भूकम्प प्रभावितलाई ट्याक्सी वितरण गर्ने तयारी अन्तिम चरणमा, एक सातामा सकिने
ललितपुर, १४ पुस । सरकारले भूकम्प प्रभावितलाई लक्षित गरेर ट्याक्सी वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्गलबार प्राप्त एक लाख ३६ हजार जनाको फारामको तथ्याङ्क कम्प्युटरमा राख्ने काम सकिएकाले ट्याक्सी वितरण छिटै हुने वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयको साना ठूला सवारी शाखाले जनाएको छ । सबैभन्दा लामो समय लाग्ने कम्प्युटरमा तथ्याङ्क भर्ने काम एक सातामा सकिने प्रशासन प्रमुख हरि लामिछानेले बताए । सबैभन्दा लामो समय नै कम्प्युटरमा भर्न लाग्ने भएकाले यसपछि प्रभावितलाई ट्याक्सी वितरण गर्न धेरै समय नलाग्ने उनले बताएका छन् । उनले भने, “एक सातामा फाराम भरिसक्ने र सम्पादनको काम सकिएपछि स्वीकृत नामावली प्रकाशित हुनेछ ।” अन्तिम नामावली प्रकाशित गरेपछि कार्यालयले चिट्ठा प्रक्रियाबाट नाम छानेर ट्याक्सी वितरण गर्नेछ । दैनिक १५/६ जना कर्मचारी कम्प्युटरमा तथ्याङ्क भर्नकै लागि लागेका छन् । कार्यालयले गत साउन ५ गतेबाट भदौ २ गतेसम्म नयाँ ट्याक्सी नम्बर दर्ताका लागि निवेदन सङ्कलन गरेको थियो । फाराम भर्नेबाट एक हजार ५०० जनाको चिट्ठाबाट नाम निकाल्ने कार्यालयले जनाएको छ । झन्डै डेढ लाख प्रभावितले फाराम भरेका थिए । रासस
द्वन्द्व पीडितका नाममा माअाेवादीका पूर्व लडाकुलाई अपर तामाकोशीको सेयर दिन लागेकाे अाराेप
काठमाडौं, १४ पुस । सरकारले द्वन्द्व पीडितका नाममा माओवादीका पूर्व लडाकुहरुलाई अपर तामाकोशीाको सेयर बाढ्न लागेको आरोप सांसदहरुले लगाएका छन् । दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले पत्रकार सम्मेलन गरेरै द्वन्द्व पीडितका नाममा लडाकुलाई अपर तामाकोशीको सेयर दिन लागिएको भन्दै आपक्ति जनाएका हुन् । उनीहरुले दोलखाली जनतालाई सेयर दिन छाडेर लडाकुलाई सेयर दिने कुरा आफुहरुलाई मान्य नहुने भन्दै एमाले सांसद पशुपति चौलागाई, पार्वत गुरुङ र आनन्द पोखरेलले आन्दोलनको चेतावनी समेत दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजनाका लागि सरकारले दिएको ११ अर्ब रुपैँयालाई अनुदानमा परिणत गरिदिने र सो वापत द्वन्द्व पीडितलाई सेयर दिने बताएका थिए । ‘सरकार द्वन्द्व पीडितका नाममा लडाकुलाई दिन खोजिरहेको छ, यो हाम्रा लागि सह्य बिषय हुनै सक्दैन ।’ एमाले सांसद पशुपति चौलागाईँले विकासन्युजसँग भने । उनले प्रति दोलखाली ३५ कित्ता सेयर मात्रै पाउने अवस्था रहेको बताउँदै भने–‘दोलखाली जनता पैसा तिरेर सेयर किन्न तयार छन् तर प्रति दोलखाली जनताले जम्मा ३५ कित्ता सेयर मात्रै पाउने अवस्था छ, यो सेयर दोलखाली जनता आफैं किन्न तयार छन्, लडाकुलाई दिन मिल्दैन् ।’ हाल दोलखाको जनसंख्या २ लाख ६४ हजार रहेको छ । अपर तामाकोशीको १० प्रतिशत सेयर दोलखाबासीलाई दिने आयोजनाको तयारी छ । