किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड ?
काठमाडौं । संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी मिखाइल गोर्भाचोभले रासायनिक हतियार प्रयोग एवम् विस्तारमा केही लचकता अपनाउने सम्बन्धी सम्झौतामा सन् १९९० मा हस्ताक्षर गरेपछि त आम मान्छेलाई लाग्यो, अब संसारभर कहि कतै रासायनिक हतियार प्रयोग हुने छैन । इराकमा रासायनिक हतियार भएको नाममा अमेरिका, उसको गठबन्धन राष्ट्र र उत्तर एटलान्टिक सहयोग सङ्गठन(नेटो) गठबन्धनले हमला गर्यो । मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको हिसाबले उक्त आक्रमण इतिहासकै महंगो सावित भयो अमेरिकालाई । किनकी आजसम्म पनि त्यही विषय उसको टाउँको दुखाइको विषय बनिरहेको छ । अन्य प्रकारका हतियारको प्रयोगले मान्छे सहजै मारिन्छ वा घाइते हुन्छ । रासायनिक हतियार त्यस्तो हतियार हो, जसले बाँचेकालाई पल पल मारिदिन्छ । तडपदै मर्नुपर्ने, त्यो पनि अर्धचेत वा अपांंगता भएका नागरिकभन्दा तल्लोस्तरमा रहनुपर्ने हुन्छ । अमेरिकाले हिरोसीमा र नागासाकीमा प्रयोग गरेको बमको प्रभाव हालसम्म देखिएको जापानी स्वयम् बताउँछन् । इराक र कुवेतबीचको लडाई होस वा इराक र इरानबीचको युद्धमा समेत रासायनिक हतियारको प्रयोग भएको थियो र त्यसले पारेको प्रभाव अझै पनि देखिने गरेको छ । उत्तरी यमन, भियतनाम र थाइल्याण्डको सीमा क्षेत्र, पर्सियन गल्फ युद्ध, फोकल्याण्ड र पछिल्लो पटक सिरियामा समेत रासायनिक हतियारको प्रयोग भएको देखिन्छ । जापान र चीनबीचको युद्धको समयमा समेत समान्य प्रकारका रासायनिक हतियार प्रयोग भएका बताइन्छ । त्यसवखत मस्टर्ड ग्यासको प्रयोग हुने गरेका थिए । नाजीहरुले कार्बन मोनोअक्साइड र हाइड्रोजन साइनाइडको प्रयोग गरेका थिए । हिटलरको ग्यास च्याम्बरमा विरोधीलाई राखेर मारेको विषय त आम मान्छेले थाहा पाएकै छन् । जेनेभा अधिसन्धीले सन् १९२५ देखि नै रासायनिक हतियारको प्रयोगमा रोक लगाएको छ, तर संसारभर नै यसको प्रयोग हुन भने छाडेको छैन । पछिल्लो पटक सिरियामा रासायनिक हतियारका कारण परेको प्रभाव यस शताब्दिकै हालसम्मको ठूलो मानिएको छ । पछिल्लो पटक सिरियामा सुरु भएको शान्ति वार्ता निष्कर्षमा पुग्न सकेन । परिणाम स्वरुप अहिले सिरिया रासायनिक हतियारको होडबाजीमा परेको छ । रासायनिक हतियारको कारण एकै पटक हजाराँै नागरिक प्रभावित भएका छन् । घाइते भएका नागरिक मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । पछिल्लो पटक गत चैत २३ गते सिरियाको खान सेइखुन शहरमा लडाकुले रासायनिक हतियारको भण्डारण गरेको र सिरियाली सरकारी फौजले त्यसमाथि आक्रमण गरेको परस्पर विरोधी खबर सार्वजनिक भएका छन् । सो शहर यतिखेर भूतको सहरमा परिणत भएको छ । सडकमा मुर्दा शान्ति छाएको छ । रासायनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् । सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण सयौ नागरिकले ज्यान गुमाए । सिरियामा सङ्घर्ष सुरु भएयता त्यो नै सबैभन्दा ठूलो रसायनिक आक्रमण भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो आक्रमणपछि मानिसहरु बस्ने घर खाली छन् र इडलिब प्रान्तको यो शहरमा अहिले रकेटका टुक्रा अझै छरपष्ट छन् । सन् २०१३ मा दमासकस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रसायनिक आक्रमण गरेपछि एक हजार