नेपालीका मौलिक घरबस्ती शरणार्थी शिविरमा परिणत हुँदै, संख्या मात्र बढी देखाउने होडले समस्या
काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणको क्रममा नेपाली समाजका मौलिक घरहरु नास भएको र सरकारी अनुदानमा बनेका नयाँ घरहरु शरणार्थी शिविर जस्तो बन्दै गएकोमा सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । कम लागतमा घर बनाउने र छिटो काम सम्पन्न गर्ने प्रतिस्पर्धामा सरकारी तथा गैरसरकारी तहको सहयोगमा बनेका घरहरु शरणार्थीहरुका लागि बनाईएको टहराहरु जस्तै घर निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले बताए । ‘गाउँघरमा ढुंगा (स्लेट)ले छाएका २ तले, ३ तले घरहरु नेपाली समाजका मौलिक घर हुन् । तर भूकम्पपछिको पुनर्निर्माणको क्रममा त्यस्ता घर बन्न सकेनन्’ डा पोखरेलले भने-‘धेरैले दुई कोठाको घर बनाएको र ती घर पनि टिनले छाएको देखियो । हेलिकम्पटरबाट वा जहाजबाट हेर्दा पुनर्निर्माण पछिको बस्ती शरणार्थी शिविर जस्तो देखियो ।’ परम्परागत र मौलिक घर नबन्दा गाउँबस्तीको सुन्दरता नै गुमेको उनले बताए । भूकम्पपछिको पुनर्निर्माण कार्य छिटो गर्ने र संख्यात्मक नतिजा राम्रो देखाउने दौडमा सरकारी र गैरसरकारी निकाय लाग्दा आफ्नो मौलिकता गुमेको उनले टिप्पणी गरे । ‘गैरसरकारी संस्थाहरु पनि गाउँमा यति घर बनायौं भनेर धेरै काम गरेको देखाउन केन्द्रीत भए । सरकारले पनि पुनर्निर्माणको काम छिटो भएको देखाउने संख्यात्मक रुपमा मात्र निर्माण भएको देखाउनेतिर लाग्यो’ पोखरेलले भने-सर्बसाधारणमा पनि राम्रो घर बनाउने तर्फ नलागि सरकारी अनुदान हातपार्ने उदेश्यले टिनले छाएको २ कोठे टहरा बनाउने तर्फ केन्द्रीत भएको पाईयो । मंगलबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनर्निर्माण केही ढिला भए पनि र केही महँगो भएपनि राम्रो घर बनाउनु पर्छ भन्ने सन्देश प्रवाह गरिदिने उनले सञ्चारकर्मीहरुलाई विशेष जोड दिए । चुनावले पुनर्निर्माणको कार्य दुई हप्ता ठप्प हुन गईरहेको उनले जानकारी दिए । स्थानीयत तहको निर्वाचनपछि जनप्रतिनिधिहरु आउने र पुनर्निर्माणले गति लिने बताए । ‘आगामी १ वर्षमा हामीले सोचेभन्दा धेरै राम्रो काम हुने सम्भावना छ’ उनले भने । पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान पाउने मध्ये ३१ प्रतिशतले दोस्रो किस्ताको अनुदान माग गरेको उनले बताए । हाल दैनिक ५०० जनाले दोस्रो किस्ताको माग आवेदन बुझाउने गरेको उनले बताए । स्थानीय तहको निर्वाचन लगत्तै २ लाख ४ हजार गुनासोकर्ताको लागत संकलन तथा पुनजाँचको लागि इन्जिनियर्स खटाउने उनले बताए । ३०० जना इन्जिनियर्सले काम छोडेर राजीनामा दिएकोले उनीहरुको ठाउँमा नयाँ इन्जिनियर्स नियुक्तीको प्रक्रिया अगाडि बढाईएको उनले बताए ।
हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै, काठमाडौँमा मात्रै चार वटा