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाबाट दोलखाली जनताले एक अर्ब ५ करोड ९० लाख रुपैंयाँ मुल्य बराबरको सेयर प्राप्त गर्ने अवस्था छ । गौरी शंकर र लामा बगर गाबिसका नागरिकलाई आयोजना प्रभावित क्षेत्रका लागि विनियोजीत १० प्रतिशत सेयरलाई एक सय प्रतिशत मानेर त्यसको १० प्रतिशत दिने निर्णय भैसकेको छ । त्यस्तै, खारे र ओराङ गाबिसका नागरिकलाई पनि केहि बढि सेयर दिनेबारे छलफल भैरहेको छ । हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ । यस अघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १,८२,९९,५२० कित्ता, कम्पनी लाई ऋण प्रदान गर्ने सँस्थाका कर्मचारीहरुका लागि ३०,४९,९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४०,६६,५६० कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।
आशा लघुवित्तको नयाँ शाखा मकवानपुरको बज्रवाराहीमा
काठमाडौं, १४ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको बज्रवाराहीमा आफ्नो ७औं शाखा कार्यालयको स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन संस्थापक शेयरधनी धुर्व धितालले गरेका छन् । संस्थाले आधुनिक प्रणालीका माध्यमबाट सरल, सहज लघु बैकिङ्ग सेवा त्यस क्षेत्रका ग्रामिण, दुर्गम तथा पिछडिएको वर्गहरुको आर्थिक, सामाजिक उन्नतीमा टेवा पुर्याउने उद्देश्यको साथ सो स्थानमा कार्यालयको स्थापना गरेको बताएको छ । हालसम्म ६ वटा शाखा कार्यालय स्थापना गरिसकेको यस संस्थाले चाडै नै तनहुँ जिल्लामा २ वटा शाखा कार्यालय स्थापना गर्ने बताएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे, पुर्वमन्त्री भक्तबहादुर बलायर, प्रभु क्यापिटलका अध्यक्ष विनोद थकाली साथै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।
कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने, पूँजी ७ अर्ब रुपैयाँ नाघ्ने
काठमाडौं, १४ पुस । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ०५३ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीेले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ ।
पुर्ननिर्माणमा खटिएका प्राबिधिकलाई ७५ प्रतिशत भत्ता दिने सरकारको निर्णय
काठमाडौं, १४ पुस । सरकारले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पुर्ननिर्माणमा खटिएका प्राबिधिकहरुलाई योगदानका आधारमा ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको सञ्चार मन्त्री तथा प्रवक्ता राम कार्कीले बताए । सेवा सुबिधा कम भएको भन्दै पुर्ननिर्माणमा खटिएका इञ्जिनियरहरुले केहि दिन अघि सामुहिक राजीनामा दिएका थिए । भत्ता बढाउने निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको जानकारी प्राधिकरणले गराएपछि मात्रै उनीहरु काममा फर्कन तयार भएका थिए ।
बीमा समितिको अध्यक्ष नियुक्तीमा ढिलाई, प्रधानमन्त्रीले चाहेको व्यक्ति को ?
