विकासन्युज

सेयर बजारमा छायो हरियाली, ५ अंकले बढ्यो नेप्से, सबै समूह उक्लिए

काठमाडौं, १३ पुस । बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तत ५ दशमलब ६२ अंकले बढेर १४१३ अंकमा अडिएको छ । बजार खुलेको केही बेरमै उकालो लागेर १४२२ अंकमा पुगेको नेप्से परिसूचक पछि ओरालो लागेर १४०५ अंकमा झरेको थियो । त्यसपछि करोबार बन्द हुँदा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचकसँगै बजारमा कारोबार भएका सबै समूहको परिसूचकहरु पनि हरिया भएका छन् । ७ समूहको कारोबार भएको बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बीमा र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । नेप्से परिसूचकमा केही सुधार आएता पनि कारोबारमा भने अझै सुधार आउन सकेको छैन । मंगलबार जम्मा ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १३ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेको इन्स्योरेन्सको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंकको २ करोड रुपैयाँ र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ । सोही दिन ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६.४८ प्रतिशत गुमाएका छन् ।

मेलम्चीको सुरुङमार्ग निर्माण कार्य ‘ब्रेक थ्रु’ हुँदै, आगामी भदौभित्र सम्पन्न हुने

काठमाडौं, १३ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य बुधबार ‘ब्रेक थ्रु’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ । कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ । यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो । साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । अहिले मेलम्चीको पानी उपत्यकावासीमा घर घरमा पुर्याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम द्रुतरुपमा भइराखेको छ । यस कामका लागि नै दिनरात एक हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन समेत भइराखेको छ । मन्त्रालयका सचिव उपाध्यायले भने “मन्त्रालयको सबै ध्यान आगामी दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन केन्द्रित छ, यसैमा सबै ध्यान लगाएका छौँ ।” यही क्रममा राज्यमन्त्री दीपक खड्का र सचिव भीमप्रसाद उपाध्यायले रात र दिन दुवै समयमा पाइप बिछ्याउने कामको स्थलगत अनुगमन दैनिक रुपमा गरिरहेका छन्। यस क्रममा उनीहरुले मङ्गलबार राति मीनभवन, बत्तीसपुतली, सिनामङ्गल, चाबहिल, गौशाला क्षेत्रको अनुगमन गरेका थिए। “रातको समयमा खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि द्रुतरुपमा काम भइराखेको छ । यही गतिमा काम जारी रहेमा २०७४ भदौभित्र सम्पन्न हुन्छ” सचिव उपाध्यायले भने । राष्ट्रिय गौरवका पहिलो प्राथमिकता प्राप्त मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयभित्र पूरा गर्न मन्त्रालय चिन्तित रहेको उनले बताए। राज्यमन्त्री खड्का र सचिव उपाध्यायले बुधबार बिहान मेलम्ची खानेपानी आयोेजनाअन्तर्गत गुह्येश्वरीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको अनुगमन समेत गरेका छन्। रासस

अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग, आइतबारसम्म पूरा नगरे आन्दोलन गर्ने

काठमाडौं, १३ पुस । सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ । सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार गर्नुपर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै बुधबार दुई घन्टा धर्ना दिएका हुन् । यस्तै सङ्घले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरलाई यथाशीघ्र शाखा विस्तार गर्न दिनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने, गैरआवसीय नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने लगायतका माग राखेका छन् । सङ्घका अध्यक्ष उत्तम अर्यालले पूँजी बजारलाई आधुनिकतातर्र्फ लान नसक्नु दुःखद् कुरा भएको बताउँदै आफूहरुले राखेका माग आइतबारसम्म पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले नेपाल स्टक एक्सचेन्ज पुँजी बजारको बाधक नभई यसको विकास र विस्तारमा लागेको बताए । उनले भने, “नियम बनाउने निकाय नियम नबनाउने र तुरुन्त यस्तो काम गर भन्दा समस्या उत्पन्न भएको हो ।” उनले वाणिज्य बैंकलाई ब्रोकर अनुमतिपत्र दिने कुरामा स्टक एक्सचेन्ज बाधक नभएको पनि स्पष्ट पारेका छन् ।

