विकासन्युज

ओलीलाई पनि काठमाडौं प्रहरी परिसरमा पुर्याइयो

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । प्रहरीले उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पु¥याएको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।   

रमेश लेखकलाई भद्रकाली पुर्याइयो

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ । प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पु¥याएको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।   

पूर्व प्रधानमन्त्री ओली निवासबाटै पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । ओलीलाई पक्रन शनिबार विहानै सयौंको संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निजी निवासमा पुगेको थियो । सवा छ बजे ओलीलाई निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।  नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीका समर्थकहरु रातीदेखि नै ओली निवासमा पुगेका थिए । उनीहरुले सरकारको विरोध र ओलीको पक्षमा नाराबाजी गरेका थिए ।  प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको शुक्रबार मात्रै गठन भएको नयाँ सरकारले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा दोषीमाथि कारवाही गर्ने निर्णय गरेको थियो । आयोगले भदौ २३ र २४ गते भएको नवयुवा प्रर्दशनमा गरिएको दमनबारे करिव ९०० पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको छ ।  त्यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री, प्रहरी प्रमुखसहितलाई कारवाहीको सिफारिस गरिएको छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार विहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। नयाँ सरकारको निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, लेखक र प्रहरी प्रमुखलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही आधारमा प्रहरीले मुलुकी फौजदारी संहिताअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

गुण्डुमा तनाव, ओलीका समर्थक र प्रहरीको भीड बढ्दो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन प्रहरीको ठूलो टोली भक्तपुर पुगेको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली बस्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बिहानैदेखि प्रहरी परिचालन बढाइएको हो । प्रहरी टोली आवश्यक कागजातसहित त्यहाँ पुगेको प्रहरीले बताएको छ । यसअघि रातभर ओली समर्थक कार्यकर्ता र नेताहरू निवास बाहिर भेला भएका थिए । घटनास्थलमा अहिले पनि तनावपूर्ण अवस्था रहेको जनाइएको छ । प्रहरीले नियन्त्रण प्रयाससँगै सुरक्षालाई कडा बनाएको छ भने सम्भावित भिड नियन्त्रणका लागि थप सुरक्षा सतर्कता अपनाइएको स्रोतले जनाएको छ । एमालेका कार्यकर्ताहरु ओली निवास आसपास जम्मा हुने क्रम बढेको त्यहाँ रहेकी एमाले नेता रामकुमारी झाक्रीले जानकारी दिइन् ।

एक्सनमा सुधन गुरुङ : महत्वपूर्ण छलफल गर्न भन्दै रवि निवासमा गए

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ दौडधूपमा लागेका छन् । उनी दिनभर मन्त्रालयमा व्यस्त भएर राति रवि रास्वपा सभापति रवि लामिछानेको निवास गएका हुन् ।  उनी अहिले महत्वपूर्ण छलफल गर्न रविको निवास गएको बुझिएको छ । सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनी एक्सनमा उत्रिएको बुझिएको छ । उनले दिउँसो सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गरेका थिए ।   

शंकर पोखरेलले भने : कार्की आयोगको प्रतिवेदन खारेज गर, मन्त्रिपरिषदको निर्णय फिर्ता गर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल मार्फत् उनले यसताे भनेका हुन्। उनले भनेका छन्, '‘कार्की आयोगको पूर्वाग्राही प्रतिवेदन खारेज गर, मन्त्रिपरिषदको प्रतिशोधपूर्ण निर्णय फिर्ता गर ।’

के ओली, लेखक र खापुङ प्रक्राउ पर्न लागेका हुन् ?

काठमाडौं । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने भएको छ ।  शुक्रबार बसेको नयाँ गठित मन्त्रिपरिषद बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको हो । सरकारले आयोगको प्रतिवेदन सबैको हकमा भने कार्यन्वयन नगर्ने भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सुरक्षाकर्मीको हकमा तत्काल कार्यन्वयन नगर्ने र अन्यको हकमा मात्रै तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए । त्यसैगरी, गृहमन्त्री सुधन गुरुङले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भीआईपी मिटिङ बोलाएका छन् ।  उनले गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितको भीआईपी सम्मिलत बैठक बोलाएका हुन् । यो समाचार तयार पार्दासम्म अहिले गृहमन्त्रालयमा बैठक बसिरहेको छ ।  यो निर्णयसँगै जेनजी आन्दोलनमा दोषी देखिएकामध्येका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री  रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङ कारबाहीको दायरामा आउने भएका हुन् ।  आयोगले ओली र लेखकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ। दफा १८१ मा लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर सम्बन्धी व्यवस्था छ।  त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । तर, यस्तो कसुर दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक हुनुपर्छ । जाँचबुझ आयोगले ओली र लेखकको हकमा यी दफामा उल्लेख भएको जस्तो अवस्था विद्यमान नदेखिएकाले कैद र जरिवाना गर्न सिफारिस गरेको छ । तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई पनि यही कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो । तर, उनको हकमा अध्ययन नगरी प्रक्रिया अगाडि बढ्ने छैन ।  अर्को दफा १८२ मा हेलचक्र्याईं गरी ज्यान मार्न नहुने सम्बन्धी व्यवस्था छ । कसैले हेलचक्र्याइपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न हुँदैन र यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । यो दफा अनुसार दुवाडी र रिजाललाई कारबाही गर्न सिफारिस छ।  उनीहरूको हकमा पनि तत्कालै कार्यान्वयन अगाडि बढाउने सरकारले निर्णय गरेको छ ।  यो दफाको उपदफा ९३० मा कसैको ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई छ महिनादेखि दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।   १८२ अनुसार कारबाही गर्न आयोगले सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि कारबाही सिफारिस भएको थियो । तर, उनीहरुको हकमा तत्काल कार्यान्वयन नहुने भएको छ ।  यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अन्य अधिकारीहरू पनि कारबाहीको सिफारिस सूचीमा छन् । उनीहरूलाई भने विभागीय कारबाही मात्रै गर्न सिफारिस छ । नेपाल प्रहरीका हालका आईजीपी दानबहादुर कार्कीलाई पनि नसिहत दिन सिफारिस छ ।