विकासन्युज

कलंकी-नागढुङगा सडक: ‘यथास्थितिमै पिच’ गर्ने तयारी

काठमाडौं । सडक विभागले कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने तयारी थालेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको हो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका छौं ।’, उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने । उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव १५ दिन अघि नै सडक विभाग मार्फत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको जानकारी दिए । कुल १२.५ किलोमिटर लम्बाईको सो सडक खण्ड विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेको र नागरिकलाई थप धुलो कष्ट दिन नहुने निष्कर्षसहित तत्काल पीच गर्ने सोँच अघि बढेको उनले बताए । हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने । हाल सो खण्डमा धुलो र खाल्डा खुल्डीको समस्या भने समाधान गरिसकेको पनि केसीले दावी गरे । ‘धुलो, हिलो र खाल्डा खुल्डीको समस्या समाधान गरिसकेका छौं, अब यथास्थितीमै पीच गरेर भएपनि समस्या समाधान गर्ने सोँचमा पुगेका हौं, पछि अदालतको आदेश आएपछि सोही अनुसार गरौँला’, केसीले भने ।

ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंकले मंसिर १ गते रामगोपालपुर नगरपालिकाका मेयर असोककुमार मण्डल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपका गरेका हुन् । कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बताएका छन् । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्दै आएको छ ।

जलाशययुक्त आयोजना उम्मेदवारका चुनावी एजेण्डा

मन्थली, रामेछाप । ‘तामाकोशी नदीको दुईतिर नहर, नहरको छेउमा मन्थली शहर’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले जारी गरेको संयक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजनाको रुपमा देखिएको छ । वाम गठबन्धनले विभिन्न जलाशययुक्त आयोजनालाई चुनावी एजेण्डा बनाएको छ । खिम्तीखोला कोरिडोरमा पाँचवटा, लिखु कोरिडोरमा सातवटा, तामाकोशी–१, सुनकोशी–१ र अन्य साना मझौला जलविद्युत् परियोजना सञ्चालनको लागि लगानीको वातावरण बनाइ कार्यान्वयनमा ल्याइने तथा त्यसबाट करिब दुई हजार मेगावाट विद्युत् निकाल्ने लक्ष्य रहेको प्रतिबद्धता जनाएको छ । रामेछाप नगरपालिका सुकाजोर क्षेत्रमा सिमेन्ट उद्योगको स्थापना गरिने, नगरपालिकाको बासे क्षेत्र आसपासमा स्लेट ढुंगा उद्योगको स्थापना गरिने, ठोसे फलाम खानीलाई तत्काल सञ्चालनमा ल्याइने, काष्ठ तथा गैर काष्ठ उद्योग सञ्चालन गर्ने वाम गठबन्धनका उम्मेदवारले मतदातासँग बाचा गरेका छन् । प्रतिबद्धतापत्रमा तीन वर्षभित्रमा ‘एक घर एक रोजगारी’ लाई सुनिश्चित गरिने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा एक हजार दर्शक अट्नसक्ने रंगशाला निर्माण गर्ने, पाँच वर्षपछि सम्पूर्ण कारोबार नगदविहीन बैँकिङ प्रणालीमा रुपान्तरण गरी प्रत्येक परिवारलाई शून्य मौज्दातमा निःशुल्क बैँक खाता खोल्ने महत्वाकांक्षी योजना उल्लेख छ । सबै स्थानीय तहका केन्द्रलाई पाँच वर्षभित्र राष्ट्रिय लोकमार्ग, प्रान्तीय लोकमार्ग र जिल्ला सदरमुकामसँग जोड्ने तथा सबै स्थानीय तहका वडा केन्द्र र स्थानीय तहको केन्द्र जोड्ने सडक सञ्जाललाई दश वर्षभित्र कालोपत्र गर्ने वाम गठबन्धनले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । गठबन्धनका उम्मेदवारले आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उद्योगलाई प्राथमिकता दिइने, शैलुङ, सुनापति, दोरम्बा, खाँडादेवी, भालुखोप डाँडा, त्रिवेणी, तामोडाँडा, थोदुङ, नुम्बुर, उमातिर्थ, जट्टापोखरीलगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरिने बताएका छन् । वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ‘क’ उम्मेदवार शान्तिप्रसाद पौडेल भन्नुहुन्छ– “स्थिर र दिगो सरकार नभएका कारण धेरै मुद्दा ओझेलमा परेका छन् त्यसलै चुनावपछि बन्ने सरकारले सबै मुद्दा सम्बोधन गर्नेछ ।” उहाँले गठबन्धनले समाजवादी धारको र काँग्रेस नेतृत्वको गठबन्धनले पुँजीवादी धारको नेतृत्व गरेको भन्दै जनताको विश्वास र भरोसा वाम गठबन्धनमा भएको दाबी गरे । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले सडक भए आर्थिक विकास दू्रत गतिमा हुने उल्लेख गर्दै सडक निर्माणलाई जोड दिने बताए। उहाँले रामेछापमा भएको विमानस्थल निर्वाचित भएपछि सञ्चालनमा ल्याउने र विमानस्थलमा कालोपत्र गर्ने काम पनि आफूले नै गरेको बताए । “मन्थलीबाट लुक्ला जाने सानो जहाज उडाउने योजना बनाएको छु, बजेट आएपछि लुक्ला, फाप्लु, रुम्जाटार र भोजपुरका लागि जहाज उडने छन्,” उहाँले भने । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा दुईवटा प्रदेशसभा रहेको छ । प्रदेशसभा (क) मा ७३ हजार १७६ तथा प्रदेशसभा (ख) मा ७९ हजार ३८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, रामेछापले जनाएको छ । जिल्लामा ९० मतदानस्थल र १९१ मतदान केन्द्र छन् । निर्वाचनका लागि करिब एक हजार ५२८ कर्मचारी र दुई हजार २२८ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिनिधिसभाका लागि १२, प्रदेशसभा (क) का लागि ८, प्रदेशसभा (ख) का लागि ९ र एकजना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जिल्लामा कुल एक लाख ५२ हजार ५५९ मतदाता रहेका छन् । सत्र हजार ९३९ मतदाता स्थानीय तह र्निाचनपछि थपिएका हुन । एक तथ्यांक अनुसार रामेछापमा २६ प्रतिशत क्षेत्री, २० प्रतिशत तामाङ, १४ प्रतिशत नेवार, ११ प्रतिशत मगर, ५ प्रतिशत ब्राम्ह्ण, एक प्रतिशत सुनुवार, एक प्रतिशत शेर्पा रहेका छन् । यस बाहेक, माझी, हायु, थामी सिमान्तकृत समुदायको रामेछापमा बसोवास रहेको छ । रासस

