विकासन्युज

उपभोगमै ९५ प्रतिशत आय, प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ, बचत नै हुँदैन नेपालीको आम्दानी

काठमाडौं पुस १८, आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो । आव ०७१र७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो । उपभोग बढ्दै जाँदा कुल राष्ट्रिय बचतमा त्यसको सोझो असर पर्छ । आव २०६७/६८ का जीडीपीको झन्डै १४ प्रतिशत राष्ट्रिय बचत हुने गरेकोमा गत आवसम्म आइपुग्दा यो ५.२६ प्रतिशतमा झरेको । तथ्यांक विभागका अनुसार अहिले नेपालीको प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय ७५२ डलरमात्र छ, यो अघिल्लो आव ०७१/७२ भन्दा १० डलरले घटेको हो । अमेरिकी डलरसँगको विनिमयमा नेपाली मुद्रा कमजोर भएकाले नेपालीको प्रतिव्यक्ति आय पनि घटेको हो । अहिले नेपालको अर्थतन्त्रको कुल आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँमात्र पुगेको छ । गत वर्षको भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ०.५६ प्रतिशतमा खुम्चेको विभागको प्रतिवेदनमा उल्लेख छ । खुम्चियो कृषि विभागका अनुसार जीडीपीमा कृषिको योगदान ३१.२ प्रतिशतमा खुम्चेको छ, जुन आव ०५८/५९ मा ३५.६ प्रतिशतमा थियो । यसैगरी उद्योग क्षेत्रको योगदान पनि ५.५३ प्रतिशतमा खुम्चिएको छ, अघिल्लो आवमा यसको अंश ६.५ प्रतिशत थियो । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५४.३ प्रतिशत पुगेको छ, जसमध्ये रियल इस्टेट र व्यावसायिक क्षेत्र, शिक्षा र वित्तीय क्षेत्रको योगदान ह्वात्तै बढेको पाइएको छ । पछिल्लो दशकमा अत्याधिक विस्तार भएको रियल इस्टेट क्षेत्र र व्यावसायिक क्षेत्रले जीडीपीमा ९.२ प्रतिशत, शिक्षा क्षेत्रले ६.८ प्रतिशत र वित्तीय क्षेत्रले ५ प्रतिशत हिस्सा ओगटेका छन् । कृषिपछि अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने क्षेत्र भने थोक तथा खुद्रा व्यापार नै छ, जसले १४.२ प्रतिशत हिस्सा ओगटेको छ । होटल तथा रेष्टुँरा क्षेत्रको योगदान भने २.१ प्रतिशतमा स्थिर छ । कारोबार दैनिकबाट ।

धान उत्पादनमा कीर्तिमान, एक खर्ब साढे चार अर्बको ५२ लाख ३० हजार मेट्रिक टन धान फल्यो

