भारतमा २८३ मेगावाट विद्युत निर्यातको अनुमति नवीकरण, भोलिदेखि पुनः निर्यात हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ । यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिब १८० विद्युत बिक्री भइरहेको थियो । हरियाणा राज्यलाई बिक्री गर्न दिइएको अनुमति बिहीबार (आज) सकिने छ । प्राधिकरणले हरेक वर्ष जुन—अक्टोबरमा हरियाणालाई विद्युत बिक्री गर्दछ । प्राधिकरणले हरियाणालाई विद्युत बिक्रीका लागि अनुमति पाएका आयोजनाको विद्युत आइएक्समा पनि बिक्री अनुमति मागेको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो । अब ४ आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारबाट आइएक्समा समेत निरन्तर रुपमा बिक्री गर्न पाउने भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइएसएको आठौं सभामा सहभागी हुन भारतको नयाँ दिल्ली भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरसँगका भेटमा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरलीकृत गरिदिन आग्रह गरेका थिए । उनले नेपालमा विद्युत उत्पादनको सबैभन्दा राम्रो समय अहिले भएकाले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति गरिदिन समेत आग्रह गरेका थिए ।
तीन करोड बढीको घरजग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान
काठमाडौं । सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयनमा लगेको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो । विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ । सोही आधारमा अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) को अनुसूची ८ मा उल्लिखित कागजात एवं प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेश गर्न भनिएको छ । इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३ ट बमोजिम एक पटकमा पाँच करोड रूपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा पाँच लाख रूपैयाँ दस्तुर बुझाउनुपर्नेछ । एक पटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा दश लाख रूपैयाँ बुझाउनुपर्नेछ । घरजग्गा कारोबारीमा लाइसेन्स लिने व्यवस्थालाई व्यवसायीहरुले समेत स्वागत गर्दै आएका छन् ।
महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ (ISO 9001:2015) बाट पुनः प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदान गर्न सक्षम देखिएपछि बैंकलाई २०८१ साल साउन ३२ गतेदेखि लागू हुने गरी प्रमाणपत्र प्रदान गरिएको थियो । सोही प्रणालीको निरन्तरता र प्रभावकारिता सुनिश्चित गर्न २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको हो । बैंकले 'प्रोभिजन अफ डेभ्लोमेन्ट बैंकिङ एक्टिभिटी' शीर्षकअन्तर्गतको सेवा क्षेत्रमा यो प्रमाणपत्र प्राप्त गरेको हो । विकास बैंकहरुको समूहमा यस प्रकारको प्रमाणपत्र प्राप्त गर्ने अग्रणी संस्थामध्ये महालक्ष्मी विकास बैंक पहिलो मध्ये एक बनेको बैंकले जनाएको छ । बैंकका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम राख्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने र आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थालाई मात्र यस्तो प्रमाणपत्र प्रदान गरिन्छ । आईएसओ प्रमाणीकरण प्रक्रियाअन्तर्गत बैंकको नीति, नियम, आन्तरिक प्रक्रिया, अभिलेखीकरण प्रणाली तथा समग्र व्यवस्थापन अभ्यासको विस्तृत मूल्यांकन र अडिट गरिएको थियो । महालक्ष्मी विकास बैंकले आईएसओ पुनःप्रमाणीकरणले आफ्नो सेवा गुणस्तर र व्यवस्थापन प्रणालीमा थप विश्वसनीयता र पारदर्शिता स्थापित गरेको विश्वास व्यक्त गरेको छ ।
खाजा खर्चमै केन्द्रीत रह्यो समाजवादीको बैठक, पाण्डेले एक लाख सहयोग गर्दा रामकुमारीको हजार
