विकासन्युज

एक बर्षभित्रै देशै भरका पुलहरुको बिमा गराउन निर्देशन

काठमाडौं । एक बर्षभित्रै देशभरका पुलहरुको बीमा हुने भएको छ । व्यवस्थापिका संसदको विकास समितिले पुल तथा अन्य भौतिक संरचनाहरुको एक बर्षभित्रै बीमा गराउन निर्देशन दिएको हो । ‘राष्ट्रिय यातायात सञ्जालका लागि महत्वपूर्ण पुलहरु तथा अन्य भौतिक पूर्वाधारहरुको बीमा १ वर्षभित्र गराइ सक्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई निर्देश गर्दछ ।’ समितिको निर्देशनमा भनिएको छ । सडक विभागका अनुसार हाल देशभर २ हजार पुल सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र करिब तीन हजार पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउनेछन् । पुलहरुको दिर्घ जिवन र लगानीको उचित प्रतिफल वितरणका लागि पनि बीमा अनिवार्य रहेको समितिको ठहर छ । समितिको बैठकमा सांसदहरुले हावाले उडाउने कस्तो पुल बनाएको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई र्याख र्याख्ती पारेका थिए । पुलनहरु निर्माणकै चरणमा भत्किने, पुल निर्माण भैसकेपछि नदिले धार परिवर्तन गरेर अन्यत्रै जाने लगायतका समस्यहरुको दिर्घकालिन समाधान खोज्न पनि समितिले निर्देशन दिएको छ । ‘बाढिले पुल बगाउनुलाई स्वभाविक भन्न सकिएला तर हावाले टेको खस्दा निर्माणाधीन पुल खस्नु, बनाउँदा बनाउँदै संरचनागत समस्या सृजना हुनु, पुल पनि बनिसक्नु अनि खोलाले अन्यत्रै धार परिवर्तन गर्नुलाई के भन्ने ?’ सांसदहरुले उठाएका प्रश्नहरुलाई सस्ंलेषण गर्दै विकास समितिले आफ्नो निर्देशनमा भनेको छ । समितिले आगामी ५० बर्षसम्मको सवारी चापलाई धान्ने गरि पुलहरुको निर्माण गर्न पनि भनेको छ । त्यस्तै, नगरेर कालो सूचिमा राखिएका निर्माण व्यवसायीको सूचि एक हप्ता भित्रै उपलब्ध गराउन पनि समितिले सडक विभागलाई निर्देशन दिएको छ ।

सिङ्गापुरको एक विमानस्थलद्धारा एक वर्षमा ५ करोड ८७ लाख हवाई यात्रुलाई सेवा

सिङ्गापुर, १७ माघ । सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक ५ करोड ८७  लाख हवाई यात्रुलाई सेवा पुर्याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ओसिनियाली राष्ट्रतर्फ प्रस्थान गर्ने वा त्यहाँबाट आवागमन गर्ने यात्रु मात्रै ९० प्रतिशत रहेका छन् । चाङ्गि विमानस्थलबाट आवागमन गर्ने यात्रु सङ्ख्याका हिसाबले चीन पाँचौँ स्थानमा रहेकोमा गतवर्ष चिनियाँ यात्रु सङख्यामा पन्ध्र प्रतिशतले वृद्धि भई चीन तेस्रो स्थानमा उक्लेको छ । यात्रु सङ्ख्याका हिसाबले चाङ्गि विमानस्थलबाट आवागमन गर्नेमा इन्डोनेसिया प्रथम र मलेसिया द्वितीय स्थानमा रहेका छन् । त्यस्तै, यात्रु ब्यागेजबाहेक चाङ्गि विमानस्थलबाट सरसामान, कार्गो ओसारपसार परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको जनाइएको छ । सरसामान कार्गोको आयात, निर्यात तथा ट्रान्ससिपमेन्टमा पनि सन् २०१५ को तुलनामा ६ प्रतिशत भन्दा बढीले वृद्धि भई सन् २०१६ मा १९ लाख सत्तरी हजार मेट्रिक टन रहेको जनाइएको छ । चाङ्गि विमानस्थलले सन् २०१६ का लागि प्रक्षेपण गरेको लक्ष भन्दा धेरै बढी प्रगति गरी सुखद रेकर्ड कायम गर्न सफल भएकोमा चाङ्गि विमानस्थल समूहका प्रमुख कार्यकारी अधिकृत ली सिओ हायाङ्ग निकै उत्साहित छन् । चीन र भारतलगायत दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका कतिपय विमान कम्पनीले आफ्ना यात्रुलाई पश्चिमी युरोप र सुदूर पूर्वी एसियाका लामा लामा गन्तव्य तर्फ आवागमन गराउने प्रमुख केन्द्र ९हब० चाङ्गि विमानस्थललाई नै रोज्नाले यस विमानस्थलको भविष्य अझै उज्ज्वल रहेको प्रमुख कार्यकारी अधिकृत ली बताउँछन् । अन्तर्राष्ट्रिय हवाई यातायात सम्बन्धी सन् २०१५ को तथ्याङ्कलाई आधार मान्दा विश्वका प्रमुख तथा अति व्यस्त विमानस्थलमध्ये सिङ्गापुरको चाङ्गि विमानस्थल छैठौंँ स्थानमा पर्छ । हाल यस विमानस्थलले तीन वटा अति विशाल टर्मिनल र अनगिन्ती धावनमार्गबाट सेवा उपलब्ध गराइरहेको छ । एउटा टर्मिनल निर्माणाधीन रहेकोमा चालु वर्षको मध्यतिर निर्माणकार्य सम्पन्न ईै चौँथो टर्मिनलबाट पनि सेवा प्रदान गरिने जनाइएको छ । रासस /सिन्ह्वा