बढीको ज्यान गएको थियो । त्यसयता सरकारले रसायनिक हतियार प्रयोग गर्न छाडेको भनिएको थियो । राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइएको छ । तर, रसायनिक आक्रमणलगत्तै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रसायनिक मिसाइल खसेको देखिन्थ्यो । उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पुरै धुलोले पुरिएको थियो । स्थानीयका अनुसार उक्त टावर पनि छ महिना अघि भएको बम आक्रमणले नष्ट भएको थियो र त्यसयता प्रयोगमा छैन । विद्रोहीले सञ्चालन गरेको ग्यास उत्पादन उद्योगमा आक्रमण गरेको भन्ने सरकारको दावीलाई स्थानीयले पत्याएका छैनन् । ‘तपाइंले यहाँ हेर्न सक्नुहुन्छ, यो गोदाममा केही खाद्यान्न र मरेका जीवजन्तुका अवशेष बाहेक केही छैन’, एक स्थानीयले भने । रसायनिक ग्यासले त्यत्रो मानिस मार्दा भर्खरै खसालिएको मिसाइलले अन्य भवन क्षति पुगेको वा भत्किएका छैनन् । सडक वरपर रहेका घरहरु बाहिरबाट हेर्दा जस्ताको तस्तै देखिन्छन् । शहर भूत बंगलामा परिणत भएका छन् । मान्छेका लाशहरु छरपस्ट थिए । कसैका हात मात्रै भेटिएका छन्, कोहीका खुट्टा मात्रै देखिएका छन् । कपडाको चाङ पनि देखिन्छ । सडकमा ठूला ठूला खाल्डा रहेका छन् । सवारी साधनको आवत जावत छैन । नागरिकहरु सुरक्षित स्थान खोज्दै यत्रतत्र दौडिइरहेका छन् । यो भन्दा कहालीलाग्दाृ दृश्य अरु हुनै नसक्ने स्थानीयहरु बताउँछन् । प्रत्यक्षदर्शीका अनुसार हवाई आक्रमण चैत २३ गते मंगलबार बिहान साढे ६ बजेदेखि सुरु भएको थियो । त्यो चार घण्टासम्म चलेको थियो । सुरुमा उनीहरुले यो पनि पहिले भएजस्तै हवाई आक्रमण सम्झिएका थिए । मानिसहरु भुइँमै लड्न थालेपछि उनीहरुले बल्ल रसायनिक आक्रमण भएको बुझे । स्वास फेर्न गाह्रो भयो, हिड्दा हिड्दै नागरिक ढले । ‘स्थानीयले उद्धारकर्तालाई बचाउन आग्रह गर्दै फोन गरे । उनीहरु हिड्न पनि नसक्ने भन्दै भूईमा जोतिएका थिए । उद्दार टोली त पुगेको थियो तर सामान्य मास्कको भरमा । वरिपरी ग्यासको गन्ध आइरहेको थियो । घाइतेहरु मुखमा फिँज निकालेर भुइँमा छटपटाइरहेका थिए । उनीहरुको ओठ निलो भएको थियो र अर्धचेत अवस्थामा थिए । पानी पानी भन्दै कराइरहेका सयौ नागरिक कोही घरको आँगनमा लडेका थिए भने कोही सडकको किनारमा जीवन र मृत्युको दोसाँधमा थिए । साना नानीहरु रोइरहेका थिए, हिक्क हिक्क गर्दे वृद्ध वृद्धा अल्लाह बचाउ भनीरहेका थिए । यस्तो ह्ृदयविदारक दृश्य पहिलो पटक देखिएको हो । युद्ध सुरु भएपछिकै यो सबैभन्दा भयंकर र डरलाग्दो क्षण हो, हामी पनि सामान्य मास्क मात्र लगाएर गएका थियौ । राम्रो सवारी साधन पनि थिएन, केही नागरिकको उद्धार ग¥यौ तर सबैलाई धेरै दिनसम्म पनि उद्धार गर्न सकिएन एक उद्धारकर्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका थिए । अस्थायी क्लिनिक राखिएको स्थान पुग्दा यो भग्नावशेषले भरिएको थियो । भित्रपट्टी अस्पतालका उपकरण, बेड, शल्यक्रियाका लागि प्रयोग हुने सामग्री र औषधीका साना बट्टाहरु धुलाम्ये भएर छरिएका थिए । कयौ औषधी काम नलाग्ने भएका थिए भने कयौ बमको धमाका सँगै उडेका थिए । नजिकैको चिहानमा अघिल्लो दिन मृतकहरुको अन्त्येष्टी गरिएको थियो । एउटा कुनामा १८ वटा नयाँ चिहान बनाइएको थिया र मृतक मध्ये २० जनाको नाम एउटा ढुंगामा कुँदिएको थियो । यो चिहानमा एकै परिवारका २० जनाको शव