साङयङको ‘ड्राइभ द लक्जरी’ टेस्ट ड्राइभ नबिल बैंकबाट शुरु, गाडी खरिदमा भारी छुट
काठमाडौं । नेपालको लागि कोरियन प्रिमियम गाडी निर्माता साङयङ मोटर्सका एकमात्र आधिकारिक विक्रेता आइएमएस मोटर्सले मंगलबार दरबारमार्ग अवस्थित एनआइबीएल बैंक परिसरमा साङयङ “ड्राइभ द लक्जरी” टेस्ट ड्राइभ कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा सहभागीहरुका लागि साङयङका कोरियन लक्जरी एसयूभीको अनुभव गर्ने अवसर रहेको कम्पनीले जनाएको छ । यस कार्यक्रम सँगै उपत्यकाका अन्य विभिन्न बैंकहरुमा गई टेस्ट ड्राइभ गराउने कम्पनीको योजनाको पनि सुरुवात भएको छ । कम्पनीका अनुसार उक्त कार्यक्रममा सहभागी हुने हरेकलाई कम्पनी टेस्ट ड्राइभ गर्दा आकर्षक उपहारहरुका साथै खरिदमा भारी छुट र एक्स्चेन्ज्मा विशेष डिलहरु समेत प्रदान गरेको थियो । साथै, अन्य आकर्षक अफरहरु जस्तै २ वर्षको वारेण्टी, १ वर्षको निःशुल्क रोड ट्याक्स्, तथा २ वर्षको निःशुल्क सर्भिसिङ्ग रहेको थियो ।
सिटिजन्स बैंकको सहकार्यमा बुद्धिष्ट इकोनोमिक्स वित्तिय साक्षरता कार्यक्रमको आयोजना
काठमाडौं । वित्तिय साक्षरता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहकार्यमा लुम्बिनी बुद्धिष्ट यूनिभरसिटी तथा लुम्बिनी रिसर्च सेन्टर फर अन्डरस्ट्यान्डिङ एण्ड पिसले बुद्धिष्ट इकोनोमिक्समा कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा आयोजित उक्त छलफल कार्यक्रममा प्रोफेसर वल्फग्याङ डिर्चस्लर, चेयर अफ गभरनेन्स याट द रागनर नुर्कसे स्कुल अफ इनोभेसन एण्ड टेक्नोलोजि, इष्टोनियाले बुद्धिष्ट इकोनोमिक्सको बारेमा विषेश जानकारी दिएका थिए । राष्ट्रिय तथा अन्तरराष्ट्रिय बौद्धिक वर्गहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विशेषत सेल्फ सफिसेन्सीमा विचार आदान प्रदान भएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा सहकार्य गरेको जानकारी गराईन्छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको माग उच्च, पहिलो दिनमै २ लाख ३० फारम वितरण
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निश्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपीओ)को माग उच्च देखिएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सञ्चालन अधिकृत कमल नेपालका अनुसार चैत १ गतेसम्म २ लाख ३० हजार आवेदन फारम वितरण भएको छ । ‘आवेदन फारमको माग अत्याधिक रह्यो । आवदेन खुला भएको पहिलोदिन साँझसम्ममा २ लाख ३० हजार फारम वितरण भएको छ । संकलन केन्द्रहरुबाट अनुमान गरेभन्दा बढी फारम माग भएपछि थप फारम प्रिन्ट गर्न अडर गरेको छौं’ नेपालले भने । आश्वा प्रणाली लागू भएकोले निष्काशन तथा बिक्री प्रबन्धले छाप्ने फारमको माग कम होला भन्ने सोचेको तर पहिला भन्दा बढी फारमको माग आएको उनले बताए । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा साधारण सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेको छ । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५८० कित्ता सेयर खरिदको लागि आवेदन गर्न सकिनेछ । चैत १ देखि ४ गतेसम्म सेयर आवदेन गर्न सकिने छ ।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिल केसी नियुक्त भएका छन् । मंगलबार बैंकमै आयोजित एक कार्यक्रममा अध्यक्ष पवनकुमार गोल्याणले केसीलाई पद बहालीको लागि सपथ ग्रहण समेत गराएका छन् । बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको पदमा रही कार्य गर्दै आएका केसी बिगत ८ बर्ष देखि एनएमबि बैंक सँग आवद्ध छन् । २७ वर्षे बैकिङ्ग अनुभव संगालेका केसी बैकिङ्ग क्षेत्रमै सटिक विश्लेषण गर्न सक्ने व्यक्तिका रुपमा चिनिन्छन् । एनएमबि बैंकलाई यो स्थानमा ल्याउनमा केसीको महत्व पुर्ण योगदान रहेको बैंकले जनाएको छ । मंगलबार कार्यकाल सम्हाल्दै केसीले भने-“ बैंकलाई नाफा मात्र नभई हरेक प्रकारले उत्कृष्ट बैंक बनाउने मेरो उद्देश्य रहेको छ । बैंकले आफ्नो रणनीति अनुरुप, नाफा मात्र आधार नबनाई स्थानीय समुदायमा समेत लगानी गर्नेछ तथा आत्मनिर्भर नेपालका लागि सर्मपित रहदै कार्यहरु गर्ने छ । ”
