बैंक अफ काठमाडौंको संस्थापक सेयर बिक्री आवेदन खोलिदै, कहाँ कति बजे हेर्नुहोस
A gavel comes down on the word Auction to symbolize the final bid being called काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर लिलामीको दरखास्त (आज) बुधबार खोलिने भएको छ । बैंकले बुधबार साढे १० बजे परेको प्रस्ताव शाखा कार्यलय नक्सालमा खोल्ने जानकारी दिएको छ । बैंकमा रहेको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो । सो दिनसम्म परेका आवेदनलाई खोलिन लागिएको हो । बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दर राखेर सेयर लिलामी गर्न लागेका हो ।
बैठक बस्न नसकेपछि प्राधिकरणको एनभीभीएनलाई पुनः ३ महिना विद्युत आयातको म्याद थप्न पत्राचार
काठमाडौं । निर्धारित समयमा बैठक बस्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले बिजुली आयातको म्याद ३ महिना पुनः थप गर्न भारतको भारतको नोडल एजेन्सी एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडलाई पत्र पठाएको छ । मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिगले विशेष परिस्थितिका कारण बैठक बस्न नसकेको भन्दै एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ महिना अर्थात आउदो मार्चसम्म विद्युत आपूर्ति पहिलाको दरमा नविकरण गर्न पत्रचार गरेका हुन् । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारु रहेको छ । यो प्रसारणलाइनबाट बिजुली आयातको म्याद पुस १५ गतेसम्म थियो । एनभीभीएनलाई थप ३ महिना म्याद थप गर्न पत्राचार गरेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए । पुरानो दरमा बिजुली आपूर्ति गर्न प्राधिकरणले एनभीभीएनलाई आग्रह गरेको उनले बताए । यसअघि दुई देशका ऊर्जा मन्त्रालयका सचिव स्तरिय संयुक्त स्थायी समिति बैठक गरेर थप बिजुली आयातको सम्झौता गर्ने कार्यसुचि भएपनि ऊर्जा मन्त्रालयले नयाँ सरकार गठन भइनसकेकको कारण देखाउदै मौखिक रुपमा भारतको ऊर्जा मन्त्रालयलाई आग्रह गरेपछि दुई देशबीचको सचिवस्तरिय बैठक रोकिएको हो । बैठक बुधबार सहसचिवस्तरिय संयुक्त कार्यसमूह र बिहीबार सचिवस्तरिय स्थाइ समिति बैठक बस्ने मिति तय भएको थियो । गत अक्टुबरमा म्याद थप भएपनि पुनः डिसेम्बरसम्मका लागि ३ महिना म्याद थप गरेको थियो । एनभीभीएनले बिजुलीको भाउ बढाउन प्रस्ताव गरिसकेको छ । विद्युत प्राधिकरणले भाउ बढाउन मानेको छैन । संयुक्त स्थायी समिति बैठकले न्यु बुटबलदेखि न्यु गोरखपुरसम्म ४ सय केभी क्षमताको प्रसारणलाइन निर्माणको वित्तीय प्रारुप तयार गरी सम्झौता गर्ने कार्यसुचि थियो । बैठक नभएपछि यो पनि रोकिएको छ ।
डिजेल र पेट्रोलको मूल्य १/१ रुपैंयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य पुनः बढाएको छ । निगमल सञ्चालक समितिको बैठकले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर एक एक रुपैंयाँले बढाएको हो । निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार मंगलबार राती १२ बजेबाट नयाँ मूल्य लागु हुनेछ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाईएको छैन् । अब पेट्रोलको मूल्य १०१ रुपैंयाँ पुगेको छ भने डिजेलको मूल्य ७८ रुपैंयाँ पुगेको छ । अझै निगमलाई पाक्षिक ११ करोड ३९ लाख नोक्सानी रहेको प्रवक्ता गोइतले बताए । निगमले १५ दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक १५।१५ दिनमा इन्धनको मूल्य समायोजना गर्दै आएको छ ।
वैदेशिक रोजगार विभागका निलम्बित पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर, जनही १० लाख विगोदावी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबीसहित र कैद मागदाबी गरी अदालतमा मुद्दा दायर गरेको हो । गत कात्तिक २८ गते सेवाग्राहीबाट घूस लिएको पाइएपछि आयोगको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो ।एसआरएस मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई एक महिनाअघि आयोगले पक्राउ गरेको हो ।
विभिन्न चार कम्पनीले तोके बुक क्लोजको मिति, कसको कहिले हुँदै छ?