काठमाडौं १८, पुस । अघिल्लो वर्षको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान राखेका छन्। अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दी लगायतकका कारण मल बिउ र औषधि अभावले धान उत्पादनको १० प्रतिशत घटेको थियो। अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष सर्वाधिक धान उत्पादन भएको हो। गत वर्षको तुलनामा २१.६६ प्रतिशतले धान उत्पादन वृद्धि भएर यो वर्ष १ लाख खर्ब साढे चार अर्ब मुल्य बराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९१ हजार मेट्रिक टन धान फलेको थियो। अघिल्ला वर्षाको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन्। अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दीलगायतका कारण मल, बिउ र औषधि अभावले धान उत्पादन १० प्रतिशतले घटेको थियो। अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष अत्यधिक धान उत्पादन भएको छ। गत वर्षको तुलनामा २१.६६ प्रतिशतले उत्पादनमा वृद्धि भएर यो वर्ष एक खर्ब साढे चार अर्ब मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो। यस वर्ष उल्लेख्य परिमाणमा धान फल्नुमा १० वटा जिल्लाको उत्पादनले मुख्य भूमिका खेलेको छ। कृषि विकास मन्त्रालयले आइतबार वर्षेवालीको तथ्यांक सार्वजनिक गर्दै १० जिल्लामा अत्याधिक उत्पादन हुँदा परिमाणमा वृद्धि आएको जनाएको छ। केही वर्षयता उत्पादनको हिसावले निकै तल पुगेको केही जिल्ला पनि यो वर्ष माथि उक्लेका छन्। नेपाल राष्ट्रबैंक र केन्द्रीय तथ्यांक विभागसँग सहकार्य गरी धान उत्पादनको अवस्था सार्वजनिक गरिएको छ। यो वर्ष आश्चर्यजनक रूपमा धानको उत्पादन वृद्धि भयोु, मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ुउन्नत बिउ, मल, प्रविधि र अकासे पानीका कारण उत्पादनले रेकर्ड तोड्यो। धान उत्पादनका हिसाबले झापा सर्वोत्कृष्ट ठहरिएको छ। झापामा यस पटक तीन लाख ३८ हजार मेट्रिक टन धान फलेको छ। यसैगरी दोस्रो नम्बरमा मोरङ आएको छ। मोरङमा तीन लाख २५ हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ। तेस्रो नम्बरको कैलालीमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन र चौथो रूपन्देहीमा दुई लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान फलेको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए। यस्तै बारामा दुई लाख ४० हजार चार सय २५ मेट्रिक टन, धनुषामा दुई लाख २५ हजार तीन सय ९८ मेट्रिक टन, कपिलवस्तुमा दुई लाख १० हजार पाँच सय ८२ मेट्रिक टन, बर्दियामा दुई लाख दुई हजार मेट्रिक टन, सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन र सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन धान फलेको छ। नवलपरासीमा एक लाख ८२ हजार, पर्सामा एक लाख ८० हजार, कञ्चनपुरमा एक लाख ६७ हजार, सप्तरीमा एक लाख ६२ हजार र सिरहामा एक लाख ५५ हजार मेट्रिक टन धान फलेको छ। सातआठ वर्षदेखि सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायतका जिल्लामा धान कम परिमाणमा फल्दै आएको थियो। धान उत्पादनमा वृद्धि भए पनि नेपालीको भाते बानीका कारण यस वर्ष पनि करिब चार लाख मेट्रिक टन चामल अपुग हुने अवस्था छ। ुगत वर्षको गहुँको उत्पादनकै हाराहारीमा उत्पादन भए यो वर्ष खाद्यान्नमा आत्मनिर्भर भएर करिब आठ लाख मेट्रिक टन खाद्य बचत हुने अवस्था छ, प्रवक्ता कार्कीले भने। कृषि विभागका महानिर्देशक युवकध्वज जीसीका अनुसार चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा यस वर्ष मकै, कोदो र फापर उत्पादनमा समेत वृद्धि भएको छ। यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन मकै फलेको छ। अघिल्लो आर्थिक वर्षमा २२ लाख ३१ हजार मेट्रिक टन मकै फलेको थियो। यस्तै यस वर्ष तीन लाख ६ हजार मेट्रिक टन कोदो उत्पादन भएको छ। अन्नपूर्ण पोस्टबाट ।