काठमाडौं । सरकारले तराई-मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई-मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ दश सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजमार्गलाई आधार बनाएर निर्माण गरिने नयाँ सहरले व्यवस्थित रुपमा तराई- मधेस क्षेत्रमा बस्ती विस्तार हुने र अव्यवस्थित बस्ती निर्माणमा भइरहेको होडबाजीसमेत अन्त्य हुने सरकारले विश्वास लिएको छ । हुलाकी राजमार्ग पूर्वपश्चिम राजमार्गको समानान्तर करिब २० देखि ३० किमी दक्षिणतर्फ फैलिएको तराई–मधेसका जिल्ला जोड्ने पहुँच मार्गका रुपमा रहेको छ । सो राजमार्गले पूर्वमा झापा जिल्लाको सदरमुकाम भद्रपुरबाट सुरु भई पश्चिममा कञ्चनपुर जिल्लाको भारतीय सीमासम्म फैलिई तराईका २० वटै जिल्लालाई जोडेको छ । हुलाकी राजमार्गले तराईका मुख्य मुख्य बजार र नगर जोड्ने हुँदा यसलाई तराईको जीवन रेखाका रुपमा लिइन्छ । राजमार्गमा पर्ने बस्तीलाई व्यवस्थित गराउँदै लानुपर्ने आवश्यकतालाई महसुस गर्दै उक्त राजमार्गको करिब तीन किमी दायाँबायाँ १० बस्ती विकास गर्ने सरकारको अवधारणा रहेको सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए । छनोट भएका १० नयाँ बस्ती र नगरपालिकाको समुच्च एक योजना एकाइ मानी एकीकृत सहरी विकास योजना तयार गरिने, सहरी पूर्वाधार तथा विकास योजना छनोट गरिने तथा आव २०७४/७५ देखि बजेटको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिए । ती सहर निर्माण गर्दा जमिनको उपलब्धता, जनसङ्ख्या, जनघनत्व, सम्पर्क क्षेत्र, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्न जनसङ्ख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचलगायत ११ सूचकलाई आधार मानिएको छ । छनोट गरिएका सहरमध्ये १ नं प्रदेशमा दुई सहर रहनेछन् । त्यसमा झापाको गौरीगन्ज र मोरङको रङ्गेली, प्रदेश नं २ मा बाराको महागढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ तथा महोत्तरीका बल्वा र सरपल्लो छन् । यस्तै प्रदेश नं ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेश नं ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्ति छन् । हुलाकी राजमार्ग तराईका सहरलाई जोड्ने एक प्रमुख राजमार्ग भए तापनि यसको वरिपरिका बस्तीको विकास व्यवस्थित रुपमा हालसम्म पनि अगाडि नबढेका सन्दर्भमा वर्तमान सरकारले सो अवधारणा अगाडि सारेको र तराई क्षेत्रमा रहेको गरिबी तथा बेरोजगारी अन्त्य गर्ने रणनीति बनाएको मन्त्री केसीले जानकारी दिनुभयो । काठमाडौँमा चार नयाँ व्यवस्थित सहर सरकारले काठमाडौँ उपत्यकामा भइरहेको अव्यवस्थित बस्ती विस्तारलाई रोक्न चार नयाँ र व्यवस्थित नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले काठमाडौँको दक्षिण पश्चिम, पूर्वदक्षिण र उत्तर दिशामा दश÷दश हजार रोपनी क्षेत्रफल ओगटेका नयाँ नगरको भौतिक पूर्वाधार विकास गर्ने निर्णय गरेको हो । सो आयोजना अगाडि बढाउन सरकारले रु दश अर्ब र निजी क्षेत्रबाट रु चालिस अर्ब आगामी पाँच वर्षभित्र लगानी गर्नेछ । जग्गाको व्यवस्थित एकीकरण र स्मार्ट सहरको अवधारणा अगाडि सारिएको मन्त्री केसीले जानकारी दिए । काठमाडौँ उपत्यकाभित्र नगरको भौतिक विकास योजना कार्यान्वयन गर्नका एक लाख रोपनी क्षेत्रफल छुट्ट्याइने छ । यस्तै मूलपानी क्रिकेट मैदानबाट साँखु जाने मूल सडक तथा साली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म नयाँ अवधारणाले समेट्नेछ । त्यस्तै खरिपाटीको नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई जोडिनेछ । सरकारको योजनानुसार दोस्रो स्मार्ट