अर्थमन्त्री खनालले गरे हायात होटल व्यवस्थापनसँग भेट, सेवा सुचारु गर्न आग्रह
काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी विषयमा जानकारी लिएका छन् । वार्ताको क्रममा अर्थमन्त्री खनालले सरकार होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा अबिलम्ब सुचारु गर्न आग्रह गरेका हुन् । उनले भने, 'तपाईंहरू आत्तिनु पर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।' अर्थमन्त्री खनालका अनुसार सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने तयारी गरेको छ ।
पौवादुङमाको तिवारीभञ्याङ-च्याङ्ग्रे सडक कालोपत्र, स्थानीय उत्साहित
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङ्देखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ्–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्र सम्पन्न भएको बताए । सङ्घीय समपुरक अन्तरगत गाउँपालिकाको बजेटमा सडक कालोपत्र गरिएको उनको भनाइ छ । 'यो सडक खण्डको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ,' उनले भने, 'यस आर्थिक वर्षमा थप कालोपत्रका लागि पनि बोलपत्र आह्वान भइसकेको छ ।' गाउँपालिकाका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिइएको बताए । यो सडक भोजपुरबासीलाई तराईका जिल्लासँग जोड्ने छोटोमार्ग भएकाले प्राथमिकताका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । 'यो हाम्रो गाउँपालिकाको गौरवको आयोजना हो' अध्यक्ष राईले भने, 'यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो । हाल तीन किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्र गर्ने हाम्रो लक्ष्य छ । गाउँपालिकाको सीमित बजेटमा पनि दुई वर्षअघिबाट निरन्तर कालोपत्रको काम गरिरहेका छौँ ।' सडक कालोपत्रपछि स्थानीयमा उत्साह बढेको वडा नं ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताइन् । सडक कालोपत्र बनेपछि आवतजावतमा सहजता भएको उनको भनाइ छ । 'तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्र होला भन्ने हामीलाई लागेको थिएन' उनले भनिन्, 'अहिले सडक कालोपत्र बन्दा खुसी लागेको छ । आवतजावत सहज बनेको छ । हामी निकै खुसी छौँ ।' गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्राविधिमा निर्माण भइरहेको छ । नालीसहितको आठ मिटर चौडाइ भएको यो सडकले स्थानीय यातायात र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । यो सडकले पौवादुङमाका छमध्ये पाँच वटा वडालाई समेटेको छ । रासस
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पु¥याएको बेला मृत्यु भएको हो । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका छन् । त्यस्तै अन्य घाइते हुनेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए। नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । जिप सडकदेखि ७०० मिटर तल खसेको थियो । ओभर लोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
काठमाडौं । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सो प्रसारण लाइन निर्माण गर्दैछ । यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिएको छ । सो प्रसारण लाइन चार दशमलव ३८ किलोमिटर रहेको छ । सो प्रसारण लाइनले चार दशमलव आठ मेगावाट बिजुली प्रवाह गर्छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा जोडनका लागि सो प्रसारण लाइन निर्माण हुन लागेको हो । यसैगरी सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोडनका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दैछ । सो प्रसारण लाइनमा दुई दशमलव नौ मेगावाट बिजुली प्रवाह हुनेछ । विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ । यस्तै, चालु आवको हालसम्म कूल आठ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ । ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया रहेको छ । बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारण लाइन, दुधकोशी पाँचौँ २२० केभी प्रसारण लाइन परियोजना, समुन्द्रटार लप्सेफेदी २३२ केभी प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ । यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना छन् । विभागले हालसम्म कूल १४४ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ । यसैगरी विभागमा हालसम्म कूल सर्वेक्षण अनुमतिपत्रका लागि कूल २१ वटा प्रसारण लाइनको आवेदन परेको छ । त्यसमध्ये चालु आवको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन् ।
पटका पड्काउँदा प्रदूषणले ढाकेको दिल्लीमा कृत्रिम वर्षा गरेर सफा गरिँदै
काठमाडौं । भारतले बिहीबार राजधानी नयाँ दिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा शहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उप्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् । नयाँ दिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा शहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् । दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भने, ‘आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो ।’ उनका अनुसार, यो उडानले विमानको क्षमताको मूल्याङ्कन, उपकरणहरूको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका लागि आवश्यक तयारीको प्रमाणीकरण गरेको हो । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भने, ‘यदि मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ ।’ उनले यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्त्वपूर्ण कदम’ भएको बताए । तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन । ३ करोडभन्दा बढी जनसङ्ख्या भएको नयाँ दिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक मानिन्छ । प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ । रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सरसमेत उत्पन्न गर्न सक्ने ए स् २.