नेपाल ग्रामीण विकास बैंकको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले नयाँ सेयर (एफपीओ) निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँको ९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न उक्त कम्पनीलाई बिक्री प्रवन्धकमा नियुक्त गरेको हो । मंगलबार सम्पन्न एक कार्यक्रमबीच उक्त नियुक्ति सम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतामा नेपाल ग्रामीण विकास बैंकका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा-प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।
२२ हजार घुससहित नापीका सर्वेक्षक पक्राउ
धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ । जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक रामलोचन ठाकुरलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा खटेको टोलीले ठाकुरलाई पक्राउ गरेको हो । गोप्य उजुरीका आधारमा सेवाग्राहीसँग सर्वेक्षक ठाकुरले घुस लिएर काम गर्ने कोठामा गएको समयमा अख्तियारको टोलीले उनलाई खानतलासी गरेपछि रु २२ हजार घुसको रकमसहित रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रहरी उपरीक्षक लम्सालले जानकारी दिए । अख्तियारले विगत केही दिनदेखि मालपोत, नापीलगायत सेवाग्राहीको बढी भीड रहने कार्यालयमा अनुगमन बढाएको छ । विगत केही दिन पहिले मात्र धनुषाको मालपोत कार्यालयबाट एक कर्मचारीलाई अख्तियारले घुससहित पक्राउ गरेको थियो । धनुषाकै नापी कार्यालयबाटै आइतबारमात्र नापी कार्यालयकै अमिन कृष्ण जोशीलाई समेत रु ३० हजार घुसको रकमसहित पक्राउ गरेको थियो । रासस
ओठको श्रृंगारमा १४ करोड ७६ लाख खर्च
काठमाडौं । नुनदेखि सुनसम्म आयात हुने देशमा महिलाको श्रृंगार सामग्री आयात हुनु नौलो कुरा होइन् । तर अचम्म त के छ भने नेपाली महिलाहरुले आफ्नो ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिकै लागि करोडौं रुपैंयाँ बाहिरिएको छ । बर्षेनी दशौं करोड नेपाली मुद्रा महिलाहरुले ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिकाका लागि बाहिरिँदै आएको हो । आर्थिक बर्ष २०७२/७३ मा १४ करोड ७६ लाख रुपैंयाँ मूल्य बराबरको लिपिष्टिक नेपाल भित्रिएको छ । ३३ वटा देशबाट नेपाली महिलाहरुले लगाउने लिपिष्टिक आयात भएको हो । आर्थिक बर्ष २०७१/७२ मा १० करोड ५३ लाख मुल्य बराबरको लिपिष्टिक आयात भएको थियो भने आव २०७०/७१ मा १६ करोड ३० लाखको आयात भएको थियो । गत आवमा ७ करोेड ९ लाखको लिपिष्टिक भारतबाट आयात भएको देखिन्छ भने ४ करोड २० लाखको लिपिष्टिक चीनबाट आयात भएको छ । त्यस्तै, १ करोड, इटालीबाट एक करोड ३४ लाख, जर्मनीबाट एक करोड १९ लाखको लिपिष्टिक आयात भएको छ । यी देशमा बनेको लिपिष्टिक लगाउँछन नेपाली महिला बंगलादेश, ब्राजिल, क्यानाडा, चीन, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, इटाली, जापान, जोर्डन, कोरिया, लिसेीटाइन, लक्जमबर्ग, मलेसिया, मेक्सिको, पाकिस्तान, पोल्याण्ड, रसिया, सिंगापुर, स्पेन, स्विडेन, स्विजरल्याण्ड, ताइवान, थाइल्याण्ड, युएई, बेलायत, अमेरिका र भियतनामा बनेका लिपिष्टिक लगाउँदै आएका छन् ।