काठमाडौं । सामान्यतया पार्टीको केन्द्रीय कमिटी बैठक भनेपछि नीतिगत छलफल, बहस र निर्णयको अपेक्षा गरिन्छ । तर, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको पहिलो दिनमा भने अनौठो दृश्य देखियो । बैठक बहसभन्दा बढी फण्ड रेजिङमा केन्द्रित रह्यो । सुकेधारामा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपाल स्वयं दुई घण्टा ढिलो उपस्थित भए । बैठक सुरु हुनासाथ अध्यक्ष नेपालले राजनीतिक एजेन्डा खोल्नुको साटो खाजा खर्च उठाउने घोषणा गरे । उनले ३५ हजार रुपैयाँ दिने भन्दै अभियानको सुरुवात गरेपछि बैठकको माहोल नै फण्ड संकलनतर्फ मोडियो । नेपालको पछिपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले १ लाख रुपैयाँ दिने घोषणा गरे । त्यसपछि अन्य केन्द्रीय सदस्यहरूबीच कसले कति दिने भन्ने प्रतिस्पर्धा चल्यो । एक केन्द्रीय सदस्यका अनुसार बुधवारको बैठकमा मात्र करीब ७ लाख रुपैयाँ खाजा खर्चको रूपमा उठेको छ । पछिल्लो समय अध्यक्ष नेपालसँग असन्तुष्ट देखिएकी पूर्वसचिव रामकुमारी झाँक्रीले भने १ हजार रुपैयाँमात्रै योगदान दिइन् । उनको पछिल्लो कदमले बैठकभित्र चिया–खाजाभन्दा पनि राजनीतिक सन्देश झल्किएको एक सहभागीले टिप्पणी गरे । बढाबढतर्फ बढेको फण्ड रेजिङ झाँक्रीले एक हजार योगदान गरेपछि भने बढ्नुको साटो घट्न थाल्यो । यसअघि बढाबढतर्फ अग्रसर केन्द्रीय सदस्य र नेताहरू झाँक्रीको एक हजार योगदानले थामिए । त्यसपछि सुरु भयो एक हजार अभियान । एक केन्द्रीय सदस्यका अनुसार बैठकको पहिलो दिन न नीति, न प्रस्ताव- खाजा खर्चकै चर्चामा बित्यो । बिहीबार दोस्रो दिनदेखि भने वास्तविक राजनीतिक एजेन्डामा प्रवेश गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएकाे छ । बुधवार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले भने अध्यक्ष नेपालको गासमा ढुङ्गा लागेको कानेखुशी बैठकस्थलभरि भइरहेको थियो । श्रेष्ठले एकता गर्ने भए सिङ्गो पार्टी लिएर आउन माधव नेपाललाई चुनौती दिएका थिए। बिहानभर माओवादी संयोजक पुष्पकमल दाहालसँग बसेर एकताको मोडालिटी र कार्यक्रम तय गरेर बैठकस्थल पुगेका नेपाल सम्मानित नेता झलनाथ खनालसहितका नेताको अभिव्यक्तिका कारण तनावमा रहेको एक नेताले जानकारी दिए ।
शनिबारसम्म वर्षा र हिमपात : ‘मोन्था’ चक्रवातले ल्यायो मौसम परिवर्तन
काठमाडौं । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए । आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए । आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियानअन्तर्गत चौथो भिडियो सार्वजनिक
काठमाडौं । शिवम् सिमेन्टले चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ । नयाँ भिडियोमा एक जिम्मेवार चिकित्सकको कथा देखाइएको छ, जसले पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक रूपमा आएको बिरामीलाई शल्यक्रिया गरेर आफ्नो पेशागत जिम्मेवारी पूरा गर्छ । उक्त दृश्यमार्फत कम्पनीले 'जिम्मेवारीको मामलामा नो कम्प्रमाइज' भन्ने सशक्त सन्देश दिएको छ । यसअघि, अभियानको पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीले आफ्नो कर्तव्यप्रतिको निष्ठा झल्काएको थियो । सो भिडियोले 'कर्तव्यको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देशसहित सामाजिक चेतना अभिवृद्धिमा जोड दिएको थियो। त्यसैगरी दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत 'सर्तकताको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो । उक्त भिडियोले विश्वासपात्रहरूबाट हुनसक्ने छलकपट र धोका विरुद्ध सतर्कता र विवेकको महत्वमा जोड दिएको थियो । तेस्रो भिडियोमा दुई साथीबीचको प्रसङ्गमार्फत 'समयको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो । यसमा समय व्यवस्थापन र अनुशासनको महत्वलाई जीवनका साना क्षणहरूसँग जोडेर देखाइएको थियो । ती सबै भिडियोहरू दर्शकबीच अत्यधिक चर्चित बनेका थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ' भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।
