विकासन्युज

करोडौको सम्पत्ति गुमाउँदै बीमा समिति, आयव्यय सबै गोप्य, ठूला करदाता कार्यालयले भाडा दिएन

काठमाडौं, ८ मंसिर । बीमा समितिले करोडौ मूल्य पर्ने सम्पत्ति गुमाएको छ । समितिको नाममा रहेको चावहिलस्थित दूई रोपनी जग्गामा बनेको घर अर्थमन्त्रालय अन्तर्गत ठूला करदाता कार्यालयले हडपेको छ । तर समिति भने त्यसबारे केही बोलेको छैन । बीमा समितिले गुमाएकाे चावहिल कार्यालय काठमाडौंको रिङरोडमा जोडिएको चावहिलको कार्यालय अपाएक भएको भन्दै समितिले ललितपुर जिल्लाको कुमण्डोलमा कार्यालय सारेपछि पुरानो कार्यालय भवन वेवारिसे अवस्थामा थियो । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि उक्त वेवारिसे भवनमा ठूला करदाता बसेको छ । ‘भूकम्पले ठूला करदाता कार्यालयमा क्षति पुग्यो, अर्थमन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलको आग्रहमा समितिले ठूला करदाता कार्यालयलाई भाडामा बस्ने गरी भवन उपलब्ध गराएको हो । “हामीलाई अहिलेसम्म कर कार्यालयले बहाल बुझाएको छैन”, समितिका एक कर्मचारीले भने ‘‘एक वर्ष भन्दा बढी भइसक्यो तर सो कार्यालयले अहिलेसम्म भाडा बुझाएको छैन ।’’ कति रुपैयाँमा सो भवन भाडामा लगाएको हो भन्ने जानकारी बीमा समितिले दिएन । बीमा समितिले भाडामा दिएको भने पनि उक्त भवन भाडामा लिने दिनेसम्बन्धी कुनै करार सम्झौता नै नभएको ठूला करदाता कार्यालयकाे भनार्इ छ । कार्यालय प्रमुख युवराज श्रेष्ठका अनुसार बीमा समितिले नक्सा पास नगरी भवन बनाएकाे रहेछ । नक्सा पास नभएकाे कारणा प्रक्रिया पूरा गरी भवनकाे भाडा दर निर्धारणा हुन सकेन । भाडा दर निर्धारणा नभर्इ वहाल सम्झौता हुन सक्दैन । सरकारी निकायले प्रक्रिया नै नपुर्याइ भाडा  दिन पनि सक्दैन । नक्सा पास गराउने  विषयमा दुर्इ पटक पत्रचार पनि गरेकाे, समितिका अध्यक्षा डा फत्तबहादुर केसीलार्इ अाफैले भेटेर कुरा पनि गरेकाे तर समितिले ठाेस पहल नगरेकाे उनले बताए । ‘बीमा समितिले नक्सा पास गरेर ल्याअाेस्, हामी पुरै भाडा  दिन तयार छाैं’ ठूला करदाता कार्यालय चावहिल शाखा प्रमुख श्रेष्ठले भने । तर बीमा समितिकाे दावी अर्कै छ । ‘अन्य कार्यालयलाई भाडामा दिएको भएपनि रकम उठ्थ्यो र समितिलाई केही फाइदा पुग्थ्यो तर कर कार्यालयले हामीलार्इ टेरेन’  समितिका एक कर्मचारीले भने । भाडाका लागि पटक पटक ताकेता गरेपनि करदाता कार्यालयले वास्ता नगरेको ती कर्मचारीले दुखेको पोखे । सो घरमा पहिले पुनर्विमा कम्पनीले पनि भाडामा बस्न खोजेको थियो तर समितिले दिएको थिएन । मन्त्रालयले नै निर्णय गरेपछि आफूहरुले केही बोल्ने बाटो नभएको ती कर्मचारीले भने । समितिले सो भवनलाई बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने सोचेको थियो । ‘सो भवनमा बीमा अनुसन्धान तथा तालिम केन्द्र बनाउने भनेर अध्यक्षज्यूले धेरै पटक भन्नु भयो, सार्वजनिक रुपमा पनि बोल्नु भयो । तर कुरा मात्र भयो, काम केही पनि भएको छैन’ समितिको उच्च अधिकारीले भने । समितिको अध्यक्ष डा फत्तबहादुर केसीको असक्षमताको कारणले चवहिलस्थित पुरानो कार्यालय समितिका कर्मचारीहरु बताउँछन् । बीमा समितिको हालको कार्यालय रहेको कुपण्डोलको समितिको कार्यालय भने नेपाल बैंकसँग अध्यक्ष केसीको विशेष पहलमा किनिएको हो । कुपण्डोलको पुरानो भवन प्रयोग बनाउन बीमा समितिले झण्डै एक करोड रुपैयाँ खर्च गरिसकेको स्रोतले बतायो । हालकाे कार्यालय ‘यही नयाँ भवन बनाउने भनिएको छ । तर ठोस काम भएको छैन, पुरानो भवन मर्मत र सजावटमा मात्र झण्डै करोड रुपैयाँ खर्च भईसक्यो’ स्रोतले भन्यो । ‘हामी त अध्यक्षले अराएको काम गर्ने हो, उहाँले भनेको काम गरेन वा फरक विचार राख्यो भने त्यो कर्मचारीको विरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा बेनामी उजुरी परिहाल्छ, यहाँ त कोही बोल्नै सक्दैन’ उनले गुनासो सुनाउन थाले । समितिले बीमा कम्पनीहरु मार्फत बीमा ग्राहकसँग लिएको बीमा शुल्कको १ प्रतिशत रकम अनिवार्य असुल्दै आएको छ । ‘बीमितसँग उठाएको अबौं रुपैयाँ बीमा समितिसँग छ । मनलाग्दी खर्च भएको छ’ एक बीमकले भने–बीमा कम्पनीको पारदर्शिता खोज्ने नियामक निकाय आफू पारदर्शी हुनुपर्दैन ? बीमा समितिको वार्षिक आयव्यय पनि सार्वजनिक नभएको, समितिको आर्थिक पारदर्शीताको विषयमा कसैले प्रश्न पनि नगरेको, पत्रकारले समाचार पनि नलेखेको टिप्पणी उनले गरे ।

लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनी हुने

लुम्बिनी, ८ मङ्सिर । विश्व शान्तिको उद्गमस्थल लुम्बिनीमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शनी हुने भएको छ । नेपाल र जापानबीच कुटनीतिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसरमा रुपन्देहीस्थित नेपाल बौद्ध महासङ्घले लुम्बिनीमा मङ्सिर १० र ११ गते विश्वकै ठूलो भनिएको ५० मिटर चौडाइ र ७० मिटर लम्वाइको थान्का प्रदर्शनी गर्न लागेको हो । महासङ्घले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वमा मैत्री, करुणा र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको सबैभन्दा ठूलो थान्का तथा बुद्धको जन्मदेखि महापरिनिर्माणसम्मको सजिव चित्रण प्रदर्शनीमा रहने जनाइएको हो । साझा शान्तिको प्रतिक मानिएको सो थान्का जापानको योकाहा, हिरोसिमामा सन् २००२, २००५मा नागोया डोममा, २००३ मा भारतको नयाँदिल्लीमा, २००४ मा मङ्गोलियामा र सन् २०१२ अक्टुबर ५ र ६ मा राजधानी काठमाडौँमा प्रदर्शनीमा राखिएको प्रदर्शनी व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर गुरुङले जानकारी दिए । रासस

