सेयर बजार ३० प्रतिशतले घट्दा जलविद्युत कम्पनीका सेयरधनीले गुमाए ४४ प्रतिशत, बीमाका लगानीकर्ताकाे ४० प्रतिशत गुम्यो, बैकिङ समूह बढी सुरक्षित
काठमाडौं । गत साता ९० अंकले घटेको सेयर सोमबार ६५ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक नेप्से १३०९ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले घटेको छ । सोमबार मात्र होइन, सेयर बजारमा मन्दी शुरु भएदेखि नै बीमा कम्पनीका सेयरधनीले बढी गुमाउँदै आएका छन् । गत असारमा नेप्से परिसूचक १८८१ पुगेको थियो । सात महिना यता नेप्से ५७२ अंकले घटेको छ । यस अवधिमा बीमा समूहको परिसूचक ९ हजार ५५३ बाट ५ हजार ७३७ अंकमा झरेको छ । समग्रमा बजार करिब ३० प्रतिशतले घट्दा बीमा समूहको परिसूचक ४० प्रतिशतले घटेको छ । गत असारमा ४ हजार ५९६ रुपैयाँमा कारोबार भएको नेपाल लाईफको सेयर सोमबार २२५५ रुपैयाँमा झरेको छ । गत कात्तिकमा प्रतिकित्ता ४३ सयमा कारोबार भएको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १७५५ रुपैयाँमा झरेको छ । गत जेठमा प्रतिकित्ता २९९९ रुपैयाँमा कारोबार भएको सगरमाथा इन्स्योरेन्स कम्पनी सेयर मूल्य ९०९ रुपैयाँमा झरेको छ । असोजमा २१९४ रुपैयाँमा कारोबार भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२९२ रुपैयाँमा झरेको छ । असारमा २५०० रुपैयाँमा कारोबार भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११५७ रुपैयाँमा झरेको छ । गत असारमा २४९५ रुपैयाँमा कारोबार भएको प्राइम लाईफ इन्स्योरेन्सको सेयर १३०० रुपैयाँमा झरेको छ । बढ्दा पनि बीमा कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी २ देखि ५ अर्ब बनाउन कानुन मै उल्लेख गर्ने प्रस्ताव गरेको आधारमा यो क्षेत्रमा सेयर मूल्य उच्च दरमा बढेको थियो । बीमा समितिको अध्यक्ष परिवर्तनसँगै बीमा कम्पनीहरुको व्यापार विस्तार र पुँजी विस्तार सन्तुलित बनाउने सन्देश प्रकाशमा आईरहेको छ । साथै, बीमा कम्पनीहरुको लाइसेन्स खुला गर्ने संकेतहरु बीमा समितिबाट प्रकट भएको छ । बीमा कम्पनीको सेयर किन्नेले भन्दा बढी जलविद्युत कम्पनीका सेयरधनीले बढी गुमाएका छन् । जलविद्युत कम्पनी समूहले परिसूचक २७६९ बाट १५४७ मा झरेको छ । समग्र बजार ३० प्रतिशतले यो समूहका लगानीकर्ताले ४४ प्रतिशत लगानी गुमाएका छन् । अपि पावरको सेयर ८८० रुपैयाँबाट ३३८ रुपैयाँमा झरेको छ जुन ६१ प्रतिशतले गिरावट हो । अरुण भ्यालीको सेयर ४५८ रुपैयाँबाट २१८ रुपैयाँमा झरेको छ । बुटवल पावरको ९९० रुपैयाँबाट ५०० रुपैयाँमा झरेको छ । चिलिमेको १५३० बाट ७८१ रुपैयाँमा झरेको छ । सानिमा माईको सेयर ११२२ रुपैयाँबाट ७७१ रुपैयाँमा झरेको छ । नेप्से परिसूचक ३० प्रतिशतले खुम्चिदा बाणिज्य बैंक समूह २९ प्रतिशतले, विकास बैंक समूह २८ प्रतिशतले, फाइनान्स कम्पनी समूहको परिसूचक ३१ अंकले घटेको छ । नेपाल टेलिकमको सेयर मूल्यमा सबैभन्दा बढी स्थायित्व देखिएको छ । कम्पनीको सेयर मूल्य बढीमा ७२० र घटीमा ६५० रुपैयाँ देखिएको छ ।
सनराइज बैंकको इलाम शाखा स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको उद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका छन् । बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फागुन १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकका मुलुकभरे ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।
काठमाडौं टावरका निर्माता मनोज कुमार भेटवाल कालो सूचिमा, काम नगरे सम्झौता रद्ध गर्छौः महानगरपालिका
काठमाडौं, ३ माघ । काठमाडौंको पुरानो बस पार्कमा २९ तल्ले काठमाडौं टावर निर्माण गर्ने कम्पनीका प्रमुख लगानी कर्ता हुन मनोज कुमार भेटवाल । भेटवालको अगुवाईमा तयार भएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले सार्वजनिक निजी साझेदारीको मोडलमा एक अर्ब ८७ करोड लगानी गरेर काठमाडौं टावरको निर्माण आरम्भ गरेको छ । कर्जा सूचना केन्द्रले निकालेको कालो सूचि तर यति ठुलो लगानीमा टावर निर्माण आरम्भ गरेका भेटवाल भने बैंकको ऋण तिर्न नसकेर कालो सूचिमा परेका व्यक्ति हुन् । भेटवाल सञ्चालक रहेको इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालीले एनआइसी एसिया बैंकबाट लिएको कर्जा तिर्न नसकेपछि बैंकले उनीहरुलाई कालोसूचिमा राखेर धितो लिलामीको सार्वजनिक