देशभरिका जमिनको भू-उपयोग नक्सांकन गर्न ८ अर्ब लाग्ने, स्रोतको अभाव नभए दुई वर्षमै नक्सा निर्माण कार्य सकिने

काठमाडौं, १३ पुस । सरकारले आगामी दुई वर्षभित्र देशभरिका जमिनको भू-उपयोग नक्सा निर्माण गर्ने भएको छ । भू-उपयोग नक्सामा कृषि, वन, आवास निर्माण, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, निर्माण सामग्री उत्खनन् क्षेत्र छुट्याउने तयारी गरिएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले बताएको छ । साँस्कृतिक तथा पुरातात्विक, नदीनाला तथा ताल तलैया, सार्वजनिक उपयोग तथा खुला क्षेत्र, आवश्यकता अनुसारको सुरक्षित क्षेत्र गरी ११ क्षेत्रमा भूमिको विभाजन गर्न लागिएको मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले बताए । सरकारले जग्गाको किसिमअनुसार उचित व्यवस्थापन र उपयोग गर्न नयाँ भू-उपयोग नीति मार्फत जग्गालाई यसरी छुट्याउन खोजिएको हो । देशभरिको जमिनलाई भू-उपयोग नक्सा निर्माण गर्नको लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ । ‘यदि स्रोतको व्यवस्थापन भएमा अर्थात अभाव नभएमा अबको दुई वर्षभित्र देशभरिको जग्गालाई भू- उपयोग नक्सामा लैजान सकिन्छ,’ झाले भने । मन्त्रालयले करिब ३ वर्ष अघि भू- उपयोग नक्सा बनाउन शुरू हो । गएको आर्थिक वर्ष २०७२/७३ सम्म एक सय ७७ ओटा गाविसका ५ सय ७७ वटा नक्सा तयार पारिसेकेको छ । यस वर्ष तराईका २० जिल्लाका ८ सय २५ गाविसमा ६१ करोड रुपैयाँको लागतमा भू-उपयोग नक्सा निर्माणको काम मन्त्रालयले गरिरहेको छ । ‘जग्गाको वर्गीकरण पश्चात कुन ठाउँमा घर बनाउने, कुन ठाउँमा कृषि गर्ने, औद्योगिक वातावरणको लागि उपयुक्त कुन ठाउँ बन्न सक्छ, त्यहि अनुसार जग्गाको व्यवस्थापन तथा उपयोग गरिन्छ, झाले भने ‘सरकारले खाद्यान्न आयातलाई रोक्न तथा कृषि उत्पादनमा बढीभन्दा बढी जमिनको उपयोग गर्न जमिनको पुनः वर्गीकरण गरिन लागिएको हो ।’ यस अघि भू- उपयोग नीति २०६९ मा कृषि, वन, बसोबास, उद्योग तथा व्यवसायिक क्षेत्र र आवश्यकता अनुसारको क्षेत्रगरी ५ भागमा विभाजन गरिएको थियो । हिमाल, पहाड र तराईमा वैज्ञानिक नक्सा बनाइ रहेको छ । नक्सा बनिसकेपछि सरकारले तोकेको जमिन बाहेक अन्यत्र घर बनाउन पाइने छैन । अटेर गरेर घर वा अन्य कुनै संरचना बनाए सरकारले तत्काल विनामुआब्जा हटाउने व्यवस्था गर्ने भएको छ । भूमिको सही व्यवस्थापन गर्दै खेतीयोग्य जमिन संरक्षण र मानवबस्ती सुरक्षाका लागि भू-उपयोग विधेयक निर्माण भएको सहसचिव झाले बताए । सरकारले जथाभावी खेतीयोग्य जमिनमा हुँदै आएको प्लटिङ रोक्न र सरकारी खाली जमिन अतिक्रमण हुन नदिन सो कार्य अघि बढाएको हो । भूमि ऐन २०२१ अनुसार राष्ट्रिय भू-उपयोग आयोजना गठन गरेर भू-उपयोग कानुन ल्याउन लागेको छ । अब आउने ऐनमार्फत भूमि संरक्षण विधेयकले कृषिभूमि संरक्षण गर्ने, स्वच्छ, सुन्दर, सुविधासम्पन्न बस्ती विकास गराउने, योजनाबद्ध सहरीकरणमा सहयोग पुर्याउने, वन क्षेत्र, प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्र संरक्षण हुनेछन् ।

