सर्वसाधारण अध्यारोमा, १३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै खेर
काठमाडौं १०, माघ । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ । प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ । विद्युत चुहावटलाई यस वर्ष २० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्राधिकरणले त्यो प्रयास सफल हुन सक्नेमा भने आशंका गरिदैंछ। नागरिक दैनिकबाट ।
श्रम स्वीकृतिको अनलाइन सेवाः ‘बाँदरको हातमा नरिवल’ सरह, सेवा सुरु नै हुन सकेन
काठमाडौं १०, माघ । यो महिनाको सुरुवातदेखि नै थालनी गर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ । निकै लामो प्रयास र ठूलो लागानीमा तयार गरिएको अनलाईन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाइ दिन थालेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहजता दिन तथा यस क्षेत्रमा भइरहेको विकृति रोक्ने उपायस्वरुप सुरु गरिएको अनलाईन सेवा थाल्न नसक्दा कतिपयले बाँदरको हातमा नरिवल‘ भन्न थलेका छन् । वैदेशिक रोजागरीको क्षेत्र अस्तव्यस्त र वदनाम हुनुका विभिन्न कारणमध्ये पूर्वस्वीकृति र अन्तिम स्वीकृति कागजी प्रक्रियाबाटै दिइनुलाई मुख्य रुपमा लिने गरिएको छ । अघिल्लो महिनाको पुस ३ गते श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने लाई सहज दिन अनलाइन सेवा सुरु भएको घोषणा गरेको थियो । नागरिक दैनिकबाट ।
उपत्यकामा नेपालमा पहिलो चार ‘स्याटलाइट सिटी’ बन्ने, डिपिआरका लागि मात्रै १५ करोड खर्च
काठमाडौं १०, माघ । सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ । ‘स्याटलाइट सिटी’ निर्माण गर्न प्राधिकरणले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयारीका लागि विशेषज्ञ खोजिरहेको छ । प्राधिकरणका आयुक्त डा. भाइकाजी तिवारीले डिपिआर निर्माणका लागि विशेषज्ञ छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘स्याटलाइट सिटी निर्माणको फिजिबिलिटी अध्ययन सकिएको छ, अब डिपिआर तयार हुन्छ । यसका लागि विशेषज्ञ छनोटको तयारी अन्तिम अवस्थामा पुगेको छ । डिपिआर तयार भएलगत्तै स्याटलाइट सिटी निर्माणको काम अघि बढ्नेछ,’ उनले भने । तिवारीले माघभित्रै डिपिआर तयार गर्न विशेषज्ञ टोली नियुक्ति गरिसक्ने जानकारी दिए । ‘विशेषज्ञ टोलीले एक वर्षभित्र डिपिआर तयार गर्नेछ । सोही रिपोर्टका आधारमा स्याटलाइट सिटी निर्माण प्रक्रिया अघि बढ्नेछ,’ उनले भने । डिपिआरका लागि मात्रै करिब १५ करोड खर्च प्राधिकरणका अनुसार भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्रको करिब एक लाख रोपनीमा ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । बाँकीमा भने करिब १० हजार रोपनी क्षेत्रफलमा बनाइनेछ । एक लाख रोपनी क्षेत्रफलमा बनाइने ‘स्याटलाइट सिटी’मा डिपिआर गर्न १० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । बाँकी १० हजार रोपनी क्षेत्रफल समेटेर निर्माण गरिने दुईवटा ‘स्याटलाइट सिटी’ को डिपिआरका लागि दुई–दुई करोड रुपैयाँ खर्च गरिनेछ । काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीमा निर्माण हुने ‘स्याटलाइट सिटी’को भने सम्भाव्यता अध्ययन सकिएको छैन । यसका लागि ३० लाख रुपैयाँ खर्च गरिनेछ । कहाँ–कहाँ बन्दै छ ‘स्याटलाइट सिटी’ प्राधिकरणका अनुसार पहिलो चरणमा उपत्यकाको दक्षिण–पश्चिमस्थित भैंसेपाटी, खोकना, बुङमती र छम्पीका केही क्षेत्र समेटेर ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । दोस्रो चरणमा भक्तपुरको बालकोट र गुण्डु गाविस, तेस्रो चरणमा भक्तपुरकै दुवाकोट, चाँगुनारायण क्षेत्र र काठमाडौंको साँखुभन्दा तलको क्षेत्र तथा चौथो चरणमा काठमाडौंको पञ्चेश्वर, साङ्ला र काभ्रेस्थलीलाई समेटेर विस्तारित सहर निर्माण गरिनेछ । दुई वर्षभित्र काम सुरु हुन्छ स्याटलाइट सिटी’ निर्माणको अवधारणालाई मूर्तरूप दिन प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । यसको फिजिबिलिटी अध्ययन भइसकेको छ । डिपिआर तयार हुन करिब एक वर्ष लाग्छ । डिपिआर तयार भएपछि बृहत् छलफल हुन्छ । जनस्तरमा पनि यस विषयमा छलफल हुन्छ । सबैबाट पास भएपछि मात्र निर्माण प्रक्रिया अघि बढ्छ । त्यसो हुँदा अबको दुई वर्षभित्र ‘स्याटलाइट सिटी’ निर्माण सुरु हुन्छ ।” – भाइकाजी तिवारी, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण ‘स्याटलाइट सिटी’ नेपालमा पहिलो प्राधिकरणले अघि बढाएको ‘स्याटलाइट सिटी’ निर्माण अवधारणा नेपालमै पहिलो हो । विदेशमा भने यस खालका सहर धेरै बनेका छन् । विशेष गरी दुबईका समुद्रमा बनाइएका सिटी विश्वमा चर्चित छन् । सरकारले मध्यपहाडी लोकमार्गको १० ठाउँमा नयाँ सहर निर्माण गर्ने घोषणा गरेको छ । तर, त्यसको तयारी अझै अघि बढेको छैन । नयाँ पत्रिका दैनिकबाट ।
एटिएमबाट रकम निकाल्ने दुई भारतीय पक्राउ, एटिएमबाट रकम निकाल्न सिकाउेकाे खाताबाट ६ लाख चाेरी
काठमाडौँ, ९ माघ । अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन मेहतालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । दुवै जनाले एटिएम बुथमा गएर ‘मेरो पैसा निस्किएन, कसरी निकाल्ने हो सिकाइ दिनुहोस्’ भनी अन्य ग्राहकसँग सोध्ने गरेका पाइएको छ । ग्राहकले आफ्नो एटिएम प्रयोग गरी थोरै रकम निकालेर निकाल्ने तरिका सिकाएपछि ग्राहक निस्किना साथ उनीहरुले एटिमले सोधेको समय थप लिन चाहनुहुन्छ भन्ने मेनुमा गएर हुन्छ भन्ने बटम थिचि रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ । कतिपय अवस्थामा इन्टरनेट सुस्त भएका बेलामा ग्राहकले रकम प्राप्त नभई छोडेर गएपछि तपाई थप समय लिन चाहनुहुन्छ भन्ने मेनुमा गई ‘हो’ भन्ने बटनमा थिचेर रकम निकाल्ने गरेका थिए । विगत एक महिनाको अवधिमा दुवै जनाले २० स्थानमा भएका बुथबाट रु छ लाखभन्दा बढी रकम ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस
जनता बैंकले १२ प्रतिशत बोनसपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने, यस्तो आयो पूँजी वृद्धिको नयाँ योजना
काठमाडौं, ९ माघ । जनता बैंक नेपालले १२ प्रतिशत बोनस सेयर वितरण गरेपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साथै जनता बैंकमा मर्ज हुन लागेको त्रिवेणी विकास बैंकका सेयरधनीले पनि ६० प्रतिशत हकप्रद सेयर पाउने भएका छन् । जनता बैंक र यस बैंकमा मर्ज हुँदै गरेको त्रिवेणी विकास बैंकले मर्जपछि ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णयसँगै चुक्ता पुँजी ८ अर्ब पुर्याउने क्यापिटल प्लान स्पष्ट रुपमा आएको छ । ‘बोनस र हकप्रद सेयर निष्काशनपछि चुक्ता पूँजी ७ अर्ब ५१ करोड रुपैयाँ हुनेछ’ जनता बैंकका अध्यक्ष उदय नेपालीले भने–‘चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा ४९ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न सकिन्छ र चुक्ता पूँजी ८ अर्ब पुर्याउने योजना बैंकको छ ।’ जनता बैंकले यसअघि निष्काशन गरेको हकप्रद बिक्रीपछि चुक्ता पुँजी ३ अर्ब ९ करोड रुपैयाँ हुनेछ । गत असार मसान्तको २ अर्ब ६ करोडको १२ प्रतिशत बोनस सेयर निष्काशन २४ करोड ७२ लाख रुपैयाँ पुँजी वृद्धि हुन्छ र चुक्ता पुँजी ३ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ हुनेछ । ‘जनता बैंकमा त्रिवेणी विकास बैंक मर्ज हुने विषयमा राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आईसक्यो, मर्जको स्वाप रेसियो, मर्जपछिको नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन समितिको संरचनामा पनि सहमति भईसक्यो, मर्जका प्रक्रिया स्मूथली चलेको छ । राष्ट्र बैंकले तोकेकै समय सीमाभित्र रहेर तोकिएको पुँजी वृद्धि हामी गर्न सफल हुनेछौं ।’ त्रिवेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब करोड ३६ करोड रुपैयाँ छ । यो पूँजी बैंकले यसै वर्ष निष्काशन गरेको हकप्रद सेयर र बोनस सेयर वितरण पछिको हो । त्रिवेणी विकास बैंक जनता बैंकमा मर्ज भएपछि चुक्ता पुँजी यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ हुनेछ । ६० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ५१ करोड रुपैयाँ हुनेछ । ८ अर्बको लागि अपुग ४९ करोड रुपैयाँ चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरि चुक्ता पुँजी ८ अर्ब बनाउने प्रतिवद्धता पछि राष्ट्र बैंकले जनता बैंकको बोनस सेयर प्रस्ताव स्वीकृत गरेको स्रोतले बतायो । यसरी पूँजी वृद्धि गर्ने विषयमा दुबै बैंकका सञ्चालक समिति, संयुक्त मर्जर कमिटिबाट निर्णय भईसकेको र अनुमोदनको लागि फागुन १ गते साधारणसभा बोलाईएको अध्यक्ष नेपालीले बताए । ‘जनता बैंकमा त्रिवेणी विकास बैंक मर्ज हुने विषयमा राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आईसक्यो, मर्जको स्वाप रेसियो, मर्जपछिको नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन समितिको संरचनामा पनि सहमति भईसक्यो, मर्जका प्रक्रिया स्मूथली चलेको छ’ उनले भने ‘राष्ट्र बैंकले तोकेकै समय सीमाभित्र रहेर तोकिएको पुँजी वृद्धि हामी गर्न सफल हुनेछौं ।’ मर्जकाे स्वाप रेसियाे १ बराबर १ मा सहमति भएकाे छ ।
पृथ्वी नारायण शाहका सम्पदामा चिनियाँ चासो, बसन्तपुरको नौ तलेदेखि नुवाकोटको सात तले हुँदै गोरखासम्म
काठमाडौं, ९ माघ । पश्चिमाहरुले नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई रुचाउँदैनन् भन्ने तथ्य नौलो रहेन् । तर चिनियाँहरुको भने उनै पृथ्वीनारायण शाहसँग राम्रै लगाव रहेको देखिन्छ । भूकम्पले क्षति पुर्याएको सम्पदा मध्ये पृथ्वी नारायण शाहसँग जोडिएका अधिकांश पुरातात्विक सम्पदाको निर्माणमा चिनले हात अघि सारेको छ । चीनले नुवाकोटको ७ तले दरबार क्षेत्रमा सबै जसो संरचनाको पुननिर्माण गरिदिने भनेको छ । त्यसको प्रक्रिया समेत अघि बढिसकेको छ । ‘नुवाकोट दरबार क्षेत्रको भैरवी मन्दिर बाहेकका सबै सम्पदाको निर्माण चीनले गर्ने भनेको छ र त्यसको प्रक्रिया समेत अघि बढिसकेको छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरले विकासन्युजसँग भने । उता, चीनले बसन्तपुर दरबार परिसरमा रहेको नौ तले दरबार पनि बनाउँदैछ । त्यसको अध्ययन सम्पन्न गरेर चिनियाँ टोली गएको छ । ‘हनुमानढोका दरबार परिसरमा रहेको ९ तले दरबार चिनले बनाउँदैछ, त्यसको अध्ययन सम्पन्न भैसकेको छ, केहि समयमै सम्झौता हुन्छ’, हनुमानढोका दरबार पुर्ननिर्माणको नेतृत्व गरिरहेका