सूचना निकालेको हो । एनआइसी एसिया बैंकले मनोज कुमार भेटवाल, पारसमणी बराल र पर्शुराम खनालले जमिन धितो राखेर लिएको कर्जा तिर्न नसकेपछि धितो राखिएको जमिन र कम्पनीको चल अचल सम्पति लिलामीको गरेको हो । कर्जा सूचना केन्द्रले भेटवालसहितका अन्य दुबै सञ्चालकलाई २०७३ मंसिर ३ गते नै कालोसूचिमा राखेको छ । उनीहरुले बैंकमा धितो राखेको काठमाडौं महानगरपालिका वडा नम्बर ३४ को कित्ता नम्बर ३१२ र ३११ मा रहेको १–०–०–० रोपनी जमिन र त्यसमा बनेको घर तथा ०–१–२–० रोपनी जमिन र त्यसमा बनेको घर लिलामी गरेको हो । ती दुबै जमिन तथा घर रिता शर्मा अधिकारीको नाममा रहेको थियो । इन्नोभेटिभ कन्सेप्टका लागि ऋण लिँदा अधिकारीले व्यक्तिगत जमानी बसेर आफ्नो जमिन धितोमा राखेकी थिइन् । के भन्छ महानगरपालिका ? काठमाडौं महानगर पालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले काम गर्न नसके सम्झौता रद्ध गर्ने चेतावनी दिए । उनले भने–काठमाडौं टावर बनाउने सम्झौता गर्दा ऊ कालो सूचिमा परेको थिएन, अहिले कालो सूचिमा परेछ, काम गर्न सकेन भने सम्झौता रद्ध हुन्छ ।’ उनले सम्झौता रद्ध हुँदा पनि महानगरपालिकालाई कुनै घाटा भने नहुने दावी गरे । ‘सम्झौता रद्ध गर्दा पनि हामीलाई घाटा हुने अवस्था छैन, लगानी जुटाउन नसकेर काम अघि बढेन भने सम्झौता रद्ध गर्छाै’, कार्कीले विकासन्युजसँग भने । भेटवाल नेतृत्वको कम्पनीले काठमाडौं टावर निर्माण आरम्भ गर्ने भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारेका थिए । हाल बस पार्कमा स्काभेटरले खन्ने काम गरिरहेको छ भने केहि टिप बालुवा पनि झारिएको देख्न सकिन्छ । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिसँग सार्वजनिक निजी साझेदारीको मोडलमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ साल कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनले टावरको शिलान्यास गरेका थिए । के छ सम्झौतामा ? पुरानो बसपार्कले चर्चेको २३ रोपनी ५ आना ३ पैसा २ दाम जामिनमा काठमाडौं टावर निर्माण गर्ने सम्झौतामा उल्लेख छ । तर महानगरपालिकाले निर्माण अनुमति भने १२ तल्लाका लागि मात्रै दिएको छ । भूकम्पपछि १२ तल्ला भन्दा अग्ला भवन निर्माण गर्न रोक लगाइएको थियो । कुल जमिनमध्ये ४० प्रतिशत भागमा टावरको निर्माण हुनेछ । बाँकी ६० प्रतिशत जमिनमा गार्डेन निर्माण गर्ने भनिएको छ । २०६८ सालको असोजमा निर्माण अनुमति प्रदान गर्दा २९ तल्लो सो भवनको लागत एक अर्ब ८७ करोड हुने प्रक्षेपण गरिएको थियो । हाल सो मुल्यमा ४० प्रतिशत लागत बढ्ने दावी गरिएको छ । भवन निर्माणका लागि ३ वर्ष अवधि तोकिएको छ । त्यसपछि २७ वर्ष निर्माण कर्ता कम्पनीले सञ्चालन गर्नेछ । अर्थात ३० वर्षपछि काठमाडौं टावर काठमाडौं महानगरपालिकाको मातहतमा आउनेछ । २७ वर्षसम्म महानगरपालिकाले वार्षिक दुई करोड ७० लाख रुपैंयाँ जग्गा लिज वापत राजश्व समेत प्राप्त गर्ने भनिएको छ । भवन निर्माणका लागि प्राइम कमर्सियल बैंकले तीन बर्षका लागि एक करोड ८५ लाख रुपैंयाँको बैंक ग्यारेण्टी गरिदिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित, वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न जोड
काठमाडौं, १७ माघ । व्यवस्थापिका-संसद्को सोमबारको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । वन तथा भू-संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेका सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ-आफ्नो धारणा राखेका थिए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्वपूर्ण रहेको बताए । नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताए । संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । रासस
नेप्से परिसूचक ६५ अंकले गिरावट, ११८ कम्पनीका लगानीकर्ताले गुमाए, सबै समूह राताम्मे
काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ६५ दशमलब ४४ अंकले घटेर १३०९ दशमलब ७० अंकमा झरेको छ । सो दिन कारोबार शुरु भएदेखि नै सेयर बजार निरन्तर रुपमा घटेको हो । बजारमा कारोबार भएका १२३ कम्पनी मध्ये ११८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो दिन बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । सोमबार मात्रै ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ भने अन्य ६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ विकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, साल्टी होटल, सगरमाथा इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामीण विकास बैंक र सुमिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको हो । सोमबार जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउनेमा अरुण फाइनान्स, ओरियन्टल होटल, राष्ट्रिय बीमा कम्पनी, रिलायन्स फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सामान्य प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले ओरालो लागेको छ । होटल समूहको परिसूचक १२८ र हाइड्रोपावर समूहको परिसूचक ७३ अंकले ओरालो लागेका छन् । त्यस्तै, कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरोले अंकले ओरालो लागेका छन् । सोमबार ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख २८ हजार रुपैयाँमा किनबेच भएको छ ।
हिमालयन पावरको १० लाख ६५ हजार कित्ता आइपीओ खुला, फागुन २ गतेसम्म आवेदन दिन पाइने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको थप साधारण सेयर(आइपीओ) माघ १७ गते सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले आयोजना(उद्योग) प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका बासिन्दाहरुको लागि एक सय अंकित मूल्यको १० लाख ६५ हजार ४१७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । कम्पनीका अनुसार कुल १० लाख ६५ हजार कित्तामध्ये ५ लाअ ३२ हजार ७०८ कित्ता सेयर लमजुङ्ग जिल्लाको चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ्ग र अर्चलबोट गरि ६ वटा गाविसका बासिन्दाहरुका लागि र बाँकी ५ लाख ३२ हजार ७०९ कित्ता सेयर बाकी जिल्लाका सम्पूर्ण बासिन्दाहरुलाई छुट्टाइएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियूक्त गरेको छ । इच्छुक लगानीकर्ताले हिमालयन पावर पार्टनर लिमिटेड(आयोजनाको साइट कार्यालय), लमजुङ्ग जिल्लाको ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय बेसीशहर बजार बाट आवेदन दिन सक्ने छन् । साथै, लगानीकर्ताले लमजुङ्ग जिल्लाको प्यासिफिक डेभलपमेन्ट बैंक भोटेबडार शाखा र लमजुङ्गमै रहेको कैलाश विकास बैंकको शाखाबाट आवेदन दिन पाउने छन् । कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।
सार्वजनिक लेखासमितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित, निर्वाचनमा राप्रपा विभाजित
काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन । सभापति पदको निर्वाचनमा ३९ मत खसेकोमा उपाध्ययले २३ मत ल्याएर विजय भएको छन् । उनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । सभापति पदको लागि उम्मेदवारी दिएका एमाले सभासद पशुपति चौलागाईले १६ मत पाएका छन् । यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पाटी विभाजित भएको छ । राप्रपाका दुई सांसदहरुले भने चौलागाईको पक्षमा मतदान गरेका छन् । यसअघि माओवादीका सभासद् जनार्दन शर्मा सार्वजनिक लेखासमितिको सभापति थिए । उनी मन्त्री भएपछि करिब करिव ६ महिना सो पद खाली थियो । सत्तारुढ राप्रपाका दुई सांसदले विपक्षी उम्मेदवारलाई मतदान गरेसँगै संबिधान संसोधन प्रस्ताव समेत फेल हुने सम्भावना बढेको छ ।
अपडेट: सेयर बजारमा उच्च गिरावट, बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउँदै
काठमाडाैं । साेमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार खुलेको करिब पौने २ घण्टामा नै नेप्से परिसूचक ३६ दशमलब ५४ अंकले घटेको छ । कारोबार शुरु हुँदा १३७४ अंकमा रहेको नेप्से घटेर १३३८ अंकमा झरेको छ । बीमा कम्पनीकाे सेयरमा लगानी गनेर् लगानीकर्ताले धेरै गुमाएकाे छन् । यूनाइटेड इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । सो अवधिसम्म यी दुई कम्पनीको सेयर क्रमशः प्रतिकित्ता १०१ र १२५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् । त्यसैगरि नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ७.५, ७.०५ र ६.८९ प्रतिशतले घटेको छ । बीमा समूहको परिसूचक २८७ अंकले ओरालो लागेका छन् । त्यस्तै, अन्य समूहको परिसूचक ७ अंकले ओरालो लागेको छ भने बाँकी समूहका परिसूचकहरु दोहोरो अंकले ओरालो लागेका छन् ।