हिमालयन जनरलले हकप्रद सेयर निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले १६६ दशमलब ६७ (एक बराबर १.६६६७ को अनुपातमा) हकप्रद जारी गर्ने अनुमति मागेको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ६४ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले चैत २० गते धितोपत्र बोर्डमा निवेदन दिएर एनएमबी क्यापिटल मार्फत ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको हो ।
इँटाको मूल्यमा गिरावट, व्यवसायी मारमा
धनगढी। इँटाको माग घटेर खपत हुन नसकेपछि यस क्षेमा मूल्यमा कमी आएको छ । यससँगै इँटा व्यवसायी मारमा परेका छन् । दुई वर्षअघि प्रतिहजारको रु १३ हजार मूल्य पर्ने इँटा अहिले मूल्य घटेर रु नौ हजारमा बिक्री गर्नुपरेको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाह बताउछन् । “भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको हो,” उनले भने – “भूकम्पकै कारण नयाँ संरचना निर्माणको काम बन्द भएपछि व्यवसाय ठप्प भएको छ ।” व्यवसाय जसोतसो चलाउन र उद्योगमा कार्यरत मजदुरलाई ज्यालासम्म दिन पनि अहिले व्यवसायीले लागत मूल्यमा इँटा बिक्री गर्नुपरेको छ । उत्पादन भएको इँटाको माग घटेपछि यसको बिक्री मूल्यमा निकै कमी आएको अर्का व्यवसायी केशव भट्ट बताउछन् । बैंक तथा वित्तीय संस्थाले घर जग्गा निर्माणमा ऋण दिन बन्द गरेकाले पनि निर्माण कार्य अपेक्षित रुपमा हुन नसक्दा इँटाको खपत घटेको बताइन्छ । बैंकले ऋण प्रवाह बन्द गरेपछि व्यवसाय नै सञ्चालन गर्न कठिन भएको भट्टको भनाइ छ । केही वर्षयता चिम्नी इँटा उद्योग बढ्दै गएसँगै इँटाको उत्पादन परिमाण बढ्दै गएको छ । कैलालीमा मात्रै करिब ४५ वटा चिम्नी इँटा उद्योग रहेको बताइएको छ । यी प्रत्येक उद्योगले वार्षिक ३० लाखदेखि ३५ लाख गोटा इँटा उत्पादन गर्दै आएका छन् । रासस
मेलम्चीबारे लेखा समितिमा जुहारी, सचिवले भने-हावादारी प्रश्न नगर्नुस
काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्न डाकिएको सार्वजनिक लेखा समिति बैठकमा सांसद र सचिवबिच जुहारी चलेको छ । खानेपानी मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायले काम गर्ने कर्मचारीलाई जथाभावी प्रश्न नगर्न भनेपछि बैठकमा तनाब उत्पन्न भएको हो । ‘सबैलाई चोर देख्ने हाम्रो दृष्टिमै दोष छ, हामी काम गर्ने कर्मचारी हौं सबैलाई जवाफ दिँदै हिड्ने काम हाम्रो होइन, दशैंमा पानी आएन भने प्रश्न गर्नुस तर यसरी अहिले नै हावादारी प्रश्न नगर्नुस’, खानेपानी मन्त्रालयका सचिव उपाध्यायले भने । उनले जथाभावी र हावादारी प्रश्न नगर्न भनेपछि सिन्धुपाल्चोकका काँग्रेस सांसद मोहन बस्नेतले ‘अब चैं अति भयो सचिवज्यू’ भने पछि उपाध्याय अलि हच्किएका थिए । सचिव उपाध्यायले थप भावनात्मक हुँदै भने-‘हामी दिन रात घाम पानी नभनी काम गरिरहेका छौं, काम गर्न कति दुःख छ भन्ने हेर्न आजै राती हामीसँग आउनुस, तर यसरी कुरा नबुझी हावादारी प्रश्न नगर्नुस’, उपाध्यायले भने । उनले काठमाडौंमा धुलो नउठाई पाइप बिछ्याउनका लागि १० दिन काठमाडौं बन्द गर्नुपर्ने अवस्था रहेको पनि बताए ।‘तपाइँहरु धुलो उडेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ, के १० दिन काठमाडौं बन्द गरेर काम गर भन्नु भएको हो’, उपाध्यायले सांसदहरुलाई प्रतिप्रश्न गरे । उनले मेलम्ची आयोजना एसियाकै खानेपानी आयोजनामध्ये दोश्रो लामो सुरुङ भएको आयोजना हो भन्दै त्यसको काममा यस्ता बाधा व्यवधान आउनु स्वभाविक रहेको दावी पनि गरे । सचिवले उत्तेजक हुँदै सांसदहरुप्रति आक्रोश पोखे पनि सांसद राजन केसीले उनको प्रस्तुति प्रति आपक्ति जनाए ।