सिटी भक्तपुरको सूर्यविनायकको जङ्गलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट हुँदै अरनिको राजमार्गमा जोडिनेछ । यस्तै कौशलटार हुँदै पुनः सूर्यविनायकसम्म नयाँ सहर पुग्नेछ । दश हजार रोपनी क्षेत्रफलमा फैलिने सो सहरलाई दोस्रो स्याटलाइट सहरका रुपमा विकास गर्ने सरकारको योजना छ । सो अवधारणानुसार भक्तपुरका गुन्डु, बालकोट र दधिकोटका सबै भूभाग समेटिने छ । सो सहर निर्माण परियोजनाका लागि सार्वजनिक निजी अवधारणानुसार कार्यान्वयन गरिने सरकारको तयारी छ । मन्त्री केसीले काठमाडौं असाध्यै अव्यवस्थित बन्दै गएको तथा दुई आना- तीन आना जग्गामा १२ तले भवन बन्दै गएको अवस्था नियन्त्रण गर्न र सुन्दर सहर बनाउने योजनानुसार सरकार अगाडि बढेको जानकारी दिए। सहरी विकास रणनीति र युएन ह्याबिट्याटको अवधारणालाई कार्यान्वयन गर्ने लक्ष्यका साथ नयाँ कार्ययोजना बनाइएको र बाहिरी चक्रपथलाई पनि व्यवस्थित बनाउन खोजिएको उहाँको भनाइ छ । रासस
पर्यटक आगमनको सङ्ख्यामा वृद्धि, एक लाख ४७ हजार बढी पर्यटक भित्रिए
बुटवल। विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक लाख ४७ हजार छ सय आठ पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१५ मा बेलहिया हुँदै एक लाख ४१ हजार दुई सय ४२ पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालय भैरहवाले जनाएको छ । यस वर्ष गतवर्ष बुकिङ रद्द गरेका पर्यटकसहित अरु पर्यटक थपिएका छन् । खासगरी चिनियाँ पर्यटकलाई जनवरीदेखि नेपाल सरकारले फ्रि भिसा सुविधा दिएका कारण पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । बेलहियाहुँदै सन् २०१६ मा सबैभन्दा बढी श्रीलङ्काका ५८ हजार ६१ पर्यटक नेपाल आएका थिए । अघिल्लो वर्ष ४३ हजार दुई सय ५२ श्रीलङ्काका पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए । त्यस्तै गरी थाईलैण्डका पर्यटक २९ हजार सात सय ५१, म्यान्मारका २७ हजार दुई सय ८७, चीनका पाँच हजार १००, दक्षिण कोरियाका चार हजार छ सय एक, भियतनामका तीन हजार आठ सय ४१, अमेरीकाका एक हजार नौ सय ५९, बेलायतका एक हजार पाँच सय एक, अष्ट्रेलियाका एक हजार चार सय १८, नेदरल्यान्डका एक हजार दुई सय २५, मलेसियाका नौ सय ५७, जर्मनीका नौ सय ६९, जापानका नौ सय ९४, स्पेनका नौ सय ३३ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१६ को मार्चमा सबैभन्दा बढी २४ हजार दुई सय ३६ पर्यटक बेलहिया नाकाहुँदै नेपाल भित्रिएका थिए । सरकारले सार्क मुलुकसहित चिनियाँ पर्यटकका लागि पहिलो पटक नेपाल भ्रमण गर्दा एक महिनाका लागि निःशुल्क प्रवेशाज्ञा दिने गरेको छ । रासस
नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, कारोबार भएका सबै समूह हरिया
काठमाडौं । मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार परिसूचक १३ दशमलब ५१ अंकले उकालो लागेर १६५० अंकमा पुगेको छ । सोमबार परिसूचक जम्मा ८ अंकले उकालो लागेको थियो । त्यस्तै, परिसूचक सँगै कारोबार रकममा पनि केही वृद्धि भएको छ । मंगलबार बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । मंगलबार १४२ कम्पनीको १ लाख कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार भएका सबै (अर्थात ७ वटा) समूह हरिया देखिएका छन् । सबैभन्दा बढी हाइड्रेपावर समूहको परिसूचक ११५ अंकले उकालो लागेका छन् । त्यस्तै, बीमा , विकास बैंक र होटल समूहका परिसूचक क्रमशः ६६, २५ र २२ अंकले उकालो लागेका छन् । बैंक, फाइनान्स र अन्य समूहको परिसूचक भने सामान्य अंकले उकालो लागेका छन् ।