साधारण सभा सम्बन्धि बीमा समितिको निर्देशन कार्यान्वयन भएन

काठमाडौं, १३ पुस । पुस मसान्त भित्रै साधारण सभा सम्पन्न गरि सक्न बीमा समितिले दिएको निर्देशन कार्यान्वयन भएको छैन् । ९ वटा जीवन बीमा कम्पनी मध्ये कुनैले पनि पुस मसान्त भित्र साधारण सभा गर्न सकेका छैनन् र नसक्ने पनि देखिएको छ । त्यस्तै, १७ वटा निर्जिवन बीमा कम्पनीमध्ये ११ वटाले पुस मसान्त भित्र साधारण सभा गर्न नसक्ने भएका छन् । हालसम्म ४ वटा निर्जिवन बीमा कम्पनीले मात्रै साधारण सभा सम्पन्न गरेका छन । पुस १३ गतेसम्म थप २ वटाले पुसभित्रै साधारण सभा सम्पन्न गर्ने सूचना प्रकाशित गरेका छन् । पब्लिक लिमिटेड कम्पनीले साधारण सभाको २१ दिन अघि सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार पुस मसान्त भित्र कुनै पनि जिवन बीमा कम्पनीले साधारण सभा गर्न सक्ने देखिन्न भने ११ वटा निर्जिवन बीमा कम्पनीको साधारण सभा पनि हुने अवस्था नदेखिएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले विकासन्युजलाई जानकारी दिए । हालसम्म निर्जीवन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, एनबी इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । त्यस्तै, हिमालयन जनरल इन्स्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्सले क्रमशः पुस २९ गते र पुस २७ गते वार्षिक साधारण सभा गर्ने घोषणा गरेका छन् । पछिल्लो समय बीमा समितिको अध्यक्ष पद रिक्त छ । सो भन्दा अघि पनि अध्यक्षको कार्यकाल सकिन लागेकाले समितिको बोर्ड बैठक समेत बस्न सकेको थिएन् । जसका कारण जीवन बीमा कम्पनीहरुको बीमांकिय मुल्यांकन(एक्चुरी) रिपोर्ट समेत पास हुन सकेको छैन् । तोकिएको समयमै साधारण सभा सम्पन्न गर्ने कम्पनीलाई वित्तिय अनुशासनमा राम्रो मानिने पौडेलले बताए । पुस भित्र साधारण सभा सम्पन्न नगर्ने कम्पनीलाई आगामी चैत मसान्तसम्मको समय प्राप्त हुनेछ । कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको पहिलो ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्छ । त्यसका लागि कम्पनी राष्ट्रिारको कार्यालयसँग ३ महिना समय थप गर्न सकिन्छ ।

डिप्रोक्स लघुवित्तले ५२ प्रतिशत लाभांश दिने, ३५ प्रतिशत बोनस र १७ प्रतिशत नगद

काठमाडौं, १३ पुस । डिप्रोक्स लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५२ दशमलब ६३ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १७ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । सो मात्राको प्रश्तावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ ।

डिम्याट खातासँगै बैंक खाता उपलब्ध गराउन सिडिएसको निर्देशन, अब बैंक खातामै लाभांश आउने