वैदेशिक आम्दानी अनुत्पादन क्षेत्रमा खर्च

पाल्पा, ८ मङ्सिर । विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको बताउछिन् । “गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि दिनहुँ अनावश्यक क्षेत्रमा खर्च भइरहेको छ,” उनले भनिन्– “समय सापेक्ष कपडा लाउनै प¥यो, टेलिभिजन हेर्नैप¥यो, श्रीमान् विदेश गएपछि राम्रो मोबाइल पनि चाहियो नै ।” छोराछोरीलाई बोर्डिङमा पढाउँदा श्रीमान्ले ्पठाएको मासिक ३० हजार रुपैयाँ रकमले घरव्यवहार चलाउन मुस्किल हुने गरेको उनको भनाइ छ । श्रीमान् विदेशीएपछि दुई वर्षको बच्चा बोकेर सहलकोटदेखि रामपुर झरेकी खेमकुमारी चिदी पनि दश वर्षको अवधिमा घडेरीबाहेक अरु केही सामान जोड्न नसकेको बताउछिन् । विदेशबाट पठाएको रकम घरखर्च, लत्ताकपडा, घरभाडा, मोबाइल खर्चलगायत गरेर करिब २० हजार रुपैयाँ मासिक रुपमा खर्च हुने गरेको छ । एउटा तथ्याङ्कअनुसार जिल्लामा यतिखेर विदेशबाट दैनिक रुपमा ५० लाखभन्दा बढी रकम भित्रिने गरेको छ । तर उत्पादनमूलक कार्यमा भने न्यून रकम लगानी हुन्छ । वैदेशिक आम्दानी घर घडेरी, घरायसी खर्च, विलासिताका सामग्री खरिदमा मात्र सीमित बनेको छ । रासस

अर्बौको सम्पती व्यस्थापन गर्न नसक्दा निरन्तर घाटामा तारागाँउ, पाँचतारे होटलसहितको लगानी बालुवामा पानी

