अमेरिकी ट्यारिफले भारतीय निर्यातमा ठूलो धक्का, २८.५ प्रतिशत गिरावट
काठमाडौं । अमेरिकाले लगाएको ट्यारिफका कारण भारतको निर्यातमा ठूलो असर परेको छ । मेदेखि अक्टोबर २०२५ को बीच अमेरिकी बजारमा जाने भारतीय सामानको शिपमेन्ट २८.५ प्रतिशतले घटेको थिंक ट्यांक जीटीआरआईले जनाएको छ । ट्यारिफ शून्य भएका उत्पादनहरूमा पनि २५.८ प्रतिशतको गिरावट देखिएको छ। जीटीआरआईले सरकारले ‘निर्यात प्रोत्साहन मिसन’ छिटो सुरू गर्नुपर्ने र अमेरिकाले लगाएका अतिरिक्त ट्यारिफ हटाउन पहल गर्नुपर्ने सुझाव दिएको छ । अमेरिकी ट्यारिफ भारतका लागि दुई तरिकाले घातक सावित भएको छ । पहिलो चीन र जापानको तुलनामा भारतले धेरै उच्च ट्यारिफ तिर्नुपरेको छ । दोस्रो जसमा ट्यारिफ थिएन त्यस्ता उत्पादनको निर्यात पनि घटेको छ। एउटै अवधिमा भारतबाट अमेरिकातर्फ जाने निर्यात ८.८३ अर्ब डलरबाट घटेर ६.३१ अर्ब डलरमा झरेको छ । अमेरिकाले अप्रिल २०२५ मा १० प्रतिशत ट्यारिफ लगाएपछि अगस्टमा बढाएर २५ प्रतिशत गर्यो र महिनाको अन्त्यसम्म ५० प्रतिशत पुर्यायो । यसले भारतीय सामानलाई अमेरिकामा ‘सबैभन्दा बढी कर लाग्ने उत्पादन’ मध्ये एक बनाइदियो । जीटीआरआईका अनुसार चीनबाट आउने सामानमा ३० प्रतिशत र जापानबाट आउने सामानमा १५ प्रतिशत ट्यारिफमात्र लगाइएको छ । गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै जीटीआरआईले भारतीय सरकारले चाँडो कदम चाल्नुपर्ने बताएको छ । उसका अनुसार सुरुमा ‘एक्सपोर्ट प्रमोशन मिशन’ तुरुन्तै लागू गर्नुपर्छ । यो मिशन मार्चमा घोषणा भइसकेको र १२ नोभेम्बरमा क्याबिनेटबाट स्वीकृत भइसके पनि अहिलेसम्म कुनै योजना कार्यान्वयनमा आएको छैन । यति मात्र होइन, मार्केट एक्सेस इनिसिएटिभ र इन्टरेस्ट इक्वलाइजेशन स्किमजस्ता पुराना योजनाबाट पनि चालु आर्थिक वर्षमा कुनै भुक्तानी भएको छैन, जसले निर्यात क्षेत्र झनै कमजोर बनाएको छ । त्यस्तै, अमेरिकाले भारतमाथि लगाएको ‘रुस–सम्बन्धित’ २५ प्रतिशत अतिरिक्त ट्यारिफ हटाउन कुटनीतिक पहल गर्नुपर्ने सुझाव छ । यो ट्यारिफ हटेमा भारतीय सामानमाथि पर्ने प्रभावी करभार ५० प्रतिशतबाट घटेर २५ प्रतिशतमात्र रहनेछ, जसले विशेषगरी श्रमउद्योगलाई ठूलो राहत पुर्याउने जीटीआरआईको तर्क छ । जीटीआरआईको मूल्यांकन अनुसार एक्सपोर्ट प्रमोशन मिसनका लागि प्रस्तावित वार्षिक बजेट ४ हजार २०० करोड भारु लक्ष्य हासिल गर्न पर्याप्त छैन । यसका लागि सरकारले छिटो दिशानिर्देश जारी गर्न, रोकिएका रकमको नियमित भुक्तानी सुरु गर्न र निर्यातकर्तालाई स्पष्ट पात्रता नियम तथा समयसीमा उपलब्ध गराउन अत्यावश्यक छ । २०२५–२०२६ को बजेटमा समावेश गरिएको यो ईपीएमले एमएसएमई, पहिलोपटक निर्यातमा प्रवेश गर्न चाहने व्यवसाय, तथा श्रम–गहन उद्योगको प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य राखेको छ । यो कार्यक्रम २०२५–२०२६ देखि २०३०–३१ सम्मका लागि कुल २५ हजार ६० करोड भारुको प्रावधानसहित सञ्चालन हुने योजना छ । २०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?