पुरातत्व विभागका इञ्जिनियर गोपाल झाले विकासन्युजसँग भने । चीनले गोरखा दरबारको पुर्ननिर्माणका लागि पनि चासो देखाएको छ । ‘गोरखा दरबारको पुर्ननिर्माणका लागि धेरै मुलुकले इच्छा देखाएका छन, तीमध्ये चीनियाँहरुको पनि चासो छ, हामीले कसलाई दिने भन्नेबारे अध्ययन गरिरहेका छौं’, पुरातत्व विभागका सिडिई घिमिरेले भने । चीनले पृथ्वी नारायण शाहले बनाएका संरचनाहरुको निर्माणमा किन बढि चासो देखायो भन्ने सन्दर्भ भने अब ऐतिहासिक दृष्टिकोण्बाट अध्ययनको बिषय नै बनेको छ ।
भक्तपुरका भूकम्पपीडितलाई तोकिएको बैंकबाट पहिलो किस्ताको अनुदान वितरण
भक्तपुर, ९ माघ । भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई भोलि सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैयाँ वितरण गरिने भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको ९० करोड रुपैयाँ तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी दिए । सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित बैंकहरुमा पठाइसकेको जानकारी दिँदै उनले भने–“कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुमा पठाएको रकमको आज चेक क्लिरियन्स गरेपछि अधिकांश बैंकले भोलिदेखि लाभग्राहीलाई पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ रकम वितरण गर्ने थाल्ने छन् ।” चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैंकमा भने थप एक दुई दिनपछि वितरण हुने उहाँको भनाइ छ । अन्य जिल्लाका भूकम्पपीडितलाई सरकारले दोस्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेपनि भक्तपुरका लाभग्राहीले भने निजी आवास पुनःनिर्माणका लागि भूकम्प गएको २० महिनापछि अनुदान रकम पाउन लागेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेका छन् । कोइरालाकाअनुसार नगरपालिकाले सम्झौता गरी पठाएकामध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखा नियन्त्रण कार्यालय पठाएको थियो । कोइरालाले भने-“कोलेनिकाले १८ हजार लाभग्राहीलाई अनुदान रकम वितरण गर्न पुग्ने गरी बैंकमा रकम पठाएको छ । थप लाभग्राहीका लागि नपुग रकम छिटो पठाउन जिविसले माग गरेको छ । थप रकम आएपछि लाभग्राहीको सूचीमा रहेका सबैले पहिलो किस्ताको अनुदान रकम पाउँछन् ।” सम्झौता भएका लाभग्राहीलाई रकम वितरण गर्न अझै १० करोड ७५ लाख रुपैयाँ नपुग छ । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै ४० करोड आठ लाख रुपैयाँ अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता हुने लाभग्राहीलाई वितरण गरिने भएको छ । शुरु सुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूचीअनुसार क्रमैसँग वितरण गरिन्छ, पछाडि सम्झौता भएकाहरुले पछाडि नै रकम पाउने उनको भनाइ छ । भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । जिविस भक्तपुरले आइतबारदेखि नै पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने झुटो प्रचार गराएको भन्दै बैंकहरुमा पुगेका लाभग्राहीले जिविस विरुद्ध आक्रोश पोखेका छन् । जिविसले लाभग्राहीलाई दुःख दिने नियतले गलत प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । अनुदान सम्झौता भएका लाभग्राहीले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ । यसमा भक्तपुर नगरपालिकाले लाभग्राहीमध्ये वडा नं. १, २, ३, ४, ५, ६ र ९ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड कमलविनायकबाट, ७, ८, ११, १२ र १४ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायकबाट र १०, १३, १५, १६ र १७ वडाका लाभग्राहीले कृषि विकास बैंक दूधपाटीबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । त्यसैगरी, मध्यपुरठिमी नगरपालिकाको वडा नं १, २ र ३ का लाभग्राहीले मेगा बैंक लिमिटेड बाहाखा बजारबाट, ४, ५ र ६ का लाभग्राहीले कृषि विकास बैंक, ७, ८, ९, १० र १७ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंकबाट, ११ र १२ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड ठिमी शाखाबाट, १३ र १४ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक ठिमीबाट, १५ वडाका लाभग्राहीले सिद्धार्थ बैंक गठ्ठाघरबाट र १६ वडाका लाभग्राहीले एनआइसी एसिया कौशलटार शाखाबाट अनुदान रकम लिन पाउने व्यवस्था गरिएको छ । त्यस्तै, नगरकोट नगरपालिका-१ देखि १० वडाका लाभग्राहीलाई यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र ११ देखि १३ वडाका लाभग्राहीलाई माछापुच्छ्रे बैंक कमलविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । यता, चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक कमलविनायकबाट, ५, ६ र ७ तथा १७ वडाका लाभग्राहीले यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र १२ देखि १६ वडाका लाभग्राहीले कृषि विकास बैंक सल्लाघारीबाट अनुदान रकम पाउने व्यस्था गरिएको छ । सूर्यविनायक नगरपालिकाको वडा नं १ देखि ५ सम्मका लाभग्राहीले एनएमबी बैंक सूर्यविनायकबाट, वडा नं ६ देखि ८ सम्मकाले सानिमा बैंक सूर्यविनायकबाट, ९ देखि ११ वडाका लाभग्राहीले ग्लोबल आइएमई बैंक सूर्यविनायकबाट र १३ देखि १५ वडाका लाभग्राहीले बैंक अफ काठमाडौं लुम्बिनी सूर्यविनायक शाखाबाट अनुदान रकम पाउनेछन् । यता, अनन्तलिङ्गेश्वर नगरपालिकाका लाभग्राहीमध्ये भने वडा न १ देखि ५ सम्मकाले हिमालयन बैंक कौशलटारबाट, ६ देखि ८ सम्मकाले लक्ष्मी बैंक कौशलटारबाट, ९ देखि १२ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक नयाँ ठिमीबाट र १३ देखि १५ वडाका लाभग्राहीलाई एभरेस्ट बैंक सूर्यविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । रासस
इन्फिनिटी माइक्रोफाइनान्सको कारोबार शुरु, तत्काल १० वटा शाखा विस्तार गर्ने
काठमाडौं, ९ माघ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार शुरु भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको उद्घाटन गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिविले गरेका छन् । उक्त संस्था लघुवित्त सेवाको माध्यमबाट समाजका विपन्न वर्गको जिवनस्तर उकास्ने उद्देश्य सहित नेपाल सरकारका पूर्व सचिव, प्राध्यापक, बैंकर, इन्जिनियर तथा व्यापारीहरुको प्रबद्धनमा संचालनमा आएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबि नेपालले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्रमा सहयोगी हातहरुको रुपमा हुनुपर्ने बताए । साथै उनले वित्तीय पहुंच नपुगेको ठाउंमा पुग्न तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न समेत लघुवित्त संस्थाहरुलाई निर्देशन दिएका छन् । हाल संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्ने क्रममा कम्तीमा १० वटा शाखाहरु खोल्ने बताएको छ । थप शाखाहरु विस्तारसँगै वित्तीय सेवाको पहुंच कम भएका जनताहरुलाई उनीहरुको घरदैलोमा पुगी सेवा दिने संस्थाले जानकारी गराएको छ ।