गाडिएको थियो । तर सबैभन्दा बढी पीडादायी घटनाको रुपमा दुई बच्चाहरुलाई आफ्नै आमासँगै पुरिएको थियो । आफ्नी पत्नी र नौं महिने जुम्ल्याहा सन्तान अहमद र आयालाई गाडेका एक सिरियन नजिकै बसेर रोइरहेका थिए । द सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सकाअनुसार खान शैखुनमा सिरियाली सरकार तथा रुसी लडाकु विमानको हमलामा केही ब्यक्तिहरु जलेका थिए । राहत तथा उद्धारकमीकाअनुसार विषालु ग्यासले जलेर घाइते सयकडौं नागरिक अस्पतालमा भर्ना भएका छन् । उक्त ‘रासायनिक’ हमलामा २७ बाल बालिका तथा १९ महिलासहित ८४ जना मारिएको इडलिब प्रान्तमा विद्रोही लडाकुद्वारा सञ्चालित समूहले दावी गरेको छ । उक्त समूहकाअनुसार ५ सय ४६ जना घाइते छन् । रासायनिक हतियारले तवाही पारेको सोही क्षेत्रमा अमेरिकाले पुन बमबाड गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनकाअनुसार उक्त हमलामा यस्तो रासायनिक हतियार प्रयोग भएको थियो कि, जसका कारण नागरिकले श्वास फेर्न समेत एकदमै मुश्किल परेको थियो । सिरियाली सरकारले भने सासायनिक हमला भएको कुरा अस्वीकार गर्दै आएको छ । सिरियाली सेनाले आफ्नो बयानमा भनेको छ– उक्त हमलामा कुनै पनि रासायनिक हमला प्रयोग भएको छैन । आफूहरुले कुनै पनि रासायनिक हतियारको ब्यवस्था नगरेको उनीहरुको दाबी छ । सेनाले भविष्यमा समेत कुनै पनि किसिमको रासायनिक हमलाको योजना नरहेको बताएको छ । सेनाका एक अधिकारीले सरकारी टेलिभिजनमा भने ‘‘हामी रासायनिक हतियारमा विश्वास राख्दैनौ । हामीलाई हाम्रो नागरिकको चिन्ता छ । हामी बहुलट्ठी भाडाका सिपाही होइनौ । विदेशी हतियारको बलमा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गराउन चाहने अमेरिका र उसको गठबन्धको इशारामा हाम्रा नागरिक माथि रासायनिक हतियारको प्रयोग भयो । यो कुनै पनि मूल्यमा क्षम्य हुन सक्दैन ।’’ सो घटनापछि शक्ति राष्ट्रहरु विभाजित भएका छन् । सिरिया समर्थित मुलुकले आफूहरुले कुनै पनि खराब आक्रमण नगरेको जनाएको छ । सिरियाविरोधी राष्ट्रले खुलेर अमेरिकाको समर्थन गरेका छन् । फ्रान्स र जर्मनीले सिरियाली राष्ट्रपति बसर अल असद नै जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । रासायनिक हतियारको प्रयोगमा अमेरिकाले रुसलगायतका मुलुकलाई दोष लगाएको छ भने रुसले गलत प्रचार गरिएको भन्दै प्रतिवाद गरिरहेको छ । हात हतियारको होडबाजीमा सिरिया माथि थप आक्रमण गर्ने हो भने त्यसले क्षेत्रिय शान्ति र अमनचयन थप खलबल्याउने देखिन्छ । यसअघि आतङ्कवादी समूह इस्लामिक स्टेटले उत्तरी इराकको एक गाउँमा पनि क्लोरिन र मास्टर्ड ग्यासको प्रयोग गरेका थिए । सो आक्रमणमा परि तीन जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए । इराकी सरकारका अनुसार यस्तो आक्रमण पहिलो हो । घटनामा मारिनेमा तीन वर्षकी बालिका फातिमा र १० वर्षका मासूमेह पनि थिए । फातिमाकी आमा जेनबले आफूहरु माथि खसेको रकेटमा रसायन रहेको र त्यसमा धेरै धुवाँ रहेको बताइन् । मैले उसलाई तान्ने कोशिश गरेँ तर, उनको आसपास निकै धुवाँ भएका कारण मैले तान्न सकिन । प्रभावित मानिसले बताएअनुसार क्लोरिनका कारण आँखा र नाक पोलेको थियो । पछिल्लो पटक सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ । रसियाली रक्षा मन्त्रालयले त्यो क्षेत्रमा कुनै हवाई आक्रमण नगरेको जनाएको