लक्ष्मी लघुवित्तको १५औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता र रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार १५औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखा–उपशाखाहरूमा विविध कार्यक्रमसहित मनाएको छ । संस्था २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रूपमा स्थापना भएको हो । केन्द्रीय कार्यालयमा आयोजित मुख्य समारोहमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापन टोली, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बारा जिल्लाको देवताल–रौवाही चोकस्थित शाखा कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । त्यसैगरी, मुख्य शाखा कार्यालयमा १५० जना ग्राहक सदस्यहरूसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । १५औँ वार्षिकोत्सव अन्तर्गत सञ्चालन भएका सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न शाखा कार्यालयहरूले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजीवी, विद्यालयका विद्यार्थी तथा ग्राहक सदस्यलगायत करीब १८०० भन्दा बढी व्यक्तिहरूको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेका छन् ।
मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा
काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले निरन्तर आर्थिक सुरक्षा र सहयोग प्राप्त गर्नेछन्, जसले खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ खेलमा केन्द्रित रहन मद्दत गर्नेछ । गत वर्षभरि राष्ट्रिय टोलीका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय टूर्नामेन्टहरूमा दृढ आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्वपूर्ण आधार बनेको थियो । मेटलाइफको यो नवीकरण विशेष अर्थपूर्ण क्षणमा आएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आगामी आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले राष्ट्रको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाका लागि तयारीरत टोलीको मनोबल मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ । क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भने, 'मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ । खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।' मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मल काजी श्रेष्ठले भने, 'हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले राष्ट्रलाई प्रेरित गर्ने प्रत्येक प्रदर्शनमा हामी उनीहरूको सुरक्षा कवच बनेर साथ दिन पाउँदा गर्वान्वित छौँ । टोली आगामी ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको विश्वासिलो सुरक्षा साझेदार बनेर उभिएको छ । किनकि जब हाम्रा खेलाडीहरू निडर हुन्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।'
सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार
काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन लागेको हो । केबलकार सञ्चालक समिति सचिव झलक शर्माका अनुसार सोमबार बिहान ८ बजेदेखि यात्रुहरूका लागि नियमित सेवा उपलब्ध हुनेछ । भाडादरमा भने कुनै परिवर्तन गरिएको छैन । पहिलेकै ८ सय २५ रुपैयाँ भाडा कायम गरिएको उनले जानकारी दिए । यद्यपि, विद्यार्थीहरूका लागि भने २५ प्रतिशत छुटको व्यवस्था यथावत राखिएको छ । तत्कालका लागि अन्य कुनै नयाँ छुट वा विशेष अफरहरू नभएको उनको भनाइ छ। मंसिर १५ गते सोमबार एक दिनका लागि केबलकार टिकटमा २५ प्रतिशत छुट सुविधाको व्यवस्थासमेत गरिएको छ । आगामी दिनमा नयाँ योजनाहरू ल्याउन सकिने विषयमा छलफल गरिने सचिव शर्माले बताए । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । सचिव शर्माले विकासन्युजसँग भने, ‘प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको थियो । यसलाई समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको छ र सबै काम सकेर भोलिबाट केबलकार सञ्चालनमा आउँछ ।’ सेवा नियमित सञ्चालनमा आउनु अघि रोकिएको निर्माण कार्य सम्पन्न भइसकेको र अब सेवा सुचारु गर्न कुनै प्राविधिक समस्या नरहेको जानकारी गराइएको छ ।
५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ७ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६४९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४५ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै जोशी हाइड्रोको २१ करोड ८१ लाख, गी्रन भेन्चरको २१ करोड ३५ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको २१ करोड र नेपाल लाइफको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबारको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशतले बढेको छ । बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशतले घटेका छन् । त्यस्तै माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा ०.६९, अन्य १.०४ र व्यापार ०.५१ प्रतिशतले घटेका छन् ।