काठमाडौं ८, मंसिर । सरकारी स्वामित्वका तारागाउँ विकास समितिसँग अर्बौ रुपैयाँको सम्पती भएपनि विगत १५ वर्षदेखि निरन्तर घाटामा रहेको छ । यो कम्पनी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विकास समिति हो । पोखरा, ककनी र नगरकोटमा गरी तीन वटा होटल तथा रिसोर्ट संचालनमा रहेका यो कम्पनीले पाँचतारे होटल ह्यात रिजेन्सीमा ३९ प्रतिशत सेयर हाल्नुका साथै ३०५ रोपनी जग्गा सोही होटललाई भाडामासमेत दिएको छ । तर, विकास समितिले आफ्नै अर्बौको सम्पती व्यवस्थापन गर्न नसक्दा विगत १५ वर्षदेखि निरन्तर घाटामा रहेको छ भने पाँचतारे होटलमा गरिएको ३९ प्रतिशत लगानी पनि १० प्रतिशतमा झरेको छ । ह्यात होटललाई दिएको ३०५ रोपनी जग्गाबाट पनि भाडा उठाउन नसक्दा समिति सम्पती व्यवस्थापन गर्न नसक्दा वर्षेनी सरकारी बजेटबाट संचालन हुनुपर्ने अवस्थामा पुगेको छ । तारागाँउले संचालन गरेका तीन वटा रिसोर्ट र पाँचतारे होटलमा गरेको लगानी बालुवामा पानी सरह हुन पुगको छ । तारागाँउ विकास समितिले पर्यटन मन्त्रालयमा बुझाएको एक प्रतिवेदनमा समितिबाट संचालित होटल निरन्तर घाटामा गएको उल्लेख छ । तारा गाउँ विकास समितिबाट संचालित रिसोर्ट होटलको अध्ययन गर्न गठित नारद लुँइटलको अध्यक्षताको एक कार्यदलले सरकारलाई बुझाएको एक प्रतिवेदनमा समितिले व्यवस्थापन गर्नै नसकेका कारण निरन्तर घाटामा गएको उल्लेख छ । समितिले तयार पारेको एक प्रतिवेदन अनुसार यसका होटल संञ्चालनको लागि आवश्यक प्रशासनिक तथा कर्मचारीको तलव भत्तावापतको खर्च नै धान्न गाह्रो भएको उल्लेख छ । होटल निरन्तर घाटामा गएकोले निजी क्षेत्रलाई भाडामा लगाउने तयारी भइरहेको भएपनि सरकारी संस्था भएको र पर्यटन मन्त्रालयकै सहमति आवश्यक भएकोले प्रक्रियामा नै अल्झिएको पनि उल्लेख छ । समितिले तीन दशकदेखी नै सञ्चालन गर्दे आएको ककनी, नगरकोट र पोखराको तारागाँउ होटल रिसोर्ट १५ वर्षदेखि निरन्तर घाटा गएको उल्लेख छ । समितिसँग अर्बौको सम्पती भएको र पाँचतारे होटललाई दिएको भाडा पनि उठाउन नसक्दा समितिले वर्षेनी १० लाख भन्दा बढी रकम सरकारबाट अनुदानमा लिने गरेको छ । समितिले हरेक वर्ष पर्यटन मन्त्रालयबाट यस्तो बजेट दैनिक प्रशासनिक खर्च सञ्चालनका नाममा लिने गरेको उल्लेख छ । समितिले वर्षेनी ५० लाख रुपैयाँको बजेट पर्यटनसमक्ष माग गर्दै आएको पनि उल्लेख छ । तारागाँउ विकास समिति अन्तर्गत ५३ जना कर्मचारी कार्यरत रहेका छन् । ती कर्मचारीको तलब भत्ता तथा बीमा शुल्क वापत रू. ८ लाख ५० हजार र घरभाडावापत रू. ७ लाख ३७ हजार मासिक रूपमा खर्च हुँदै आएको समितिले जानकारी दिएको छ । वार्षिक कूल १ करोड भन्दा बढि रकम समिति सञ्चालनका लागि लाग्ने भएपनि यसले आफ्नो आन्तरिक स्रोतको परिचालन गर्ने र आथिर्क उपार्जनमा प्रयोग गर्न मन्त्रालयको स्वीकृती नपाउँदा आधा रकम नपुगेको गुनासो गर्ने गरेको पनि उल्लेख छ । राजधानीको पाँचतारे होटल ह्यात रिजेन्सीमा १० प्रतिशत शेयर रहेको यस समितिले सो होटलबाट समेत आर्थिक लाभ लिन नसकेको बताएको छ । पछिल्लो समय ग्रामिण पर्यटन प्रवद्र्धनको क्षेत्रमासमेत केन्द्रित यसलाई मन्त्रालयले ठोस कामको जिम्मेवारी दिन नसक्दा आर्थिक अभाव भएको गुनासो समितिको छ । यसले तारागाँउको नाममा रहेको सम्पती भोगचलन गर्न पाउँने एक स्वयत्त संस्था भएपनि मन्त्रालयको अनुमति भने लिनुपर्छ । समितिको प्रतिवेदनमा विकास समिति र यसका होटल घाटामा जानुको कारण पूर्वाधारको कमी, निजी क्षेत्रसँग प्रतिस्पर्धा नहुनु, सरकारी प्रोत्साहन नभएको, जनशक्तिको अभाव र नयाँ प्रविधिको प्रयोगमा कमीसहतिका कारण प्रतिवेदनमा उल्लेख छ ।

