स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९५०
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो । बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा आएको छ । गत बिहीबार अन्तिम दिन बैंकको २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
नेप्से ६०० अंक घटेपनि हामीले घाटा खानु परेन, नाफा नै गर्याै –अम्बिकाप्रसाद पौडेल
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारमा ट्रेडिङ र इन्भेष्टमेन्ट दुबैमा ठूलो लगानी गर्नुभएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पौडेल अरुण फाइनान्सको अध्यक्ष, चन्द्रगिरी हिल्स लिमिटेड र हिमालय पावर पार्टनर लिमिटेडको सञ्चालक हुनुहुन्छ । पछिल्लो समय उहाँलाई उत्पादन मुलक उद्योगमा रुची बढेको छ । त्यसैले उहाँले पोखरामा न्यू लिङ्क कपि उद्योग सञ्चालन गरिरहनुभएको छ । तर उहाँको विजनेश प्यासन भनेकै पुँजी बजार हो । पछिल्लो समय पुँजी बजारमा निरन्तर गिरावट आएको छ । यसको कारण के हुन् ? सेयरको मूल्य घट्दा लगानीकर्ताले कसरी लगानी सुरक्षित गर्ने र नाफाको प्रयास गर्ने ? प्रस्तुत छ विकासन्युजको नियमित स्तम्भ विकास वहसका लागि प्रधान सम्पादक रामकृष्ण पौडेले उहाँसँग गरेको कुराकानी । अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक-हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड धेरै कम्पनीहरुको नेतृत्वमा हुनुहुन्छ, बढी समय केमा बित्छ ? अरुण फाइनान्सको अध्यक्ष, चन्द्रगिरी हिल्स र हिमालय पावर पार्टनर लिमिटेडको सञ्चालक मात्र भएकोले ती कम्पनीको दैनिक सञ्चालनमा मैले समय दिनु पर्दैन । दैनिक रुपमा म संलग्न हुने हाथवे इन्भेष्टमेन्टमा नै हो । जब मैले २०६६ चैत्र सरकारी जागिर छोडेर पुँजी बजारमा प्रवेश गरेँ तब म निरन्तर पुँजी बजारमा क्रियाशित छु । मेरो रुची पनि पुँजी बजारमा नै छ र सक्रियता पनि यसैमा छ । सेयरको कारोबार हुने दिन विहान ११ बजेदेखि ३ बजेसम्म मलाई कसैले पनि डिस्टर्ब नगरिदिए हुन्थ्यो भन्ने लाग्छ । तपाई सेयर बजारमा झुम्मिन थालेदेखि अहिलेसम्म भएको आरोह–अवरोह र तपाईको अनुभव कस्तो रह्यो ? संधै जागिर गरेर हुँदैन, व्यवसायमा लाग्नु पर्छ भनेर मैले सिकेको पुँजी बजारबाट नै हो । यस बजारमा मैले गुमाएको पनि छु, कमाएको पनि छु । यस बजारमा धेरै कुरा सिक्दैछु र पुरै इन्जोई पनि गरिरहेको छु । विगत नौ वर्षमा मैले भोगेको आरोह अवरोह साँच्चिकै वर्णनयोग्य पनि छ र कसैले नजिकबाट हेर्छ भने सिक्ने योग्य पनि छ । मैले जे गल्ती गरेँ, अरुले त्यो गल्ती गर्नु पर्दैन, मलाई नजिकबाट हेर्ने हो भने । गल्तीले मान्छेलाई परिपक्क बनाउँछ । पहिला म धेरै कुरा जान्दछु भन्ने लाग्दथ्यो । अहिले म धेरै कुरा जान्दिन भन्ने लाग्छ । लगानीकर्ताको मनोविज्ञान नै परिवर्तन भैराखेको हुन्छ । प्रविधिको प्रयोगमा धेरै परिवर्तन आइरहेको हुन्छ । पुँजीबजारको डाइमेन्सनहरुमा व्यापक परिवर्तन