मेलम्चीको पाइप बिच्छ्याउने काम तीव्रगतिमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकामा खानेपानीको पाइप गाड्ने काम तीव्र गतिमा अगाडि बढेको छ । मेलम्चीको खानेपानी उपत्यकावासीको घरघरमा पुर्याउने जिम्मा पाएको मेलम्ची खानेपानी आयोजना-२ आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक ५० स्थानमा पाइप विच्छ्याउने काम गरिरहेको छ । निर्देशनालयका प्रबन्धक नन्दबहादुर खनालले काठमाडौं उपत्यकाका भित्री सडकमा ६७० किलोमिटर पाइप बिच्छ्याउने भएपनि हालसम्म ५३० किलोमिटर पाइप बिच्छ्याइ सकिएको जानकारी दिए । उनले भने, “दैनिक एकहजार २०० देखि एकहजार ३०० कामदारले पाइप बिच्छ्याउने काम गरिरहेका छन् । निर्देशनालयले अहिले नयाँ सडक, नयाँ बानेश्वर, ठमेल, मङ्गलबजार, वाग्मती किनारालगायतका स्थानमा काम भइरहेको जनाएको छ भने खुशीबु, कालीमाटी, बल्खु, कुलेश्वरलगायतका स्थानमा काम नै शुरु भएको छैन । मेलम्चीबाट टनेल हुँदै सुन्दरीजल आउने पानी त्यहाँ प्रशोधन भइसकेपछि उपत्यकाका ११ वटा मुख्य ट्याङ्कीमा बाँडेर घरघरमा पुर्याउने काम गरिन्छ । मुख्य ११ स्थानमा पुर्याउन मुख्य लाइन ६१ किमी खन्नुपर्ने भएपनि हालसम्म मुख्य लाइन ३८ किमी मात्र सकिएको खनालले बताए । रासस

द्वन्द्वपीडित किसानलाई अनुदान दिइने, प्रतिकिसान ४० हजार रुपैयाँ अनुदान

रोल्पा । सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम शुरु भएको छ । हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान ४० हजार रुपैयाँका दरले अनुदान दिनेगरी कार्यक्रम अगाडि बढेको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । किसान छनोटका लागि आह्वान गरिएको सूचनामा रोल्पाका ६० जना द्वन्द्वपीडित किसानले निवेदन दिएकामा ती निवेदनमाथि स्थलगत अनुगमन गरी २२ जना मात्र छनोट गरिने जानकारी दिँदै छनोटका विभिन्न १० आधार तय गरिएको र सोही आधारमा जिल्ला कृषि विकास समितिले छनोट गर्ने उनले बताए । कम्तीमा दुई रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गर्ने किसान छनोट गरी अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय रोल्पाले जनाएको छ । रासस