खराब मौसमले धमाधम डाइभर्ट हुँदै जहाज, उडान प्रभावित
काठमाडौं । बिहीबार खराब मौसमको कारण हवाई उडान प्रभावित भएको छ । बिहीबार बिहानैदेखिको अविरल वर्षासँगै खराब मौसम र कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको हो । दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् । आन्तरिकतर्फ सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ । नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ । सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको बुझिएको छ भने दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ ।
६ वर्षपछि ट्रम्प र सीबीच भेट : शक्ति सन्तुलन र आपसी निर्भरता पुनः परिभाषित गर्ने प्रयास
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथिको फेन्टानिलमा लगाइएका कर आधा घटाएर १० प्रतिशत पुर्याएका छन् र चीनसँग दुर्लभ खनिज (रेयर अर्थ्स) सम्बन्धी सम्झौता भएको घोषणा गरेका छन् । दक्षिण कोरियामा बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता सम्पन्न भएपछि ट्रम्पले चीनसँग दुर्लभ खनिज र महत्त्वपूर्ण खनिज (क्रिटिकल मिनरल्स) सम्बन्धी एक वर्षे सम्झौता भएको र फेन्टानिलमाथिको कर घटाएको बताएका हुन् । दक्षिण कोरिया छोड्ने क्रममा एयर फोर्स वन विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सीसँगको भेटलाई ‘अद्भूत’ बताउँदै ‘धेरै महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्’ भनी उल्लेख गरे। ‘दुर्लभ खनिजको विषय समाधान भइसकेको छ,’ उनले भने, ‘यो एक वर्षे सम्झौता हो, जसलाई हरेक वर्ष पुनः वार्ता गरेर अद्यावधिक गरिनेछ ।’ उनका अनुसार चीनबाट आउने निर्यात वस्तुमा लगाइएका कर पनि ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत पुर्याइनेछ । बदला स्वरूप चीनले ‘फेन्टानिल रोक्न निकै कडा प्रयास गर्ने’ र अमेरिकी सोयाबिन र अन्य कृषिजन्य वस्तुहरू पुनः किन्ने सहमति जनाएको छ । ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन्, जसपछि राष्ट्रपति सी पनि अमेरिकाको भ्रमण गर्ने योजना छ, यद्यपि समय भने तोकिएको छैन । छ वर्षपछि पहिलोपटक यी दुई नेताहरूको भेट भएको हो, जुन एक घण्टा ४० मिनेटसम्म चलेको थियो । भेटअघि दुबै नेताले मिलनसार शैली अपनाएका थिए — ट्रम्पले सीलाई ‘पुरानो साथी’ भन्दै’ सधैं राम्रो सम्बन्ध रहेको’ बताएका थिए भने सीले चीनको आर्थिक विकासले ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ दृष्टिकोणलाई कमजोर पार्ने होइन, सुदृढ पार्ने बताएका थिए । यस वर्ष विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ । यस महिनामा पनि तनाव बढ्दै गएको छ — चीनले निर्यात नियन्त्रण कडा बनाएको छ भने अमेरिकाले चीनतर्फ सफ्टवेयर–सञ्चालित वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । हालै अमेरिकाले चीनसँग गर्न चाहेका सम्झौताका विवरणहरू सार्वजनिक गरेको थियो — जसमा अमेरिकामा फेन्टानिलको प्रवाह नियन्त्रण, टिकटकलाई चीनको मूल कम्पनी बाइटडान्सबाट अलग गर्नुका साथै कर, प्रविधि प्रतिबन्ध र दुर्लभ खनिजसम्बन्धी विषयहरू पनि समावेश थिए । यद्यपि चीनले सम्भावित सम्झौता विषयमा सावधानीपूर्ण व्यवहार गरेको थियो, तर सम्बन्ध सुधारको संकेतस्वरूप चीनले केही महिनापछि पहिलोपटक अमेरिकाबाट सोयाबिन खरिद गरेको रोयटर्सले बुधबार जनाएको छ ।