आईराखेको हुन्छ । आई रियल्ली लभ टु लर्न । मलाई लाग्दैन म भइङकर जान्ने लगानीकर्ता हुँ । म त सिकारु हुँ । व्यवसाय गर्छु भनेर यसभित्र छिर्न जति सजिलो छ, यसभित्र छिरेर सफल हुन धेरै कठिन छ । उत्पादन भएको तयारी वस्तु देख्दा धेरैलाई राम्रो लाग्छ । तर त्यो वस्तु उत्पादन गर्ने क्रममा कति कच्चा पदार्थको अस्तित्व मेटिए, हराए, विलाए भन्ने कुरा हामी ख्याल गर्दैनौं । प्रोसेसिङको पाटो धेरै लामो हुन्छ र त्यसभित्रको बाटो निकै पीडादाही हुन्छ । त्यो पीडा भोगेको व्यक्ति हुँ म । हुँदा खाँदाको जागिर छोडेर पुँजी बजारमा छिरेँ । के के न होला भन्ने सोचेको थिए । त्यसपछि पुँजी बजारमा गिरावट हुनु, घरजग्गा कारोबारमा गिरावट हुनु, आफूले नेतृत्व गरेको कम्पनीको नेटवर्थ दिनदिनै नेगेटिभ हुनु, आफूसँग पुँजी बजार र रियलस्टेट बजारमा प्रवेश गरेका साथीहरु टाट पल्टनु र पलायन हुनु मेरा लागि कम पीडादायक थिएन । धेरै कच्चा पदार्थ गुमेर, थोरै तयारी बस्तु उत्पादन भए झै गहिरो पीडाबाट खारिएर म अहिलेकौ स्थितिमा आएको हुँ । प्रोसेसिङको क्रममा मैले धेरै गुमाएको छु । तपाईले त्यस संकटबाट सिकेको कुरा के के हुन् ? म जान्ने छु भन्नु, एकल निर्णय गर्नु, बाटोमा उज्यालो देख्नु तर हिड्दै जाँदा अध्यारो पनि आउन सक्ने भनेर अनुमान पनि गर्न नसक्नु मेरो ठूलो भूल थियो । त्यसैले मैले अहिले एकल निर्णय गर्दिन । उज्यालोमा एक्दै हिड्न सकिन्छ, अध्यारोमा साथीको सहयोग चाहिन्छ । एउटाले मेसो पाएन भने अर्कोले नयाँ आईडिया ल्याउँछ । तर तपाई एक्लै हुनुहुन्छ भने तपाई संकटमा पर्न सक्नुहुन्छ । तपाईले पुँजीबजारमा कति गुमाउनु भयो ? म निजामति सेवामा छँदै पुँजी बजारमा लगानी गर्न थालेको थिएँ, करिव २५ वर्ष भयो मैले सेयरमा लगानी गर्न थालेको । जागिर छोडेर पुँजीबजारलाई व्यवसाय बनाउँदा नेप्से ९०० थियो । पछि नेप्से ११७५ पुगेर २९२मा झर्यो । नेप्से २९२ आउँदा हाथवेले करिव ७५ प्रतिशत लगानी गुमायो । ३० करोड चुक्ता पुँजी भएको हाथवे कम्पनीको नेटवर्थ पुरै नेगेभि भयो । सानिमा बैंकको सेयर २१०० बाट झरेर १९१ रुपैयाँ भयो । एनबी बैंकको सेयर मूल्य १६०० बाट १०० मा झरेको थियो । कम्पनीको प्रमोटर धेरै साथी हुनुहुन्थ्यो । तर निर्णय मैले एक्लै गर्दै गए, गल्ती त्यही भयो । मैले जिन्दगीमा सबैभन्दा धेरै हिनताबोध गरेको क्षण थियो त्यो । किनकी मैले मेरो पैसा मात्र गुमाएको, होइन, धेरै साथीहरुको पैसा गुमाएँ । जागिर पनि गुम्यो, पैसा पनि गुम्यो, म प्रति साथीहरुको विश्वासमा पनि चोट पुग्यो । जेलाई व्यवसाय बनाउन चाहेको थिए, त्यो पनि चौपट भयो । अहिलेकाे अवस्था कस्ताे छ ? पर्फेक्ट कोही छैन । गल्ती भयो, मैले स्वीकार गरेँ । तर त्यो जटिल परिस्थितिलाई हामीले ट्याक्टफूली ढंगले व्यवस्थापन गर्यौ । अहिले स्थिति सहज भएको छ । कम्पनीको पुँजी ८२ करोड रुपैयाँ छ । बजार पुँजीकरण १५० करोड भन्दा माथि छ । कम्पनीले वार्षिक कम्तिमा १६ देखि ५५ प्रतिशत खुद नाफा गर्न सफल भएको छ । यस कम्पनीले लगानीकर्तालाई औसतमा वार्षिक ३० प्रतिशत लाभांश दिन सफल भएको छ । के तपाई सैद्धान्तिक ज्ञानविना नै पुँजी बजारमा होमिनु भएको थियो ? होइन, सैद्धान्तिक ज्ञान थियो । वारेन बफेट लगायत विश्व पुँजी बजारको चर्चित लगानीकर्ताहरुका बारेमा पनि पढेको थिएँ । तर व्यवहारिक जीवनमा सिद्धान्तलाई विर्सिदो रहेछ । जब मान्छे आफैले एक तहको सफलता हासिल गर्छ, तब ऊ आफै सिद्धान्त बनाउन थाल्छ । आफ्नै दिमागको आधारमा मात्र चल्छ । मैले पनि त्यहि गल्ती गरे । जब मानिस ठक्कर खान्छ तब फेरी सिद्धान्तको सहारा लिन थाल्छ । खासमा सत्य भनेको सिद्धान्त नै हो । सिद्धान्त विर्सनेहरु ठूलो जोखिममा हुन्छन् । दैनिक रुपमा सेयर किनबेच सम्बन्धी निर्णय गर्दा सैद्धान्तिक आधारलाई ध्यान दिन सकिन्छ ? सकिदैन । दैनिक रुपमा हेर्ने भनेको कम्पनीको सूचनाहरु हो । प्राविधिक विश्लेषणलाई हेर्ने हो । आाधारभूत विश्लेषणलाई हेर्ने हो । सेयरबजारलाई प्रभावित पर्ने समाचारहरु हर्ने हो । कम्पनीको आन्तरिक अवस्था कस्तो छ भनेर बुझ्ने हो । तर लगानी नीति बनाउँदा सिद्धान्त र ऐतिहासिक अनुभवलाई आधार मान्ने हो । अल्पकालिन नीति बनाउँदा आफ्नै परिवेशलाई व्याख्या गरेर तयार गछौं । अचेल म एक्लै निर्णय लिन्न । मेरो टिममा म्यानेजमेन्ट, सीए अध्ययन गरेको साथीहरु हुनुहुन्छ । टिममा मैले भन्छु,–‘यो सेयर बेच्यौ, यसका कारण यो यो हुन् । यो सेयर बेचौं भन्छु, यसको आधार यी यी हुन् ।’ त्यसमा साथीहरुले आफ्नो विचार पनि राख्नुहुन्छ र हामी सामूहिक निर्णय लिन्छौं । यति धेरै मिहेनत पूर्वक लगानी गर्दा पछिल्ला दिनमा हाथवे इन्भेष्टमेन्ट कम्पनीले कमाईरहेको छ कि गुमाई रहेको छ ? समग्र रुपमा कमाएका छौं । दीर्घकालिन सोचका साथ लगानी गरिएका कम्पनीहरुको सेयर मूल्य किनेको भन्दा कम भयो भने पनि हामी डराउनुपर्दैन, त्यसमा घाटाको जोखिम ज्यादै कम हुन्छ । त्यसबाट फाइदा नै हुन्छ । अल्पकालिन रुपमा मूल्यमा हुने घटबढका आधारमा गरिने किनबेचमा पनि हामीले फाइदा नै लिएका छौं । गत वर्ष नेप्से १८८१ बाट करिव १२०० मा झर्यो । गएको एक महिनामा पनि सेयर मूल्य निरन्तर घटेको छ ? यो अवधिमा नाफा भयो कि घाटा ? गत आर्थिक वर्षमा नेप्से करिव ६०० अंकले घट्यो । बजारमा यति धेरै गिरावट आउँदा पनि हामीले अफिसको सबै खर्च कटाएर, कर तिरेर लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गर्न पुग्ने गरि नाफा गरेका थियौं । भलै कम्पनीले गत वर्षको नाफा सेयरधनीलाई वितरण नगर्ने निर्णय गर्यो । मूल्य घटिरहदा पनि हामी पछिल्लो साताहरुमा पनि नाफा नै गरेको छौं, घाटा छैन । बजार घट्दो अवस्थामा कसरी हुन्छ नाफा ? बजार घटिरहेको बेलामा हामी सर्ट सेल नीतिमा छौं । त्यो भनेको दुई हप्ताभन्दा बढी कुनै पनि सेयर होल्ड गर्दैनौ । मूल्य बढ्दै छ भन्ने कम्पनीको सेयर किन्छौ, केही बढ्छ बेच्छौं । बजारमा ८/१० प्रतिशत मूल्य घटबढ हुने