छ । यदि सो आक्रमण रासायनिक नै थियो भन्ने पुष्टि भएमा सिरियाको गृहयुद्ध सुरु भएयताको सबैभन्दा खतरनाक रासायनिक आक्रमणको रुपमा चित्रित हुने छ । आक्रमणका प्रयोग भएको रसायनका कारण स्वास्थ्यकर्मीसमेत प्रभावित भएका थिए । बेहोश भएका, उल्टी गरेका र मुखबाट फिंज निस्केका मानिसलाई उपचार गर्न गाह्रो परेको थियो । सारिन नामक स्नायु विष प्रयोग गरिएको आशंका गरिएको छ । जनु विष साइनाईड भन्दा २० गुणा बढी खतरनाक मानिन्छ । सरिनको मात्रा बढी भएमा मान्छे निसासिएर मर्न सक्छ । उक्त ग्यासको रङ, स्वाद र गन्ध नहुने हुनाले त्यो पत्ता लगाउन समेत गाह्रो हुन्छ । पश्चिमा शक्तिहरुले सन् २०१३ मा पनि सिरियामाथि विद्रोही नियन्त्रित क्षेत्रमा सारिन प्रयोग गरेर सयौंको ज्यान लिएको आरोप लगाएका थिए । राष्ट्रपति बशर अल असदले सो आरोप अस्वीकार गर्दै रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमति जनाएका थिए । राष्ट्रसङ्घको एक निकायले गरेको अनुसन्धानमा सरकारी फौजले सन् २०१४ देखि २०१५ को बीचमा क्लोरिनलाई हतियारका रुपमा प्रयोग गरेको पाइएको प्रतिवेदन तयार पारेको थियो । इस्लामिक स्टेटका लडाकुले पनि पोल्ने रसायन प्रयोग गर्ने गरेको सो अनुसन्धानले देखाएको थियो । पछिल्लो पटक बढेको रासायनिक हतियारको होडलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसङ्घ र ठूला राष्ट्रको सकारात्म्क पहल एवम् प्रयत्नको जरुरी देखिन्छ । अन्यथा त्यसले संसारमा पार्ने प्रभाव सबैभन्दा बढी खतरनाक हुनेछ । जुन मानव सभ्यताका लागि कलङ्क सावित हुनेछ ।
चुनावले हवाई टिकट अभाव, निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकतामा राख्न आयोगले दियो निर्देशन
काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकदै जाँदा हवाई टिकट पाउन मुस्किल भएको छ । निर्वाचनमा खटिन कर्मचारीले टिकट नपाएपछि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिए । यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पु¥याउनुपर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । आयोगले पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि नियमित र विशेष उडान गर्नुपर्ने भएमा समेत विशेष व्यवस्था गर्न निर्देशन दिएको छ । निर्वाचन अवधिभरिका लागि विमानस्थलहरूमा निर्वाचन हेर्ने गरी सम्पर्क अधिकारी (फोकल पर्सन) तोक्न र समग्रमा गतिविधिको अनुगमन गर्न नागरिक उड्डयन मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी आयोगले दिएको छ । रासस
वाइडवडि किन्न ४० दिन भित्र ८ अर्ब पठाइँदै, दुई किस्तामै पूरै रकम चुक्ता गरेर जहाज आउने
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० सिरिजका वाइडवडी एयरबस खरिद गत चैत्र २५ गते सम्झौता गरेपछि अबको ४० दिन भित्रै पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाउने भएको छ । सम्झौताको ४५ दिन भित्र ८ करोड अमेरिकी डलर अर्थाता ८ अर्ब दिने सहमति भएको निगका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार हाललाई दुईवटा वाइडवडिमध्ये एउटाको चार अर्ब र अर्कोको चार अर्ब गरी आठ अर्ब रुपैयाँ पठाउने भएका छौ । बाँकी रकम अर्को चरणामा पठाउने गरी निगमले तय गरेको छ । यसका लागि निगमले कर्मचारी संचयकोषबाट वार्षिक ९ प्रतिशतका दरले व्याजमा २५ अर्ब रुपैयाँ लिने तयारी