‘सचिवज्यु यो मिनी सांसद हो, हाम्रा प्रश्नहरुलाई हावादारी नभन्नुस, हामी जनताका प्रतिनिधी हौं, दशैंमा काठमाडौंमा पानी ल्याउनुस, हामी सम्माना गरौंला’, केसीले भने । उनले मिनी संसदको मानमर्दन गर्ने खालका अभिव्यक्ति नदिन चेतावनी पनि दिए । त्यसपछि फेरी सांसद मोहन बस्नेतले आफुसँग मेलम्चीको अनियमितताको तथ्य र तथ्यांक दुबै रहेको दावी गर्दै सचिवलाई संयमित भएर प्रस्तुत हुन आग्रह गरे ।‘मसँग मेलम्चीको अनियमितताको ठुलै फाइल छ, मेरो अध्ययनले दशैंमा मेलम्चीको पानी काठमाडौं आउने देखाउँदैन, तपाईहरु उल्टै हाम्रो प्रश्न गलत भयो भन्ने’, बस्नेतले कडा स्वरमा भने । त्यस लगत्तै सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्याले हस्तक्षेप गर्दै भने–‘सचिवज्यूको उत्तेजक अभिव्यक्तिले अलि ठिक भएन, विकासको प्राबिधि काम कर्मचारीले गर्ने भए पनि मुल कमाण्ड राजनीतिक नेतृत्वले नै गर्ने हो’, उपाध्यायले भने । उनले पनि मिनी संसदको मर्यादाको ख्याल राख्न भनेका थिए । बैठकमा काँग्रेस सांसद मोहन बस्नेत, राजन केसी र हरि नेपालले मेलम्चीको कार्य प्रगति र वित्तिय सुशासनबारे प्रश्न उठाएका थिए ।
मंगलबारको सेयर बजारमा उतारचढाव, एक अर्ब ६३ करोडको सेयर कारोबार
काठमाडौं । मंगलबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुलेको करिब आधा घण्टामा घटेर १६३५ अंकमा पुगेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिएको छ । बजारमा बन्द हुँदा नेप्से परिसूचक ३ अंकले घटेर १६५६ अंकमा झरेको छ । सो दिनको बजारमा एक अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९० करोड रुपैयाँ घटी हो । सोमबारको बजारमा २ अर्ब ५३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी नेपाल बैंकको १२ करोड ८५ लाख रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ रहेको छ । बजारमा कारोबार भएका तीन समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी चार समूहको परिसूचक ओरालो लागेका छन् । उकालो लाग्नेमा होटल, बीमा र फाइनान्स समूह रहेका छन् । यी तीनको परिसूचक क्रमशः ७७, ९ र २ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक, अन्य समूह र बैंकिङ समूहको परिसूचक क्रमशः ३३, ६.१३, ६.०७ र ३ अंकले ओरालो लागेका छन् ।
नयाँ वर्षमा सिजीको इजी अफर, रेफ्रिजेरेटर र टिभी खरिदमा २० प्रतिशत क्यास ब्याक पाइने
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपाली नयाँ वर्ष २०७४ को अवसरमा ‘सिजीको इजी अफर’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्रगत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टिभी(२२–३२ इन्चको) खरिदमा २० प्रतिशतसम्म महा क्यास ब्याक पाउने कम्पनीले जनाएको छ । साथै, ४के स्मार्ट टिभी, स्मार्ट टिभी , टूरबो टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभन, ५.१ मल्टिमिडिया स्पिकर र ट्रोली स्पिकरको खरिदमा पक्का उपहारहरु पाउन सक्नेछन् । साथै एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । यो योजना २२ चैत्र २०७३ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।