कुलमान घिसिङले रुँदै भने-कमिसन खाएको प्रमाण भए मलाई झुण्ड्याईदिनुस
काठमाडौं ।‘मैले चिलिमे देखि नै धेरै संघर्ष गरेको छु, त्यहाँ पनि एक रुपैंयाँ घुस नखाई काम गरेँ, एलइडी बल्बमा पनि घुस खाएको प्रमाण भए मलाई झुण्ड्याइदिनुस्’, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देेशक कुलमान घिसिङले रुँदै भने । मंगलबार प्राधिकरण केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले कमिसन खाएको प्रमाणित भएमा आफु देश निकालाको सजाय भोग्न पनि तयार भएको बताए ।‘मैँले साँचो अर्थमा जनताको सेवा गरेको छु, एलइडी बल्ब खरिद प्रक्रियामा पनि कुनियत छैन, यदि कसैले कुनियत प्रमाणित गर्छ भने म देश छाड्न तयार छु’, घिसिङले भने । उनले ८ देखि १० अर्ब पर्ने २ करोड थान एलइडी बल्ब आफुले २ अर्ब २५ करोडमै उपभोक्तालाई उपलब्ध गराउन लागेको पनि बताए ।‘के १० अर्ब पर्ने २ करोड थान एलइडी बल्ब करिब सवा २ अर्बमा जनताले बाढ्नु अपराध हो ?’ घिसिङले प्रतिप्रश्न समेत गरे । यसरी भक्कानिँदै पोखे घिसिङले वेदना भारतीय कम्पनी इइएसएलसँग २ करोड थान एलइडी बल्ब खरिद गर्ने सम्झौता गरिएको छ । यो भारत सरकारको स्वामित्व भएको कम्पनी हो । सम्झौता गरेको तीन महिनाभित्रै सम्पुर्ण बल्ब ल्याइसक्छौं । कम्पनीले नै हेटौँडासम्म बल्ब ल्याईदिन्छ । ३ बर्षसम्म बल्ब बिग्रिएमा साटिदिने सम्झौता भएको छ । त्यसका लागि कम्पनीले २ दशमलब ५ प्रतिशत बैंक ग्यारेण्टी गरेको छ । हामीले भारतीय कम्पनीलाई एउटा बल्बको १०४ रुपैंयाँ नेपाल(६५ भारु) तिर्ने हो । त्यसमा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट नेपाल सरकारलाई तिर्नु पर्छ । त्यसपछि हामीले १० प्रतिशत जति सेवा शुल्क थप्छौं । करिब १३० देखि १३५ रुपैंयाँको मूल्यमा नेपाली उपभोक्ताले एलइडी बल्ब पाउनेछन् । गुणस्तरमा कुनै सम्झौता हुन्न । फिलिप्स र ओस्राम ब्राण्डका बल्ब त्यति न्युन मूल्यमा पाउने कुरा चानचुने होइन् । एउटा बल्बमा घुस खानुपर्ने अवस्था छैन् । मैले चिलिमेदेखि नै धेरै मेहनत गर्दै आएको छु । त्यहाँ पनि एक रुपैंयाँ घुस खाइँन र कसैलाई घुस दिईन पनि । यहाँ पनि एक रुपैंयाँ खान्न र कसैलाई खुवाउदिन पनि । हिजो हामीले लोडसेडिङ घटाउँदै गर्दा सोलार र इन्भर्टरका ब्यापारीको पनि गुनासो थियो तर उहाँहरुले हामीलाई केहि भन्नु भएन् । आज लिडको ब्यापार गर्ने व्यापारीको पनि ठुलो गुनासो छ । यदि उहाँहरुले १५० रुपैंयाँमा एलइडी बल्ब दिने हो भने म प्राधिकरणका सबै काउण्टरमा बुथ राखेर बेच्ने व्यवस्था गर्छु । तर त्यसमा गुणस्तर हुनु अनिवार्य छ । प्राधिकरणले बल्ब बेचेर व्यापार गर्न लागेको होइन् । नेपालको उज्यालो अभियानलाई सफल बनाउन खोजेको हो । एलइडीका ब्यापारीहरुको व्यापार खोस्न खोजेका पनि होइनौं । (भक्कादिँदैं)हामीले कुनियत राखेको र कमिसन खाएको प्रमाण फेला पर्यो भने जस्तो सुकै सजाय भोग्न तयार छौं । देश निकालाको सजाय