हिरोले ल्यायो आईथ्रीएस प्रविधिका तीन नयाँ बाइक

काठमाडौं, ६ मंसिर । हिरोले एकैपटक तीनवटा बाइकलाई नयाँ भर्सनमा ल्याएको छ । हिरो मोटरकर्प लिमिटेडले स्प्लेण्डर आइस्मार्ट ११० सीसी, न्यू अभिचर १५० सीसी र नयाँ सुपर स्प्लेण्डर १२५ सीसीको नयाँ भर्सनलाई नेपाली बजारमा ल्याएको हो । हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्के्टिङले सोमबार काठमाडौंमा सार्वजनिक गरेका तीन वटै बाइकका यसअघिका अडिसन नेपाली बजारमा लोकप्रिय भइसकेका थिए । कम्पनीले नेपालमा अपग्रेड गरेर भित्र्याएको तीन वटै मोटरसाइकल आईथ्रीएस प्रविधिमा छन् । कम्पनीका प्रतिनिधिहरुले बाइकहरु अनावरण गर्दै भरपर्दो, उर्जायुक्त र प्रभावकारी उत्पादनहरु नेपाली बजारमा ल्याएको बताए । कम्पनीले केही महिना अगाडि मात्रै डुएट स्कुटर बजारमा ल्याएको थियो । कम्पनीले बजारमा ल्याएको स्प्लेण्ड आइस्मार्ट ११० सीसीको मोटरसाइकल भारतको जयपुरमै डिजाइन भएको हो । सबै बाइकमा ९ पटकको फ्रि सर्भिस र ५ वर्षको वारेन्टी दिइएको छ ।

एप्पलको पछिल्लो भर्सन विक्रि सुरु भएको तीन दिनमा नै १८३३ सेट विक्रि भएको जेनेक्स्टको दावी

काठमाडौ, ६ मंसिर । एप्पलको आधिकारीक विक्रेता ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन‘ (जेनेक्स्ट) ले आइफोन सेभेन र आइफोन सेभेन प्लस विक्रि गर्न सुरु गरेको तीन दिनमा नै १८३३ वटा विक्रि भएको दावी गरेको छ । जेनेक्स्टले प्रेस विज्ञप्ती जारी गरी आइफोनका ग्राहक नेपालमा बढ्दै गएको र माग पनि प्रसस्त आएको जनाएको छ । उसले आइफोनसेभेन र आइफोन सेभनेप्लस किन्ने ग्रहकहरुलाई आफ्ना डिलरहरु इभोस्टोर, फ्युचर वल्र्ड, वोलीज स्टोर, सोनु मोवाइल, एपेक्स डिजिटलबाट मात्र किन्न अनुरोध गरेको छ । आइफोनका नयाँ भर्सन किन्दा आइएमइआइ नम्वर रजिष्टर्ड भएको नभएको जाँचेर मात्र किन्न र म्याट विल लिन पनि अनुरोध गरेको छ । बजारमा आइफोन सेभेन र आइफोन सेभेन प्लसका नक्कली मोवाइल सेटहरु पाउन थालेपछि यस्तो सुचना जारी गरी ग्राहकलाई सचेत गराएको जेनेक्स्टले जनाएको हो । बजारमा यही मंसिर पाँच गते इभोष्टर नेपालबाट आइफोन सेभेन र आइफोन सेभेन प्लसको विक्रि सुरु गरेको थियो । आईफोन ७ को मूल्य ३२ जिबीको लागि ९१ हजार, १२८ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ र २५६ जिबीको लागि एकलाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । आईफोन ७ प्लस्को ३२ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ, १२८ जिबीको एकलाख २२ हजार ५०० रुपैयाँ र २५६ जिबीको लागि एकलाख ३६ हजार रुपैयाँ तोकिएको छ

सवारी चालक इजाजतपत्रका लागि निवेदन बुधबारदेखि खुल्ला

काठमाडौँ, ८ मङ्सिर । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन बुधबारदेखि खुला गरेको छ । बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो । गत असोज ११ गतेको राजपत्रमा केही नियमावली संशोधन भएकाले विभागले नयाँ निवेदन रोकेकोमा बुधबारदेखि नयाँ नियमअनुसार निवेदन खुला गरिएको विभागका निर्देशक निरन्जन रिजालले जानकारी दिए । सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण (ट्रायल) परीक्षा दिन नपाउने व्यवस्था गरिएकोमा त्यसलाई नियमावली संशोधन गरी एकपटक लिखित परीक्षा उत्तीर्ण भएकाले तीनपटकसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । पुराना निवेदकले दिएको निवेदनको काम कारबाही भने सुचारु भइरहेको थियो । रासस