एमालेको एघारौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक
काठमाडौं । नेकपा एमालेले आफ्नो एघारौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार (आज) उक्त प्रतीक चिन्ह सार्वजनिक गरेका हुन् । नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुँदैछ । नवयुवा उमेर समूहको प्रदर्शनपछि महाधिवेशन गर्ने तयारी गरेको गरेको एमाले पहिलो दल हो । महाधिवेशनको घोषणा पहिलोपटक नेकपा माओवादी केन्द्रले गर्ने तय गरे पनि अहिले उक्त दल महाधिवेशनको तयारीमा देखिँदैन ।
भेटायो र हिमालयन एभरेस्टबीच सहकार्य, सेवा प्रदायकका लागि दुर्घटना बीमा सुरु
काठमाडौं । होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ । यस साझेदारीमार्फत भेटायोले एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवरका लागि दुर्घटना बीमा सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो पहलले ग्राहकलाई सेवाका लागि जाने प्रत्येक प्रदायकलाई अतिरिक्त सुरक्षा प्रदान गर्नुका साथै भेटायोको कार्यबलप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । भेटायोका सह–संस्थापक रोचन मान महर्जनले भने, 'हामीले सेवा विस्तारका यात्रामा हाम्रो आधारस्तम्भका रूपमा सेवा प्रदायकलाई राखेका छौँ । दुर्घटना बीमा उपलब्ध गराएर उनीहरू सुरक्षित महसुस गरून् र आफ्नो पेशागत यात्रामा अझ उत्साहित रहून् भन्ने हाम्रो चाहना हो ।' यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्रै बढाउने छैन, सेवा क्षेत्रमै नयाँ मापदण्ड पनि स्थापित गर्ने भेटायोको अपेक्षा छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ। भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको उद्देश्य नेपालमा जिम्मेवार, विश्वासिलो र प्रयोगकर्ता–केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको जनाएको छ। भेटायो एपमार्फत हाल ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ लगायतका सेवा विश्वसनीय, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्छन् ।
प्रीमियर स्कुल र इम्बार्क अनम्याथको एनपिएल थीम भएको गणित अक्शन आयोजना
काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा कात्तिक ६ गते (नोभेम्बर २१) एक नवीन सिकाइ–केन्द्रित गणित सत्र आयोजना गर्यो । कार्यक्रममा विद्यार्थीहरूले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्शन’मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाए । उक्त गतिविधिले विद्यार्थीहरूलाई गणितका अवधारणाहरू वास्तविक परिस्थितिमा कसरी प्रयोग हुन्छ भन्ने अनुभव गरायो । सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्य सहभागी थिए । आचार्यले अनलाइनमार्फत खेलाडी छान्ने रणनीतिबारे आफ्नो पेशागत अनुभव सुनाए । विद्यार्थीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता र रणनीतिगत योजना प्रयोग गरी निर्धारित रकमभित्र सन्तुलित टिम निर्माण गर्ने अभ्यास गरे । इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठीजाले भने, 'हरेक फ्रेन्चाइज टिमका लागि खेलाडीको सही संख्या र सीपको राम्रो संयोजन मिलाउन गणित नै मुख्य आधार हो । गणित र रणनीतिक योजना बिना प्रभावकारी निर्णय लिन सकिँदैन । यही कुरा यो सत्रको मुख्य सन्देश हो ।' विद्यार्थीहरूले लाइभ अक्शनको दबाब र रोमाञ्चको बीचमा गणितका अवधारणाहरूमा सक्रिय रूपमा भाग लिए । एक विद्यार्थीले भने, 'हिसाबकिताब गरेर जोखिम कसरी लिनुपर्छ, कहाँ बुद्धिमानीपूर्वक लगानी गर्नुपर्छ र समूह तथा खेलाडीलाई प्रभावकारी रूपमा कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सिक्यौँ । यो साँच्चिकै स्मरणीय अनुभव भयो ।' प्रीमियर इन्टरनेशनल स्कुलले अनुभव र खोजीमूलक सिकाइलाई जोड दिंदै वास्तविक जीवनमा लागू हुने ज्ञान, आलोचनात्मक सोच र विषयगत सम्बन्धमा ध्यान केन्द्रित गर्छ । यसले विद्यार्थीहरूलाई गणितमा मात्र दक्ष नभई दैनिक जीवनका जटिल समस्याहरू समाधान गर्न आवश्यक आत्मविश्वास र सीप पनि विकास गराउँछ । साझेदारी, व्यावहारिक परियोजना र विश्वव्यापी सिकाइका अवसरहरू मार्फत प्रीमियरले विद्यार्थीहरूलाई विश्लेषणात्मक, सहकार्य गर्न सक्ने र भविष्यका चुनौतीका लागि निरन्तर तयार पारिरहेको छ । २०१२ मा स्थापना भएको अनम्याथले विद्यालयमा गणित सिकाइको अनुभवलाई नयाँ ढंगले परिभाषित गर्दै आएको छ ।