रामकुमारी झाँक्रीको अपिल– मतभेद स्वाभाविक हुन्, संवादबाटै समाधान खोजौं
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रामकुमारी झाँक्रीले हालको राजनीतिक अवस्थाबारे संयमित र संवादमुखी अपिल सार्वजनिक गर्दै नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत विचार, भिन्नता र मतभेदलाई स्वाभाविक रूपमा लिएर सहमतिको बाटो खोज्नुपर्ने बताएकी हुन् । झाँक्रीले लेखेकी छन्, ‘राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै । हरेक मान्छेमा वैचारिक भिन्नता हुन्छ, विचारमा मतभेद हुन्छ, कार्यशैली फरक हुनसक्छ । हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन हो ।’ उनले पार्टीभित्र देखा परेका असहमति र भावनात्मक प्रतिक्रियामाथि इंगित गर्दै नेताहरूलाई आग्रहसमेत गरेकी छन् । झाँक्रीले लेखेकी छन्, ‘हाम्रा बीचमा कयौं मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं । आग्रह, पूर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सही दिशामा पुर्याऔं । हतार गर्नुपर्ने कुनै कारण छैन ।’
महाधिवेशनको मिति सहमतिमा तोक्दै कांग्रेस नेतृत्व
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका विभिन्न विचार र मतभेदहरूलाई सहमतिमा टुंगो लगाउने प्रयास भइरहेको जानकारी गराएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गदै खड्काले महाधिवेशनको मितिसमेत सहमतिमा तोकिने बताएका हुन् । जारी बैठकमा संस्थापन इतरपक्षले पुष १६ मा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ । यस्तै, संस्थापनपक्षले नियमित महाधिवेशन आगामी २७ देखि ३० वैशाखसम्म सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । कार्यवाहक सभापति खड्काले यी दुई मितिबाट मध्यमार्गी बाटो अवलम्वन गर्न सकिनेतर्फ संकेत गरेका छन् । समग्रमा नेपाली कांग्रेस हाल आन्तरिक एकता कायम गर्ने, नेतृत्व र नीतिगत मुद्दामा सहमति जुटाउने र समयमै महाधिवेशन सम्पन्न गर्ने प्रयासमा रहेको खड्काको दाबी रहेको छ ।
'हितेन्द्रलाई कार्यकारी निर्देशकबाट किन हटाएको' भन्दै सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । शाक्यले सोमबार आफूलाई गैरकानूनी रुपमा कार्यकारी निर्देशकबाट हटाएको भन्दै रिट दायर गरेका थिए । त्यसमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई ४ वर्षको लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर, जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेपछि सो सरकारले उनलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यसअघि पनि ओली सरकारले कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । घिसिङ पनि त्यतिखेरु अदालत पुगेका थिए । तर, अदालतले उनको नाममा फैसला गरेन । अहिले शाक्य पनि अदालत पुगेका हुन् । रिटको अर्को पेसी कात्तिक २१ गते तोकिएको छ ।
अध्यक्षलाई कार्यालय प्रवेश निषेधपछि अर्थ मन्त्रालयमै बस्दै धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक
काठमाडौं । अर्थ मन्त्रालयमा धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक मंगलबार (आज) बस्ने भएको छ । आज बेलुका ४ बजे मन्त्रालयमै सञ्चालक समितिको बैठक डाकिएको धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जानकारी दिए । कर्मचारीले श्रेष्ठलाई कार्यालय प्रवेश गर्न नदिएपछि धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक बस्न लागेको हो । उनीहरूले श्रेष्ठको राजीनामासमेत मागेका छन् । कार्यालय प्रवेशमा बाधा पुगेपछि बैठक बस्न लागिएको हो । कर्मचारीहरूले आफूहरूले पाएको सेवा–सुविधा अर्थ मन्त्रालयले कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरू असोज ७ गतेदेखि आन्दोलनरत छन् । आन्दोलन सुरु भएसँगै धितोपत्र बोर्डमा कुनै पनि काम हुन नसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आन्दोलनको निष्कर्ष निकाल्न नसक्ने, कर्मचारीको हित र रक्षामा उभिन नसक्ने अध्यक्षले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्न योग्य नरहेको कर्मचारीहरूको भनाइ छ । गत असोज २ गते अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट बोर्डबाट सञ्चालित कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष तत्काल खारेज गर्न निर्देशन दिएको थियो । साथै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने र कुनै पनि आर्थिक दायित्व पर्ने विषयमा निर्णय गर्नु पूर्व अनिवार्य रूपमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने व्यवस्था कार्यान्वयन गर्ने अर्थमन्त्रालयको राजस्व सचिवस्तरीय निर्णय गरेर सेबोनलाई पत्राचार गरेको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरित जारी भएका धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने,’ अर्थमन्त्रालयको गत भदौ ३१ गते राजस्व सचिवस्तरीय निर्णयमा भनिएको छ मन्त्रालयको उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै बोर्डका कर्मचारीहरू ४३ औं दिन पनि आन्दोलनमा उत्रिएका हुन् ।
निकोलस भुसाल पक्राउ
गोरखा । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । भुसाल सोमबार गोरखा आएको र उजलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौंस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।
२६ सय तल झर्यो नेप्से, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २५९५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युत कम्पनीको २२ करोड, युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख, सिंगटी हाइड्रोको १८ करोड ४५ लाख र शिवम् सिमेन्टको १८ कारोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । माबिलुङ इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कुषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । मंगलबार सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशतले घटेका छन् ।
रोल्वालिङ हिमपहिरो अपडेटः ५ जनाको उद्धार, ७ अझै बेपत्ता
दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षितरूपमा राखिएको छ । उनीहरूको केहीबेरमा उद्धार गरिने प्रजिअ रिसालले बताए । डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि दुई ट्राभल कम्पनीमार्फत आधार शिविर पुगेका पाँच विदेशीसहित १५ आरोही टेन्ट टाँगेर बसेको स्थानमा सोमबार बिहान हिमपहिरो खसेको हो । हिमपहिरोमा पुरिएर एक विदेशीसहित ३ जनाको मृत्यु भएको थियो । बेपत्ता भएकाहरूको अवस्था थाहा हुन नसकेको प्रजिअ रिसालले बताए । ‍उद्धारका लागि नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली ना गाउँ गएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाइन् नागरिकताको प्रतिलिपि
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा उनको नागरिकता प्रमाणपत्रसमेत जलेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उनले मंगलबार ९आज० प्रतिलिपि नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। उनले भने, ‘उहाँको पुरानो नागरिकताको प्रमाणपत्र जलेको रहेछ र कार्यालयको भौतिक अभिलेख पनि क्षतिग्रस्त भएको थियो । त्यसपछि हामीले विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको फोटोकपी र डिजिटल अभिलेख मिलाएर सत्यापन गर्यौं र त्यसैको आधारमा नयाँ प्रतिलिपि नागरिकता जारी गरिएको हो ।’ पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो ।