नाडाको इनह्यान्सिङ ट्याक्स तालिम सम्पन्न, कूल ८१ सदस्य फर्महरुको सहभागिता
काठमाडौं, ७ माघ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा तालिम सहितको वर्कसप अन इनह्यान्सिङ ट्याक्स स्किलतालिम सम्पन्न भएको छ । शुक्रबार काठमाडौको ग्राण्ड होटलमा नाडाका निमित्त अध्यक्ष शम्भुप्रसाद दाहालको सभापतित्वमा यो कार्यक्रम सम्पन्न भएको हो । उक्त तालिममा कूल ८१ सदस्य फर्महरुले आफनो सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडा तथा सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नाडाका निमित्त अध्यक्ष दाहालले सहभागिहरुलाई आजको हिसाब आजै राख्न व्यवशायीलाई आग्रह गरे । सरकारको प्रतिनिधित्व सहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको पहिलो भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुमा केन्द्रित रहेर यस किसिमको तालिमको आयोजना गरिएको नाडाका उपाध्यक्ष देबकाजी श्रेष्ठले बताए । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको व्यवस्थापन नाडाका महासचिव कृष्णप्रसाद दुलालले गरेका थिए भने सो कार्यक्रमको संयोजन नाडाका कोषाध्यक्ष तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले गरेका थिए ।
आंशिक र पूर्ण गरी आठ लाख ७७ हजार ६७१ घर क्षतिग्रस्त
काठमाडौं, ७ माघ । केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ । केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली (जिपिएस) बाट तथ्याङ्क सङ्कलन गरी सार्वजनिक गर्न लागेको जानकारी दिए । यसअघि केन्द्रले अतिप्रभावित १४ जिल्लाको लगत सङ्कलन गरिसकेको छ । प्राप्त लगतलाई केन्द्रले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हस्तान्तरण (डाउनलोट) गराइसकेको छ । तथ्याङ्क सङ्कलनका लागि केन्द्रले २५०० प्राविधिक (इन्जिनियर) खटाएको थियो । जस्मा १६०० ट्याबलेटबाट क्षतिग्रस्त (आंशिक तथा पूर्ण) आठ लाख ७७ हजार ६७१ घरका एक करोड फोटो सङ्कलन गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौंमा ४० हजार ९१९ पूर्ण र १० हजार २०९ आंशिक घर क्षतिग्रस्त भएको छ । सरकारले पूर्ण क्षतिग्रस्त घरलाई तीन लाख रुपैयाँ र आंशिक क्षतिग्रस्त घरलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । ललितपुरमा २२ हजार ५५५ पूर्ण, आंशिक सात हजार ७९० र भक्तपुरमा २३ हजार ५३२ पूर्ण र आंशिक ६ हजार ६६५ घर क्षति भएका छन् । अतिप्रभावित ११ जिल्ला क्रमशः गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा, रामेछाप, र दोलखा जिल्लाबाट पूर्ण विवरण आइसकेको भए पनि अन्य प्रभावित १७ जिल्लाबाट दुई लाख घर पूर्ण र आंशिक) क्षति भएता पनि हालसम्म ११ हजार घरको मात्र विवरण सङ्कलन भएको छ । रासस
लन्डनका लर्ड मेयर शनिबार नेपाल आउँदै, चारदिने औपचारिक भ्रमण गर्ने तयारी
काठमाडौं, ७ माघ । नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार अपराह्न यहाँ आउने भएका छन् । बेलायतमा मन्त्रिस्तरको पद सम्हालेका उनले उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिन्छन् । गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व उनलाई विश्वका विकसित मुलुकसमेत आफ्नो देशको भ्रमण गराउन लालायित हुने गरेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । यहाँ रहँदा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उनले बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उनको भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमको उनले अवलोकन गर्नेछन् । बेलायतको ‘सम्माननीय’ पदवीबाट विभूषित उनी आठ सय ६९ औँ लर्ड मेयर अफ द सिटी अफ लन्डन छन् । रासस
नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘जटायु रेस्टुरेन्ट’, लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउन सक्रिय
