अर्थविद् डा विकल श्रेष्ठले घरायसी तथा सेवामूलक कार्यको योगदानको हिसाब अहिलेसम्म नभएको धारणा राखे । ‘जबसम्म कुनै पनि मुद्दा देशको अर्थतन्त्रसँग जोडिँदैन, तबसम्म त्यसले प्राथमिकता पाउन गाह्रो हुन्छ । आजको अवस्थामा प्रत्यक्ष रूपमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको योगदान शून्य बराबर छ, किनकि यसबारे अध्ययन नै भएको छैन र घरायसी कामलाई व्यवसायमा जोड्न पनि सकिँदैन,’ उनले भने । अधिकारकर्मी ऋतु भट्टले घरायसी कामलाई अर्थतन्त्रसँग जोडेर मात्रै हेर्न पनि नमिल्ने उल्लेख गर्दै पूर्वीय दर्शनले भावना र अध्यात्ममा जोड दिने गरेको सुनाइन् । उनले घरमा गरिने स-साना कामले जीवनलाई आकार दिन निकै महत्वपूर्ण भूमिका खेल्ने भनाइ राखिन् । मानवअधिकार चलचित्र केन्द्रका पूर्व अध्यक्ष विष्णु खत्रीले महिलाले औसतमा प्रति साता २९ घण्टा र पुरुषले ५ घण्टा मात्रै घरायसी काममा बिताउने गरेको पाइएको बताए ।  ‘यसले महिलाहरूको महत्व उजागर गर्छ । तर हामीले यसबारे अझै विस्तृत अध्ययन गर्न जरुरी छ, पुरुषहरूले पनि घरायसी काममा आफ्नो संलग्नतालाई बढाउनुपर्ने जरुरी छ,’ उनले भने ।  भान्छा, सरसफाइ, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, पाहुना सत्कार, गाईवस्तु रेखदेख, कृषि, चाडपर्व, पूजापाठ, सामाजिक कार्य लगायतलाई सेवामूलक अर्थतन्त्रमा हुन् । यसलाई आर्थिक पाटोसँग जोडेर यसको महत्त्व उजागर गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । त्यस्तै घरायसी सेवामूलक कामलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा पनि सहभागीहरू एकमत भएका थिए । केयर इकोनोमीलाई राज्यले बेलैमा सम्बोधन गर्न नसके भविष्यमा यसले विकराल रूप लिन सक्ने उनीहरूको चेतावनी थियो । उनीहरूलाई सीपसँगै र उद्यममा लगाउन सके देशले ठूलो आर्थिक क्रान्ति गर्ने र केयर इकोनोमीलाई जागिरको रूपमा परिवर्तन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको वि.सं २००५ मा निधन भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्र कुमार शेर्माले जानकारी दिए । 

४ लाख अमेरिकी डलरमा सगरमाथा चढ्ने बाटो खुल्दै, ८० प्रतिशत काम सम्पन्न

सुवास दर्नाल काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैत भित्रमा सञ्चालन हुने भएको छ । न्युजिल्यान्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफल तर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्त याम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुने गरी तयारी भइरहेको छ । यो करिब २०० मिटर जति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।  खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटन विद् आङ्छिरिङ शेर्पाले बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोग विहीन भएको हो । यो बाटो खुम्बु आइसफल तर्फको भन्दा धेरै गुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ । सोही मार्गको खोजी, अनुसन्धान तथा पुनः सञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुने गरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्त याम (फागुन-चैत) भित्रमा सञ्चालन गर्ने गरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए । ‘विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ । यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन,’ उनले भने । फ्रान्सस्थित विभिन्न पर्वतारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए । ‘सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ । बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अवरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन् । तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ,’ विभागका निर्देशक गौतमले भने । सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो । यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए । नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अत्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ । सोही बाटो हुँदै ७२ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनः जीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब ३ वर्षअघिदेखि सक्रिय नयाँ पद मार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए । उनका अनुसार आगामी वसन्त याम (स्प्रिङ सिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ ।  काजीले भने, ‘यो केबल हिमाल आरोहणको बाटो होइन । यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ । अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ । बाँकी काम आगामी मार्च-अप्रिल अर्थात् वसन्त यामभित्र सक्ने लक्ष्य राखिएको छ ।’ सरकारद्वारा अनुमति प्राप्त सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ । सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकारी दिए । विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकार अन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिएका शेर्पाले बताए । विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई ६ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ ।  ‘सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ । क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ,’ पर्यटन विभागका निर्देशक गौतमले भने ।  यो मार्ग सञ्चालनमा ल्याउन सके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ । यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृति सहित अघि बढाइएको गौतमले बताए ।  ‘हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ,’ उनले भने । स्थानीय र अन्तर्राष्ट्रिय सहकार्यको नमुना यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडिएको विज्ञको भनाइ छ । यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडे काजीले पनि आर्थिक सहयोग गरेका छन् । साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिनुभएको शेर्पाले उल्लेख गरे । फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहेका छन् । ‘यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनःस्थापना हो,’ इरोडले भने । उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुड्किला तयार भइसकेका छन् ।  ‘यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ । कूल करिब २७० वटा खुड्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ,’ उनले भने ।  ४ लाख अमेरिकी डलरको अनुमानित लागत यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब ४ लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । अहिलेसम्म ३ लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए । बाँकी १ लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेको उनको भनाइ छ ।  शेर्पाले भने, ‘मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ । यो रकम निश्चित मार्गसहित खुड्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ ।’ नयाँ बाटो: कम जोखिम, बढी सुरक्षा नयाँ बाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ । खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ । जहाँ वार्षिक रूपमा हिउँ पहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ । आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए ।  उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन् । खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ । अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन् ।  पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, ‘यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ ।’ यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए ।  अन्तर्राष्ट्रिय ध्यान पुन: सगरमाथातर्फ यो परियोजनाले अन्तर्राष्ट्रिय पर्वतारोहण जगतको ध्यान फेरि नेपालतिर तानेको छ । विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन् । मार्ग निर्माणका क्रममा उनीहरुले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन् । पर्यटनमा हुने सम्भावित प्रभाव यो मार्ग खुलेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दा बढी आरोही सगरमाथाको अनुमति लिन्छन् । तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन् । नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ । सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, ‘यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ । सगरमाथा पुनः विश्व पर्वतारोहणको केन्द्र बन्नेछ ।’ इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो । सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, ‘हिँडेको बाटो पुनः खुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ ।’ यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, ‘यो केबल चढाइ होइन, इतिहाससँगको पुनः सम्बन्ध हो ।’ रासस