नेप्से परिसूचक ८ अंकले घट्दा ५२ करोडको कारोबार, एनआईबिपीओको मात्रै २१ करोडको सेयर किनबेच
काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक ८ दशमलब १५ अंकले घटेर १३४७ अंकमा झरेको छ । सोमबार ७ अंकले बढेको परिसूचक मंगलबार भने घटेको छ । सोमबारको तुलनामा नेप्सेमा गिरावट आएता पनि सेयर कारोबार रकममा भने सुधार आएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा करिब १७ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । मंगलबार ५२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३७ कम्पनीको ९ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ । कुल ५२ करोडको कारोबार भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक लि. प्रोमोटर सेयर( एनआईबिपीओ) को मात्रै २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोेड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूहको परिसूचक ४ अंकले उकालो लागेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । होटल, बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः २७, ११ र १० अंकले घटेका छन् । बीमा समूहको परिसूचक भने ५ अंकले घटेको छ ।
सेयरधनीको खातामा लाभांश जम्मा गर्नुपर्ने धितोपत्र बोर्ड र राष्ट्र बैंकको निर्देशन पूरै अवज्ञा, मर्चेन्ट बैंकर्स गैरजिम्मेवार बन्दा लाखौँ सेयरधनी मर्कामा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले २०७२ फागुन ६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत सबै कम्पनीहरुको लाभांश सोझै लगानीकर्ताको खातामा जम्मा गरिदिन र लगानीकर्ताले माग गरेअनुसार सेयर नपरेपछिको रकम उनीहरुको खातामा जम्मा गरिदिन सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धकहरु र सम्पूर्ण सूचिकृत कम्पनीहरुलाई निर्देशन दियो । २०७३ भदौ १ गते नेपाल राष्ट्र बैंकले पनि यस्तै निर्देशन दियो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा गरिदिन र सार्वजनिक सेयर निस्कासनमा सेयर बाँडफाँड पछि बाँकी रहेको रकम पनि बैंक खातामा नै जम्मा गरिदिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दियो । ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई प्रदान गर्ने नगद लाभांश सेयरधनीको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ –‘सार्वजनिक निष्कासन (आइपिओ र एफपिओ) को क्रममा धितोपत्र बाँडफाँट पश्चात् लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ । धितोपत्र बोर्ड र राष्ट्र बैंकले मात्र होइन, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि डिम्याट खातासँगै बैंक खाता अद्यावधिक गर्न र लगानीकर्ताले नगद लाभांश आफ्नो बैंक एकाउण्टमै प्राप्त गर्न सबै कम्पनी तथा बिक्री प्रबन्धकलाई निर्देशन दियो । गत पुसमा निर्देशन जारी गर्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड डिम्याट खातामा रहेको व्यक्तिगत विवरण र बैंक खाताको व्यक्तिगत विवरण भने एउटै हुनुपर्ने नीति बनायो । बजारको खेलाडीहरुले नियामक निकायहरुको नीति र निर्देशनको वास्तै गरेनन् । आजै पनि नियामक निकायहरुको निर्देशन अवज्ञा गर्दै नेपाल दूरसञ्चार कम्पनी, यसको निश्काशन तथा बिक्री प्रबन्धक एनएमबी बैंक तथा यस बैंकको सहायक कम्पनी एनएमबी क्यापिटलले दूरसञ्चार कम्पनीको नगद लाभांश बुझ्न पूर्जी लिएर आफै उपस्थिति हुन उर्दी जारी गरेको छ । २६ हजार सेयरधनी मध्ये १० हजार सेयरधनीले मात्र बैंक खाता नम्बर उपलब्ध गराएकोले सेयरधनीको खातामा नगद लाभांश पठाउन नसकिएको