काठमाडौं, ७ माघ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका ‘जटायु रेस्टुरेन्ट’ पछिल्लो समयमा पर्यटकीय दृष्टिले समेत आकर्षक बन्दै गएका छन् । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायद्वारा सञ्चालन गरिएको ‘जटायु रेस्टुरेन्ट’ को स्थापना भएको थियोे । सामुदायिक वन उपभोक्ताको सक्रियतामा यसरी खुलेका ‘जटायु रेस्टुरेन्ट’ जैविक विविधता संरक्षणका लागि उपयोगी मात्र नभई पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै आयआर्जनको स्रोतसमेत बन्दै गएका यस क्षेत्रका जानकार बताउँछन् । जटायु रेस्टुरेन्टको स्थापनापछि गिद्धको सङ्ख्या तीन गुना बढेकोे जानकारी दिँदै पिठौली जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरी पछिल्लो समयमा गिद्धका क्रियाकलाप हेर्न र अनुसन्धान गर्नसमेत पर्यटक आउन थालेको बताउछन् । समितिले जटायु रेस्टुरेन्ट सञ्चालनका साथै दिगो जीविकोपार्जनका लागि पर्या-पर्यटनसँग सम्बन्धित विभिन्न तालिम तथा कार्यक्रमसमेत सञ्चालन गरेको छ । नवलपरासी ‘जटायु रेस्टुरेन्ट’को सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीमा पनि सोही प्रकारका रेस्टुरेन्ट स्थापना गरिएका छन् । यसरी खोलिएका रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानबाट वृद्ध, अशक्त, र बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । रेस्टुरेन्टमा राखिएका गाई गोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ जहाँ गिद्ध आई खान्छन् । त्यहाँ गिद्धको आनीबानी नजिकबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि हुन्छ । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्यालले यस्ता रेस्टुरेन्टलाई गिद्धको संरक्षणका साथसाथै पर्यापर्यटनसँग जोडेर आर्थिक उपार्जनको बाटो बनाउन सकिनेमा जोड दिए । पर्यटकलाई आकर्षित गर्ने योजनासहित जटायु रेस्टुरेन्टको बजारीकरण गरी आन्तरिक र बाह्य दुवै पर्यटकलाई भित्र्याउन सकिने कार्यकारी सदस्य अर्यालको भनाइ छ । घरपालुवा पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि डाइक्लोफेनेक सेवन गरेका पशुको सिनो खाएकै कारण पछिल्ला दशकमा नेपाललगायत दक्षिण एसियामै गिद्ध ९० प्रतिशतले घटेको अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ । यसबाहेक विष खुवाएर मारेका जनावरको सिनो खाएर र गुँड बनाउने अग्ला सिमलका रुखको विनाशले पनि गिद्ध लोप हुँदै गएको विज्ञहरुले बताएका छन् । नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डङ्गर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको नेपाल पक्षी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत डा नरेन्द्रमान बाबु प्रधानले बताए । यस्ता रेस्टुरेन्टमार्फत स्थानीय समुदायको जीविकोपार्जन, सामुदायिक विकास, स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै पर्या-पर्यटनको विकास गर्न सकिने प्रमुख कार्यकारी अधिकृत, डा प्रधानको भनाइ छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । विश्व प्रकृति संरक्षण सङ्घका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये डङ्गर, सानो खैरो र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । प्रकृतिको कुचिकार भनिने गिद्धले मरेका जनावरको सिनो खाएर पृथ्वीलाई सफा राख्नुका साथै दुर्गन्धले फैलने रोगबाट मानिसलाई समेत जोगाउँछन् । सङ्घले अन्य साझेदार संस्थाको समन्वयमा जटायु रेस्टुरेन्टलाई दिगो व्यवस्थापन गरी गिद्धलगायत अरु जैविक विविधताको संरक्षण गर्न र पर्यटन विकासका लागि स्थानीय समुुदायमा विभिन्न सीप विकासका तालिम पनि सञ्चालन गर्दै आएको सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । सरकारले डाइक्लोफेनेक औषधिलाई २०६३ जेठ २३ देखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । औषधि ऐन, २०३५ बमोजिम यसको उल्लङ्घन गरेको पाइएमा तीन वर्ष कैद वा पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ । यसबाहेक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्रको स्थापना गरेको छ । त्यस्तै ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९–२०१३ को सफल कार्यान्वयनपश्चात् नयाँ पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ लागू गरेको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिएका छन् । यस्ता रेस्टुरेन्टको स्थापनासँगै स्थानीय जनतामा आएको चेतनाले एकातिर पारिस्थितिकीय प्रणालीको एक प्रमुख हिस्सा गिद्धको संरक्षणमा योगदान पुगेको छ भने अर्कोतिर नयाँ पर्यटकीय आकर्षण केन्द्र बन्नाले स्थानीय जनताका लागि आयआर्जनको स्रोतसमेत बनेको छ । रासस
केन्द्रीय प्रसारण लाइनमा छ मेगावाट विद्युत् थप