५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमा भन्दा ६० गुणासम्म बढी पाइन्छ । दीपावली पर्वको आतशबाजीपछि यस हप्ताको प्रदूषण स्तर झनै बढेको छ । एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ‘आइक्युएयर’ ले जनाएको छ । यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतशबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो । बिहीबार बिहान मात्र नयाँ दिल्लीका केही क्षेत्रमा ए: २.५ को स्तर १५४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको सिफारिस भन्दा १० गुणा बढी हो । सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ । कहिले खडेरी कम गर्न, कहिले वन आगलागी नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकसित गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन् । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । तर वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारितामा मतभेद छ । केही अनुसन्धानहरूले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्य क्षेत्रमा अप्रत्याशित असर पर्ने देखाएका छन् । त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन अझै बाँकी छ ।
अमेरिकी प्रतिबन्धपछि भारतमा तेलको मूल्यमा ५ प्रतिशत वृद्धि
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनरहरू रूसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर लागतमा प्रभाव पार्ने विश्लेषकहरूले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताको एक हिस्साका रूपमा रूसी तेल आयात घटाउने सहमति दिएको ट्रम्पले दाबी गरेका छन् । तर, नयाँ दिल्लीले यसबारे औपचारिक पुष्टि गरेको छैन । अगस्टमा ट्रम्पले भारतीय निर्यातमा ५० प्रतिशत कर वृद्धि गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भएको थियो । अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर युक्रेनमा युद्धको कोष जुटाउन सहयोग गरेको आरोप लगाएका छन् । ओएनवाइएक्स क्यापिटलका जोर्ज मोन्टेपेकले भने, ‘प्रधानमन्त्री मोदी अमेरिकी इच्छामा कति झुकिरहनुभएको छ भन्ने मुख्य प्रश्न हो । प्रारम्भिक प्रतिक्रियामा राज्य तेल कम्पनीहरू धेरै सतर्क देखिन्छन् ।’ अमेरिकी प्रतिबन्धपछि तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । रूसी तेल भारतको ऊर्जा प्रणालीमा संरचनात्मक रूपमा महत्त्वपूर्ण रहेको छ, जसले कुल आयातको लगभग ३४ प्रतिशत ओगटेको छ र रिफाइनरहरूलाई विशेष छुट प्रदान गर्दछ । केप्लरका अनुसार भारतले सेप्टेम्बरमा रूसबाट प्रतिदिन १६ लाख ब्यारेल भन्दा बढी तेल आयात गरेको थियो । सिङ्गापुरकी तेल बजार विश्लेषक वन्दना हरिले भने, ‘आवश्यक परेमा भारतीय रिफाइनरहरू सजिलै वैकल्पिक आपूर्तिकर्तामा सर्न सक्छन्, तर यसको अर्थ रिफाइनिङ मार्जिनमा दबाब र आयात बिल बढ्नु हो । कमजोर रुपीले यस बोझलाई अझ बढाउँछ ।’ संयुक्त राज्य अमेरिका भारतको शीर्ष व्यापारिक साझेदार हो, तर औपचारिक सम्झौता अझै बाँकी छ । भारतीय व्यापार मन्त्री पियुष गोयलले भने, ‘वासिङ्टनसँग वार्ता प्रगति अवस्थामा छ र निकट भविष्यमा निष्पक्ष र न्यायसङ्गत सम्झौता हुने आशा छ ।’ नोमुराका विश्लेषकहरूले भने रूसी तेलको पुनः क्यालिब्रेसनको निकट-अवधि लागत अमेरिकी शुल्क कटौतीको फाइदाभन्दा बढी हुन सक्ने बताएका छन् ।
समाजवादीका ९ पदाधिकारीले भने, ‘माओवादीसँग एकता आत्महत्या हो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ९ जना शीर्ष पदाधिकारीले नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रस्तावको विरोध गरेका छन् । अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग कुनै पनि मूल्यमा एकता गर्नुपर्ने तयारीमा रहेपछि पार्टीभित्रका वरिष्ठ नेताहरू खुलेर असन्तुष्ट बनेका हुन् । असोज ५ गते सम्पन्न केन्द्रीय पदाधिकारीहरूको जुम बैठकमा अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकता प्रक्रियाको तयारी भइरहेको जानकारी गराएका थिए । तर, उक्त बैठकमा अधिकांश वरिष्ठ नेताहरूले सो प्रस्तावको कडा विरोध गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । एक सहभागी पदाधिकारीका अनुसार माओवादीसँग एकता गर्न नहुने पक्षमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, उपाध्यक्ष भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव गरिमा शाह, सचिव सोमप्रसाद पाण्डे लगायत नौ जना पदाधिकारी रहेका छन्। बैठकमा महासचिव घनश्याम भुसालले माओवादीसँगको एकतालाई ‘एकता होइन, कम्युनिस्ट आन्दोलनकै आत्महत्या’ भन्दै कडा आपत्ति जनाएका थिए। उनले आफूले आत्महत्याको बाटो रोज्न नसक्ने भन्दै माओवादीसँग एकता सम्भव नभएको स्पष्ट गरेका थिए । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष नेपालको एकताप्रतिको जोडले पार्टीभित्र गहिरो विभाजन सिर्जना गरेको छ। एक पक्षले तत्काल माओवादीसँग एकता गर्नुपर्ने तर्क दिँदै अध्यक्षलाई साथ दिइरहेको छ भने अर्को पक्षले संगठनको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएको छ । यससँगै नेकपा (एकीकृत समाजवादी) भित्र औपचारिक रूपमा दुई धार प्रस्ट देखिन थालेका छन् । एक पक्षको नेतृत्व अध्यक्ष नेपालले गरेका छन् । अर्को पक्षको नेतृत्व महासचिव भुसालले गरेका छन् । नेपाल नेतृत्वको समूह एकता समर्थक समूह हो भने अर्को पक्ष माओवादीसँग मिलन अस्वीकार गर्ने घनश्याम भुसाल समूह हो । पार्टी स्रोतका अनुसार आगामी स्थायी कमिटी बैठकले यस विषयमा निर्णायक बहस गर्ने तयारी गरेको छ । माओवादीसँग एकता हुने वा नहुने भन्ने टुंगो यही बैठकबाट निकाल्ने अनुमान गरिएको छ। बैठक छठ पछि बस्ने तयारी भएको बताइएको छ । माओवादीसँग एकताअघि समाजवादीमा विद्रोह, १२० भन्दा बढी नेता एमाले फर्किने तयारी