स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?
भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब रु चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् । भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो । 'लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ', वडाध्यक्ष उनले भन्, 'राज्यको रु चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ ।' यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताए । पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ । 'राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ', उनले भने, 'पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ । सरकार यो पुल निर्माणमा गम्भीर बनेन ।' २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो । पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् । रासस
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिए । 'सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए', उनले भने, 'सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।' समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताए । खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उनको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिए । 'चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ', उनले भने, 'बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।' ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताए । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुग्ने उनले बताए । रासस
निफ्रा बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो आधार दर
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज कात्तिक १८ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार शुभ पूर्वाधार खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४ प्रतिशत र व्यक्तिगतका लागि ४.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले शुभ पूर्वाधार बचत खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४.५० प्रतिशत र व्यक्तिगतका लागि ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै कर्जातर्फ भने बैंकले आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ६.८८ प्रतिशत रहेको छ । बैंकका अनुसार प्रोजेक्ट लोनमा आधार दरमा ३ प्रतिशत प्रिमियम, ब्रिज ग्याप लोनमा आधार दरमा ०.५ प्रतिशत बढी ब्याज तोक्नेछ । यसअघि बैंकको आधार दर ६.९७ प्रतिशत रहेको थियो ।
सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, कात्तिक २० गते निष्काशन
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ४ वर्षका लागि १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८६’ बिक्री गर्न लागेको हो । कार्यालयले कात्तिक १९ गते बोलकबोल मार्फत बिक्री गरी कात्तिक २० गते निष्काशन गर्ने जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्ने छन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।
गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । बैंकको ६ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ३९३.४० रुपैयाँ कायम भएको छ । समायोजित मूल्यमा आज मंगलबार सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबारको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ४१७ मा अन्तिम कारोबार भएको थियो । बैंकले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ ।
बङ्गलादेशमा ८० वर्षीया पूर्वप्रधानमन्त्री जिया ३ ठाउँबाट चुनाव लड्ने
काठमाडौं । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताएकी छिन् । दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आएकी ८० वर्षीया जियालाई उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। उनको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गरेका हुन् भने उनले देशका ३ निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ। सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ । ३ पटक बङ्गलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष रिहा भएकी थिइन् । उनका छोरा ५९ वर्षीय तारिक रहमान (तारिक जिया) पनि सन् २००८ देखि बेलायतमा रहँदै आएका छन् । हसिनाको पतनपछि रहमानलाई उनी विरुद्धको सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरिएको छ। हसिनाको र्‍यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा उनलाई उनको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो । दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ । सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उहाँको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो । मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनी सन् १९७७ मा राष्ट्रपति बनेका थिए । उनलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो । त्यसबेला २ सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाएकी थिइन् । सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बनेकी थिइन् । उनले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादको बिरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गरेकी थिइन् । त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए ।
११ राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन, अन्तरिम आदेश छल्न नयाँ पत्राचार
काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता बोलाउन पत्राचार गरेको छ । सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले सोमबार पत्र पठाउँदै उनीहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ । सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन सोमबार पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
जेनजी आन्दोलनमा ७२ भन्दा बढीको मृत्यु, ४५ जना मात्रै सहिद घोषणा (नामावली सहित)
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो । सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ । सरकारले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ का बुद्धिबहादुर तामाङ र काठमाडौँ महानगरपालिका-११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका-४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका-११ का श्रीयम चौलागाईँ, कैलालीको धनगढी उपमहानगरपालिका-५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका-८ का उमेश महतलाई सहिद घोषणा गरेको हो । यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका-१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका-४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका-७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका-१ का भीमराज धामी, काभ्रेपालञ्चोकको पनौती नगरपालिका-१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका-७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका-७ का विनोद महर्जन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका-८ का मिलन राय र तीनपाटन गाउँपालिका-६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन् । सरकारले धनकुटाको पाख्रिबास नगरपालिका-२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका-१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका-२ का लच्छुमान राई र तादी गाउँपालिका-३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका-५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका-८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका-४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका-३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका-१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका-६ का निरज पन्त र शिवनाथ गाउँपालिका-२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो । त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका-६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका-२२ का साजन राई र इटहरी उपमहानगरपालिका-१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका-४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका-२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका-११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका-२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका-५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका-३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ ।