विकासन्युज

फरक क्षमता भएका व्यक्तिलाई वित्तीय ज्ञानसँग जोड्दै सांग्रिला बैंक

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको बैंकले जनाएको छ । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी व्यवस्थापन, बचत, वित्तीय सुरक्षा, बैंकिङ कारोबार, डिजिटल साक्षरता, स्मार्ट मनि, लगानी, प्रतिफल तथा जोखिम व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सांकेतिक भाषा दोभाषे उमा पौडेल र प्रकाश महर्जनले सहजीकरण गरेका थिए । कार्यक्रमको समापनमा राष्ट्रिय वहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कार्यक्रम निकै उपयोगी भएको उल्लेख गर्दै आर्थिक क्षेत्रसम्बन्धी विभिन्न तालिम सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरिरहेको जानकारी दिए । सांग्रिला डेभलपमेन्ट बैंकले आम नागरिकको विश्वासका आधारमा हाल देशभर १०९ शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।   

काम नगरेपछि ठेकेदारको गाडी कब्जामा, अस्पताल निर्माण अझै अलपत्र

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो ।  आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगरप्रमुख विमला राईले जानकारी दिए । '२०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन,' उनले भने, 'काममा निरन्तरता नदेखिएको तथा पटक–पटक लिखित एवम् मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कब्जामा लिएको हो । गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ ।' नगरप्रमुख राईले चैत ८ गते चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएका थिए । अस्पताल भवन निर्माणको काममा सुरुबाटै ढिलासुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारलाई नगरपालिकाले यही चैत १२ गतेदेखि पुनः सुरु गराउने लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ ।      यही चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेन्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । प्रतिबद्धताअनुसार काम नगरे नियमानुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागजमा हस्ताक्षर गराइएको उनको भनाई छ ।       ठेकेदारलाई पटक–पटक फोन गर्दा नउठाएपछि नगरप्रमुख राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिष्ट’मा राख्ने मेसेज पठाएपछि निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आउनुभएको थियो । नमूना/हिमालयन जेभीले विसं २०८० साउन ८ गतेसम्ममा काम सम्पन्न गर्नेगरी विसं २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा पनि अस्पतालको भवन जगभन्दा माथि उठ्न सकेको छैन ।      भवन निर्माण योजना सुरु गरेपछि ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट रु चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी लिएका थिए । भुक्तानी लिएपछि भवन निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क विहीन भएका थिए । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले बताउँदै आएको छ ।      नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐँसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो ।      हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार २०७७ मङ्सिर १५ गते जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो ।       हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा मङ्सिर १५ गते तथा केपिलासगढीमा मङ्सिर २३ गते शिलान्यास गरिएको थियो भने साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’को प्रतिबद्धताअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो ।       दश स्थानीय तह रहेको जिल्लामा वर्षदिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा २०७८ सालमा योजना परेको हो ।      दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्षदिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा २०७८ सालमा योजना परेको हो ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । २०४९ वैशाख १ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको छ । रासस  

मलाई उपाध्यक्षमा निर्वाचित गराउनुहोस्, पद दोहोर्याउँदिनँ : प्रवलजंग पाण्डे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएटतर्फका उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डेले दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको सुनाउँदै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर निजी क्षेत्रमैत्री नीति बनाउन आवश्यक रहेको बताए ।  उनले विदेशिँदै गरेका युवाको भीड रोक्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको सुनाए ।  उनले आफू उपाध्यक्षमा निर्वाचित भए दोस्रो पटक नदोहोर्याउने पनि प्रतिबद्धता गरे ।

महासंघको नेतृत्व अनुभवी व्यवसायीले गर्नुपर्ने बेला आयो : उपाध्यक्षका उम्मेदवार शर्मा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरको उपाध्यक्षका उम्मेदवार कृष्णप्रसाद शर्माले महासंघलाई बनाउन अनुभवी व्यवसायीको आवश्यकता भएको बताएका छन् । आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो अनुभव र क्षमताको प्रयोग महासंघमा प्रयोग गर्न चाहेको सुनाए । ‘दुई कार्यकाल लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीको नेतृत्व गरें, अब महासंघको पदाधिकारीमा रहेर काम गर्न चाहन्छु, व्यवसायीहरू स्थानीय सरकारसँगको समन्वयमा अर्थतन्त्र बलियो हुन्छ,’ उनले भने,  ‘त्यो समन्वय गर्न हाम्रो टिमले सक्छ ।’ एकीकृत कर व्यवस्थाका लागि पनि काम गर्न आवश्यक रहेको सुनाउँदै अबको नेतृत्वले त्यो विषयमा लबिङ गर्न आवश्यक रहेको सुनाए ।