प्राथमिकतामा रेलवे निर्माण

काठमाडौं, १७ पुस । जनकपुर–जयनगर रेल वे र अमलेखगञ्ज–रक्सौल रेल वेको कथा इतिहासका पानामा सीमित भैसकेका बेला नेपालले फेरी रेल सञ्जाल विस्तारको अभियान थालेको छ । नेपालले काठमाडौंमा मेट्रो रेल, काठमाडौं–पोखारा–लुम्बिनी विद्युतिय रेल, मेची–महाकाली विद्युतिय रेल, काठमाडौं–बिरगञ्ज विद्युतिय रेल, तराईमा क्रस बोर्डर रेल लाइन, जनकपुर–जयनगर रेल र काठमाडौं–रसुवागढी रेल वे नेटवर्क विस्तारको दीर्घकालिन योजनामा धमाधम काम गरिरहेको छ । काठमाडौं–रसुवागढी रेल वे निर्माणका लागि चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशन ग्रुपले प्रस्ताव गरेको छ । उसले १०५ किलोमिटरको रेल वे लाईन मार्फत काठमाडौं–रसुवागढीलाई एक घण्टामै जोडिदिने प्रतिवद्धता समेत व्यक्त गरेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज रेल वेको सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरिएको छ । रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन–‘हामीले नेपालको रेल वे नेटर्वको दीर्घकालिन रोडम्याप अनुसार काम गरिरहेका छौं, कुनै ठाउँमा निर्माण आरम्भ भैसकेको छ भने कहिँ डिपिआर हुँदैछ, कतै सम्भाव्यता अध्ययनको चरणमा छौं ।’ उनका अनुसार मेची–महाकाली ९४५ किलोमिटर लामो विद्युतिय रेल मार्गको बर्दिबास–लालबन्दी–खण्डमा धमाधम निर्माण अघि बढेको छ । त्यस्तै, काठमाडौं मेट्रोरेल, काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन सम्बन्धि पुरानो रिपोर्टलाई पुनः मुल्यांकन गरिँदैछ । त्यस बाहेक जनकपुर–जयनगर रेल वे सहित अन्य आधा दर्जन नाकाबाट नेपाल–भारत क्रस बोर्डर रेल वे लाइन निर्माणबारे पनि अध्ययन भैरहेको महानिर्देशक आचार्यले बताए । काठमाडौं–रसुवागढी यात्रा १ घण्टामा, २८० अर्बको योजना चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै छ । प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सीमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ । यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुनेछ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्नेछ । रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ । चाइना रेल वे इन्टरनेशनल ग्रुपले चिनियाँ सरकारको दिर्घकालिन सहुलियत ऋणमा यस्तो रेल मार्ग निर्माण गर्न सकिने जनाएको छ । कम्पनीले १८ अर्ब चिनियाँ यूवान (करिव २ खर्ब ८० अर्ब रुपैयाँ) खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको हो । ‘चिनियाँ कम्पनीले चीन सरकारको दीर्घकालिन सहुलियत ऋणमा रेल बनाउन सकिने प्रस्ताव गरेको छ, उसले तत्कालै दुई सरकारबिच सम्झौता गरेर अध्ययन थाल्न सकिने पनि बताएको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले भने । यी हुन सम्भाव्यता अध्ययन सम्पन्न भएका रेल वे मेची–महाकाली ९४५ किलोमिटर काठमाडौं–पोखारा १६० किलोमिटर मेची–महाकाली(आँबु खैरेनी लिंक) ७२ किलोमिटर मेची–महाकाली(उत्तर दक्षिण लिंक) ११३ किलोमिटर निजगढ–हेटौँडा–भरतपुर १३५ किलोमिटर चाइना रेल वे इन्टरनेशनल ग्रुपले अघि सारेको सो रेल मार्ग निर्माण सम्बन्धी प्रस्ताव विभागमा पुस ११ गते २३६ नम्बरमा दर्ता भएको छ । कम्पनीले केहि समय अघि विभागमा पेश गरेको प्रस्तावलाई थप परिमार्जन गरेर पुनः पेश गरेको हो । कम्पनीले चीन सरकारको सहुलियत ऋण र नेपालका सरकारले थोरै लगानी गरेर त्यस्तो रेल बनाउन सकिने उल्लेख गरेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ । बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हेरिएको छ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने । युरोप जोड्ने मेची–महाकाली रेल, बर्दिबास–लालबन्दिमा धमाधम काम मेची महाकाली रेल मार्गको बर्दिबास लालबन्दी खण्डमा धमाधम निर्माण भैरहेको रेल मार्ग मेची–महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम पनि अघि बढेको छ । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर, जोगबनीदेखि बिराटनगरसम्मको १३ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क रहेको छ । काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल ९४५ किलोमिटर रेल वेले नेपाललाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । ट्रान्स एसियन रेल वे लाइन ९ हजार २ सय ८९ किलोमिटर लामोे हुनेछ । नेपाललाई ट्रान्स एसियन रेल वे लाइनको मिसिङ लाइनका रुपमा राखिएको छ । मेची–महाकाली रेल वे प्रतिघण्टा २०० किलोमिटर स्पिडमा दौडने स्ट्डाण्डर्ड गेजको हुनेछ जुन भारतको रेल लाइन भन्दा द्रुतगतिको हो । ‘हामीले बनाउने रेल स्ट्याण्र्ड गेजको हुनेछ, जुन भारतको भन्दा आधुनिक हो’, महानिर्देशक आचार्यले भने ।   डिपिआर तयार भएको रेल वे बर्दिबास–सिमरा–बिरगञ्ज १३६ किलोमिटर सिमरा–तम्सरिया १२७ किलोमिटर तम्सरिया–बुटवल–लुम्बिनी लिंक १०९ किलोमिटर ५४७ अर्ब खर्चेर उपत्यकामा मेट्रो रेल सन २०१२/१३ मा चुङसुङ इञ्जिनियरिङ नामक कोरियाली कम्पनीले तयार पारेर बुझाएको काठमाडौंको आकाश र जमिनमुनी मेट्रो रेल सम्बन्धि सम्भाव्यता अध्ययनको फाइल खोल्ने तयारी भैरहेको छ । निर्माण आरम्भ भएको १० बर्षभित्र निर्माण सम्पन्न गर्न सकिने मेट्रो रेलको लम्बाई ७७ दशमलब २८ किलोमिटर हुनेछ । यसको निर्माण, मर्मत तथा डब्बा खरिद लागत जम्मा ५४७ अर्ब अनुमान गरिएको छ । त्यसरी निर्माण हुने रेलको २५ दशमलब ५० किलोमिटर खण्ड जमिन मुनी अर्थात राजधानीका सडक मुनी अण्डर ग्राउण्डमा निर्माण हुनेछ । बाँकी ५१ दशमलब ७८ किलोमिटर रेल राजधानीको आकाशमा अर्थात सडक माथी फ्लाईओभर(फलामे पुलमा) निर्माण हुनेछ । कहाँ कहाँ गुड्छ आकाशमा रेल ? सो अध्ययनले तीनवटा मेट्रो रेलको लाइन राजधानीका सडक माथि फलामका पुल बिछ्याएर निर्माण गर्ने उल्लेख गरेको छ । जस अनुसार पहिलो रेल वे लाइन १२ दशमलब १० किलोमिटरको हुनेछ । यो लाइन सातदोबाटोबाट, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज हुँदै नारायणगोपाल चौकसम्म पुग्नेछ । दोश्रो मेट्रो रेल लाइन कलंकीबाट सुरु भएर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, तिनकुने हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नेछ र यसको लम्बाई ११ दशमलब १५ किलोमिटरको हुनेछ । तेश्रो रेलवे लाइनले भने चक्रपथ परिक्रम गर्नेछ । जुन २८ दशमलब ५३ किलोमिटरको हुनेछ । यसरी निर्माण हुने तीन वट रेलवे लाइनको कुल लम्बाई ५१ दशमलब ७८ किलोमिटरको हुनेछ । जमिन मुनी अण्डरग्राउण्ड रेल राजधानीका सडक मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलवे लाइन भने कुल २५ दशमलब ५० किलोमिटरको हुनेछन् । यो रेल लाइन स्वयम्भु, छाउनी, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला, चावहिल, हुँदै बौद्धसम्म पुग्नेछ । चौथो रेल लाइनका रुपमा अघि सारिएको यो खण्डको लम्बाई ११ दशमलब ७० किलोमिटरको हुनेछ । त्यस्तै पाँचौै तथा अन्तिम लाइन भने धोबीघाटबाट सुरु भएर पुल्चोक, पाटन दरबार, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, डिल्लीबजार, टंगाल, नारायणहिटी दरबार, नयाँ बजार, हुँदै गोंगम्बु पुगेर टुंगिनेछ । यसको लम्बाई भने १३ दशमलब ८० किलोमिटरको हुनेछ । काठमाडौं–पोखारा १६० किलोमिटर ३२० अर्ब लागतमा काठमाडौं–पोखरा रेलमार्ग निर्माण गर्न सकिने अध्ययन प्रतिवेदन तयार छ । चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडले गरेको सम्भाव्यता अध्ययनको त्यस्तो रिपोर्ट पनि रेल विभागमै छ । सिएएमसीले आफ्नो अध्ययन प्रतिवेदन ६ महिना अघि रेल विभागलाई बुझाएको थियो । काठमाडौंदेखि पोखरासम्म १६० किलोमिटर दुरी पार गर्ने रेल सेवा विस्तार गर्न सकिन्छ । त्यसको करिब ३३ प्रतिशत अर्थात करिब ५२ दशमलब ८ किलोमिटर खण्डमा सुरुङ तथा पुलहरुको निर्माण गर्नुपर्नेछ । यो रेल मार्गको औषत निर्माण लागत प्रतिकिलोमिटर २ अर्ब रुपैंयाँ अनुमान गरिएको छ । रिपोर्टका अनुसार काठमाडौंको टोखामा स्टेशन हुनेछ । टोखाबाट धादिङको ढुंंगाना, हुग्दी खोला हुँदै बैरेनीमा त्रिशुली पारीबाट मार्ग अघि बढ्दै मलेखुबाट कुरिनटारसम्म पुग्नेछ । त्यहाँबाट एउटा रेलमार्ग पोखरा तिर अघि बढ्नेछ भने अर्काे लुम्बिनी तर्फ जानेछ । पोखरा जाने रेलमार्ग कुरिनटारबाट आँबु खैरनी, डुब्रे, दमैली हुँदै १६० किलोमिटर दुरी पार गरेर पोखरा पुग्नेछ । कुरिनटारदेखि लुम्बिनीसम्म काठमाडौंबाट कुरिनटारसम्म रेलमार्गको दुरी ७९ किलोमिटर हुनेछ । कुरिनटारदेखि लुम्बिनीसम्मको दुरी १६४ किलोमिटर हुनेछ । यसरी काठमाडौंदेखि २४३ किलोमिटर रेलमार्गद्धारा काठमाडौं र लुम्बिनी जोड्न सकिने छ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेल रेल विभागले नै आर्थिक बर्ष २०७३/७४ कोे बजेट गरिएको व्यवस्था अनुसार काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययनकाm लागि टेण्डर आव्हान गरिसकेको छ । विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाएको हो । सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने साहले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । यसरी विस्तार हुने रेल सञ्जालले नेपाललाई अन्तराष्ट्रिय रेल वे सञ्जालम मात्रै पुर्याउने छैन अपितु नेपाली उत्पादन नै संसारभर फैलाउनेछ ।