पाँचथर, ७ माघ । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम-४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो । दश मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो । झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारण लाइन रहेको छ । त्यसअन्तर्गत चारवटा सवस्टेसन रहेका छन् । फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनवटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको द्विवेदीले बताए । उक्त प्रसारण लाइनमा २५८ वटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ वटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ वटा टावर निर्माण भइसकेको छ । २०६७ जेठ १४ गतेबाट मात्रै आयोजनाको काम अघि बढेको हो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको तीन अर्ब ५९ करोड रुपैयाँको लागतमा सो आयोजनाको काम अगाडी बढाइएको हो । रासस
नेप्से परिसूचक १५.१६ अंकले घट्दा एक अर्ब ८५ करोडको सेयर कारोबार
काठमाडौं, ७ माघ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.१६ अंकले घटेर अन्तिम दिन १४६२ दशमलब ५६ अंकमा झरेको छ । सातामा नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । साताभर एक अर्ब ८५ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा १५३ कम्पनीहरुको एक करोड १३ लाख १८ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६.९६ प्रतिशत बढि हो । गत साता १४८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १३१४० कारोबारबाट एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँ बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र वाणिज्य बैंक समूहको परिसूचक क्रमशः २५ र २२ अंकले ओरालो लागेका छन् । विकास बैंक र होटल समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । यस साता सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । सो अवधिमा बैंकको २० करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस साता तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । युनाईटेड फाइनान्स र प्रोगेशिभ फाइनान्सको बोनस सेयर र सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.७३ अंकले घटेर ३१७.३२ अंकमा आईपुगेको छ ।
मेगा र टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जरको सैद्धान्तिक सहमति, मेगाको १३ प्रतिशत र टुरिजमको १८ प्रतिशत बोनस शेयर यथावत
काठमाडौं, ७ माघ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा माघ ६ गते सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेका छन् । मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहका अनुसार मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहनेछ । “अन्तिम शेयर आदान प्रदान अनुपात (डीडीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० : ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् । मेगा बैंकको हालको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको छ । टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको व्यहोरा मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताए । आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५ प्रतिशत बोनस शेयर जारी गर्ने सिफारिश गरेको उनले बताए । साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । दुबै बैंकले प्रस्ताव गरेकाे बाेनस सेयर यथावत रूपमा रहने शाहले बताए । सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रकृया अघि बढाईएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताए ।
टोयोटाको मोर्टस पार्टसको आउटलेट कुलेश्वरमा, जेनियुन पार्टसहरु मात्र बिक्री हुने
काठमाडौं, ७ माघ । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले ग्राहकको सुबिधाको लागि काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त आउटलेटबाट टोयोटाको आधिकारीक जेनियुन पार्टसहरु मात्र बिक्री हुने छन् । कम्पनीले अँग्रेजी नयाँ बर्षको अवसर पारेर उक्त नयाँ आउटलेट संचालनमा ल्याएको बताएको छ । यस आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेनियुन मोटर आयल समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । विगत ५० वर्षदेखि नेपाली उपभोक्तालाई सेवा दिदै आएको यस कम्पनीले आफ्ना ग्राहकले जेनियुन पार्टसहरु सहजरुपमा प्रयोग गर्न पाउन् भन्ने मान्यता राख्दै आएको छ । नयाँ बजारमा केहि समय अगाडी खोलिएको पार्टसको आउलेटबाट ग्राहकको सकारात्मक प्रतिक्रिया र माग बमोजिम कुलेश्वरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।