काठमाडौं, १४ पुस । सरकारले बीमा समितिको अध्यक्ष नियुक्तीमा ढिलाई गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा समितिको अध्यक्ष नियुक्ती सम्बन्धमा छलफल भएपनि निर्णय भएको छैन । स्रोतका अनुसार अर्थमन्त्रीले कृष्णवहादुर महराले समितिको अध्यक्षको लागि नामसहित प्रस्ताव गरेको थिए । प्रधानमन्त्री पुष्पकमल दालालले ‘यो विषयमा पछि निर्णय गरौ भनेपछि रोकिएको छ । स्रोतका अनुसार डा रविन्द्र घिमिरे, चिरञ्जीवि चापागाई र रमेशकुमार भट्टराई मध्ये एकलाई नियुक्ती गर्न अर्थमन्त्रीले प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको चासो अर्को व्यक्तिमा भएकोले रोकिएको हुन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार डा रबिन्द्र घिमिरे नियुक्त हुने सम्भावना बढी छ । पुस ७ गतेदेखि बीमा समितिको अध्यक्ष पद खाली भएको छ । कार्यकारी अध्यक्ष पद खाली हुँदा बीमा समितिको दैनिक काम प्रभावित भएको छ । बीमा कम्पनीहरुको वार्षिक साधारणसभा लगायत नियमित गतिविधि रोकिएका छन् । बीमा एजेन्टहरुको हड्तालले जीवन बीमा कम्पनीहरुको नयाँ कारोबार पूर्ण रुपले बन्द भएको छ ।
आईएनजीओको अधिक खर्चले माइस पर्यटन बढ्यो, होटलमै पार्टी संस्कृतिले माइस पर्यटनप्रति आकर्षण
काठमाडौं १४, पुस । नेपालमा पछिल्लो तीन वर्षदेखि सभा-सम्मेलन, बैठक, गोष्ठि वा अन्तरक्रिया (माइस) पर्यटन बढेको छ । विदेशबाट आउने माइस पर्यटनमा मात्रै भर पर्नुपर्ने अवस्था नरहेको र नेपालकै विभिन्न संघसंस्थाले गर्ने कार्यक्रमका कारण माइस पर्यटन बढेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । उनका अनुसार कसले के प्रयोजनको लागि कार्यक्रम गर्छ भन्दा पनि होटलमा वा होटल बाहिर हुने यस्तो औपचारिक कार्यक्रमले माइस पर्यटनलाई प्रवद्र्धन गरिरहेको उनको भनाइ छ । ‘जसरी आन्तरिक पर्यटकले पर्यटकीय गन्तव्य र होटल धानेका छन्, त्यसैगरी माइस पर्यटन पनि आन्तरिकले नै धान्न थालेको छन्’, शाहले भने । उनका अनुसार पर्यटन क्षेत्रको लागि यो सकारात्मक सन्देश पनि हो । कुनै पनि विवाह, व्रतवन्ध, कार्यालयको नयाँ प्रगति तथा रिफ्रेशमेन्टका नाममा होटलमै पुगेर पार्टी दिने संस्कृतिले पनि माइस पर्यटन प्रवद्र्धन गरिरहेको छ । तीन वर्ष अगाडि नेपालमा माइस पर्यटनका लागि आउने विदेशीको संख्या आठदस हजार जना मात्रै थियो । अहिले यो संख्या बढेर २५ देखि ३० हजार पुगेको पर्यटन मन्त्रालयको भनाइ छ । पर्यटक आवागमनकै तथ्यांक नभएकोले यति नै पुगे भनेर एकीन गर्न नसके पनि पर्यटकीय चहलपहलका आधारमा गरिने अनुमानका आधारमा भन्ने हो भने पनि माइस पर्यटन सन्तोषजनक रूपमा नै बढिरको मन्त्रालयको भनाइ छ । माइस बढ्दै जाँदा नेपालमा माइस पर्यटनको लागि उपयुक्त सम्मेलन हलको पनि जरुरी रहेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । आईएनजीको अधिक खर्चको फाइदा माइस पर्यटनमा अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को कार्यक्रमको चटारो होस् वा होटलसम्म आइपुग्ने कुनै पनि स्वदेशी संस्थाको कार्यक्रमले होस्, होटलको व्यस्तता भने बढेकै देखिएको चार तारे होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रल्हादराज कुँवरको भनाइ छ । उनका अनुसार दुई तीन वर्ष अगाडिसम्म होटलमा कार्यक्रम नै हुन विहेकै सिजन आउनुपर्ने थियो भने आर्थिक वर्ष तथा अंग्रेजी नयाँ वर्ष नजिकिदै गर्दा होटलमा कार्यक्रमको व्यस्थता हुने गथ्र्यो । तर, आजकाल त हरेक महिना कार्यक्रम हुने गरेको छ । जसका कारण माइस पर्यटन प्रवद्र्धन गर्न सहज हुने पनि होटलको भनाइ छ । शाहका अनुसार होटलको विजनेश सिजन अनुसार हुने भएपनि पछिल्लो दुई वर्षदेखि भने विभिन्न प्रकारका संघ संस्थाकै कार्यक्रमले होटलको बैठककक्ष भरिने गरेका छन् । आईएनजीओका लागि डिसेम्बर महिना सबै भन्दा बढी पीक आवर भएकोले पनि वर्षभरीको कांर्यक्रमको समीक्षा गर्ने तथा प्रतिवेदन बनाउने समय हो । त्यसैले पनि होटलका बैठक कक्ष भरिभराउ हुने गरेको शाहको बुझाई छ । हिमालय होटलका अनुसार उपयुक्त लोकेशनमा भएको र चारतारे भएपनि पाँचतारेसरहकै सुविधा दिने भएकोले पनि यो होटल विदेशी तथा स्वदेशीको माइस पर्यटनको गन्तव्य हुने गरेको छ । हिमालय होटलमा विभिन्न क्षमताका चारवटा सेमिनार हल रहेका छन् । उनका अनुसार पछिल्लो समय होटलले दैनिक चार देखि साढे चार सय जनासम्मलाई दैनिक सेमिनारसहितको सुविधा दिइरहेको छ । होटलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँ खर्च गर्नेका लागि एक दिनको र कम्तिमा १२ सय रुपैयाँसम्म करबाहेक खर्च गर्नेका लागि आधा दिनका खाना, खाजा, नास्तासहितको बैठक हल उपलव्ध गराउँने हिमालयले जानकारी दिएको छ । सभा सम्मेलनको चटारो वर्षेभर एयरपोर्ट होटलका संचालक शाहका अनुसार पछिल्लो समय बार्षिक प्रतिवेदनका लागि मात्रै नभएर त्रैमासिक तथा अर्ध वार्षिक प्रतिवेदनका लागि पनि होटलमै बैठक हुने गरेको छ । उनका अनुसार पछिल्लो समय जिल्लाबाट आउनेलाई तालिम दिने देखि रिफ्रेशमेन्ट कार्यक्रम सहितको कार्यक्रम होटलमा नै हुने गरेको छ । सबै संस्थाले आफ्नै कार्यालयमा तालिम तथा रिफ्रेशमेन्ट कार्यक्रम दिन नसक्ने भएकोले पनि होटल नै चाहिने शाहको बुझाई छ । उनका अनुसार एयरपोर्ट होटलमा मात्रै बार्षिक १५/२० वटा संस्थाले नियमित कार्यक्रम गर्ने गरेका छन् । यी संस्थाले वर्षभरी गर्ने सबै कार्यक्रम होटलमा गर्छन भने वार्षिक रूपमा हुने विशेष कार्यक्रम गर्न आउनेको संख्या पनि बढ्दै गएको छ । यसैले पनि वर्षेभरी सभा सम्मेलनको चटारो