३६ करोड खर्चेर नेपाल टेलिकमले शुरु गर्यो काठमाडौं र पोखरामा फोरजी

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले ३६ करोड खर्चेर काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले काठमाडौंको रिङरोड, इन्द्रायणी नगरपालिका, गोकर्ण रिसोर्ट र भक्तपुरलाई कभर हुने गरि आइतबारबाट सेवा आरम्भ गरेको हो । त्यस्तै पोखराको महेन्द्रपुल, न्युरोड र लेकसाइड लगायतका क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । काठमाडौंमा ३०८ र पोखारामा २५ वटा टावरबाट फोरजीको सिग्नल प्रसारण गरिएको टेलिकमले जनाएको छ । कम्पनीले तत्कालै काठमाडौंमा थप ७९ वटा बिटिएस टावरबाट फोरजी सिग्नल प्रसारण गर्ने जनाएको छ । टेलिकमले हुवावे टेक्नोलोजीसँगको सहकार्यमा फोरजी सेव आरम्भ गरेको हो । टेक्नोलोजी न्युट्रालीटी गरेर १८०० ब्रोडब्याण्डको ५ मेगाहर्जमा फोरजी सञ्चालन गरिएको हो । पहिलो चरणमा पोष्टपेड मोबाइल प्रयोग कर्ताहरुले मात्रै फोरजी सेवा प्राप्त गर्न सक्नेछन् । उनीहरुले पनि युनिर्भसल सिम(युसिम)बाट मात्रै यस्तो सेवा पाउने टेलिकमकी महाप्रबन्धक कामीनी राज भण्डारीले बताइन् । टेलिकमले आगामी माघ २२ गतेदेखि प्रिपेड सेवामा पनि फोरजी सञ्चालन गर्नेछ । त्यस्तै, सोही मितिदेखि काठमाडौं र पोखरा बाहेक १५ वटा महानगर तटा उप महानगरपालिकामा पनि फोरजी आरम्भ गर्नेछ । फोरजी सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नेपालले नेपाल टेलिकम पनि जनकपुर चुरोट कारखानीको अवस्थामा नपुगोस भन्दै खबरदारी गरेका थिए । मन्त्री कार्कीले नेपालमा सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना र संस्थाहरु आवश्यक रहेको बताउँदै सरकारी कम्पनीसँग निजी क्षेत्रका कम्पनीले प्रतिष्पर्धा गर्नै नसक्ने दावी पनि गरेका थिए । उनले आइसीटी र विकासलाई सँगै लैजान नसकिएको टिप्पणी गर्दै हुलाक सेवालाई सामुदायीक सूचना केन्द्रका रुपमा अघि बढाउने तयारीमा सरकार लागेको जानकारी पनि दिएका थिए । त्यस्तै, नेपालले आफ्नै स्याटेलाइट सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले २० वटा कम्पनीले आसय पत्र बुझाएको बताए ।