सार्क कार्यक्रम समितिको बैठक शुरु, बैठकमा आगामी वर्षको बजेटको विषयमा छलफल हुने

काठमाडौं, १९ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक बुधबार शुरु भएको छ । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन् । सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गरेको हो । सार्क सचिवालयको सक्रियतामा भएको उक्त बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र। विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन् । गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुनेछ । रासस

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १५औँ वार्षिक साधारणसभा फागुन २७ गते

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले फागुन २७ गतेको लागि १५औँ वार्षिक साधारणसभा बोलाएको छ । माघ १८ गते सम्पन्न कम्पनीको १६५औँ सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ६४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१२ बाणिज्य बैंकको नाफा तीन अर्ब ११ करोडले बढ्यो, ६ महिनामा कमाए ८ अर्ब ७० करोड

काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १२ वटा बाणिज्य बैंकहरुको नाफा ३ अर्ब ११ करोडले वृद्धि भएको छ । पुस मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेका १२ वटा बाणिज्य बैंकहरुको नाफा ३ अर्ब ११ करोड ४१ लाखले वृद्धि भएको हो । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा जम्मा ५ अर्ब ५९ करोड ८ लाख नाफा कमाउन सफल यी बैंकहरुले चालु आवको सोही अवधीमा भने ८ अर्ब ७० करोड ४९ लाख नाफा कमाउन सफल भएका हुन् । पुस मसन्तसम्मको वित्तिय विवरण प्रकाशित गरेका १२ बैंक मध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै नाफा कमाएको छ भने सबै भन्दा थोरै सेञ्चुरी बैंकको नाफा छ । धेरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा प्रभु बैंक छ भने तेश्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । थोरै नाफा कमाउने बैंकको दोश्रो नम्बरमा मेगा बैंक परेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पुस मसान्तसम्म्मा एक अर्ब ६४ करोड नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले एक अर्ब ७ करोड नाफा आर्जन गरेको थियो । गत आवको ६ महिनामा ४० करोड ५ लाख नाफा कमाएको प्रभु बैंकले चालु आवको सोही अवधीमा एक अर्ब ११ करोड नाफा कमाएको छ । बैंकको नाफामा राइट ब्याकको हिस्सा ठुलो रहेको देखिन्छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ९१ करोड ७७ लाख नाफा कमाएको छ । गत आवमा बैंकले ७६ करोड २७ लाख नाफा कमाएको थियो । सेञ्चरी कमर्सियल बैंकले २२ करोड ३९ लाख नाफा कमाएको छ । जबकी बैंकले गत आवको सोही अवधीमा पनि जम्मा १६ करोड ६ लाख नाफा कमाएको थियो । सानिमा बैंकले आफ्नो नाफा ४० करोड ८० लाखबाट बढाएर ६६ करोड २५ लाख पुर्याउन सफल भएको छ । नेपाल बंगलादेश बैंकले आफ्नो नाफा ३६ करोड ८५ लाखबाट वृद्धि गरेर ५४ करोड ६ लाख पुर्याएको छ । मेगा बैंकले पुस मसान्तसम्ममा ३७ करोेड ९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा २२ करोड ३५ लाख नाफा कमाउन सकेको थियो । | प्राइम कमर्सियल बैंकले ६ महिनामा ५५ करोड ९७ लाख कमाएको छ । गत आवको सोही अवधीमा बैंकले जम्मा ४६ करोड ९२ लाख नाफा कमाउन सफल भएको थियो । सिद्धार्थ बैंकले ७४ करोड ९४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले जम्मा ४८ करोड ७४ लाख मात्रै नाफा गरेको थियो । एनआइसी एसिया बैंकले ७२ करोड १४ लाख नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा ५० करोड २० लाख नाफा कमाएको थियो । सिटिजन्स बैंकले ६० करोड ७६ लाख नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तसम्ममा जम्मा ४१ करोड ८४ लाख नाफा कमाएको थियो । बैंक अफ काठमाण्डु लुम्बिनीले ६ महिनामा ६० करोड १४ लाख नाफा कमाएको छ । जबकी गत आवको सोही अवधीमा बैंकले जम्मा ३२ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