कम्पनीहरु देखिरहन्छन् । त्यस्ता कम्पनीमा हामी खेल्छौं । सर्टटर्म रुपमा खेल्दा नेप्से जति घटेको छ त्यो भन्दा २० प्रतिशत कम घाटा खाने र नेप्से बढ्दा जती बढेको हो त्योभन्दा ३० प्रतिशत बढी नाफा खाने हाम्रो नीति हो । औसतमा हामीले २५ प्रतिशत नाफामा जान्छौं । मार्केटका प्लेयरहरु मध्ये दी बेष्ट बन्ने हाम्रो प्रयास हुन्छ, सफल पनि भईरहेका छौं । दीर्घकालिन लगानी गर्ने निर्णय गरिएका कम्पनीको निश्चित मूल्यलाई हामी आधार मूल्य बनाएको हुन्छौ । त्यो आधार मूल्य भन्दा कम भएपछि किन्न थाल्छौं, आधार मूल्यभन्दा बढी भएपछि किन्न बन्द गछौं । फेरी आधार मूल्यभन्दा कम भएपछि किन्छौं, बढी भएपछि किन्न बन्द गर्छौ । यसरी हामीले चाहेजति किनेपछि आनन्दले बस्छौं । हामीले चाहेको मूल्य पाएपछि बेच्छौं । हामी ५० हजार कित्ता सेयरमा लगानी गर्दै छौं भने १० हजार कित्ता सर्टटर्ममा खेल्छौं, ४० हजार कित्ता दीर्घकालिन लगानीको रुपमा किनेर राख्छौं । सेयरमा ट्रेड गर्दा फाइदा कि इन्भेष्टमेन्ट गर्दा ? अधिकांश इन्भेष्टर कमाउँछन् जसले दीर्घकालिन लगानीको रुपमा सेयर किनेर राख्छन् । छोटो अवधिमा नाफा गर्छु र बेच्छु भन्ने ट्रेडरहरुमध्ये अधिकांशले गुमाउँछन् । सेयरबजार अनुत्पादक क्षेत्र हो भनेर नीति निर्माता अनुदार देखिन्छन्, तपाईलाई कस्तो महसुश हुन्छ ? विगतमा नीति निर्माताहरुले पुँजीबजारलाई एक प्रकारको ‘ग्याम्लिङ’ (जुवाको खाल) ठान्दथे । तर अहिले त्यस्तो सोच छैन । जब नेपाल टेलिकमको सेयर निवेश गरियो, कृषि विकास बैंकको सेयर निवेश गरियो, चिलिमे, तामाकोशी हुुँदै विभिन्न जलविद्युत योजनाको सेयर निष्काशन भयो तब सरकारी अधिकारीहरु पुँजीबजारप्रति सकारात्मक धारणा बनाउन थाले । किनकी उनीहरु पनि सेयरधनी बनिसके । सेयरमा लगानीगर्दा हुने लाभ उनीहरुले पनि चाखिसके । त्यसैले उनीहरु पुँजीबजारप्रति सकारात्मक भएका छन् । लगानीकर्तालाई केही टिप्स दिनुहोस् न ? पुँजी बजार सजिलो र रमाइलो छ । सानो लगानीले पनि हुने, ठूलो लगानी पनि गर्न सकिने । ठूलो अफिस खोलेर एक दर्जन विज्ञ राखेर व्यवसाय गर्न पनि सकिने । अफिस नै नराखी झोलालाई नै अफिस बनाएर व्यवासय गर्न सकिने । अवकाश पाएको व्यक्ति झुल्ने ठाउँ पनि यहि हो । गृहणिले छोराछोरी स्कूल पुर्याएर फुर्सदको समय काम गर्न सक्ने ठाउँ पनि पुँजीबजार नै हो । तर हल्लै हल्ला सुनेर होइन, कम्पनीको वास्तविकता बुझेर लगानी गरौं । छरेपछि फल्छ भनेर भ्रम नपालौ । संसारमा सबैभन्दा धेरै मासिनले गुमाउने ठाउँ पनि पुँजी बजार हो । एउटा व्यक्तिगत प्रश्न, तपाईलाई कति पैसा कमाउने इच्छा छ ? हाम्रो मिहेनतले माना भर्ने हो, पाथी भर्ने हो । भकारी भर्ने भगवानले हो । मानापाथी भर्न जो कोहीले पनि मिहेनत गर्नैपर्छ । मानापाथी भरेपछि हामी खुशी हुनुपर्छ । भकारी भर्ने भोक मसँग छैन ।
ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै
पथरी, मोरङ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ । मोरङको उर्लाबारी– ४ सिसौलीमा दुई बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट सञ्चालन गरिएको छ । पथरीका तीन जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको रिसोर्टमा हालसम्म १करोड ५० लाख रूपैयाँ लगानी भइसकेको छ । पूर्वाञ्चलकै ठूलो र भव्य एवं सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको रोयल हेरिटेजले निर्माणको आधा काम सकेको छ । रिसोर्टका सञ्चालक कमलहाङवाङले भने, “चिल्ड्रेन पार्क, स्वीमिङ पुल, पार्किङ र कम्पाउण्ड वाल निर्माण भइरहेको छ ।” निर्माण सम्पन्न भइसक्दा रु पाँच करोड बढी लगानी हुने हाङवाङको भनाइ छ । रिसोर्ट पूर्व–पश्चिम राजमार्गबाट एक किमी दक्षिण सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्पसँगै रहेको छ । ग्रामीण क्षेत्रको शान्त वातावरणमा स्थापना भएकाले जोकोही आएर बस्नसक्ने हाङवाङ बताउछन । हाल १२ जनाले रोजगार पाइरहेको रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आइसक्दा २५ जनालाई राम्रो रोजगार पाउने सञ्चालकको भनाइ छ । दुई बिगाहा क्षेत्रफलभित्र अत्यन्तै आकर्षक घर, बगैँचा, सभाहल र २५ वटा भिआइपी आवास कोठा रहेका छन् । हाल दैनिक तीनदेखि पाँच वटा टिम होटलको अवलोकनका लागि आउने गरेको सञ्चालक कमल हाङवाङको भनाइ छ । रासस
सप्तकोसी विकास बैंकको साधारणसभा माघ १३ मा, बोनस सेयर वितरण गर्ने
काठमाडौं । सप्तकोसी विकास बैंकको पाँचौ वार्षिक साधारणसभा माघ १३ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत आवमा गरेको नाफाबाट सप्तकोसीले २ करोड ३२ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । संस्थापकतर्फ ४ जना सञ्चालककको निर्वाचन हुने भएको छ ।
जलविद्युत कम्पनीको आईपीओ आउदै, संचय कोषले संचयकर्तालाई डीम्याट खाता खोल्न भन्यो
काठमाडौं । कर्मचारी संचय कोषले साधारण सेयर (आईपीओ) भर्न संचयकर्तालाई हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न भनेको छ । कोषले ऋण लगानी गरेका जलविद्युत आयोजना सम्बद्ध कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्न लागेपछि संचयकर्तालाई डीम्याट खाता खोल्न भनेको हो । कोषले ऋण लगानी गरेको १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन जलविद्युत आयोजना र ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाले आइपीओ निष्कासनको तयारी गरेका छन् । यी मध्ये रसुवागढी र सान्जेनको आईपीओ तत्काल आउन लागेको छ । कोषले ऋण लगानी गरेको आयोजनामा संचयकर्तालाई पनि निश्चित प्रतिशत सेयरको व्यवस्था भएकाले डीम्याट खाता खोल्न भनेको हो । पछिल्लो समयमा कोषले जलविद्युतमा लगानी बढाएो छ ।
गोर्खाज फाइनान्सको साधारणसभा पुस २५ मा, लगानीकर्ताको रित्तो हात
