विकासन्युज

सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ ।  यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।  

कतारमा अन्तर्राष्ट्रिय गहना प्रदर्शनी शुरु

काठमाडौं । अन्तर्राष्ट्रिय गहना प्रदर्शनी अस्जादको सातौं संस्करण कतारको राजधानी दोहामा शुरु भएको छ । ६ दिने प्रदर्शनीमा स्थानीय, खाडी, अरब र अन्तर्राष्ट्रिय गहना कम्पनीहरूका १ सय ३० ब्रान्डहरू समावेश छन् ।  जसले यसलाई यस क्षेत्रको आफ्नो प्रकारको सबैभन्दा ठूलो कार्यक्रमहरू मध्ये एक बनाउँछ । यस वर्षको संस्करणको विशेष आकर्षण मोतीहरूको लागि समर्पित मण्डप हो । जसले कतारको गहिरो जरा गाडेको सम्पदालाई प्रतिबिम्बित गर्ने उत्कृष्ट संग्रहहरू प्रदर्शन गर्दछ ।  

उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका-७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ’, उनले भने, ‘अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।’ सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।

एसवाई प्यानलले कात्तिक १९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । एसवाई प्यानल नेपालले कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए मंसिर ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालको ४७.३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ४७.३१ प्रतिशतका दरले ३ करोड ४० लाख ६४ हजार २१९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ३ गते काठमाडौंमा दिउँसो ३ बजे १३औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिको निर्वाचन गर्ने, गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन पारित र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण गर्न पिकेएफ टि आर उपाध्या एण्ड कम्पनीलाई नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । 

आज देशभर वर्षा हुने, हिमाली भू-भागमा भारी हिमपात

काठमाडौं । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज यहाँ जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै बाँकी तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात/वर्षाको पनि सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ ।  गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा कोशी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

जमुना वर्षा शर्मा काठमाडौं । पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ । पर्यटकीय मौसम अनुकूल भएसँगै साहसिक खेलका पारखीका लागि पोखरा एक प्रमुख गन्तव्य बनेको छ । माछापुच्छ्रे अन्नपूर्ण हिमशृङखलाको काखमा फेवातालसहित पोखराको सुन्दरतालाई नजिकबाट अवलोकन गर्न चाहने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ परेको छ । पोखराको प्राकृतिक सुन्दरतालाई आकाशबाट नियाल्दै प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिन पाउँदा पर्यटकहरू हर्षित भएका छन् भने सुस्ताएको व्यवसायमा देखिएको चहलपहलले व्यवसायीमा पनि ऊर्जा थपेको छ । फेवाताल, यहाँबाट देखिने हिमशृङ्खला र हरियाली डाँडाकाँडाको मनमोहक दृश्यले प्याराग्लाइडिङ अनुभवलाई अविस्मरणीय बनाएको नवलपुरबाट पोखरा घुम्न आएकी सबिना मगरले बताइन् ।  ‘चराजस्तै उड्ने र प्राकृतिक दृश्यलाई साक्षात्कार गर्ने लामो समयको चाहना पूरा भएको छ । उचाइदेखि डर लाग्ने भएकाले धेरै चोटी कोसिस गर्दा पनि उड्न सकेको थिइन अहिले भने डर हटाएर उडान सफल भए, धेरैले उडेको देखेपछि आफूलाई पनि आँट आयो,’ उनले भने ।  पोखराको हिमाल र तालको अनुपम दृश्यलाई कैद गर्दै आकाशमा उड्नुको मज्जा बेग्लै भएको उनको अनुभव छ । नेपालगञ्ज का सुजित जोशी पनि पोखरा आउँदा आकाशमा उड्न मन लागि हाल्ने बताउँछन् । साहसिक खेल पारखी जोशीले बञ्जी, स्विङको अनुभव लिइसकेको बताए ।  ‘म पोखरा आइराख्छु, अनुकूल मौसम भयो भने प्याराग्लाइडिङ गर्छु । पोखराको सुन्दरता आकाशबाट हेर्दाको आनन्द अवर्णनीय छ, यसले मलाई साहसिक अनुभव गराउँछ,’ उनले भने, ‘यहाँको दृश्य निकै सुन्दर छ । ताल, पहाड र हिमालको संयोजनले यो अनुभवलाई झनै विशेष बनाउँछ, पोखराको मौसम खुलेको दिन उड्न मन पर्छ ।’ पोखरा भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराईका अनुसार प्याराग्लाइडिङ पोखरामा आन्तरिक तथा बाह्य पर्यटक बढाउने माध्यम भएको बताउँछन् । उनले भने, ‘यो केवल एउटा साहसिक गतिविधि मात्र नभएर, पोखराको प्राकृतिक सौन्दर्यलाई आकाशबाट नियाल्ने अवसर पनि हो, यसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको साथै पोखराको पहिचानलाई विश्व सामु पुर्याएको छ ।’ पोखराको आकाशमा बेलाबेलामा हुँदै आएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले पनि पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको बताए । पोखराको दिगो पर्यटन विकास र प्रबर्द्धनका लागि प्याराग्लाइडिङको निरन्तर विकास र व्यवस्थापन खाँचो रहेको उनको भनाइ छ । पोखराको मौसम प्याराग्लाइडिङका लागि सधैँ उत्कृष्ट रहँदै आएको छ । विशेषगरी अहिलेको समयमा आकाश खुला र मौसम स्थिर हुँदा उडान गर्न निकै सहज भएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए । ​​​​​​​ ‘पर्यटकीय मौसम भए पनि आन्दोलन र प्रतिकूल मौसमले प्रभावित भइरहेको प्याराग्लाइडिङ तिहार, छठको लामो बिदा र पोखरामा आन्तरिक पर्यटकको आगमन बढेपछि यस क्षेत्रमा पनि सकारात्मक प्रभाव परेको छ,’ केसीले भने ।  प्याराग्लाइडिङ कम्पनीहरूले सुरक्षित उडानका लागि मापदण्डलाई कडाइका साथ पालना गर्दै अहिले दैनिक २५० उडान हुँदै आएको उनको भनाइ छ । त्यसो त कोभिड महामारी अगाडिको पर्यटकीय मौसममा दैनिक कम्तीमा ५०० भन्दा बढी उडान गर्न सफल यो व्यवसाय पछिल्लो समय कोभिड महामारी र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्ववत् उडान स्थल स्थानान्तरणका कारण यो व्यवसायले समस्या झेल्दै आएको थियो । अध्यक्ष केसीका अनुसार पोखरामा ५२ वटा प्याराग्लाइडिङ कम्पनी छन् । जसमा ४००  जना लाइसेन्स प्राप्त प्यारा पाइलट छन् । जसमध्ये २६० जना अहिले उडानमा सक्रिय छन् । ५ सय जनाले प्रत्यक्ष रोजगार र १५ सय जनाले अप्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । करिब ५५ करोड रुपैयाँ बढीको लगानी रहेको छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै स्थानान्तरणको मारमा प्याराग्लाइडिङ व्यवसाय परेको थियो । सराङकोट र तोरी पानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रे ढुङ्गा स्थानान्तरण गरिएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिर जस्तो बन्न पुगेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्थाको सहकार्यमा  पुरानै ठाउँमा अवतरण गर्ने निर्णयपश्चात् यस क्षेत्र अहिले विस्तारै चलायमान हुँदै गएको हो । अहिले सराङकोट र तोरी पानीको बाहाकोटबाट उडान (टेक अफ) गरेर खपौदी (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुन्छ । “यसअघि हामीलाई प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्या युक्त थियो । व्यवसाय धान्न पनि मुस्किल थियो । तोरि पानीमा सारेपछि उडान भर्नेहरू पनि विस्तारै बढ्न थालेका छन्”, नाका उपाध्यक्ष माधव तिवारीले भने ।  तिवारीका अनुसार अहिले बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुँदै आएको छ । पहिले रु १२ हजार शुल्क तोकिएकामा अहिले ८ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।       नेपालमा सन् १९९७ मा सन्राइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (आरएओसी) लिनुपर्ने प्रावधान छ । ​​​​​​​रासस

उदाउँदो सूर्यलाई अर्घ्य दिएर पछि छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्ति पूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।  सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए ।  यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ २०४६ सालपछि काठमाडौंलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६२ मा गुह्येश्वरी, गौरीघाट ठेगाना राखेर श्री छठ पूजा समिति विधिवत् जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपछि काठमाडौँमा छठको विशेष रौनक सुरु भएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छाडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रूपमा छठ हुन थालेको छ । छठका लागि सोमबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलहरूमा उदाउँदो सूर्यलाई अर्घ्य दिई यस वर्षको छठ सम्पन्न भएको छठ समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए । सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि बर्तालुमात्र राजधानीका छठघाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष सिंहले जानकारी दिए ।  सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरु मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।