काठमाडौं, १३ पुस । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खातासँगै बैंक खाता पनि उपलब्ध गराउन निर्देशन दिएको छ । पुरानो डिम्याट खाता हुनेहरुले पनि आफ्नो बैंक खाताको विवरण बुझाउन सिडिएसले निर्देशन दिएको हो । सिडिएसले चैत मसान्त भित्रै पुरानो डिम्याट खाता हुनेहरुले बैंक खाताको विवरण समेत उपलब्ध गराउनु पर्ने बताएको छ । सिडिएसको यो निर्दशनसँगै अब लगानी कर्ताले नगद लाभांश आफ्नो बैंक एकाउण्टमै प्राप्त गर्नेछन् । साथै, सार्वजनिक निष्काशनमा आवेदन गरिएको फिर्ता हुने रकम पनि अब सोझै बैंक खातामै उपलब्ध हुनेछ । डिम्याट खातामा रहेको व्यक्तिगत विवरण र बैंक खाताको व्यक्तिगत विवरण भने एउटै हुनुपर्ने सिडिएसले जनाएको छ ।

अहिले पनि सेयरमा लगानी गर्दा २० प्रतिशतभन्दा बढी फाइदा हुन्छ-ज्ञानेन्द्रलाल प्रधान

जलविद्युत क्षेत्रको विज्ञ तथा जलविद्युत कम्पनीका प्रवद्र्धकको रुपमा परिचित ज्ञानेन्द्रलाल प्रधानको पछिल्लो परिचय हो, सेयर बजारको ठूला लगानीकर्ता । सेयर बजारमा दैनिक दोहोरो अंकका गिरावट भईरहदा ठूला लगानीकर्ता के गरिरहेका छन् ? कस्तो हिसाव किताव गर्छन ? बजारबारे ठूला लगानीकर्ताको विश्लेषण के हुनसक्छ ? प्रस्तुत छ प्रधानसँग गरिएको सेयर बार्ता । सेयरको मूल्य किन घटिरहेको छ ? सेयर बजार उमेर जस्तो हुँदैन, बढेको बढ्यै गर्ने र अन्तिममा मर्ने । सेयर बजारमा मूल्य घट्नु र बढ्नु स्वभाविक प्रक्रिया हो । सेयर बजार घट्छ भन्ने निश्चित थियो, अलि चाडो घट्न थाल्यो । सेयर आपूर्ति बढेकोले मूल्य घटेको हो । हकप्रद सेयर धेरै आउँदैछ । बुक क्लोज हुने क्रम जारी छ । मेरो विचारमा सेयर बजार अझ घट्न सक्छ । तर लगानीकर्ता आत्तिनु पर्दैन । छोटो समयमा नै बजार बुल हुन्छ । सेयर बजारमा तपाईलाई ठूला लगानीकर्ता भन्छन् । सेयरमा तपाईको लगानी कति छ ? ठ्याक्कै त मलाई पनि थाहा छैन । केही सेयर कम्पनीका नाममा हुन्छ । केही सेयर परिवारका सदस्यको नाममा हुन्छ । स्मल टेन डिजिट भनेर बुझ्नु न (कम्तिमा एक अर्ब रुपैयाँ) । म लक्की लगानीकर्ता हुँ । मैले सेयर किन्न थाल्दा नेप्से ३०० भन्दा कम थियो । मेरो लगानीको धेरै सेयर जिरो कष्टमा झरिसक्यो । जति लगानी हो, त्यति लाभांश लिईसकेँ । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य जति घटेपनि मलाई चिन्ता छैन । मेरो लगानी पूरै उठिसक्यो । जिरो कष्ट भनेको के हो ? लगानी उठिसकेको अवस्था । बोनस सेयर आयो, नगद लाभांश आयो, मूल्य बढ्यो, केही बेचेँ, त्यसबाट फाइदा भयो । यतिबेला बजारमा मूल्य घटिरहेको छ । तपाई सेयर किनिरहनु भएको छ कि बेचिरहनु भएको छ ? म सेयरको ट्रेडर्स (व्यापारी) होइन, इन्भेष्टर (लगानीकर्ता) हुँ । मैले किनेको सेयर मध्ये ५ प्रतिशत मात्र मूल्य बढेपछि बिक्री गर्ने उदेश्य राखेको हुन्छ । किनकी कहिले कही पैसा चाहिन्छ । सेयर चाहेको बेलामा बेच्न सकिन्छ भन्ने आधारमा पनि लगानी भएको हुन्छ । मैले ९५ प्रतिशत सेयर प्रतिफल खानको लागि किनेको हुन्छु । नेप्से १७ सय, १८ सय विन्दुमा हुँदा सेयर बेच्नु भयो कि किन्नु भयो ? मैले सेयर किन्न थाल्दा नेप्से ३०० भन्दा कम थियो । तर नेप्से १७/१८ सय हुँदा बेचेको थिइँन । नेप्से २२/२५ सय पुग्ला भन्ने थियो । बजार घटेर नेप्से १५ सय नजिक भएपछि मैले केही सेयर बेचेँ र बैंकको ऋण तिरेँ । आजको दिनमा सेयर किन्न उपयुक्त हो कि बेच्न ? ठूला लगानीकर्ताको लागि, लामो समय होल्ड गर्न सक्नेको लागि सेयरमा लगानी गर्ने बेला हो । यतिबेला राकेश अडूकियाले सेयर किन्दा फाइदा लिन सक्छ । यतिबेला ज्ञानेन्द्रलाल प्रधानले सेयर किन्दा फाइदा लिन सक्छ । किनकी उनीहरुलाई तीन महिनापछि सेयर बेच्नु छैन । आगामी तीन महिनासम्म सेयरको मूल्य घटेपनि राती मजाले निन्द्रा लाग्छ । निद्रा मर्ने गरी सेयरमा लगानी गर्नु हुन्न । यतिबेला सेयर ट्रेडर्स गम्भिर समस्यामा छन् । त्यसमा पनि ऋण लिएर लगानी गर्नेहरु झन समस्यामा छन् । निक्षेपको व्याजदर ९/१० प्रतिशत पुगेकोले लगानीकर्ता सेयर बेचेर निक्षेप राख्न थालेकोले सेयरको मूल्य घटेको हो ? होइन, सेयरमा बैंकको कर्जा धेरै छैन । कुल कर्जाको २ प्रतिशतभन्दा कम छ । पहिला जस्तो उद्योगको नाममा कर्जा लिएर सेयरमा लगानी गर्न अहिले सकिदैन । राष्ट्र बैंकको नियम कडा छ । महत्वपूर्ण कुरा के हो भने सेयरमा लगानी गर्ने लगानीकर्ता कहिल्यै पनि सेयर बेचेर मुद्दती खातामा निक्षेप राख्न जाँदैनन् । लगानीकर्ताका सेयर, जग्गा, सुन, उद्योग व्यापार धेरै विकल्प हुन्छ । तर सेयरमा जति फाइदा अन्त कहिँ पनि हुँदैन । मुकेश अम्बानी धनी भएको उद्योगले होइन, सेयरले हो । सेयरको मूल्य बढेकोले उनी धनी भएका हुन् । विल गेट्स धनी भएको माइक्रोसफ्ट कम्पनीले नाफा वितरण गरेर होइन, १० डलरको सेयर १५०० डलर भएर हो । डोनाल्ट ट्रम्प धनी भएको जग्गाबाट फाइदा भएर हो । तर धेरै नाफा खान्छु भनेर चर्को व्याजमा ऋण लिएर सेयर वा जग्गा लगानी गर्ने मान्छेले कहिल्यै पनि कमाउन सक्दैन । सेयरमा, जग्गामा लगानी गर्नेले नाफा गर्न लामो समय धैर्य गर्न सक्नुपर्छ । सेयर बजार जुवा होइन, क्यालकुलेशन हो । कम्पनी अर्केले चलाउँछ । चिन्ता अर्कैले लिन्छ । नाफा लगानीकर्ताले पाउँछ । तपाई नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर किन्नुहोस् । बैंकको चिन्ता पृथ्वीवहादुर पाण्डेले लिन्छन् । कर्जा डुब्छ कि भन्ने चिन्ता बैंक व्यवस्थापन गर्नेको हुन्छ । तपाई निर्धक्क नाफा पाउनुहुन्छ । हो, ५१ प्रतिशत सेयर पृथ्वीबहादुर पाण्डेको होला, उनले बढी नाफा पाउँछन् । तपाईसँग १ प्रतिशत सेयर छ भने तपाईले कम नाफा पाउँनुहुन्छ । फरक त्यति हो । नेपालको सेयर बजारले अर्थतन्त्र प्रतिविम्ब दिन सकेन भनिन्छ । आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुँदा सेयर नेप्से १८८१ पुग्यो । यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत नाघ्ने अनुमान गरिदै छ, सेयर बजार दिनदिनै दोहोरो अंकले घट्दैछ, किन यस्तो भयो ? हो, हाम्रो सेयरबजारले अर्थतन्त्रको प्रतिनिधित्व गर्दैन । किनकी जीडीपीमा रेमिट्यान्सको योगदान ३० प्रतिशत भन्दा माथि छ, तर रेमिट्यान्स सम्बन्धी कुनै पनि कम्पनी लिष्टेड छैनन् । जीडीपीमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ, यो क्षेत्रसँग सम्बन्धित एउटा पनि कम्पनी नेप्सेमा सूचिकृत छैन । नेपालमा ठूलो काराबार हुने घर जग्गा हो, यससँग सम्बन्धि कम्पनी एउटा पनि सेयर बजारमा सूचिकत छैन । जीडीपीमा निर्माण, यातायात, व्यापार क्षेत्रको योगदान उल्लेख्य छ, तर सेयर बजारमा यस्ता कम्पनी एउटा पनि सूचिकृत भएका छैनन् । जीडीपीमा शिक्षा, स्वास्थ्य, सञ्चार लगायत सेवा मूलक क्षेत्रको योगदान उल्लेख्य छ, यो क्षेत्रको पनि सेयरबजारमा उपस्थिति छैन । सेयर बजारमा बैंक, बीमा, केही जलविद्युत र होटलहरु सूचिकृत भएका छन्, उनीहरुको जीडीपीमा योगदान कम छ । तर कम्पनीहरुले राम्रो गरेको छन् । सेयरको प्रतिफल पनि राम्रो छ । तीन वर्षअघि बीमा कम्पनीले सेयरधनीलाई दिने प्रतिफल भन्दा आज बीमा कम्पनीले दिने प्रतिफल बढी छ, तर बीमा कम्पनीको सेयर मूल्य किन उच्च अंकले घटेको ? कम्पनीको प्रफमेन्स राम्रो देखिदा पनि सेयर मूल्य किन घटेको ? भविष्यमा दिन सक्ने सम्भावित प्रतिफलको असर हो । अहिले इपिएस शुन्य भएपनि भविष्यमा राम्रो हुन्छ भन्ने भयो भने त्यो कम्पनीको सेयर मूल्य बढी हुन्छ । अहिले राम्रो छ, तर भविष्य के हो के हो भन्ने भयो भने भूल्य घट्छ । सेयर कहिले किन्न उपयुक्त समय हो ? मेरो विचारमा सेयर बजारमा मन्दी अब ३/४ महिना मात्र हो । ३८ सय पुगेको बैंकको सेयर १५ सयमा झरिसक्यो । हजार पुगेको बैंकको सेयर ४ सयमा झरिसक्यो । हकप्रद सेयर आएपछि मूल्य अझै घट्छ । बजार घट्ने क्रम रोक्छु भनेर पनि रोक्न सकिदैन । तर आगामी असारपछि मूल्य बढ्न थाल्छ । २/३ वर्षपछि बुम हुन्छ । फेरी नेप्से १८८१ भन्दा माथि जान्छ । यी सबै सामान्य नियम हो । यो