आशा लघुवित्तको थप दुई शाखा तनहुँमा सञ्चालन, अझै ५ स्थानमा खोल्ने तयारी

काठमाडौं, १७ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक थप २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । संस्थाले तनहुँको तुरतुरे र खैरेनीटारमा आफ्नो दुई कार्यालय सञ्चालन गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले तुरतुरे शाखाको उदघाटन गरेका छन् भने खैरेनीटार शाखाको उद्घाटन संस्थाका संचालक प्रदिपकुमार खडकाले गरेका छन् । संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने उद्देश्य लिएको छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयवृद्धि मुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराएको छ । साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले तनहुँ जिल्लामा २ वटा शाखा खोलेको जानकारी संस्थाका विभागिय प्रमुख जीवन खनालले दिएका छन् । साथै संस्थाको चितवन, धादिङ्, नवलपरासी, सुनसरी, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।

सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र बोर्डको अनुमति

काठमाडौं, १७ पुस । सिटिजन्स बैंक इन्टरनेसनलले १० बराबर २.५ (अर्थात २५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डको अनुमति मागेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभाबाट निर्णय भए वमोजिम सो मात्राको शेयर निष्काशन गर्न विवरणपत्र तयार गरी स्वीकृतिको लागी बोर्ड समक्ष अनुमति मागेको हो । सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागी बैंकले आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ । साथै, आगामी माघ १ गते देखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागी आश्वा प्रणालीको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

कालीगण्डकीबाट दुई किलोवाट विद्युत् उत्पादन, पाँच किलोवाटसम्म उत्पादन गर्न सकिने

म्याग्दी, १७ पुस । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारका एक व्यक्तिले कालीगण्डकी नदीमा उपकरण जडान गरी दुई किलोवाट विद्युत् उत्पादन गरेका छन् । दैनिक हुने विद्युत्भार कटौतीबाट आजित भएपछि बेनीबजारवासीलाई वैकल्पिक ऊर्जाका बारेमा जानकारी गराउन म्याग्दी ऊर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकको कालीगण्डकीबाट दुई किलोवाट क्षमताको विद्युत् उत्पादन शुरु गरेका हुन् । तत्काललाई अस्थायी रुपमा सञ्चालन गरे पनि सबैको सहयोग भएमा पाँच किलोवाटसम्म उत्पादन गर्न सकिने श्रेष्ठले बताए । विगत २०५७ सालदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले जिल्लाको सदरमुकाम बेनीबजार आसपासबाट बग्ने म्याग्दी र कालीखोलाबाट बजार तथा आसपासका क्षेत्रमा ऊर्जाको खपत गर्न सकिने दाबीसमेत गरेका छन् । विद्युत् उत्पादनका लागि कुलो निर्माणका साथै टर्वाइन, जेनेरेटर र छ मिटरको पाइपका साथै अन्य सामग्री प्रयोग गरिएको छ । प्रतिसेकेन्ड एक सय लिटर पानी फालेपछि एक हजारवाट उत्पादन गर्न सकिन्छ । एक हजारवाट बराबर एक किलोवाट हुन्छ । एक किलोवाटबाट एक सय चिम बाल्न सकिन्छ । म्याग्दी ऊर्जा केन्द्रले जिल्लाका विभिन्न गाविसका साथै ओखलढुङ्गा, रामेछाप, चितवन, मकवानपुर, रुकुम, जाजरकोटका साथै विभिन्न एक दर्जन जिल्लामा पाँचदेखि १० किलोवाटसम्मको लघु जलविद्युत् जडान गरेको जनाएको छ । रासस

पश्चिमी वायुको प्रभावबाट जाडो वृद्धि, सोमबारसम्म चिसो बढ्नुका साथै पानी पर्ने

काठमाडौं, १७ पुस । भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ ।  जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ । विभागका मौसमविद् सुवास रिमालले भने, “मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउने देखिन्छ । ” काठमाडौंको न्यूनतम तापक्रममा खासै असर नपरे पनि अधिकतम तापक्रम घटेर १९.५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ । पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने सङ्केत देखिएको छ । हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हुँदै नेपालमा बहन्छ । जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताए । शनिबार उच्च हिमाली क्षेत्रमा हिमपात भएको र राजधानीमा ०.१ मिलिमिटर वर्षा भएको थियो भने अझै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । रासस