पनि भोग्न तयार छौं । जो जोसँग प्रमाण छ आउनु होला । हामीले २ करोड बल्बलाई करिब २ अर्ब २५ करोडमा जनतालाई दिने भनेका छौं । तर तीनै बल्ब मार्केटबाट लिने हो ८ देखि १० अर्ब लागत पर्छ । अब भन्नुस को ठगिएको छ ? हामीले जनतासँग पैसा उठाउन, पैसा कमाउन भारतीय कम्पनीसँग आफैं बल्ब खरिद गरेर ल्याउन लागेका होइनौं । यसरी जिब्रो चपाएर हामीलाई आरोप लगाइरहँदा हाम्रो चित्त दुःखेको छ । १५० रुपैंयाँ बेच्न व्यापारीहरु तयार छन भने प्राधिकरणकै कार्यालयमा बेच्ने व्यवस्था मिलाई दिन्छौं । तर ९ वाट भनेर १८ वाटको बल्ब दिने अनि पावर फ्याक्टर शुन्य दशमलब ५ हुने हो भने चाँही त्यो मान्य हुने छैन् । हामीले २ करोड बल्ब बेचेर २०० मेगावाट विजुली बचाउन खोजेका हौं । सुख्खा समयमा २०० मेगावाट विद्युत उत्पादन गर्न ६०० मेगावाटका प्लान्ट बनाउनु पर्छ । त्यसका लागि खरबौं रुपैंयाँ लाग्छ । हामी त बिना लगानी २०० मेगावाट विजुली बचत गर्दैछौं । यसमा सरकारको होइन जनताको लगानी हुन्छ । जनताको लगानीमा जनतालाई उज्यालोमा राख्ने योजनामा अनावश्यक विवाद झिकिएको छ । हाम्रो पवित्र कर्मलाई बदनाम गर्ने प्रयास भैरहेको छ । जानीजानी बुझि बुझि हामीलाई निरुत्साहित गर्ने प्रयास भैरहेको छ भन्ने मेरो बुझाई हो । हामीले नयाँ घर बनाउने ग्राहकलाई मात्रै पहिलो चरणमा बल्ब दिन लागेका हौं । त्यसपछि पुराना बल्लब फुटेकाहरुलाई दिन लागेका हौं । पहिलो चरणमा एक घर बराबर १० वटासम्म बल्ब दिन्छौं । अलिपछि यसलाई अनिवार्य गर्छाैं । यसमा हाम्रो कुनै प्रकारको कुनियत छैन् । सच्चा दिलले काम गर्न चाहेका हौं । कुनियत फेला पार्नुभयो भने झुण्ड्याइदिनु होला ।
कतार एयरवेजलाई फिफाको आधिकारिक पार्टनर र एयरलाइन घोषित
दोहा । कतार एयरवेजलाई सन् २०२२ सम्मका लागि फिफाको आधिकारिक पार्टनर तथा अफिसियल एयरलाइन घोषित गरिएको छ । कतार एयरवेजद्वारा निकट भविस्यमा आयोजना हुने फिफा कन्फिडरेशन कप २०१७, फिफा वल्र्ड कप रसिया २०१८, फिफा क्लब वल्र्ड कप, फिफा वमेन्स वल्र्ड कप र २०२२ फिफा वल्र्डकप कतार प्रायोजन गरेको जानकारी दिइएको छ । हरेक खेलमा २ बिलियन भन्दा बढी दर्शक अनुमान गरिएका निकट भविष्यमै आयोजना हुने दूई फिफा वल्र्ड कपहरुमा आधिकारिक पार्टनरका रुपमा कतार एयरवेजले भरपुर मार्केटिङ तथा ब्राण्डिङ अधिकार प्राप्त गरेको छ । साथै, फिफा यू-२० वल्र्डकप, फिफा फुट्सल वल्र्डकप र फिफा ईन्टरएक्टिभ वल्र्ड कप (विश्वकै सर्वाधिक ठूलो अनलाइन गेमिङ प्रतिस्पर्धामा समेत एयरलाइनको उपस्थिती देखिन सकिनेछ । आजको उक्त घोषणाले कतार एयरवेजको प्रायोजकका रुपमा एफसी बार्सलोना र साउदी अरेबियाको अल–अहिल एफसी, पेरिस तथा न्यू योर्कको फर्मुला ई रेसहरु र हालै कतारको दोहामा आयोजित यूसीआई रोड वल्र्ड च्याम्पियनसिप तथा लामो समयदेखि निरन्तर्ता पाइरहेको कतार टोटल र एक्सजोन टेनिस टूर्नामेण्ट्समा लगायत प्रमुख स्पोर्टिङ क्लब्स तथा खेलकुद जगतसँग कम्पनीले बनाएका प्रायोजन रणनितीमा नयाँ आयाम हो । ‘कतार एयरवेजले मानिसलाई नजिक ल्याउन तथा एकताको शुत्रमा बाँधन मैत्रीपूर्ण प्रतिस्पर्धा र खेलको आवश्यकता राम्ररी बुझेको छ’ कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकरले भने ‘तसर्थ स्टेट अफ कतारको आफ्नै देशमा आयोजना हुने दूई फिफा प्रतिस्पर्धा लगायत अन्य खेलमा आफ्नो सम्बद्धता जनाउन पाउँदा हामी निकै उत्साहित छौँ ।’ ‘खाडी क्षेत्रमै पहिलो पटक कतारमा आयोजना हुन गइरहेको २०२२ फिफा वल्र्ड कप आयोजनाका लागि विश्वमै निकै तिब्र गतिमा बृद्धि उन्मुख तथा उद्योगमै नौला तथा नवप्रवर्तनात्मक सेवा दिन तथा विस्तार गर्न अग्रसर कतार एयरलाइनसँग पार्टनरका सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, फिफा सेक्रेटरी जनरल फाटमा सामोउराले भने ‘हामी सहकार्य गर्दै फिफा प्रतिस्पर्धा र विश्वजगतमा आयोजना हुने फुटबलका लागि अगाडी बढ्न निकै गौरवान्वित र उत्साहित छौँ ।’ सन् १९०४मा स्विस कानुन अन्तर्गत स्थापित द फेडेरेशन ईन्टरनेशनल डे फुटबल एसोसिएशन (फिफा) ज्यूरिचमा आधारित संस्था हो । यसमा हाल सम्म २ सय ११ संस्था सदस्यका रुपमा आवद्ध रहेको छ ।
विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइँदै
काठमाडौं । नेरेसोले रेडक्रस अभियानका साझेदारहरूसँगै देशभर “रेडक्रसः सबै ठाउँमा, सबैका लागि” भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू गरी विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस मनाइरहेको छ । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको जन्म दिनको अवसरमा नेरेसोका कार्यवाहक अध्यक्ष अजीतकुमार शर्माले भने- “रेडक्रसका स्वयंसेवकहरू वस्तुतः प्रतिवद्ध भईउर्जा र समय खर्चेर प्रत्येक समुदायमा सेवाका लागि उपस्थित छन् ।” “विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस, मे ८, कोही पनि नछुटोस् भन्ने मानवताप्रतिको रेडक्रसको प्रतिवद्धतालाई मूर्तरूप दिन अनवरत प्रयत्नशीलविश्वभर रहेका दशौँ लाख स्वयंसेवकहरू र कर्मचारीहरूको योगदान र उपलव्धीहरूको सम्मान गर्ने अवसर हो ।” नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने-“बढ्दो जोखिमसहितकोआजको जटिल सन्दर्भमा आवश्यकतामा रहेका मानिसहरूसम्म पुग्ने हाम्रो क्षमतामा निरन्तर परिवर्तन आएको छ ।” तर स्थानीय रूपमा आउने समस्याको सामना गर्न र स्थानीय आवश्यकतालाई सम्वोधन गर्न हाम्रा स्वयंसेवक र कर्मचारीहरूले रचनात्मक र नवीनतम् बाटाहरू पहिल्याइरहेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ र एक सय ९० देशमा फैलिएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरू मिलेर बनेको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको कार्य विगत एक सय ५० वर्ष अघिदेखि सञ्चालित छ ।
ग्लोबल आइएमई बैंकको ४५औ शाखारहित बैंकिङ्ग सेवा डडेलधुरामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत सोमबार देखि डडेलधुरा जिल्लाको गन्यापधुरामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा बैंकले उक्त शाखा सञ्चालनमा ल्याएको हो । गन्यापधुरामा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भवाना कुमारी अधिकारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान तथा बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले संयुक्त रुपमा सेवा सुचारु गरेका छन् । हाल बैंकले ९४ वटा शाखा, १०७ वटा एटिएम, ४५ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।