हुन थालेको छ । तीनतारे होटल एयरपोर्टले दैनिक ७०/८० जनालाई सेमिनारसहितको सेवा दिने गरेको छ । कुनै पनि संस्थाले आफ्नो बजेट अनुसार होटल तय गर्ने भएपनि औषतमा १२ सय देखि १४ सय रुपैयाँसम्म प्रतिव्यक्ति खर्च गर्न सक्ने क्षमता भएका संस्था आफ्नो होटलमा आउने गरेको शाहले भनाइ छ । होटल सांग्रीलाका व्याङ्क्वेट सेल्स म्यानेजर जीत लामाका अनुसार सांग्रिलामा वार्षिक रूपमै नियमित कार्यक्रम गर्ने संस्थाको संख्या बर्षेनी बढ्दै गएको छ । उनका अनुसार एउटा संस्थाले वार्षिक आठ १० वटासम्म कार्यक्रम होटलमा गर्ने गरी सम्झौता हुन थालेको छ । यसले गर्दा पनि माइस पर्यटनलाई बढाएको लामाको बुझाई छ । लामाका अनुसार सांग्रीलामा ५० जनासम्मको जम्मा दुईवटा सेमिनार हल रहेको छ । यो हल विगत दुई तीन महिनादेखि आगामी जनावरीसम्का लागि भरिभाराउ छ । अहिले आईएनजीओको सिजन हो भने वर्षभरी नै हुने यीनिहरूका कार्यक्रम तथा एनजीओ र अन्य संस्थाको कार्यक्रमले गर्दा सेमिनार हल प्रायः व्यस्त नै हुने गर्छ । सांग्रीलामा हुने सेमिनारमा ब्रेक फाण्ड लन्ज र दुईवटा चियाका लागि करबाहेक २७ सय रुपैयाँ शुल्क रहेको छ । यो शुल्क तिरेपछि दिनैभरको लागि खानपिनसहितको कार्यक्रम हुने सांग्रीलाले जानकारी दिएको छ । खाना र चियासहित आधा दिनको लागि भने होटलले प्रतिव्यक्ति १८ सय रुपैयाँसम्म लिने गरेको छ । ‘विगत तीन वर्षदेखि पाँचतारे होटलमा गोष्ठि गर्ने संस्था बढेकोले यो र उ सिजन भन्ने छैन अहिले आईएनजीओको कार्यक्रम बढी हुने गरेको भएपनि बाह्रै महिना कार्यक्रम भइरहन्छ’, लामाले भने ।
६ महिनादेखि पाएनन् गाविस सचिवले भत्ता
काठमाडौं १४, पुस । गाविस सचिवहरुले पाउँदै आएको कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता रोकिएको छ । चालु आर्थिक वर्षको करिब ६ महिना बितिसक्दा समेत यसवर्ष गाविस सचिवहरुले प्रोत्साहन भत्ता पाएका छैनन् । प्रोत्साहन भत्ता रोकिएपछि ‘गाविस सचिव हकहित संरक्षण केन्द्र’ले केही दिनअघि मात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मन्त्रालयले अघिल्लो आर्थिक वर्षको वैशाखमै गाविस सचिवहरुलाई कार्यसम्पादन मूल्यांकन र अंकको आधारमा तलबको ४० देखि ५० प्रतिशतसम्म भत्ता दिने घोषणा गरेको थियो । प्रोत्साहन भत्ता चालु आर्थिक वर्ष २०७३र७४ देखि नै लागू हुने बताइएको थियो । पछिल्लो १४ वर्षयता स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा रहँदा गाविस सचिवहरुलाई कार्यबोझ थपिएको भन्दै मन्त्रालयले प्रोत्साहन भत्ता दिने अवधारणा ल्याएको हो । केन्द्रका अध्यक्ष दामोदर रिजालका अनुसार अघिल्लो आर्थिक वर्ष वैशाख, जेठ र असारको भत्ता सचिवहरुलाई दिइएको थियो । ‘अघिल्लो वर्षमा तीन महिनाको दिइयो, यो वर्षदेखि चाहिँ रोकिएको छ,’ रिजालले भने, ‘प्रोत्साहन भत्ता किन रोकिएको हा भनेर मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र पनि बुझाएका छौं।’ हाल देशभरि करिब ३ हजारको संख्यामा गाविस सचिवहरु रहेको उनले बताए । मुलुकभर गाविसको संख्या भने ३ हजार १ सय ५७ छ । केही गाविसमा अझै पनि एकजना गाविस सचिवले दुई ओटा गाविसको काम गरिरहेको रिजालले बताए । हाल स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा गाविसका सम्पूर्ण कार्य सचिवको काँधमा परिरहेको छ । स्थानीय तहमा हुने विकास निर्माणसँग सम्बन्धित कार्यक्रम तर्जुमा गर्नु, जनताबीच छलफल गराउनु, जनताका गुनासा र दबाब गाविस सचिवहरुले नै सुन्नु र खेप्नु परिरहेको छ । अझ वार्षिक रुपमा स्थानीय निकायको बजेट बढ्दै गएकाले पनि कार्यबोझ थपिदै गएको रिजालले बताए । ‘वर्षमा ८र१० लाख रुपैयाँको कार्यक्रम सञ्चालन गर्ने ठाउँमा ६र७ जना कर्मचारी छन्, काम नभएर उनीहरु झिँगा धपाएर बस्छन्,’ उनले भने, ‘हामी गाविस सचिवहरुले सामाजिक सुरक्षा भत्ता समेत गरी न्यूनतम १ करोड रुपैयाँको काम गर्नुपर्छ । यति धेरै काम गर्ने कर्मचारी जम्मा एकजना हुन्छ गाविस सचिव ।’ भूकम्प प्रभावित ३१ जिल्लामा पुनर्निर्माणको काम थपिएकाले त्यसले पनि गाविस सचिवको कार्यबोझ सिर्जना गरेको उनले बताए । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले गाविस सचिवहरुलाई भत्ता दिने निर्णय पहिल्यै भएको र हाल अर्थ मन्त्रालयबाट फाइल पठाउन ढिला भइरहेको बताए । ‘अर्थ मन्त्रालयमा राय माग्नका लागि फाइल पठाइसकिएको छ, हामीकहाँ फिर्ता आउन बाँकी छ,’ शर्माले भने । केन्द्रका अध्यक्ष रिजालले भने स्थानीय विकास मन्त्रालयले नै आफूहरुको समस्याप्रति साचो नदेखाएको जिकिर गरे । प्रोत्साहन भत्ता दिनका लागि मन्त्रालयले ६ आटा सूचक तोकेको छ ।पहिलो सूचकमा गाविस सचिवले गाउँकै कार्यालयमा बसेर काम गर्नुपर्नेछ । गाविस सचिवले एक महिनामा कम्तिमा २४ दिन गाउँकै कार्यालयमा बस्नुपर्नेछ । दोस्रो सूचकमा पञ्जीकरण, योजना ९मासिक, चौमासिक वार्षिक०, लेखा लगायतसम्बन्धी प्रतिवेदन बैठक सम्पन्न भएको ७ दिनभित्रै जिविसमा पेस गर्नुपर्ने उल्लेख छ । तेस्रो सूचकमा सामाजिक सुरक्षा भत्ता विवरण सार्वजनिक गरी ३५ दिनभित्र जिविसमा पेस गर्नुपर्ने, चौथोमा पेश्की, बेरुजु, आम्दानी, खर्च आदिको अभिलेख तोकिएको ढाँचामा राखिएको हुनुपर्ने, पाचौमा गाविसले न्यूनत सर्त तथा कार्यसम्पादनमा सफलता प्राप्त गरेको हुनुपर्ने र छैटौमा नियमित बैठक गरेको हुनुपर्ने उल्लेख छ । ६ ओटा सूचकमध्ये ८० अंक ल्याउने गाविस सचिवलाई तलबको ५० प्रतिशत, ६० देखि ८० अंक ल्याउनेलाई ४० र ६० अंक पनि ल्याउन नसक्नेलाई भत्ता नदिने बताइएको थियो । राजधानी दैनिकबाट ।