जिल्लानगर उपाध्यक्षका उम्मेदवार श्रेष्ठ भन्छन्- अध्यक्षले सबै व्यवसायीको फोन उठाउने वातावरण निर्माण गर्छु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठले जिल्ला नगरको समस्या समाधानका लागि आफू लागि पर्ने बताए ।  उनले कतिपय संघहरू आर्थिक समस्यामा रहेको बताउँदै तिनको सबलीकरणका लागि आफू लागि पर्ने बताए ।  उनले स्थानीय र प्रादेशिक सरकारसँग समन्वय गरेर व्यवसायीको क्षमता विकासमा काम गर्ने बताए । जिल्ला नगरको समस्या नेतृत्वमा पुर्याएर समाधान गर्नेगरी काम गर्ने बताए । अधिकांश व्यवसायीले नेतृत्वले फोन नउठाउने गुनासो गरेको उल्लेख गर्दै अब आउने अध्यक्ष अञ्जन श्रेष्ठको फोन उठ्ने वातावरण आफूले मिलाउने बताए ।  ‘म सधैं व्यवसायीको साथमा छु, अझै सशक्त भएर काम गर्न चाहन्छु, मलाई विश्वास गर्नुहुने विश्वास छु,’ उनले भने।

महासंघको वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शिव घिमिरेले भने– म लिन होइन, दिन जाँदैछु

काठमाडौं । वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघलाई शक्तिकेन्द्रका रूपमा विकास गरी काम गर्ने बताएका छन् ।  सोमबार महासंघको वस्तुगत उपाध्यक्षतर्फको उम्मेदवारी घोषणा गर्दै उनले अहिले महासंघ कमजोर बनेको र अब शक्तिशाली बनाएर अगाडि बढ्ने योजना रहेको सुनाए । व्यवसायीहरूले नै महासंघप्रति गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले महासंघ आज निर्णायक मोडमा रहेको बताए।  ‘महासंघ कमजोर बन्दै गएको छ, नीतिगत लबिङमा कमजोर बनेको महसुस व्यवसायीलाई भएको छ,’ उनले भने, ‘म अब मानक बनाएर काम गर्छु, महासंघबाट लिन होइन, दिन आएको छु । उनले अञ्जन श्रेष्ठको नेतृत्वमा अब्बल काम गर्ने उद्देश्यसहित उपाध्यक्षको उम्मेदवारी दिएको बताउँदै आफूले पदभन्दा पनि महासंघको प्रतिष्ठाको लागि संकल्प गर्दै अगाडि बढ्ने बताए । नेतृत्वले कुरामात्रै नभई ठोस काम र निर्णय दिने बताए । नीतिगत तहमा महासंघको अनिवार्य सहभागिता देखाएर युवा उद्यमी सहभागिता बढाउने, प्रविधिको विस्तार, प्रतिस्पर्धी, कर नीति सुधार गर्दै समग्र उद्योगी व्यवसायीको समान सहभागितामा काम गर्ने उल्लेख गरे ।

१ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भई हाल ललितपुर महानगरपालिका–१३ एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले तथा सर्लाही ईश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२५ नख्खु बस्ने ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् । हुण्डी तथा अभौतिक मुद्रा सम्बन्धी अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले दिप्ती पोखरेल र प्रवेश अलीका लागि यूएसडीटी खरिद–बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले दिप्ती पोखरेललाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहन पुलबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको थियो भने प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रवेश अलीले मोबाइलमार्फत बाइनान्स आईडी प्रयोग गरी हालसम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रुपैयाँ ४ पैसा बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।   

देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै कामना सेवा विकास बैंक

काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनी वीक’ प्रत्येक वर्ष अर्गनाइजेसन फर इकोनोमिकको–अपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा मार्च महिनामा मनाइने गरिन्छ। यस वर्ष उक्त सप्ताह मार्च १७ देखि २३ सम्म सञ्चालन गरिएको थियो । यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशभर प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्दै १ हजार भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ । कार्यक्रममा साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने तरिका, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीबारे जानकारी प्रदान गरिएको थियो । साथै, बढ्दो डिजिटल ठगीका घटनालाई मध्यनजर गर्दै बैंकले सूचना प्रविधि (आईटी) सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियानसमेत सञ्चालन गरेको जनाएको छ । अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्री प्रसारण गरिएको थियो, जसले वित्तीय सुरक्षासम्बन्धी सन्देश समुदायस्तरसम्म पुर्‍याउन सहयोग पुगेको बैंकले जनाएको छ । त्यसैगरी बैंकले सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास, बचत तथा लगानी व्यवस्थापन, बजेट समायोजन, आकस्मिक अवस्थाका लागि कोष व्यवस्थापन, डिजिटल कारोबार गर्दा हुने गल्ती तथा अनलाइन ठगीबाट बच्ने उपायसम्बन्धी जानकारी पनि प्रदान गरेको छ । सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सन्देशसहित प्रभातफेरी कार्यक्रमसमेत सञ्चालन गरिएको बैंकले जनाएको छ।  कामना सेवा विकास बैंकले ग्लोबल मनी वीक २०२६ अन्तर्गत सञ्चालन गरिएका सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।