भइरहेको छ । सरकारी जमानि आवश्यक भएकोले ऋणको प्रक्रिया अगाडि बढिहरेको छ निर्धारित समयमा नै हामी जहाज दिने कम्पनी एएआरलाई पैसा पठाँउछौ श्रेष्ठले विकास न्युजसँग भने । निगमका महाप्रवन्धक सुगतरत्त कंसाकार र जहाज विक्रेता कम्पनी एएआरका प्रतिनिधि दिपक शर्माले हस्ताक्षर गरिसकेका छन् । निगमले जहाज खरिद गर्ने र एएआरले विक्री गर्ने सम्झौता भैसकेको छ । अबको काम भने पैसा पठाउने मात्रै हो, उनले भने । निगमले दुई वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर २०१६ को आधार मूल्यमा खरिद गर्दैछ । यो मुल्य अनुसार करिब साढे २१ अर्ब रुपैया मात्रै हुनछ । यसका लागि निगमले निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति गरिसकेको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुनेछ । निगम र एएआरबीचको सम्झौता अनुसार निगमलाई दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा हस्तान्तरण गरिनेछ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ । नयाा जहाज आगामी एक वर्षभित्रै आउने छ । नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेवीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गर्ने छ । निगमले जहाज खरिदका लागि बैना रकम १० करोड रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । वाइडडिका पाइलट विदेशीमात्रै निगमले यो वाइडवडि जहाज ल्याएपछि यसलाई उडाउन २ सेटका विदेशी पाइलट हुने भएका छन् । एक सेटमा १४ देखि १५ जना हुने छन् । यसर्थ निगमले ३० जना विदेशी पाइलटबाट जहाज उडाउने भएको छ । निगमका अनुसार नेपाली पाइलट दक्ष नभएसम्म विदेशी नै लिनुपर्छ । अहिले उडानमा रहेको एयरवसको न्यारोवडि जहाजमा पनि विदेशी पाइलटबाटै उडान सुरु गरेको हो । यो जहाज उडानउन अहिले ८ जना नेपाली पाइलट तयार भैसकेको छन् भने विदेशी पाइलट आवश्यक नरहेको पनि निगमले जानकारी दिएको छ । जहाज आएपछि प्रशिक्षक पाइलटका रुपमा पनि विदेशी आवश्यक पर्ने निगमको भनाइ छ । नेपाली दक्ष भएपछि विदेशी कम हुँदै जाने पनि निगमको भनाइ छ ।
सुपथ दरको आवास कर्जा निस्प्रभावी, भूकम्प पीडितको घरको बासमा आशा मात्रै
काठमाडौं । भूकम्प पीतितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्र्तगत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम हो । सरकारी तथ्यांक अनुसार भूकम्पबाट करिब सवा ८ लाख घरमा क्षति पुगेको थियो । तीमध्ये पहिचान भएका घरघुरीो संख्या ६ लाख ३६ हजार रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांक छ । जसमध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्रै निजी आवास पुनर्निमाणका लागि अनुदान सम्झौता भएको छ । कान्तिपुर दैनिकबाट ।
अप्टिकल फाइवर विछ्याउँन स्मार्ट टेलिकम अयोग्य, ६ र ७ प्रदेशका लागि पुनः टेण्डर
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव आव्हान गरेको छ । देशका ७५ वटै जिल्ला सदरमुकाम जोड्ने तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउँन प्राधिकरणले ६ र ७ नं प्रदेशकका लागि एक महिना पहिले सार्वजनिक प्रस्ताव मागेको थियो । यो प्रस्तावबाट कुनैपनि कम्पनी छनोट नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताउनुभयो । यस अघि १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलकमले र ४ र ५ को जिम्मा