मन्दीमा नेप्से कतिसम्म झर्ला ? त्यस्तो जान्ने भए म वारने वफेट बन्थे, ज्ञानेन्द्रलाल भएर किन बस्थे र । सेयरको उच्चतम विन्दु र न्यूनतम विन्दू कसैलाई पनि थाहा हुँदैन । अब कुन क्षेत्रका सेयर किन्दा उपयुक्त हुन्छ ? नम्बर वान बैकिङ, नम्बर टु इन्स्योरेन्स । तपाई जलविद्युत क्षेत्रको लगानीकर्ता । जलविद्युत समूहको सेयर किन्दा के हुन्छ ? नियामक छैन । नेशनल हाइड्रोपावरको सेयर कहिले ३६ रुपैयाँमा झर्यो, कहिले ७०० भयो । एउटा हाइड्रो पावर कम्पनीले हकप्रद सेयर दिने भनेर हल्ला गर्यो । सेयर मूल्य ८०० पुर्याएर व्यवस्थापनमा संलग्न व्यक्तिहरुले सेयर बेचे । सामान्य लगानीकर्ता डुबे । म त्यो कम्पनीको नाम लिन चाहान्न । यस्ता मान्छेले जलविद्युत क्षेत्र ढुबाउँदैछन् । लगानीकर्ताको विश्वास गुम्न सक्छ । लगानीकर्तालाई धोका हुन सक्छ । तर सबै जलविद्युत कम्पनी नराम्रा छैनन । म चिलिमे हाइड्रोपावर कम्पनीको पब्किल सेयर होल्डरमा सबैभन्दा ठूलो लगानीकर्ता हुँ । यो कम्पनीमा समस्या छैन् । सेयर बजारमा ठूला लगानीकर्ताको चलखेल कत्तिको हुन्छ ? कुनै समय यस्तो थियो निर्मल प्रधान, राकेश अडुकियाले बजारमा प्रभाव पार्न सक्थे । अहिले कसैले पनि प्रभाव पार्न सक्दैन । दैनिक ५० करोडभन्दा बढीको कारोबार हुन्छ । कसको क्षमता छ यति ठूलो बजार प्रभावित गर्न सक्ने ? तर कुनै कुनै कम्पनीका प्रमोटरले चलखेल गर्न सक्छन् । लगानीकर्ताको लागि तपाईको टिप्स्हरु ? आज सेयर किन्ने, तीन महिनापछि बेच्ने र त्यसैबाट हुने फाइदाबाट दालभात जुटाउने सोचले सेयरमा लगानी गर्नु हुन्न । ६ महिना, १ वर्षमा यति कमाउँछु भनेर लगानी गर्नेहरु पनि सेयरमा डुब्छन् । दीर्घकालिन लगानी गर्नुहोस् , नाफा पक्का हुन्छ । तपाई महिनाको १० हजार बचत गर्नुहुन्छ भने फरक फरक कम्पनीको सेयर किन्दै जानुहोस् । कुनै कम्पनी डुब्ला पनि । तर धेरै जसो कम्पनीले नाफा दिन्छ । १० वर्षसम्म हेर्नुहोस्, तपाईले सेयरबाट नसोचेको फाइदा प्राप्त गर्न सक्नुहुनेछ । भारतको सेयरबजारको २५ बर्षको औषत रिटर्न २० प्रतिशतभन्दा माथि छ । त्यो पनि दोस्रो बजारमा गरिएको लगानीको प्रतिफल हो । अहिले लगानी गर्यो भने पनि दीर्घकालमा २० प्रतिशत भन्दा बढी फाइदा हुन्छ । प्राथमिक बजारमा गरिएको लगानी एक वर्षमा ३/४ सय प्रतिशतले वृद्धि हुन्छ । १०० मा किनेको सेयर नेप्सेमा सूचिकृत हुँदा ३/४ सय रुपैयाँ भईहाल्छ । संसारमा नै सेयरमा गरिएको लगानीको प्रतिफल अन्य क्षेत्रमा भन्दा उच्च हुन्छ । भारतमा घाटामा भएको कम्पनीको सेयर मूल्य १५०० भन्दा माथि छ । नेपालमा नाफा गरिरहेका कम्पनीको सेयर २/३ सयमा किन्न पाइन्छ ।