माधव नेपालको घर दैलो सुरु, नागरिकद्धारा भव्य अभिनन्दन

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले चुनावी घर दैलो कार्यक्रम आरम्भ गरेका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर ९ बाट औपचारिक रुपमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । एक पटक सबै वडामा संयुक्त कार्यकर्ता भेला, वुद्धिजिवी, भेला, महिला र युवा तथा विद्यार्थीहरुको भेला सम्पन्न गरेपछि नेता नेपालले औपचारिक रुपमा घरदैलो आरम्भ गरेका हुन् । उनको घर दैलो कार्यक्रममा सैयौं नागरिकहरुको सहभागीता रहेको थियो । वडा नम्बर ९ को घर दैलो कार्यक्रममा नागरिकको उपस्थिती र समर्थन देखेर आफु थप उत्साहित भएको नेता नेपालले बताए । ‘मैले एक चरण सबै वडाका अगुवा कार्यकर्तादेखि बुद्धिजीवी र नागरिक समाजका अगुवासँग छलफल गरिसकेको छु, आजबाट औपचारिक रुपमा घर दैलो कार्यक्रम सुरु गरेँ, नागरिकहरुको उपस्थिती र समर्थन देखेर म थप उत्साहित भएको छु’, नेता नेपालले भने । उनले आइतबार नै थलीमा युवा खेलाडीहरुसँग छलफल गर्ने कार्यक्रम राखेका छन् । काठमाडौंको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेता नेपाल काँग्रेस उम्मेदवार भन्दा ९३०१ मतले अगाडी रहेका छन् ।

गरिमा विकास बैंकले १५ प्रतिशत बोनस दिने

काठमाडौं । गरिमा विकास बैंकले गत वर्षको आर्थिक मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ पुग्ने छ ।

नर्भिक पुगे माधव नेपाल, श्रद्धाञ्जली दिन पेरिस डाडाँ जाने

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल नर्भिक अस्पताल गएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल नर्भिक अस्पताल पुगेका थिए । नेता नेपाल नर्भिक पुग्दा चिकित्सकहरले दाहाललाई मृत घोषणा गरिसकेका थिए । आजै माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाडाँ पुगेर नेता नेपालले स्वर्गिय दाहालको पार्थिव शरिरमा फुलमाला चढाउने छन् ।