दैनिक २० किलो सुन आपूर्ति सम्बन्धि निर्णय कार्यान्वयनमा आएन, विवाहको सिजनमा बजारमा सुनको हाहाकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुनको कोटा बढाउने निर्णय गरेपनि बजारमा सुनको अभाव हटेको छैन । राष्ट्र बैंकले सुन बढाउने मौखिक प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा नल्याएकोले सुनको अभाव कायम रहेको सुन व्यवसायी बताउछन् । ‘उहाँहरुले सुनको कोटा बढाउछु भनेर मुखले मात्र भन्नु भएको हो । हामीले कुनै लिखित प्रतिबद्धता पाएका छैनौ’, नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले विकासन्युजसँग भने, ‘उहाँहरु एकरदुई दिनमा बढाइदिन्छौं भन्नुहुन्छ । यो निर्णय कार्यन्यवन हुँदासम्म हाम्रो सिजन अफ हुने आशंका छ ।’ नेपाल राष्ट्र बैंकले भने सुनको कोटा बढाउने निर्णय छिटै कार्यान्यवन गर्ने बताएको छ । दुईर तीन दिनमा सुनको कोटा बढाउने बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले आइतबार सुनको आपूर्ति कोटा पाँच किलो बढाउने निर्णय गरेका थियौं । अब दुईर तीन दिनमा सुनको दैनिक २० किलो सुन आपूर्ति हुन्छ ।’ यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई दैनिक १५ किलो सुन आयात गर्ने मात्र अनुमति दिएको थियो । विवाहको सिजनमा सुनको माग अत्याधिक बढेर कालोबजारी बढेपछि नेपाल राष्ट्र बैंकले नियमित कोटामध्ये पाँच किलो बृद्धि गरेको हो । महासंघको तथ्यांक अनुसार मुलुकभर २३ हजार वटा सुन पसलहरू छन् । दैनिक १५ किलो सुनले बजारको माग पुरा गर्न नसकेको उनले बताए । यो वर्ष माघ र फागुनमा बिहेको लगन बढिभएकाले सुनको माग अत्याधिक भएको शाक्यले बताए । सुनको माग ४५ किलो भन्दा बढी नाघेको उनले जानकारी दिए । उनका अनुसार सुनको माग अनुसार आपूर्ति नहुँदा कालोबजारीले प्रशय पाएको छ । उनले भने,-बिहेमा सुन अत्यवाश्यक हुँदा गरगहनाका लागि उपभोक्ता पर्खेर बस्ने अवस्था हुँदैन । दुई तीन हजार रुपैयाँ बढि तिरेर पनि व्यवसायीले काम चलाएको अवस्था छ । अत्याधिक मागमा सुनको सहज आपूर्ति नभएपछि केहि सुनपसलहरु बन्द भएका छन् । शाक्यका अनुसार रुपन्देही र घोराहीमा सुन पसलहरु ठप्प छन् । उनले भने, ‘यस्तो अभावमा पनि सुनको आपूर्ति नभएपछि व्यवसायी पसल बन्द गर्न बाध्य छन् ।’ तस्करी नियन्त्रणको प्रभाव गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा विहारिएको ३३ किलो सुन पक्राउ परेको थियो । तस्करीको सुन नियन्त्रणमा पर्न थालेपछि बजारमा सुनको अभाव देखापरेको छ । सिजनमा दैनिक ४५ किलो भन्दा बढी माग रहेको सुन बजार औपचारिक च्यानलबाट मात्र धान्न मुश्किल रहेको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘सुनको आपूर्ति निकै अपुग छ । अभाव बढेपछि अपराध बढ्नु स्वाभाविक हो ।’ ,उनले भने, ‘जहासम्म सरकारले तस्करी नियन्त्रण गरिरहेको छ । तस्करी नियन्त्रणसँगै सहज आपूर्ति पनि गर्नु जरुरी छ ।’ काँचो सुनमा प्रतिबन्ध सरकारले तस्करी नियन्त्रणका लागि साउन १ गतेदेखि विदेशबाट ५० ग्राम सुन ल्याउन काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको थियो । यसले गर्दापनि सुनको अभाव बढेको शाक्यले बताए । उनले भने, ‘पहिला विदेशबाट फर्कनेहरुले ल्याउने गरेका सुनका कारण पनि केहि माग धानेको थियो । तर काचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि सुनको अभाव बढेको हो ।’