काठमाडौं । विभिन्न चार बैंक तथा वित्तीय संस्थाले आ-आफ्नो बुक क्लोजको मिति तोकेका छन् । मंगलबार मात्रै ग्रामीण विकास बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, गोखार्ज फाइनान्स र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि आ-आफ्नो कम्पनीको बुक क्लोजको मितिको तोकेका हुन् । त्यसमध्ये ग्रामीण विकास बैंकको आगामी पुस १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक पुस २८ गते आफ्नो वार्षिक साधारणसभामा जाँदै छ । त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को पनि आगामी पुस १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी पनि पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । त्यसैगरी, गोखार्ज फाइनान्सको पनि आगामी पुस १४ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुँदै छ । यस फाइनान्स पुस २५ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था आगामी पुस २४ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि १७ गतेसम्म यस कम्पनीको बुक क्लोज हुँदै छ ।
५ वर्षभित्र खर्च नगरे अमेरिकाले दिएको साढे ५१ अर्ब अनुदान फिर्ता जाने
काठमाडौं । आउदो ५ वर्षभित्र काम सम्पन्न नगरे मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत अमेरिकालेनेपाललाई दिएको ५१ अर्ब ५० करोड रुपैयाँ अनुदान फिर्ता जाने भएको छ । अमेरिकाले नेपालमा जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न एमसीसीमार्फत ५० करोड डलर अनुदान सहयोग गरेको हो । गत भदौको अन्तिमसाता वासिङटन डीसीमा भएको सम्झौतामा ५ वर्षभित्र सबै रकम खर्च गर्नुपर्ने उल्लेख गरिएको छ । ५ वर्षभित्र खर्च नभए सो रकम फिर्ता जाने सम्झौतामा उल्लेख छ । एमसीसीमार्फत प्राप्त अनुदान खर्च नगरे गुम्ने खतरा रहेको पुर्वअर्थसचिव शान्तराज सुवेदीले बताए । नेपालमा खर्च गर्ने क्षमता कमजोर भएकाले निर्धारित समयमा अधिकाँश आयोजनाको काम नहुने गरेको जानकारी दिदै उनले भने “५ वर्षभित्र काम सम्पन्न नगरे जुन अवस्थामा छ त्यही अवस्थामा आयोजना छाडेर अमेरिकाले आफुले दिएको अनुदान फिर्ता लैजाने छ ।” नेपाल आर्थिक पत्रकार समाज (सेजन) र एसियाली विकास बैंक (एडीबी) ले मंगलबार राजधानीमा आयोजना गरेको संघीयतामा वित्तीय चुनौति विषयमा सेमिनारमा बोल्दै उनले दाताको सहयोगमा सञ्चालित आयोजनाका प्रगति राम्रो नभएकाले अमेरिकाले सहयोग फिर्ता लैजान सक्ने चेतावनी दिएका छन् । नेपालले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना ५ वर्ष्िभत्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको एमसीसीले छ । यसबाट २१३ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र सडक विस्तारमा खर्च गरिने भएको छ । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ ।
‘रेनो सुप्पर हिट’ स्किम संचालनमा, ग्राहकले साढे ६ लाखसम्मको फाइदा लिन सक्ने
काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले ‘रेनो सुप्पर हिट’ स्किम संचालनमा ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै उक्त स्किम संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले छुट सुबिधा पाउने छन् । रेनो सुप्पर हिट स्किमको ट्यागलाईन ‘ चिसो विन्टरमा हट अफर ’ रहेको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । साथै, एक बर्षको निशुल्क बीमा, एक बर्षको निशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई बर्षसम्म निशुल्क सर्भिसिङ साथै १ लाख सम्मको एक्स्चेन्ज बोनस पाउने सक्नेछन् । यो योजना