निर्वाचनको सुरक्षामा सचेत होऊ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन जति नजिकिदै छ, त्यतिनै विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि आक्रमण बढ्दै गएको छ । केही दिनयता पहिलो चरणअन्र्तगत मंसिर १० गते निर्वाचन हुने क्षेत्रमा यस्ता घटना बढेका छन् । बारम्बार घटिरहेका श्रृङखलावद्ध आक्रमले सरकारको निर्वाचन सुरक्षामा प्रश्न उठेको छ । शुक्रबारमात्र नुवाकोटको ककनीमा काँग्रेका उम्मेदवार डा. रामशरणको चुनाव प्रचारप्रसारका लागि प्रयोग भएको बोलेरो जिपमा प्रेसरकुकर बम विष्फोट गराई क्षतिग्रस्त बनाइएको छ । रोल्पामा माओवादीका उम्मेदवारद्धय कृष्णबहादुर महरा, वर्षमान पुन र काँग्रेसका अमरसिंह पुनलाई लक्षित गरी वम प्रहार गरिएको छ । यस्तै गोरखामा नारायणकाजी श्रेष्ठ, म्याग्दीमा खमबहादुर गर्वुजा, भोजपुरमा शेरधन राईलाई लक्षित गरी वम विष्फोट गराईको समाचार आएका छन् । यस्तै अन्य उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेको छ । शनिबार सिन्धुपाल्चोकको क्षेत्र नम्बर दुईमा पर्ने मेलम्ची नजिकैको पुलमा प्रेसर कुकर बम भेटिएको छ । लम्जुङको बेसिसहरमा कित्ली वन विष्फोटनका लागि सडकमा राखिएको पाइएको छ । उम्मेदवार लक्षित आक्रमणले हालसम्म मानविय क्षति भएको छैन् । चुनाव हुने दिन जति नजिकिदै आएको छ, त्यति नै उम्मेदवारमाथि आक्रमण बढ्दै गएकाले मानविय क्षति नहोला भन्न सकिन्न । यसले चुनावी वातावरणलाई विथोल्ने काम गरेको छ । विष्फोटका घटना हुन थालेपछि राजनीतिक दलले यसको आरोप एक अर्कालाई लगाउन सुरु भएको छ । डा महतले वम विष्फोटन प्रतिस्पर्धी हितबहादुर तामाङले गराएको लगाएका छन् । यस्ता घटना बढ्न थालेपछि राजनीतिक दलले एकअर्कालाई विना आधार आरोप लगाउदा शान्ति सुरक्षालाई झनै खलल पुर्याउने देखिएको छ । यसमा दलका उम्मेदवार सचेत हुनुपर्ने देखिन्छ । दलका उम्मेदवार पनि सुरक्षा निकायको समन्वयमा आफना गतिविधि सञ्चालन गर्नुपर्छ । चुनावमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने काम सरकारको हो । ठुला विष्फोटका घटना हुदा पनि सरकार गम्भीर नभएको देखिएको छ । गृहमन्त्रालयको जिम्मेबारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हालेका छन् । यदी प्रधानमन्त्रीले यसमा ध्यान दिन सकेका छैनन भने नयाँ गृहमन्त्रीको नियुत्त हुनुपर्छ । पछिल्लो घटना क्रमले विप्लप समूह निर्वाचन भाड्न र शान्ति सुरक्षामा धावा बोल्न लागेको छ । यसले उम्मेदवारका अतरित्त मतदातालाई मतदानस्थलमा पुगेर आफनो मत दिनका लागि त्रास पैदा भएको छ । आक्रमणले शान्ति सुरक्षालाई ठुलो चुनौति दिएका बेला नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धन विभागले सुरक्षाका लागि थप सतर्कता अपनाएको बताएको छ । राज्यका सुरक्षा निकायले सुरक्षाको अवस्था मजवुत भएको बताइरहेका बेला दिनदहाडै वम विष्फोट हुनु र गोली चल्नुले सुरक्षा निकायको सुरक्षा प्रणाली माथि नै प्रश्न खडा गरेको छ । यता सरकारले ३ वटा घेराबाट सुरक्षा दिने बताइरहेको छ । चुनावका लागि भन्दै सेना परिचालनका अतिरित्त ७२ हजार प्रहरी, ४० हजार सशस्त्र प्रहरी र ९८ हजार २९६ जना म्यादी प्रहरी परिचालन गरिएको छ । यति हुदा पनि उम्मेदवार लक्षित विष्फोटनको घटना बढ्नु शान्ति सुरक्षामा सरकार चुकेको छ । यता प्रहरीले शुक्रबारसम्म निर्वाचन बिथोल्न खोज्ने विप्लप सूमहका १७५ जना पक्राउ परेका छन् । सरकारले उम्मेदवार र मतदान गर्ने मतदाता र मतदान स्थलको सुरक्षा गर्नका लागि विशेष योजना बनाउनु पर्ने देखिन्छ । अहिलेको सुरक्षा योजना विफल भइसकेको छ । घटना क्रमको विश्लेषण गरेर नयाँ सुरक्षा योजना तत्काल बनाइ सुरक्षा निकाय परिचालन बढाउनु पर्ने देखिएको छ । यदी आवश्यक परेमा सरकारले सेनालाई पनि परिचालन गर्न ढिलाइ गर्नु हुदैन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड बोनस दिने, पुँजी ८८ करोड नाघ्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १० करोड रुपैयाँ बराबर(अर्थात १२.८२ प्रतिशत)को बोनस सेयर वितरण गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६७ प्रतिशत (अर्थात ५२ लाख ६३ करोड १५८ रुपैयाँ बराबरको) नगद लभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंसिर १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले चुक्ता गत बर्षको मुनाफा र चालु आवमा हकप्रद सेयर बाँडफाँड पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । बाँडफाँड भएको हकप्रद सेयर(३९ करोड रुपैयाँ) पश्चात कम्पनीको पुँजी ७८ करोड रुपैयाँ पुगेको छ । उक्त पुँजीमा १२.८२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।