राष्ट्र बैंकले उपदान कोषको ३.७० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, खुद एनपीएल ३ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको ३ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५५ करोड ५० लाख रुपैयाँ, राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्न लागिएको उल्लेख छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात (एनपीएल ) ३ प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्ने लगायत सर्त पूरा गरेको हुनुपर्नेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ । 

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट, ८ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमबार साँझ भएको विस्फोटमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ७ जना सख्त घाइते भएका छन् ।  स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याई पुर्याउँदा ८ जनाको मृत्यु भइसकेको र अन्य ७ जनाको उपचार भइरहेको जानकारी दिए ।  दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म, म तपाईंलाई केही भन्न सक्दिन। घटनाबारे अनुसन्धान भइरहेको छ ।’ घटनास्थलमा पुगेका डीआइजी सिआरपिएफले तत्काल केही भन्न हतार हुने बताए । अग्नि नियन्त्रण कार्यालयका उप प्रमुख एके मलिकले चाँदनी चोक मेट्रो स्टेसन नजिकै एउटा कारमा विस्फोट भएको जानकारी प्राप्त भएको बताए ।  ‘हामीले घटना लगत्तै प्रतिक्रिया दियौँ र ७ युनिटहरू घटनास्थलमा पठाइयो । विस्फोटपछि लागेको आगो साँझ ७:३० सम्ममा नियन्त्रणमा आएको छ । यसमा हाताहाती हुने सम्भावना रहेको छ । हाम्रा सबै टोली घटनास्थलमा उपस्थित छन्,’ उनले भने ।  प्रत्यक्षदर्शीले केही व्यक्तिको मृत्यु भएको बताएका छन् । एक स्थानीयले एएनआईलाई भने, ‘जब हामीले सडकमा कसैको हात देख्यौँ, हामी पूर्ण रूपमा स्तब्ध भयौँ । म यसलाई शब्दमा व्याख्या गर्न सक्दिनँ ।’ अर्का प्रत्यक्षदर्शीले भने, ‘जब हामी घटनास्थल नजिक पुग्यौँ, हामीले सडकमा शरीरका अङ्गहरू छरिएको देख्यौँ। के भयो कसैले पनि बुझ्न सकेनन् । धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’  एक स्थानीय पसलेले एएनआईलाई बताए अनुसार उनले आफ्नो जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेका थिएनन् । उनले भने, ‘विष्फोटका कारण म तीन पटक लडेँ । यस्तो लाग्यो कि हामी सबै मृत्युको मुखमा गइरहेका छौँ । घटनामा धेरै कारहरू क्षतिग्रस्त भएका छन् ।’ एलएनजेपी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले घाइतेमध्ये एक जनाको अवस्था स्थिर रहेको बताएका छन् । उनले भने, ‘१५ जनालाई लोक नायक अस्पतालमा ल्याइएको छ । तीमध्ये ८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो । ३ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था स्थिर रहेको छ।’

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा जनकपुर र काठमाडौं गोर्खाज भिड्ने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।  आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ८ टोली सहभागी छन् । दिनमा २ वटा खेल हुँदा पहिलो खेल दिउँसो ११:४५ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन् । प्लेअफका ३ खेल भने दिउँसो ४ बजे सुरू हुनेछन् । आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ । कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने छन् । 

अशोक राई नेतृत्वको जसपा र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने

काठमाडौं । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिए । उनले दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरु व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाइने र केही दिनभित्र एकताको घोषणा गरिने जानकारी दिए ।  नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी वृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ । छिट्टै सातै प्रदेशमा एकता सभा गर्ने तयारी समेत गरेको पार्टीले नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।