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । साधारणसभाको छलफलको विषयमा लगानीकर्तालाई लाभांशको दिने प्रस्ताव उल्लेख गरिएको छैन् । गत वर्ष गरेको नाफाबाट १ प्रतिशत नाफा संस्थाको सामाजिक उतरदाइत्व वहन गर्ने खर्च गर्ने प्रस्ताव बाहेक लाभांशको उल्लेख नभएकाले लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।
प्रिमियर इन्स्योरेन्सको एफपीओ आजदेखि निष्कासन, प्रतिकित्ता ७९९
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको थप निष्कासन (एफपीओ) आइतबारदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता ७९९ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । प्रिमियम मूल्य ६९९ र अंकित मूल्य १ सय रुपैयाँ थप गरी एफपीओ निष्कासन गर्न लागेको हो । न्युनतम् १० देखि २ हजार २९० कित्तासम्म एफपीओ भर्न सकिने छ । कम्पनीले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सेयर मूल्य १ हजा ५३५ रुपैयाँ छ । एफपीओबाट कम्पनीमा ५२ करोड ६९ लाख ९२ हजार रुपैयाँ थप हुने छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । दरखास्त दिन पाउने न्युनतम सेयर संख्या १० र बढीमा ३ हजार २९० कित्ता रहेको छ । एफपीओ निष्कासन छिटोमा पुस १९ र ढिलोमा माघ १५ गतेसम्म तोकिएको छ । कम्पनीको सेयर देशभर ३८ स्थानबाट भर्न पाइने व्यवस्था गरिएको छ ।
आइपीओ निष्काशनको तयारी गर्दै माउन्टेन इनर्जी, रोवष्ट इनर्जी र आधिशाक्ति विद्युतलाई प्राप्ति गर्ने
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले दुई जलविद्युत कम्पनीलाई प्राप्ति (एक्जिसन) गर्ने भएको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गर्न लागेको हो । प्राप्तीका लागि माउन्टेन, रोवष्ट र आधिशक्तिले आउदो शुक्रबार साधारणसभा बोलाएका छन् । प्राप्तिका लागि दुबै कम्पनीको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीडीए) सम्पन्न भई सेयर आदनप्रदान स्वामत्वि (स्वाप) रेसियो तय भएको छ । कम्पनीले स्वाप रेसियो भने खुलाएको छैन् । रोवष्टले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युुत आयोजना निर्माण गरिरहेको छ । आधिशत्ति विद्युत विकासले नुवाकोटमा ५ मेगावाट क्षमताको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ । दुबै कम्पनीलाई प्राप्ति गरेपछि माउन्टेनले सर्वसारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सभाबाट दुबै कम्पनी प्राप्ति गर्ने प्रस्ताव पारित भएपछि औपचारिक रुपमा आईपीओ निष्कासनमा जाने निर्देशक सुब्रत धितालले बताए ।एउटै समूहका कम्पनी भएकाले प्राप्ति गर्न लागेको उनले जानकारी दिए । साधारणसभा सकिएपछि आईपीओ निष्कासनका लागि प्रक्रिया थाल्ने उनले जानकारी दिए । मिस्त्री आयोजनाको काम ६० प्रतिशत सकिएको धितालले बताए । उनकाअनुसार आउदो जेठसम्म सुरुङ खन्ने काम सकिने छ । प्रसारणलाइनको काममा ढिलाइ भएकाले आयोजना निर्माण पनि सुस्त गतिमा भएको हो । कालिगण्डकी करिडोरमा प्रसारणलाइनको काममा भएको ढिलाइले आयोजना पनि पछि धकेलिएको छ । आउदो सन् २०१९ को मार्चमा आयोजनाको काम सक्ने लक्ष्य लिएको छ ।