सोलुका भूकम्पपीडित भन्छन्, “कि देउ, कि दिन्न भन”

सोलुखुम्बु, ८ मङ्सिर । दूधकुण्ड नगरपालिका–१ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो, केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाए, त्यसयता शेर्पाको सातजनाको परिवार त्यही छाप्रोमा बस्दै आएको छ । नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ कि बिहान उठ्दा सबैको आँखा सुन्निएको हुन्छ, अनि बिहान करिब २ बजेदेखि जस्ताबाट झरेको शीतले ओढ्ने ओछ्याउने सबै भिजाइदिन्छ, तैपनि उनको विकल्प छैन । चिसो सुरु हुनासाथ बालबालिका बिरामी पर्न थालेको भए पनि बाध्यताले यही छाप्रोमा बस्नु परेको शेर्पाले गुनासो गरे । उनले घर बनाउनका लागि अघिल्लो हिउँदमै भत्किएको घरको अवशेष पन्छाएर घडेरी तयार गरे, ढुङ्गा र काठ पनि तयार छ, तर पर्खाइ छ — सरकारले दिने भनेको अनुदानको । “सरकारले अनुदान दिन्छ भन्छन्, बनाऊँ भने नदेला, कि दिन्न भने चौँरीगोठ बेचेर भए पनि बनाउँथे, किन यसरी झुक्याएको हो सरकारले पनि ”, निरास हुँदै शेर्पाले भने । जाङमु शेर्पा त अत्यन्तै चिसो बढेको सोलुखुम्बुमा रहेका भुकम्पपीडितको उदाहरण पात्र मात्र हुनुहुन्छ । भूकम्पले घर पूर्णक्षति भएका सोलुखुम्बुका नौ हजार ६ सयमध्ये केहीले मात्र नयाँ घर बनाएका छन्, केही घरपरिवार जोखिम मोलेर त्यही भत्कन लागेको घरमा बस्छन् भने अधिकांश पीडित त्रिपाल तथा जस्ताको छानो भएको छाप्रोमै गुजारा गरिरहेका छन् । चौलाखर्क–३ सोलुखुम्बुका रोहित बस्नेत भन्छन्, “कि दिनु, कि दिन्न भन्नु, गरिबलाई आशा देखाएर राख्न पाइन्छ ऋण गरेर घर बनाऊँ भने सरकारले दिन्छु भनेको छ, आश लाग्छ, नबनाउँ भने ७० वर्ष पुगिसकेका बुढाबुढी चिसोले रातभर काँप्नुपर्ने अबस्था छ ।” घर बनाउनका लागि काठपातलगायत सामग्री अघिल्लो वर्षदेखि तयार गरेर बस्नुभएका बस्नेत ‘बनाउ, पछि पैसा दिन्छु’ भनेमा पनि आफू बस्ने घर बलियोसँगै बनाउने बताउँछन् । कात्तिक पहिलो हप्तादेखि नै सोलुखुम्बुमा चिसो अत्यन्तै बढेको छ । दिउँसो काम गर्दा त चिसोको वास्ता नभए पनि छाप्रोमा काँप्दै रात बिताउन आफूहरुलाई निकै समस्या पर्ने गरेको पीडित बताउँछन् । सोलुखुम्बु भूकम्पबाट अति प्रभावित १४ जिल्लाको सूचीमा नपरेकाले केही ढिला भएको र कहिलेदेखि सोलुखुम्बुमा अनुदान वितरणको काम सुरु हुने भन्ने प्राधिकरणबाट कुनै जानकारी नआएकाले यसै भन्न नसकिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले बताए । रासस