रेनोका सबै डिलर तथा शोरुमहरुबाट प्राप्त गर्न सकिने छ । यो बर्ष रेनो नेपालले आफ्नो नयाँ सर्भिस सेवा थप गरेको छ भने आवश्यकता अनुसार शोरुम र सर्भिस सेन्टर थप्दै लाने योजना बनाएको छ । रेनोका ग्राहकलाई मध्येनजर गर्दै रेनो नेपालले ‘वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोको उपभोक्ताहरुलाई सेवा पुर्याउन सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । रेनोको यो सर्भिस भेइकल हालका लागि बिशेष गरि काठमाडौं उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्न शुरु गरेको छ ।
बामपन्थी सरकारका अर्थमन्त्रीः पाण्डे, पौडेल वा ज्ञवाली
काठमाडौं । मुलुकको राजनीतिमा अनपेक्षित घट्नाक्रम देखिएन भने आगामी एक महिनाभित्र नयाँ सरकार गठन हुनेछ । सम्भवतः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा दोश्रो इनिङ सम्हाल्नेछन् । ओलीले सरकारमा आफ्ना विश्वास पात्रहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने कुरामा दुई मत छैन् । मुलुकको ढुकुटी सम्हाल्ने अर्थ मन्त्रालयको जिम्मेवारीका लागि एमाले भित्र ३ जना नेताहरुको चर्चा सुरु भएको छ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँगै प्रदिप ज्ञवाली पनि अर्थमन्त्रीको रेसमा सहभागी भएका छन् । पाण्डे माधव नेपालका विश्वास पात्र हुन भने पौडेल र ज्ञवाली एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् । माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर पाण्डेले राम्रो छाप छाडेका थिए । पछिल्लो समय विश्व बैंक, एडिबी, जाइका, कोइका लगायतका विकास साँझेदार अन्तराष्ट्रिय निकायले पाण्डेलाई अर्थतन्त्र बुझेको बामपन्थी अर्थमन्त्रीका रुपमा लिँदै आएका छन् । त्यसो त पौडेल पनि केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर लोकप्रिय बजेट ल्याएका व्यक्ति हुन् । प्रदिप ज्ञवाली भने जन आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा पर्यटन मन्त्री बनेका थिए । उनी तत्कालिन सरकार र विद्रोही माओवादीबिच वार्ता गर्न गठित समितिमा सदस्य समेत रहेका थिए । पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई आधार बनाईयो भने सुरेन्द्र पाण्डेले अर्थमन्त्रीको जिम्मेवारी पाउनेछन् । पाण्डेलाई एमाले भित्र मात्रै नभएर बाहिर पनि सफल र अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा हेरिन्छ । पाण्डेले अर्थमन्त्री बनेपछि त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र तर्फ स्नातकोत्तरमा भर्ना समेत गरेका थिए । उनी अहिले पनि अर्थशास्त्र सम्बन्धी विश्व प्रसिद्ध पुस्तकहरुको अध्ययनका लागि बिशेष समय दिन्छन् । केपी ओली भने यसपाली विष्णु पौडेल र प्रदिप ज्ञवाली दुबैलाई मन्त्री बनाउने तयारीमा रहेको एमाले श्रोतले बतायो । त्यस्तो अवस्थामा विष्णु पौडेलले पुनः अर्थमन्त्री बन्ने अवसर पाउने सम्भावना छ । अर्काे विकल्प भनेको विष्णु पौडेललाई अर्थ बाहेकको अर्काे कुनै महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी दिएर ज्ञवालीलाई अर्थमन्त्री बनाउने सम्भावना पनि छ । ज्ञवालीलाई एमाले भित्र अध्ययनशिल र वैचारिक व्यक्तित्व मानिन्छ । जे भएपनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने सम्भावित बामपन्थी सरकारमा पाण्डे, पौडेल र ज्ञवालीमध्येबाटै एक जना अर्थमन्त्री बन्नेछन् । ओलीले अन्तिम विकल्पका रुपमा भने राष्ट्रिय सभाको सदस्य बनाएर डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाउने सम्भावनालाई पनि नकार्न नसकिने एमाले श्रोत नै बताउँछ ।