भने युटीएलले पाइसकेका छ । टेलिकमले करिब पौने ५ अर्ब र युटीएलले २ अर्बमा सूचना महामार्ग बनाउने जिम्मा पाएका छन् । ६ र ७ प्रदेशको लागि करिब पौन चार अर्ब रुपैयाँको सीमााभि रहेर जसले कम कबोल गर्छ उसैलाई छनोट गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यो महामार्गको काम पनि विभिन्न जिल्ला सदरमुकाबाट सो जिल्लाको हरेक सामूदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टेरनेट पुर्याउन भने पुनः प्रस्ताव माग हुने भएको छ । अहिलेसम्म जिल्ला सदरमुकामबाट गाँउसम्म पुर्याउने काममा भूकम्प प्रभावित ११ जिल्ला मात्रै छनोट भएको उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
कर फर्छ्योटका नाममा २१ अर्ब लुट, मिलेमतोमा साढे ३० अर्बमा ९० प्रतिशत छुट
काठमाडौं । सरकारले दुई वर्षअघि कर फर्छ्योटका लागि गठन गरेको कर फर्छ्योट आयोगका पदाधिकारीहरू गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन् । कर फर्छ्योटका नाममा गठन गरेको आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको भेटिएको छ । आयोगका पदाधिकारीले ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँमात्रै असुल्ने निर्णय गरेका हुन् । फर्छ्योटबाट मिनाहा भएको करिब २१ अर्ब रुपैयाँ सोझै अनियमितता भएको छ । महालेखा परीक्षकको कार्यालयले कर फर्छ्योटका नाममा गम्भीर अनियमितता भएको भन्दै थप अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कर फर्छ्योट आयोगका बारेमा छुट्टै छानबिन गरिरहेको छ । ‘प्रारम्भिक रूपमा उजुरीमाथि छानबिन हुँदा कर फर्छ्योटमा प्रशस्त अनियमितता देखियो,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘आयोगका एक महाशाखा प्रमुखको सुपरभिजनमा कर फर्छ्योट आयोगका कामकारबाहीबारे विस्तृत छानबिन भइरहेको छ ।’ अनियमितताको प्रारम्भिक पुस्ट्याइँपछि छानबिन विस्तृत चरणमा हुनेछ । २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फर्छ्योट आयोग गठन गरेका हुन् । चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा महालेखा परीक्षकको कार्यालयमा लामो समय काम गरेका चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । आन्तरिक राजस्व विभागका महानिर्देशकले तोकेको सहसचिव सदस्य सचिव हुने कानुनी व्यवस्था रहेकामा महानिर्देशक चूडामणि शर्माले आफै सदस्य सचिवका रूपमा काम गरेका थिए । आयोगले आर्थिक वर्ष २०६९/७० सम्मको कर बक्यौता फर्छ्योट गर्ने अधिकार पाएको थियो । सरकारले उठाउनुपर्ने तर असुलउपर नभएको राजस्वलाई बक्यौता भएको मानिन्छ । सिद्धान्ततस् अधिकतम ‘बक्यौता’ उठाउन र नाम मात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीहरूले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाममात्रैको बक्यौता उठाएका हुन् । करदाताले समयमै कर नबुझाउँदा लामो समयदेखि बक्यौता रहन्छ । करदाता स्वयंले नबुझाउँदा, सरकारले तोकेको करमा चित्त नबुझाई प्रशासनिक पुनरावलोकन, न्यायाधिकरण र अदालतमा विवादमा पुगेका कारण लामो समयदेखि उठ्नुपर्ने राजस्व बक्यौताको रूपमा रहन्छ । वर्षोदेखिको बक्यौता रहनुभन्दा राज्यले निर्धारण गरेको कर उठोस् भन्ने उद्देश्यले कर फर्छ्योट आयोग गठन गरिन्छ । ‘केही सांकेतिक सहुलियत दिएर लामो समयदेखिको कर उठाउनुपर्नेमा मिलेमतो गरी ठूलो परिमाणको कर मिनाहा गरियो,’ महालेखा परीक्षक कार्यालय स्रोतले भन्यो, ‘राज्यकोषमाथि यो ठूलो लुट हो ।’ आयोगमा १७२६ निवेदन परेकामध्ये १०६९ वटामाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँ बक्यौतामाथि निवेदन परेकोमा ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँमात्रै राज्यकोषमा ल्याउने निर्णय भएको छ । फर्छ्योट भएकोबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । करको हिसाबकिताब मिलेको अर्थात् फर्छ्योट भएको ३० अर्ब ५२ करोड रुपैयाँमध्ये करिब ९ अर्ब ७२ करोड रुपैयाँ मात्र कायम गरी बाँकी आयोग पदाधिकारीले नै अनियमितता गरेको स्रोतले जनायो । त्यो रकम बिना कुनै कारण बक्यौता भएको थियो । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनु स्वाभाविक मानिए पनि बिना कुनै कारण करदाताकै अटेरीले कर नउठ्नु लापरबाही हो । त्यस्तो प्रकृतिको राजस्व उठाउन कठोर रूपमा प्रस्तुत हुनुपर्ने आयोगका पदाधिकारीहरू आफैंले मिनाहा गरिदिएका हुन् । कान्तिपुर दैनिकबाट ।
विदेशमा नेपाली नेपालीबाटै असुरक्षित, आफ्नै साथिको हत्या गर्ने १५ जना जेलमा
काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ । अन्नपूर्ण पोस्टबाट ।
‘रक्सी नखाने प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको प्रतिवद्धता, नयाँवर्षबाट नयाँ अभियान
काठमाडौं । जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएका छन्। नयाँ वर्षको अवसरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवशरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्षु नामक एप्स सार्वजनिक गरेको छ । सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागि बन्नु पर्ने आवस्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए।कार्यक्रममा सहभागि अभिनेतृ मनिषा कोइरालाले आफूले क्यान्सरविरुद्ध संघर्ष गरेकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन्। स्वास्थ्यका लागि घरमै गरिने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताइन्। रक्सीले शरीरका भित्री अंग खराव गरी चाँडै रोगी बनाउछ तर पनि रक्सी खानेको संख्या नघटेकाले यो प्रतिवद्धतामा आफू सहभागि भएको कोइरालाले बताइन्। खुसी हुदाँ, दुख लाग्दा, र फुर्सदको समयमा अरु भन्दा पनि रक्सी खानेको संख्या बढ्दो अवस्था भएको तथ्याङक छ । रक्सी कम्पनीको आकर्षक बिज्ञापन र जनचेतना अभावले वालवालिका देखि बृद्धबृद्धासम्म रक्सी पिउने दिनानु दिन बढ्दो अवस्थामा रहेको स्वास्थ्य संस्थाको तथ्याङक छ। स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष(म स्वस्थ्य, मेरो देश स्वस्थ्यु भन्ने नारा अघि सारेर पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारको अरवौ खर्च बचाउन सकिने बताए। उपचारकै कारण आफ्नो खल्तीबाट धेरै पैसा खर्चने देशमा हाम्रो देश अगाडि भएको बताए। आफ्नो स्वास्थ्यलाई सधै तन्दुरुस्त राखी सुखी जीवन विताउन यो प्रतिवद्धतामा सहभागि हुन समेत सबैलाई मन्त्रीले आग्रह गरे। स्वास्थ्य रहन पाँच प्रतिवद्धताः १. म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न २. म नियमित व्यायाम गर्छु ३. म स्वस्थ्य र पोषिलो खाना खान्छु ४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु ५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।अन्नपूर्ण पोस्टबाट ।