नेपाल टेलिकमकी प्रबक्ता प्रतिभा बैद्यले बताइन् । सेयर प्रमाणपत्र वा डिम्याट पत्र प्रमाणित गरि नगद लाभांश लिन आउनु भनेर नेपाल टेलिकमले जारी गरेको सूचनाले आफ्नो ध्यानाकर्षण भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रवतबहादुर कार्कीले बताए । ‘सूचिकृत कम्पनी मध्ये सबैभन्दा ठूलो संस्थाले अरुका लागि पनि अनुकरणीय काम गर्नु पर्ने हो । तर प्रविधिको प्रयोग गर्ने, सेयरधनीलाई सुविधा दिने तथा नियामक निकायले जारी गरेको नीति निर्देशन पालना गर्ने संस्कार विकास नै नभएकोले पुँजी बजारको विकास हुन सकेको छैन’ अध्यक्ष कार्कीले भने । दूरसञ्चार कम्पनीका सेयरधनीको खातामा नगद लाभांश जम्मा नहुनुमा सेयर रजिष्ट्रार एनएमबी बैंक तथा उसको सहायक कम्पनी एनएमबी क्यापिटलको पनि कमजोरी भएको कार्कीले बताए । नियामक निकायको निर्देशन किन पालना गरिदैन ? सम्बन्धित कम्पनीको उच्च व्यवस्थापकहरु किन सेयरधनीलाई सरल सुविधा दिन चाहादैनन् ? विकासन्युजले यो प्रश्न गर्न खोज्दा एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे सम्पर्कमा आउन मानेन् । सोही कम्पनीको रितेश श्रेष्ठले आफू काममा व्यस्त भएको बताए । कम्पनीहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बन्ने, सेयर रजिष्ट्ररको जिम्मेवारी लिने, कम्पनीबाट लिनुपर्ने सबै सेवा सुविधा, कमिशन लिने तर सेयरधनीलाई दिनुपर्ने आधारभूत सेवा पनि नदिने मर्चेन्ट बैंकर्सको भूमिकाले पुँजी बजारको विकासमा अवरोध पुगेको जानकारहरु बताउँछन् । धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था लगायत सबै कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रदान गर्ने नगद लाभांश तथा सार्वजनिक निष्काशनको क्रममा धितोपत्र बाँडफाड पश्चात लगानीकर्ताले माग गरे बमोजिम शेयर प्राप्त गर्न नसकेको खण्डमा त्यस्तो रकम फिर्ता गर्दा समेत लगानीकर्ताले दरखास्त फाराममा उल्लेख गरेको नेपाल क्लियरिङ्ग हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थामा रहेको लगानीकर्ताको आफ्नो खातामा नै जम्मा हुने व्यवस्था गर्न/गराउनका निर्देशन दिएको छ । यो व्यवस्थाले लगानीकर्ताको समय बचत तथा अनावश्यक झन्झटबाट मुक्त हुने भएकोले धितोपत्र बजार प्रति लगानीकर्ताको थप विश्वास बढ्न गई समग्र पुँजीबजारको समयानुकुल विकास तथा सुगमता समेत आउने बोर्डको भनाई थियो । तर बोर्डको निर्देशन पालना भएको छैन । हालै निष्काशन भएको नेपाल लाईफको एफपीओ र फष्ट माइक्रोफाइनान्समा सेयर नपरेपछि आवेदकहरु लामो लाईन बसेर पैसा फिर्ता लिइरहेका छन् ।
पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनःसञ्चालन
डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनः सञ्चालन भएको छ । उक्त विमानस्थल भारी हिमपातका कारण दुई फिटसम्म हिउँ जमेर अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो । यातायातको एक मात्र साधनका रुपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् । विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्री समेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएका छन् । मंगलबार मात्रै तारा एयरलायन्सले नेपालगन्जदेखि एउटा उडान भरेको छ । रासस
सानिमा बैंकले पनि पायो ३० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति, पूँजी करिब ७ अर्ब पुग्ने
काठमाडौं । सानिमा बैंकले पनि ३० प्रतिशत (१० बराबर ३ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले सोमबार नै बैंकलाई १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिबीआईएल क्यापिटलले गरिरहेको बोर्डले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड ५८ रुपैयाँ बढी रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ८९ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।