सामूहिक राजीनामाको तयारीमा राजदूतहरू
काठमाडौं । अन्तरिम सरकारले दोहोर्याएर पत्राचार गरेपछि विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरू स्वदेश फर्कने तयारीमा रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरे पहिले नै नेपाल फर्किसकेका छन् । घिमिरेले नेपाल फर्किएर गत मंगलबार राजीनामा समेत दिएका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीका अनुसार अन्य सबै राजदूतहरूलाई पनि टिकट पठाइसकिएको छ र उनीहरू आगामी दुई–तीन दिनभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । सरकारले असोज ३० गतेको निर्णयअनुसार चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल पाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदीलाई समेत स्वदेश फर्कन पत्राचार गरेको थियो । सरकारले ती सबैलाई कार्त्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिएको थियो । चीनका लागि राजदूत ओली आइतबार नै बेइजिङबाट काठमाडौं फर्कने तयारीमा छन् भने बाँकी राजदूतहरू पनि फर्किने तयारीमा रहेका छन् । ओली निकट स्रोतका अनुसार नेपाल फर्किएपछि सबै राजदूतहरूले संयुक्त रूपमा राजीनामा दिने तयारी गरेका छन् । यता उक्त निर्णयविरुद्ध लक्ष्मीप्रसाद पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कार्त्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । तर आदेशको भोलिपल्टै सरकारले अर्को पत्राचारमार्फत ती राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सर्वोच्चको आदेशपछि पनि सरकारले आफ्नो निर्णयमा अडान कायम राखेको देखिन्छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फर्काइएका राजदूतहरूका लागि मन्त्रालयमा बस्ने स्थान र भूमिका अझै तय भएको छैन । फिर्ता बोलाइएका राजदूतहरूको व्यवस्थापनबारे मन्त्रालयमा स्पष्ट योजना नबनेको बताइन्छ । प्रवक्ता क्षत्रीका अनुसार सबै राजदूतहरू फर्किने तयारीमा छन् र उनीहरूको अनुभव र दक्षताको उपयोग मन्त्रालयले यथोचित व्यवस्था गर्नेछ ।
नास आईटी एक्स्पो सुरु : सहकार्य र नवप्रवर्तनमार्फत नेपालको आईटी इकोसिस्टम सशक्तिकरण
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले शुक्रबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नास-आईटी एक्स्पोको भव्य उद्घाटन गरेको छ । यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो प्रविधि र नवप्रवर्तनमूलक मेला हो । ‘व्यवसायलाई प्रविधिसँग सँगै जोडी नेपालको एआई भविष्य निर्माण गर्दै’ भन्ने नाराका साथ आयोजित दुईदिने यस कार्यक्रममा ३५ भन्दा बढी अग्रणी टेक कम्पनीहरूले सहभागिता जनाएका छन् । कार्यक्रममा उद्योगका वरिष्ठ व्यक्तित्व, नीति निर्माताहरू, लगानीकर्ता, नवप्रवर्तक तथा स्वदेशी र विदेशी प्रविधि विशेषज्ञहरू सहभागी छन् । कार्यक्रमको उद्घाटन नास(आईटीका अध्यक्ष गौरव पाण्डेले गरे । उनले कार्यक्रमले दुई दिनको सहकार्य, अध्ययन र अन्वेषणको प्रेरणादायी सुरुवात गरेको बताए । अध्यक्ष पाण्डेले भने, ‘यो एक्स्पो केवल प्रदर्शनी होइन, यो संवाद, सहकार्य र प्रगतिका लागि प्लेटफर्म हो । हाम्रो उद्देश्य नेपाललाई विश्वसनीय डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनको ग्लोबल हबका रूपमा स्थापित गर्नु हो ।’ टिग कम्पनीकी सह(संस्थापक प्रार्थना साखाले नेपालमा उदाउँदो प्रविधि इकोसिस्टमलाई सघाउनको महत्त्व औंल्याइन् । कार्यक्रममा विभिन्न प्रतिष्ठित वक्ताहरूका विचारपूर्ण सत्रहरू पनि समावेश थिए ।
स्वाथ्य सेवा विभागका निर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा
काठमाडौं । जिम्मेवारी सम्हालेको नौ महिनामै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । सचिवको दौडमा रहेका बाराकोटी सचिवमा डा. विकास देवकोटा नियुक्त भएपछि स्वास्थ्य सेवा विभागको निर्देशकमा नियुक्त भएका थिए । नियमित पदावधि दुई वर्ष बढी बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनले आउँदो आइतबारबाट लागू हुनेगरी राजीनामा पत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका छन् । डा. बाराकोटीले बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी समय बिताएका छन् ।
सिप्रदीको व्यापार २४ अर्ब बढी, तीन आर्थिक वर्षमा औसत ६८ प्रतिशत लाभांश
काठमाडौं । गाडी बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब बढीको सञ्चालन आम्दानी अर्थात् व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरणका अनुसार सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन सन् २०२४ को तुलनामा ३० प्रतिशत बढी हो । यस कम्पनीले सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । विगत पाँच वर्षको तुलनामा कम्पनीको व्यापार केही घटेको देखिए पनि गत वर्षको तुलनामा भने उल्लेख्य रुपमा बढेको हो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा मार्जिन पनि बढेको छ । गत वर्ष २.२ प्रतिशतमात्रै रहेको नाफा मार्जिन सन् २०२५ मा २.७ प्रतिशत पुगेको हो । सन् २०२१ मा भने कम्पनीको नाफा मार्जिन ८.१ प्रतिशत थियो । देशकै सबैभन्दा ठूलो गाडी बिक्रेता कम्पनीको रुपमा परिचय बनाएको सिप्रदी नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो । नेपाली अटो बजारमा सिप्रदीको ठूलो बजार हिस्सा छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदा तरलता स्थिति सुदृढ भएको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । नेपालको कमर्सियल भइकलको बजार ६० प्रतिशत बढीको हिस्सा राखेको सिप्रदीले देशभर आफ्नो सञ्जाल फैलाएको छ । कम्पनीले कमर्सियल भेइकलसँगै अन्य सवारीसाधन बिक्रीका साथै ब्याट्री, स्पेयर पाट्र्स, लुब्रिकेन्ट जस्ता गैर-वाहन वस्तुहरू पनि बिक्री गर्दै आएको छ । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । दीर्घकालीन ऋणका लागि एल डबल बीप्लस र अल्पकालीनका लागि एफोर प्लस रेटिङ पाएको छ । कम्पनीले सन् २०२५ मा कारोबार करिब ३० प्रतिशत बढाउँदा कमर्सियल भेइकल तर्फ भने ६९ प्रतिशतको वृद्धि गरेको छ । बैंकको ब्याजदर घट्दा र ऋण कम हुँदै जाँदा वित्तीय खर्च घटेको विज्ञप्तिमा उल्लेख छ । सिप्रदीको मुख्य लगानीकर्ता सिद्धार्थ राणा हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । यसअघि विकासन्युजसँग कुरा गर्दै सीईओ श्रेष्ठले सिप्रदीलाई ५० अर्बको कम्पनी बनाउने लक्ष्य रहेको बताएका थिए । सम्बन्धित सामग्री : अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’
लगानी, प्रविधि र पर्यटनमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई मल्लको आह्वान
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रीज एण्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् । भेटका क्रममा निवर्तमान उनले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए । नेपालमा चिनिया‍ँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यवसायिक साझेदारी मार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चीनदेखि भारत सीमा सम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’ नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए । नेपालमा होटल पूर्वाधारमा लगानीमार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए । नेपालका सुन, तामा, युरेनियम लगायतका खानीहरूको प्रचुर सम्भावनालाई औंल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए । उनले चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको बताए । उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’ यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवद्र्धन गर्न आफूहरू प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिवद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने पनि उनले बताए।
बनेपाबाट सुरु भयो लाइसेन्स छपाइ, ६ महिनामा १२ लाखले पाउने
काठमाडौं । लामो प्रतीक्षापछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अन्ततः सुरु भएको छ । शुक्रबार बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बटम थिचेर औपचारिक रूपमा छपाइको शुभारम्भ गरे । योसँगै लामो समयदेखि रोकिएको लाइसेन्स वितरण प्रक्रियामा नयाँ ऊर्जा थपिएको छ । मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेको यो इतिहासमै पहिलोपटक हो । शुभारम्भपछि मन्त्री खरेलले भने, ‘अब नेपाली नागरिकले आफ्नै देशमै छापिएको सुरक्षित र गुणस्तरीय लाइसेन्स पाउनेछन्, यो आत्मनिर्भर प्रविधितर्फको ठूलो उपलब्धि हो ।’ उनले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । पहिलो चरणमा १२ लाखप्रति छपाइको सम्झौता भएअनुरूप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक ५ सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । सुरक्षण मुद्रण केन्द्रले अत्याधुनिक प्रविधिबाट लाइसेन्स छाप्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार अब दैनिक हजारौं लाइसेन्स छाप्ने क्षमता रहेको र केही साताभित्र नै वितरणको काम तीव्र गतिमा अघि बढाइनेछ । मन्त्रालयका अनुसार वर्षौंदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन त्यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक्याएर छपाइ थालेको शुक्रबारदेखि थालिएको हो । केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने जनाइएको छ । मन्त्रालयले २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको जनाएको छ । लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैं विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । यसअघि प्राविधिक समस्या र ठेक्का प्रक्रियाको ढिलाइका कारण लाइसेन्स छपाइ लामो समयदेखि रोकिएको थियो ।
उद्योग वाणिज्य महासंघले शनिबार ‘राष्ट्रिय बृहत आर्थिक बहस’ को आयोजना गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाको सहभागिता रहने महासंघले जनाएको छ । यस्तै, कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल स्थित विभिन्न देशका राजदूतहरू, विकास साझेदार र नियोगका प्रमुख एवं प्रतिनिधिहरू तथा निजी क्षेत्रका संस्थाहरूका प्रमुख तथा पदाधिकारीहरूको सहभागिता रहने छ । जेनजी आन्दोलन र त्यसपछि देशको समग्र आर्थिक परिस्थति र आगामी कार्यदिशाका बारेमा साझा धारणा तय गर्न ‘राष्ट्रिय बृहत आर्थिक बहस’ आयोजना गरिएको महासंघले जनाएको छ । उद्योग वाणिज्य महासंघले यस अघि पनि २०८० सालमा राष्ट्रिय बृहत आर्थिक बहस पहिलो श्रृंखला आयोजना गरेको थियो ।
कांग्रेस केन्द्रीय समितिमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव पेश
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेदेखि विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको विधानअनुसार उक्त मितिमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । उनका अनुसार नेपाली कांग्रेसको विधानको धारा १७ को २ मा उल्लेखित व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । आचार्यले मंसिर २४ गते महाधिवेशन सुरु गर्न सुझाव दिएका हुन् । उक्त दिन नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्मदिनसमेत हो । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरिएको थियो । त्यसै मागका आधारमा अहिले केन्द्रीय समितिमा विशेष महाधिवेशनको प्रस्ताव गरिएको नेताहरूले बताएका छन् ।